ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारले मुस्ताङमा गुणस्तरीय पर्यटक पठाएर सघाउनुपर्छ

Oct 25, 2018  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
तिब्बतको गुङ्थाङ राज्यअन्तर्गतको मुस्ताङ सन् १४४० देखि स्वतन्त्र राज्यको रूपमा स्थापित भयो । मुस्ताङको राजसंस्था उक्त राज्यका संस्थापक ‘आमेपाल’को वंशको निरन्तरताको रूपमा चलेको थियो । नेपाल एकीकरणका क्रममा राजसंस्था कायम रहनेगरी आश्रित राज्यको रूपमा नेपालमा गाभिएको मुस्ताङको २३औं अर्थात् अन्तिम राजा जिग्मे दोर्जे पलवर विष्ट थिए । सन् २००८ मा नेपाल गणतन्त्रात्मक राष्ट्र घोषणा भएसँगै मुस्ताङबाट पनि औपचारिक रूपमा स्वतः राज परम्परा अन्त्य भएको हो । तर अनौपचारिक रूपमा मुस्ताङवासी अझै पनि राजपरिवारको सदस्यकै दर्जा दिई उनीहरूलाई सम्मान गर्छन् । यता, पूर्वयुवराज जिग्मे सिङ्घी पलवर विष्ट भने मुस्ताङको लोमान्थाङ (पूर्व राजधानी)मा होटल व्यवसाय (रोयल मुस्ताङ रिसोर्ट) सञ्चालन र संस्कृति संरक्षणमा लागिपरेका छन् । केही दिनअघि लोमान्थाङ पुगेका बेला आर्थिक अभियानकी दुर्गा लामिछानेले विष्टसँग गरेको कुराकानी : तपाईंको नजरबाट मुस्ताङ कस्तो देखिन्छ ? मलाई त एकदमै सुन्दर लाग्छ र सधैं यही आफ्नै ठाउँमा बसिरहूँ जस्तो लाग्छ । मुस्ताङी जनता र यहाँको पूर्व राजसंस्थाको सम्बन्ध कस्तो छ ? अत्यन्त राम्रो छ । उहाँहरू हामीलाई धेरै माया गर्नुहुन्छ । उहाँहरूले गरेको मायाअनुसार बरू हामीले केही गर्न, दिन सकेका छैनौं । तैपनि यहाँको जनतामा रहेको गरीबीका कारण रोजगारीका लागि आफ्नो ठाउँ छोड्नुपर्ने बाध्यता कसरी अन्त्य गर्न सकिन्छ भन्नेमा हामी चिन्तित छौं । समय परिवर्तनशील छ । त्यसैले हाम्रो तर्फबाट विशेषगरी शिक्षाक्षेत्रको विकासमा सघाउने प्रयास भइरहेको छ । यसैअन्तर्गत हाल मुस्ताङभर करीब १६ ओटा डे केयर सेण्टर र जोमसोममा एउटा चिल्ड्रेन होम पनि स्थापना गरिएको छ । यसैगरी यहाँको मौलिकता जगेर्नाका लागि मैले मेरो सबैभन्दा टाठो छोरालाई पनि लामा शिक्षा आर्जनमा राखेको छु । सामान्यतया लामा शिक्षा अध्ययनमा सबैभन्दा कम टाठो बच्चालाई पठाउने चलन थियो । अहिले त धेरैले यो शिक्षा पढ्न पठाउनै छाडे । मैले आफ्नो छोरा पठाउँदा केहीले त्यसको अनुसरण गरे भने पनि संस्कृति जोगिन्छ भन्ने मेरो सोच हो । राजपरिवारको पृष्ठभूमिमा हुर्केर पनि मुस्ताङमा होटल (रिसोर्ट) खोल्ने सोच कसरी आयो ? यहाँका युवाले विदेश गएर अलिअलि कमाएको पैसा पनि पोखरा, काठमाडौंमा जग्गा किन्ने, घर बनाउने अनि यहाँ भएको घरमा ताल्चा लगाएर उतै बस्ने गरेको विषयले चिन्ता लागिरहेको थियो । सानै भए पनि मेरो आमेपाल राजवंशले इतिहास रचेको ठाउँ हो यो । यहाँको आफ्नै धर्म, परम्परा, संस्कृति र इतिहास छ, जुन यहीँ हराउला कि भन्ने चिन्ताले विदेशिइरहेका युवालाई मुस्ताङमै रोजगारीको अवसर दिने सोचसहित यो होटल खोलेको हुँ । म मात्रले त धेरै गर्न नसकुँला । तर, मेरो अनुसरण गरेर अरूले पनि यस्तै व्यवसाय गरे भने यो क्षेत्र जीवित रहन्छ भन्ने आशा छ । व्यवस्थित र व्यावसायिक ढङ्गबाट यस क्षेत्रकै महँगो होटल खोल्नु भएको रहेछ, व्यवसाय कस्तो चलिरहेको छ ? सन् २०१७ को जुनदेखि मात्रै यो होटल सञ्चालनमा आएको हो । त्यसमा पनि पूर्ण क्षमतामा त यही वर्षको अगष्टदेखि मात्रै चलेको हो । यहाँ बस्नेभन्दा फोटो खिच्न आउने विदेशी धेरै छन् । कतिले त होटलको गेटबाट भित्र मोबाइल छिराएर फोटो मात्र खिचेर जान्छन् । खासमा मैले यहाँ जति लगानी गरेको छु, त्यो उठ्ने देखिएको छैन । किनभने वर्षभर अप्रिलदेखि होटल सञ्चालन गरेर अक्टोबरको अन्त्य (७ महीना)मा बन्द गर्नुपर्छ । त्यसपछि तापक्रम घटेर माइनसमा जाने हुँदा पानी जम्ने, पाइपहरू फुट्ने, पाहुनालाई तातोपानी दिन नसक्ने जस्ता समस्या हुन्छ । त्यही ७ महीनाको बीचमा पनि २ महीना वर्षात्को मौसम पर्ने हुँदा हवाई र सडक यात्रा दुवै ठप्प हुन्छ । रह्यो ५ महीनाको अलिअलि व्यवसाय, त्यसले त केही पनि पुग्दैन । तपाईंको होटलले धेरै खर्च गर्न सक्ने पर्यटकलाई लक्षित गरिरहेको छ, किन ? हामी गरीब ठाउँका मान्छे, धेरै पर्यटक भित्र्याएर भन्दा पनि गुणस्तरीय पर्यटक भित्र्याएर पो केही हुन्छ कि भन्ने सोचले त्यस्तै पर्यटकलाई लक्षित गर्न खोजिएको हो । मुस्ताङमा अरू पनि यस्ता (महँगा) होटल चल्ने सम्भावना छ ? छ । त्यसका लागि सरकारले पनि सहयोग गर्नुपर्‍यो । लोमान्थाङका होटलमा कङ्क्रिटको प्रयोग हुने क्रम बढेको छ । यसले मुस्ताङको मौलिकतामा ह्रास आउनबाट कसरी जोगाउन सकिन्छ ? यहाँ सबैभन्दा पहिले सिमेण्टको ढलान गरेर होटल मैले नै बनाएको हुँ । त्यतिबेला यसले मुस्ताङको माटो, ढुङ्गा र काठका संरचनाको मौलिकता मास्यो भनेर धेरै विरोध पनि भयो । अब विस्तारै कङ्क्रिटाइजेशनमा जानु मुस्ताङको बाध्यता पनि हो । पहिले–पहिले यो क्षेत्र पानी नपर्ने क्षेत्रका रूपमा परिचित थियो, जसले गर्दा काठ र माटो छापेका छानासहितको घर सम्भव थियो । तर, पछिल्लो तीन वर्षयता वर्षायाममा क्रमिक रूपमा पानी पर्ने दर बढ्दै गएको छ । यो वर्ष त वर्षात्का कारण हाम्रा कतिपय मुस्ताङी दाजुभाइ, दिदीबहिनीका घर भत्किएर, चुहिएर बस्नै नहुने पनि भए । जलवायु परिवर्तनले ल्याएको यो असरबाट बच्ने एउटै उपाय भनेको सिमेण्ट ढलान भएका घर नै हुन् । तर, सिमेण्टका घर बनाए पनि मौलिकता भने कायमै राख्ने सहमति भएको छ । पर्खाल (माटो र ढुङ्गाको) र पर्खालभित्रका बाहिरबाट देखिने संरचना पहिलेको नै कायम राख्नुपर्छ भनेर मैले अरूलाई सल्लाह दिएको छु र मैले पनि सोहीअनुसार गरेको छु । राजसंस्थाको अन्त्यपछि तपाईंको घर (दरबार) तपाईंकै छ कि सरकारीकरण भइसक्यो ? ढुङ्गा, माटोको ७ सय वर्ष पुरानो घर यसै पनि कमजोर हुँदै गएको थियो । त्यसमा पनि गएको भूकम्पले घरको उत्तरी भागमा ठूलो क्षति पुर्‍यायो । त्यसपछि मैले यो एक ऐतिहासिक घर हो, यो हेर्न पनि पर्यटक आउँछन्, त्यसैले यसको पुनर्निर्माणमा सहयोग पुर्‍याउनु पर्‍यो भनेर पुरातत्त्व विभागमा अनुरोध गरेँ । उहाँहरूले अहिले यो तिम्रो निजी घरजस्तै हो, सरकारलाई बुझायौ भने मात्रै जे जे गर्नुपर्छ, गर्छौं भन्नुभयो । सरकारलाई बुझाएर पनि म कहाँ बस्ने भन्ने प्रश्न थियो, कि त मलाई बस्ने अर्को ठाउँ दिनुपर्थ्यो , जुन कुरा आएकै थिएन । त्यसपछि मेरै एकजना विदेशी साथीको सहयोगमा बाहिरबाट भत्किएको नदेखिनेगरी भएकै संरचनालाई पुनर्निर्माण गर्ने काम भइरहेको छ । मुस्ताङमा पर्यटन विकासका लागि गर्नुपर्ने काम के के छन् ? मुख्य काम भनेको यहाँका सांस्कृतिक धरोहर जोगाउनुपर्छ । जस्तै– गुम्बा, छोर्तेन, माने, पर्खाललगायत मुस्ताङका इतिहास बोकेका सम्पदा लोप हुन दिनु भएन । पर्यटकहरू यहाँको भूगोलसँग सम्बन्धित यिनै सांस्कृतिक धरोहर हेर्न आउँछन् । यस्ता सम्पदाको संरक्षण गरिएन भने यहाँको पर्यटनको भविष्य खतरामा पर्छ । मैले पनि मुस्ताङ, पर्यटन र बौद्ध संस्कृति एक–अर्कामा अन्तरसम्बन्धित देखें । यहाँको बौद्ध संस्कृतिलाई बलियो बनाउन केन्द्र सरकारले के कस्ता काम गरेको छ ? त्यसका लागि मुख्यतः यहाँका गुम्बा, छोर्तेन, मानेहरूको सुदृढीकरणमा जोड दिनुपर्ने हो । तर त्यसमा सरकारले केही काम गरेको छैन । पर्यटनको शुरुआत हुनुअघि नै मेरो बुबाले यहाँका गुम्बा र सरकारी विद्यालयमा पनि एक÷एकजना स्थानीयभाषी शिक्षक हुनुपर्‍यो भनेर यति धेरै माग गर्नुभएको थियो, जुन कहिल्यै सुनुवाइ भएन । जब पर्यटन खुल्यो, तब अमेरिकन हिमालयन फाउण्डेशनको सहयोगमा मुस्ताङका चाराङ, नाम्ग्याल, लोमान्थाङलगायत जति स्थानमा गुम्बा छन्, तिनमा उसैले स्थानीयभाषी शिक्षकको व्यवस्था गरिदियो । दाताले सधैं सहयोग गर्छ भन्ने छैन । त्यसैले मैले लामाहरूलाई हामी आफ्नै भरमा टिक्न सक्ने उपाय खोज्नुपर्छ भनेर सल्लाह दिँदै आएको छु । स्थानीय संस्कृति जोगाउन तपाईंहरूको तर्पmबाट अहिले के कस्ता काम भइरहेका छन् ? यहाँ (लोमान्थाङ)मा रहेका दुईओटा गुम्बा– जेम्बा र थुब्चेन मेरै राजवंशका धेरै पहिलेका जिजुबाजे (राजा)हरूले बनाउनु भएको हो, जुन प्रजातन्त्र आउनुअघि नै जीर्ण अवस्थामा पुगिसकेका थिए । मेरा बुबा (तत्कालीन मुस्ताङी राजा)लाई ती गुम्बाको अवस्थाले निकै चिन्तित तुल्याएको थियो । त्यसैले उहाँले सरकार (केन्द्र)सँग धेरै अनुरोध गर्नुभयो, तर केही सहयोग मिलेन । त्यसपछि तत्कालीन राजा (वीरेन्द्र)सँग पनि अनुरोध गर्नुभयो । उहाँले मेरो बुबाको अनुरोधलाई स्वीकारेर गुम्बाको पर्खाल निर्माणमा सहयोग गर्नुभयो । त्यसपछि बहुदल आयो, के के भयो, काम रोकियो । सौभाग्यवश सन् १९९२ मा मुस्ताङ पर्यटनका लागि खुला गरिएपछि अमेरिकन हिमालयन फाउण्डेशनका अध्यक्ष हेलिकोप्टर लिएर मेरो बुबालाई भेट्न आए । उनले आफूले मुस्ताङका लागि गर्न सक्ने सहयोगबारे सोधे । बुबाले यिनै गुम्बाको संरक्षणको विषय उठाउनुभयो । उनले योे प्रस्ताव स्वीकारे । र, हरेक साल कामको प्रगतिको स्थिति हेर्न पनि आउने प्रतिबद्धताका साथ काम थाले । मेरो बुबा बितेको २ वर्ष भइसक्यो । तर काम अझै पनि भइरहेको छ । क्यान्सरको बिरामी र धेरै बुढो भइसके पनि एक चरण काम सक्ने नै उनको लक्ष्य छ । यस क्षेत्रमा सक्रिय रहेको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)को भूमिका कस्तो छ ? एक्यापले... (एक छिन सोचेर) गर्न त गरिरहेको छ, खासै त्यति ठूलो त केही गरेको छैन । सडक तथा ट्रेकिङ रूटहरूमा अलिअलि सिग्नल राख्ने काम भने भएको छ । बजेटको कमीले गर्दा पो हो कि ⁄ केन्द्र सरकारले यहाँको पर्यटन विकासका नीति तथा बजेटमा कत्तिको सघाएको छ ? सरकारले त खासै केही गरेको देखिएन । शुरूमा यहाँको पर्यटनको रोयल्टीबाट यहाँको पर्यटन विकासमा काम होला भन्ने ठूलो आशा राखेका थियौं । त्यसमा पनि एकदमै सीमित प्रतिशत मात्रै एक्यापमार्फत आयो । रोयल्टी नदिएपछि हामीले युवाको साथ लिएर विरोध पनि गर्‍यौं । त्यसपछि सरकारले आश्वासन भरिएका राम्रा चिठीहरू पनि दियो । तर, कार्यान्वयन भएन । अहिले आएर जब यो हाइवे (बेनी–जोमसोम–कोरला सडक परियोजना) आयो, त्यसपछि, ‘तिमीहरूको पैसा यहाँ हाइवेमा खर्च गर्दै छौं’ भन्यो । त्यसपछि हामी त्यसमै चित्त बुझाएर बसेका छौं । देश सङ्घीयतामा प्रवेश गरेको हिसाबले प्रदेश र स्थानीय सरकारले पनि यहाँको प्रमुख आधार (पर्यटन)को विकास र विस्तारमा के कस्ता योजना ल्याउँदै छन् ? कुरा मात्रै सुनेको हो, अहिले त रोयल्टीबाट पनि प्रदेश र स्थानीय तहलाई राम्रै बजेट आउने स्थिति रहेछ । के कसरी आउँछ र त्यसले के कति गर्ने हुन् हेर्नै बाँकी छ । जोमसोमदेखि लोमान्थाङ आइपुग्दा भेटिएका सबै स्थानीयवासीले ‘हाम्रा राजकुमार, हाम्रो राजपरिवार’ भनेर सम्मान गरेको पाइयो । तपाईं जनप्रतिनिधि भएर निर्वाचनमा उठ्ने हो भने त यो मायाले सहजै जिताउँछ । त्यो हैसियतमा पुग्ने हो भने बाहिरबाटभन्दा बढी काम गर्न सकिन्थ्यो होला । राजनीतिमा लाग्ने योजना छ कि छैन ? अहिले यस सम्बन्धमा खासै केही योजना छैन । राजनीति बाहिरै रहेर सकेको काम मात्रै गरिरहेको छु । भविष्यमा सम्भावना छ ? (हाँस्दै)...भविष्यमा भन्न सकिँदैन । ...(फेरि हाँसो) । केन्द्रबाट आउने विदेशी दातृ निकाय तथा सरकारका प्रतिनिधि तपाईंलाई भेट्न कत्तिको आउँछन् ? आउँछन् । भेटमा के कस्ता कुरा गर्छन् ? यस्तै सामान्य गफगाफ हुन्छ । अनि तपाईं मुस्ताङका समस्या र आवश्यकताका कुरा कत्तिको राख्नुहुन्छ ? राख्छु, परिस्थिति हेरेर । हाम्रो सञ्चारमाध्यममार्फत केन्द्र सरकारलाई भन्नुपर्ने विशेष केही छ ? मुस्ताङको भविष्यको प्रमुख आधार भनेकै पर्यटन हो । त्यसैले यहाँ ‘क्वालिटी टुरिष्ट’ पठाउन केन्द्र सरकारले विशेष पहल गरोस् भन्ने नै हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)