मध्यपहाडी लोकमार्ग : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको निर्माण सुस्त
Oct 24, 2018
 
विकास
धनगढी । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग निर्माण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सुस्त देखिएको छ । निर्माणले अपेक्षित गति लिन नसकेको गुनासो स्थानीयले गर्दै आएका छन् । लोकमार्ग निर्माण शुरू भएको १० वर्षमा बैतडीमा १४ र अछाम जिल्लामा १६ गरी ३० किलोमिटर मात्र कालोपत्र भएको पाइएको छ । अहिले मध्यपहाडी लोकमार्गअन्तर्गत अछाम जिल्लामा ४४ किलोमिटर सडकमा कालोपत्रको काम भइरहेको छ ।
मध्यपहाडी लोकमार्ग निर्धारित मितिमा निर्माण सम्पन्न भए पहाडी जिल्लाको बसाइँसराइ रोकिनुका साथै आर्थिक समृद्धिको ढोका खुल्ने भन्दै निर्माणलाई तीव्र गतिमा अघि बढाउनुपर्ने माग स्थानीयले राख्दै आएका छन् । २०७६ वैशाख १५ सम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको निर्माण कम्पनीले सडक निर्माणको काम सुस्त गतिमा अघि बढाएको प्रदेशवासीले गुनासो गरेका हुन् । अछाम खण्डमा पर्ने ५९ किलोमिटर सडकलाई चार खण्डमा विभाजन गरी काम अघि बढाइएकोमा १६ किलोमिटर कालोपत्र अन्तिम चरणमा पुगेको छ भने बैतडी जिल्लामा १४ किलोमिटर कालोपत्र यसअघि नै सम्पन्न भइसकेको छ । मध्यपहाडी लोकमार्ग पश्चिम खण्डका इञ्जिनीयर तुलाराम शर्माले विनायकदेखि ठाँटीसम्म र ठाँटीदेखि मङ्गलसैनसम्मको सडकको कालोपत्रका लागि ३३÷३३ करोड, बेलखेतदेखि विनायक सडकखण्डका लागि २९ करोड, कैलाश खोलादेखि बयालपाटासम्मको सडकका लागि २२ करोड रुपैयाँको ठेक्का सम्झौता भएको जानकारी दिए ।
मध्यपहाडी लोकमार्गअन्तर्गत बैतडीको काम सम्पन्न भइसकेको छ भने अछाम जिल्लामा चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । डडेल्धुरा र डोटी जिल्लामा भने अहिलेकै राजमार्गसँग मध्यपहाडी लोकमार्ग जोडिनेछ । ती क्षेत्रमा मध्यपहाडी लोकमार्गलाई अहिलेको राजमार्गभन्दा छोटो दूरीको बनाउने विषयमा पनि आवश्यक छलफल भइरहेको छ । १० वर्षको अवधिमा ३० किलोमिटर मात्रै सडक कालोपत्र हुनु राम्रो पक्ष नभएको भन्दै विकास निर्माणमा कहीँकतैबाट राजनीति नहुनुपर्नेमा नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्णप्रसाद पाठकले जोड दिए ।
एउटा पहाडी जिल्लाबाट अर्को पहाडी जिल्ला पुग्न पूर्व–पश्चिम महेन्द्र राजमार्ग झरेर पुनः पहाड चढ्नुपर्ने अवस्थाको अन्त्य हुने भएकाले लोकमार्गको निर्माण सम्पन्न भए पहाडी क्षेत्रमा आर्थिक समृद्धिको ढोका खुल्ने आशा गरिएको छ । सुदूरपश्चिम प्रदेशमा मध्यपहाडी लोकमार्गको निर्माण सम्पन्न भए बाजुरा, अछाम र डोटीका केही क्षेत्रका स्थानीयले पूर्वको यात्रा गर्दा हालको भन्दा करीब साढे २ सय किलोमिटर छोटो यात्रा गर्नुपर्नेछ ।