त्रिभुवन विश्वविद्यालयअन्तर्गतको टिचिङ अस्पतालमा लामो समयसम्म काम गरी निजीक्षेत्रका विभिन्न अस्पतालमा समेत काम गरेको अनुभव डा. शशिकुमार थापासँग छ । उनले फिजिसियन तथा ग्याष्टोलोजी विषयमा जापान, बेल्जियमलगायत विभिन्न देशबाट तालीमसमेत लिएका छन् । उनीसँग आर्थिक अभियानका भवनाथ प्याकुरेलले ग्याष्टिक रोगसँग सम्बन्धित रहेर गरेको कुराकानीको सार :ग्याष्टिक कस्तो प्रकारको रोग हो ? यसका बारेमा बताइदिनुस् न ?
पेटसम्बन्धी रोगलाई ग्याष्टिक भनिन्छ । ग्याष्टिक मेडिकल शब्द हो । ग्याष्टिक एसिड प्याङ्किड डिजिट पनि हो । यसलाई मेडिकल भाषामा डिस्पेसिया भनिन्छ । डिस्पेसियाको पर्यायवाची शब्द ग्याष्टिक हो । हामी डाक्टरले पनि ग्याष्टिक भन्नाले एउटा डिस्पेसिया भन्ने बुझ्छौं । डिस्पेसिया भनेको कुनै पनि चिज पेटमा डिस्कम्फोर्ट हुनु हो । खानासँग सम्बन्धित भनेको खानुभन्दा अगाडि र खानुभन्दा पछाडि फुडसँग जसको क्लोज सम्बन्ध हुन्छ, त्यसलाई डिस्पेसिया भनिन्छ । डिस्पेसियालाई नै नेपालीको बोलीचालीमा ग्याष्टिक हो ।
ग्याष्टिक हुनुका मुख्य कारण केके हुन् ?
ग्याष्टिक हुनुका कारण त धेरै छन् । खासमा समयमा खानपान भएन भने पेटमा हावा भरिएर यो रोग लाग्ने गर्छ । ग्याष्टिक विग्रेपछि आन्द्रामा घाउ हुने गर्छ । जसलाई अल्सर भएको भनिन्छ । तर, अल्सर सबैलाई हुँदैन । अल्सर भयो भनेर आउनेहरूमा पनि अल्सर भएको देखिँदैन । तिनीहरूमा ग्याष्टिक हुने लक्षण भने हुन्छ । डाक्टरहरूले कस्तो ग्याष्टिक हो भनेर इण्डोस्कोपीमार्फत पत्ता लगाउँछन् ।
कसैलाई अल्सर देखियो भने त्यसलाई यूरोजन हुन्छ । आन्द्राको पहिलो द्वारमा जुन सानोसानो घाउजस्तो हुन्छ, त्यसलाई हामीहरू यूरोजन भन्दछौं । यूरोजन भयो भने पनि ग्याष्टिक हुन्छ । कहिले यूरोजन र अल्सर दुवै नहुने बिरामीलाई ग्याष्टिक को लक्षण देखिन्छ । त्यस्ता बिमारीको पनि ठूलो समूह छ । जाँच गरेपछि थाहा हुन्छ, अल्सर हो वा अन्य रोग ।
कसैलाई केही नभए पनि ग्याष्टिक हुन्छ । कसैलाई पेट धेरै दुख्ने भयो भने पनि ग्याष्टिक हुन्छ । योबाहेक पनि ठूलो आन्द्रा र सानो आन्द्रामा परजीवी इन्फेक्शन भयो भने पनि ग्याष्टिक हुन्छ । कहिलेकाँही क्यान्सरमा पनि ग्याष्टिक हुन्छ । त्यसैले ग्याष्टिकलाई हेलचेक्र्याइँ गर्नु हुँदैन । ग्याष्टिक रोग फरकफरक र अवस्था हेरेर विभिन्न किसिमका हुने गर्छ । जाँच गरेपछि मात्र ग्याष्टिक हो होइन भन्ने थाहा हुन्छ ।
यसबाट बच्ने उपाय केके हुन् ?
जसले चिल्लो, पिरो र फ्राइ गरेको खानेकुरा खान्छन् त्यसलाई ग्याष्टिक हुने हो । ग्याष्टिकबाट बच्न साधारण खाना खानुपर्छ । आजकल हाम्रोमा जङ्क फुड नखाने मान्छे पाउनै मुश्किल भइसक्यो । ग्याष्टिकबाट बच्ने हो भने जंक फुड त्यागी घरमा बनेको खाना खानुपर्छ । यसबाट बच्न स्वच्छ खाना खाने, कुनै पनि प्रकारका मदिरासेवन नगर्ने, कार्बोनेटेट पदार्थ र पेयपदार्थ नखाँदा ग्याष्टिक बाट बच्न सकिन्छ ।
यसका लक्षणहरू केके हुन् ?
ग्याष्टिक हुँदा बिरामीले मुटु दुख्यो मुटु दुख्यो भन्छन् । हाम्रो छातीको बीचको भाग वा पेटको बीच, करङको तल खाना खाएपछि गाह्रो हुने, पेट डुम्ब हुने, खाएपछि अजिब तरीकाको अनुभव हुने गर्छ । खाएको १० मिनेटपछि वा खाना धेरै समयसम्म खाएको छैन भने पनि पेट दुख्न थाल्छ ।
यो समस्या शहर वा ग्रामीण क्षेत्र कहाँ बढी छ ?
