ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महिलाका लागि पूँजीबजार लगानीको उत्तम क्षेत्र हो

Oct 14, 2018  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
करीब १ दशकअघि अन्य व्यवसाय छाडेर पूँजीबजारमा प्रवेश गरेकी अम्बिका खतिवडा अहिले सफल लगानीकर्ताको रूपमा परिचित छिन् । आफू पूँजीबजारबाटै आत्मनिर्भर भएको उनी बताउँछिन् । महिलालाई रोजगार बनाउन पूँजीबजार उत्तम क्षेत्र भएको उनको बुझाइ छ । प्रस्तुत छ, शेयर बजारसम्बन्धी लामो अनुभव भएकी खतिवडासँग यस क्षेत्रका विविध विषयमा रहेर आर्थिक अभियानकी प्रजिता बुढाथोकीले गरेको कुराकानी : पूँजीबजारलाई कहिलेदेखि लगानीको क्षेत्र बनाउनुभयो ? म पूँजीबजारमा प्रवेश गरेको ९ वर्ष पूरा भएको छ । २०६६ सालदेखि लगानी गर्दै आएको छु । त्यो समयमा मेरो आफ्नै व्यवसाय पनि थियो । प्राथमिक बजारमा खासै इच्छा नभएर मैले दोस्रो बजारबाट लगानी गर्न शुरू गरेकी हुँ । त्यस बेला यो क्षेत्रमा प्रवेश गर्ने वातावरण कसरी मिल्यो ? म आफै पनि कमर्शको विद्यार्थी, परिवारका प्रायः सदस्यहरू पनि बैङ्किङ क्षेत्रमा सक्रिय हुनुहुन्छ । मलाई नोकरीमा कहिल्यै इच्छा लागेन । त्यस कारण पनि म यो क्षेत्रमा प्रवेश गरेँ । त्यति बेला आफ्नो व्यवसायबाट सफल भए पनि समय कहिल्यै पनि भएन । समय व्यवस्थापनका लागि सहज र सफल हुने देखेरै यो क्षेत्रमा प्रवेश गरेकी हुँ । सफल हुने आशमा गरेको लगानीले सफलता पाउनुभएको छ त ? यो क्षेत्रमा लागेर आत्मसन्तुष्टि मिलेको छ । आत्मसन्तुष्ट हुनु नै सफल हुनु हो जस्तो लाग्छ । जुन बेला म बजार प्रवेश गरेँ, त्यो बेला तल आयो । यस क्षेत्रबारे अनुभव पनि कम थियो । यस्तोमा पहिलो लगानी घट्दा केही दुःख पक्कै लागेको थियो । तर पनि नआत्तीकन सक्रिय भइरहँे । त्यसपछि मैले पूँजीबजारसम्बन्धी तालीमहरू लिन थालेँ । पत्रपत्रिका पढ्ने, नेपालको मात्र नभएर विश्वबजारको बारेमा पनि जानकारी राख्ने गर्न थालेँ । अहिले मैले आफ्ना सबैजसो आवश्यकता यही क्षेत्रको कमाइबाट पूरा गरेकी छु । पहिले खर्चका लागि श्रीमान्मा भर पर्नुपर्ने अवस्था थियो । अहिले आत्मनिर्भर भएकी छु । आफूसँगै आफ्नो परिवारको जिम्मेवारी लिन सक्ने भएकी छु । त्यसैले, यो क्षेत्रमा प्रवेश गरेकोमा पछुतो होइन, गर्व लाग्छ । तपाईंको अनुभवमा पूँजीबजारमा सफल हुन के आवश्यक पर्दो रहेछ ? पूँजीबजार मात्र होइन, हरेक क्षेत्रमा लगानी गर्दा त्यसको विषयमा जानकार हुनुपर्छ । कमर्शकै विद्यार्थी भए पनि मैले तालीमका साथै थप अध्ययनले नै यो क्षेत्रमा व्यवसाय गर्न जानेकी हुँ । नयाँ लगानीकर्ता साथीहरूले पूँजी र पोर्टफोलियो व्यवस्थापन गर्न सिकेर मात्र यो क्षेत्रमा प्रवेश गर्नुपर्छ भन्ने मलाई लाग्छ । आफूसँग भएको रकममध्ये सानो लगानीबाट शुरू गरे जोखीम कम हुने मेरो अनुभव छ । शेयरबजारमा आज लगानी गर्‍यो, भोलि नै नाफा हुन्छ भन्ने होइन । धैर्य गर्ने क्षमता पनि लगानीकर्तामा हुनुपर्छ । बजार घट्दैमा घाटा हुन्छ भन्ने पनि होइन । घटेकै बजारबाट पनि बुझेर लगानी गर्न सके नाफा कमाउन सकिन्छ । यो क्षेत्रमा लाग्न महिलालाई परिवारबाट कमै स्वतन्त्रता मिल्छ गरेको छ भनिन्छ । तपाईंले यस्तो स्वतन्त्रता कत्तिको पाउनु भएको छ ? हाम्रो परिवारमा व्यावसायिक वातावरण छ । मलाई पूँजीबजारमा लगानी गर्ने स्वतन्त्र वातावरण मेरो श्रीमान्ले नै दिनुभएको हो । अहिले म आत्मनिर्भर बन्नुमा उहाँकै योगदान छ । किनकि, मैले पहिलो लगानी उहाँकै पैसाले गरेकी हुँ । त्यो बेला लगानी गर्नेबित्तिकै बजार घटेको थियो । उहाँले साथ नदिनुभएको भए आज म सफल हुने थिइनँ होला । यसमा मलाई परिवारको पूरा साथ र सहयोग छ । यो क्षेत्रमा सफल छु भन्नुभयो । कस्ता खालका सफलता पाउनु भएको छ ? पहिलो कुरा त अहिले म मेरो कामबाट पूर्ण सन्तुष्ट छु । आर्थिक रूपमा त सफल भएकै छु । पहिलाको व्यवसायमा पैसा भए पनि मेरो व्यक्तिगत जीवन थिएन । पहिलाको व्यवसायमा विभिन्न बाधाअड्चन आइपर्थे । ५–१० दिनको समय निकाल्न पनि गाह्रो हुने गर्थ्यो । यही पीडाले नै आज मलाई यहाँसम्म ल्याएको छ । अहिले मसँग पर्याप्त समय छ । जतिबेला जहाँ जान पनि समय निकाल्न सक्छु । यो क्षेत्रमा कारोबार गर्न घरबाटै पनि सम्भव छ । त्यसैले, मैले यो क्षेत्रबाट पाएको महत्त्वपूर्ण उपलब्धि भनेको खुशी र सन्तुष्टि हो । पूँजीबजारमा सेवा प्रदान गर्ने क्रममा महिलालाई कत्तिको प्राथमिकतामा दिने गरेको पाइन्छ ? मैले कारोबार गर्ने ब्रोकर कम्पनी र मबीच दिदीबहिनीको जस्तो सम्बन्ध छ । हामी महिला दिदीबहिनीहरू जहिले अगाडि नै बसेर कारोबार हेर्ने गर्दछौं । अन्य क्षेत्रमा एकअर्कामा खुट्टा तान्ने प्रवृत्ति धेरै देखिन्छ । मेरो अनुभवमा यो क्षेत्रमा यस्तो प्रवृत्ति कमै हुन्छ जस्तो लाग्छ । महिलाहरूलाई प्राथमिकता दिएरै होला, पछिल्लो समय पूँजीबजारमा महिलाको प्रवेश बढेको देखिन्छ । यो क्षेत्रमा कम शिक्षाले पनि दिनप्रतिदिनको भोगाइले सफल लगानीकर्ता बनेका पनि छन् । जो महिला दिदीबहिनी कम शिक्षाका कारण बेरोजगार भएर बस्नुभएको छ, उहाँहरूका लागि रोजगार बन्न सहयोग मिल्ने क्षेत्र भनेको पूँजीबजार हो भन्ने लाग्छ । अनि अर्को कुरा, हामीले अन्य व्यवसाय गर्दा तत्काल बन्द गर्न सक्ने अवस्था हुन्न । यो यस्तो क्षेत्र हो, जहाँ हामी चाहेकै समयमा बाहिरिन सक्छौं । आम लगानीकर्ताको हितका लागि धेरै सङ्गठन छन् । ती सङ्गठनले लगानीकर्ताको गुनासाहरू सम्बोधन गरेका छन् त ? अहिले पूँजीबजारमा लगानीकर्ताको हितका लागि धेरै सङ्गठन सक्रिय छन् । उनीहरूले लगानीकर्ताको माग सम्बोधन गर्दै उनीहरूकै हितका लागि आवाज उठाइरहेका छन् । उहाँहरूले आफैले गर्ने त केही होइन । सम्बन्धित निकायसम्म आम लगानीकर्ताको प्रतिनिधित्व गर्दै माग पु¥याउने हो । सबै सङ्गठनहरूले आ–आफ्नो ठाउँबाट पूँजीबजार सुधारका लागि आवश्यक पहल गर्ने कार्य गरिरहेका छन् जस्तो लाग्छ । लगानीकर्ताले पूँजी बजारसम्बन्धी नीतिगत विषयलाई कत्तिको ध्यान दिन जरुरी देख्नुहुन्छ ? पूँजीबजारको अभिभावक भनेकै नियामक निकाय हो । यस निकायबाट जारी गरिएका नीतिनियमलाई ध्यान दिएर अघि बढे भविष्यमा आइपर्ने जोखीमबाट जोगिन सकिन्छ । हरेक क्षेत्रमा लागेपछि त्यसलाई कुन कुन कारणले असर गर्छ भन्ने जान्न एकदमै जरुरी छ । पूर्ण अनलाइन प्रणाली लागू गर्ने तयारी भइरहेको छ । सबै महिलाले अनलाइनबाटै शेयर कारोबार गर्न सक्ने अवस्था छ त ? कुनै पनि नयाँ प्रविधि भित्रिँदा त्यसको प्रयोगका लागि समय लाग्छ । हामी पढेलेखेका महिलालाई त कम्प्युटर चलाउने बानी छैन । नपढेकाहरूको अवस्था के होला ? तर, प्रविधिको प्रयोगका लागि पछि हट्ने भन्ने पक्कै होइन । अहिलेदेखि नै यसको प्रयोग गर्न सिक्नुपर्दछ । डिजिटलको जमानामा आफै अग्रसर भएर काम गर्ने हो । यसका लागि आवश्यक सचेतना भने हामीलाई चाहिन्छ । लगानीकर्ताको पहुँच विस्तारमा अनलाइनले ठूलो भूमिका निर्वाह गर्ने अपेक्षा छ । नेपालका हुम्ला–जुम्ला जस्ता विकट भेटका जनतालाई पनि पूँजीबजारको पहुँचमा पुर्‍याउन सक्नुपर्छ । आम लगानीकर्तालाई थप केही भन्न चाहनुहुन्छ ? सुख, शान्ति र समृद्धिको प्रतीक महान् चाड विजयादशमी र दीपालीको उपलक्ष्यमा सम्पूर्ण देशवासी र लगानीकर्ता दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । यो पर्वलाई मितव्ययिता र सभ्यताका साथ मनाउन सबैमा विनम्र अनुरोध पनि गर्दछु । बडादशैंले जसरी सबै नेपालीको अनुहारमा मुस्कान छरेको छ, त्यसरी नै पूँजीबजारले पनि सबै लगानीकर्तामा खुशी ल्याउन सकोस् भन्ने कामना पनि छ । अहिले बजार अफ्ठ्यारो अवस्थामा छ । बजारको भविष्य के हुन्छ, यो कसैलाई पनि थाहा हुँदैन । यतिचाहिँ मलाई विश्वास छ– यो अवस्थामा बजारलाई मल्हम लगाउन सक्यो भने भविष्यमा पूँजीबजारको ‘हिरो’ भइन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)