क्षेत्रगत रूपमा ग्याष्टिकबारे अध्ययन भएको छैन । तर, समग्र रूपमा हेर्ने हो भने शहरका मानिसलाई ग्याष्टिक हुने गरेको पाइन्छ । यसको कारण भने ड्राइफुड नै हो । शहरमा फाष्टफुड, स्याण्डविच खाने चलन छ । यस्ता वस्तु ग्याष्टिकका मुख्य कारक हुन् ।
ग्याष्टिक बाट बच्न कस्तो आहारविहार गर्नुपर्छ ?
साधारण नेपाली खाना दालभात खानुपर्छ । खाने कुरामा ज्यादा मसला नहालेको ताजा खानेकुरा खानुपर्छ । बासी खाने कुरा पनि खानु हुँदैन ।
ग्याष्टिक अन्य देशको तुलनामा नेपालमा धेरै हुन्छ भन्ने सुनिन्छ नि ?
ग्याष्टिक अन्य देशका मानिसमा पनि भएको पाइन्छ । तर, नेपालका मानिसमा बढी देखिँदै छ । यसको कारण चेतनाको कमी र खानपिन नै हो । गाउँबाट शहरमा आउँदा खाने कुरामा परिवर्तन भएको छ । उदाहरणका रूपमा गाउँमा प्रायः कोदो, मकैको रोटी खाइन्छ भने शहरमा चाउचाउ र बिस्कुटजस्ता ड्राइफूड खाने गरेका कारण पनि समस्या भएको हो ।
ग्याष्टिकको गम्भीर अवस्था भनेको कुन अवस्था हो ?
यसमा अन्तिम र शुरू भन्ने नै हुँदैन । कहिलेदेखि कस्तो प्रकारको ग्याष्टिक लागेको हो भन्ने विषय महŒवपूर्ण हो । १ महीनादेखि ग्याष्टिक भइरहेको छ भने साधारण अवस्था हो । यसको समाधान नै इण्डोस्कोपी हो । इण्डोस्कोपी गर्दा सबै ग्याष्टिकका विषयमा थाहा हुन्छ । ग्याष्टिक वा ननअल्सर डिजिज के हो त्यो पनि थाहा हुन्छ । क्यान्सर पनि थाहा हुन्छ ।
ग्याष्टिक उपचारमा न्यून आर्थिक अवस्था भएका मानिसको पहुँच कत्तिको देख्नुहुन्छ ?
साधारणतया ग्याष्टिकका लागि डाक्टरको कुरा सुनेर औषधि खायो भने यो समस्या होइन । अहिले यसको उपचार सबैजसो अस्पतालमा रहेकाले पनि न्यून आर्थिक अवस्था भएका मानिसले पनि सजिलै उपचार पाउन सक्छन् ।
सरकारी स्वास्थ्य संस्थाहरूमा ग्याष्टिकको उपचार कस्तो छ ?
सबै सदरमुकाममा राम्रै किसिमको डाक्टर र सामग्री उपलब्ध रहेको देखिन्छ । ग्याष्टिक रोगसँग सम्बन्धित विज्ञ, फिजिसियन र डाक्टरहरू पनि रहेका छन् । इण्डोस्कोपी र डाइक्लोसिस तथा एक्सरे पनि प्रायः सबै जिल्लामा पुगेको छ । त्यसैले आजकल सहजै जिल्ला सदरमुकाममा ग्याष्टिक उपचार सम्भव रहेको देखिन्छ । अहिले पनि ग्रामीण क्षेत्रमा औषधि पसलमा गएर आपूmखुशी औषधि किनेर खाने चलन छ । यस्तो बानी गर्नु हुँदैन । त्यसरी औषधि खाँदा कस्तो अवस्थाको रोग हो भन्ने नै थाहा हुँदैन । त्यो अल्सरै भएको छ भने पनि थाहा हुँदैन । त्यसले झन् समस्या
बल्झन सक्छ ।
नेपालमा ग्याष्टिक रोगको उपचार गर्ने जनशक्ति कत्तिको छ ?
जनशक्तिका बारेमा म भन्न सक्तिनँ । तर, पहिलेको भन्दा राम्रो जनशक्ति नेपालमा उत्पादन भइरहेका छन् । जुन सम्बन्धित विषयमा पोख्त पनि छन् ।
ग्याष्टिकबारे मानिसले जान्नैपर्ने कुरा केही बताइदिनुस् न ?
१० दिनभन्दा बढी मुटु पोल्ने, मुटु दुख्ने वा पेट ढुस्स परेको लागेमा हेलचेक्र्याइँ नगरी डाक्टरलाई जँचाइहाल्नुपर्छ । आफूखुशी औषधि खाइहाल्नु हुँदैन । हेल्थपोष्ट वा अस्पताल गएर डाक्टरको सल्लाहअनुसार औषधि खानुपर्छ । डाक्टरको सल्लाहअनुसार खानपिन गर्नुपर्छ । चुरोट, खैनी, रक्सीजस्ता वस्तु यो रोग भएकाले सेवन गर्नु हुँदैन । ग्याष्टिक पेटसम्बन्धी रोग हो । पेटमा कुनै समस्या भएमा अस्पताल गई डाक्टरको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ ।