मुटुसम्बन्धी औषधि यो वा त्यो बहानामा रोक्नु हुँदैन
Oct 26, 2018
 
अन्तरवार्ता
प्राडा यादव भट्ट मुटुरोगको क्षेत्रमा चिरपरिचित नाम हो । काठमाडौंको नर्भिक अस्पतालमा सिनियर कन्सल्ट्याण्टको रूपमा कार्यरत मुटुरोग विशेषज्ञ डा यादवले नेपालका उच्च राजनीतिक व्यक्तित्वदेखि विशिष्ट व्यक्तिहरूको समेत उपचार गरेका छन् । कुनै पनि विशिष्ट व्यक्ति नर्भिकमा पुगेपछि डा. यादवको नामले सञ्चारमाध्यममा चर्चा पाउँछ । प्रस्तुत छ, आर्थिक अभियानका पूर्णभक्त दुवालले मुटुरोगबारे उनीसँग गरेको कुराकानी :
मुटुरोग के हो ?
छाती दुखेमा, ढक्क फुलेमा वा भारी भएमा, छातीमा बेचैनी भएमा वा भारीपन महसूस भएमा, श्वास फेर्न कठिनाइ भएमा मुटुरोग लागेको हुन सक्छ । यस्तै, मुटुको चालमा असामान्य रूपमा गडबडी वा अवरोध भयो भने त्यसलाई मुटुरोग भन्न सकिन्छ ।
मुटुरोगका अन्य लक्षण के के हुन् ?
चिसोयाममा तथा यत्तिकै बसेको बेला पनि तरतरी पसिना आउँछ भने त्यो मुटुरोगको लक्षण हुन सक्छ । वाकवाकी लाग्नु, निकै थकाइ तथा कमजोरी महसूस हुनु र तनाव महसूस हुनु पनि मुटुरोगका लक्षण हुन् । हात झमझमाउने तथा चेतनाविहीन बन्ने, चिमोटेको समेत थाहा नपाउनेगरी शिथिल भएमा पनि मुटुरोग लागेको हुन सक्छ । यस्तो भएपछि चिकित्सककहाँ परीक्षणका लागि जानैपर्छ ।
मुटुरोगका मुख्य लक्षण अरू पनि छन् कि ?
छातीको बीच भागमा पीडा हुनु, परिश्रम गर्दा दम बढ्नु, खुट्टाहरू सुन्निनु, मुटु बेतालले धड्किनु, चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्नु वा चल्नु, जोर्नीहरू दुख्नु र साथमा ज्वरो पनि आउनु, जिब्रो, औंलाका टुप्पाहरू नीलो हुनु आदि सबै मुटुरोगका लक्षण हुन सक्छन् । यसैगरी शारीरिक परिश्रम गर्दा वा मानसिक तनावमा छातीको बीच भागमा वा देब्रेतिर ढुङ्गाले थिचेको जस्तो अनुभव हुनु पनि मुटुरोगकै लक्षण हो ।
मुटु दुख्ने कारण के हो ?
मुटु दुख्ने धेरै कारण हुन्छन् । विशेषगरी मुटुको वरिपरि छातीको बीच भागमा दुख्नु मुटुरोगका कारण हुन् । मुटुरोग विभिन्न किसिमका हुन्छन् । यीमध्ये भल्भ मुटुरोग, बाथ मुटुरोग, हार्ट फेल्योर, कोरोनरी मुटुरोग र हृदयाघात र जन्मजात मुटुरोग मुख्य हुन् ।
मुटुको भल्भ थुनियो भने वा सानो भयो भने मुटु दुख्न थाल्छ । विशेषगरी मुटुको धमनी थुनियो भने छातीको बीच भागमा बेस्सरी मुटु दुख्न थाल्छ । यस्तो अवस्थामा हिँडडुल गर्दा झनै बढी दुख्छ । शरीरमा रक्तसञ्चारको कमी भयो भने पनि मुटु दुख्न थाल्छ ।
मुटुरोग कसलाई लाग्छ ?
मुटुरोगको वंशाणुगत समस्या भएको परिवार, अत्यधिक मोटोपन भएको, शारीरिक रूपमा कम सक्रिय हुने, अत्यधिक कोलेस्टेरोल भएका, उच्च रक्तचाप भएका, धूमपान गर्ने, लागूपदार्थको सेवन गर्ने र मधुमेह भएकाहरूलाई मुटुरोग लाग्ने सम्भावना बढी हुन्छ ।
मुटुरोग लाग्न नदिन के गर्नुपर्छ ?
धूमपानका साथै सूर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन । नियमित शारीरिक व्यायाम गर्नुपर्छ । सागसब्जी र फलफूल बढी सेवन गर्नुपर्छ । मासु, चिल्लो, बोसोयुक्त खानेकुरा, जङ्क फूडको सेवन कम गर्नुपर्छ । मानसिक तनाव कम घटाउनुपर्छ । तौल ठीक राखेमा, भुँडी बढ्न नदिएमा र नियमित रूपमा चिकित्सकसँग परीक्षण गराई आवश्यक सल्लाह लिने गरेमा मुटुरोगबाट बच्न सकिन्छ ।
मुटुरोग लाग्नै नदिने अन्य उपाय के के हुन् ?
मुटुरोग लाग्न नदिन जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । खानपिन र शारीरिक व्यायाममा ध्यान दिन सके यो रोगबाट टाढा रहन सकिन्छ । जीवनशैली एक–दुई दिन परिवर्तन गरेर हुँदैन । यसलाई दैनिकी बनाउन सक्नुपर्छ । जसरी बिहान उठ्नेबित्तिकै नित्यकर्म गरिन्छ, यसरी नै जीवनशैलीमा पनि शारीरिक व्यायाम समावेश गर्नुपर्छ । खानपिन पनि एक दिन बारेर हुँदैन । मैदा, आलु, चामल तथा चिनीको प्रयोग घटाउनुपर्छ । सागसब्जी, फलफूल तथा गेडागुडीको मात्रा बढाएर भोजन गर्नुपर्छ । भात, रोटी सानो रिकापीमा र सागसब्जी ठूलो थालभरि खानुपर्छ ।
मुटुरोगी र चिकित्सकले के समस्या भोगिरहनुपरेको छ ?
मुटुरोगको उपचार नेपालमा पनि उति नै सुविधाका साथ भइरहेको छ । विज्ञानको विकासमा उपचार पद्धति पनि दौडिरहेको छ । उही नै प्रविधि नेपालमा पनि भइरहेको छ । उपचार गर्ने शैली विदेशमा र नेपालमा उही नै हो ।
विज्ञान यति दौडिरहेको छ कि सोही आधारमा प्राविधिक सामग्री तथा उत्पादन पनि दिनहुँ पुराना भइरहेका छन् । विज्ञानको दौडमा औषधि र उपचारपद्धति पनि विकसित भइरहेको छ । मुटुरोगको औषधि पनि धमाधम विकास भइरहेको छ । सोही आधारमा नयाँ नयाँ औषधि आइरहेको छ र प्रयोग पनि भइरहेको छ । तर, नेपालमा औषधि व्यवस्था विभागले औषधि आयात गर्न दिइरहेको छैन । यसले गर्दा बिरामीले नयाँ पद्धतिको र सस्तो औषधि उपभोग गर्न पाइरहेका छैनन् ।
कुन कुन औषधिमा यस्तो समस्या छ ?
खासगरी हृदयाघात भएका बिरामीलाई आवश्यक भल्सार्टन, सकुविटरल पाउन गाह्रो छ । यी औषधि भारतमा पाइन्छ । तर, नेपालमा औषधि व्यवस्था विभागको विभिन्न प्रावधानका कारण बिरामीले पाएका छैनन् । मुटुरोगीका लागि चाहिने इभारडिन, डाविगेटरिनजस्तो औषधि भने नर्भिक अस्पतालमा मात्र राख्न पाउनेगरी विभागले अनुमति दिएको छ ।
यसबाहेक शल्यक्रियाका लागि आवश्यक औषधिमा पनि समस्या छ । यी औषधि सीमातिर सजिलै पाइन्छ तर काठमाडौं र पहाडमा बस्नेलाई समस्या भइरहेको छ । त्यसैले, सरकारले विज्ञानको विकाससँगै विकसित भएका मुटुसम्बन्धी औषधिलाई यो वा त्यो बहानामा रोक्नु हुँदैन । औषधि सहज रूपमा उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्छ । औषधि यही मुलुकको र यही कम्पनीको ल्याउनुपर्यो भनेको होइन । चिकित्सक र विशेषज्ञले भनेको औषधि सहज रूपमा उपलब्ध गराउने वातावरण बनाउनुपर्यो ।
मुटुरोगको उच्च रक्तचापजस्तै अन्य रोगसँग पनि सम्बन्ध छ ?
उच्च रक्तचापमात्र मुटुरोगको कारक तत्त्व होइन । मुटुरोगसँग अन्य रोगहरूको पनि सम्बन्ध हुन्छ । मानव शरीरका अङ्गहरूमध्ये मुटु जटिल प्राकृतिक अङ्ग हो । यो हरपल चलिरहन्छ । छातीभित्र धड्किरहने यो सानो अङ्गले शिरदेखि पैतालासम्म महत्त्वपूर्ण प्रभाव पारेको हुन्छ ।
नियमित रूपमा आफ्नो ब्लडप्रेशर नापिराखेमा, ग्लुकोजको मात्रा परीक्षण गरी सोहीअनुरूप उपचार गरेमा जोखीम कम हुन्छ । मधुमेह छ भने रगतको ग्लुकोजको मात्रा नियन्त्रण गर्नु एकदमै आवश्यक छ । त्यसैगरी रगतमा हुने कोलेस्टेरोलको मात्रा बढ्नु पनि मुटुका लागि घातक हुन्छ । त्यसैले, रगतमा कोलेस्टेरोलको मात्रा र मुटु बेलाबेला परीक्षण गरिरहनुपर्छ ।
अहिले युवापुस्तामा पनि मुटुरोग देखिनुको कारण के हो ?
अस्वस्थ जीवनशैली, खानपानका कारण पछिल्लो समय २०/२५ वर्षका युवासमेत मुटु र मुटुसम्बन्धी रोगले पीडित भएका छन् । नेपाल जस्ता विकासोन्मुख देशमा मुटुको रोगले पीडित हुनेको सङ्ख्या दिनदिनै बढ्दो छ । पछिल्लो समय विश्वभर नै नसर्ने रोगहरूमध्ये मुटुसम्बन्धी रोग प्रमुख रोगको रूपमा रहेको छ । विश्वमा धेरै मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । त्यसमध्ये आधाभन्दा बढी मानिसको मृत्युको कारण मुटुरोग हो ।
मुटुरोगबाट बच्न के उपाय अपनाउनु पर्छ ?
नियमित शारीरिक व्यायाम गर्ने, मदिरा र धूमपान सेवन नगर्ने, चिल्लो तथा नुनिलो खानेकुरा कम खाने, रक्तचापलाई नियन्त्रणमा राख्ने, शरीरमा कोलेस्टेरोल नियन्त्रण गर्ने, तौल नियन्त्रण गरी मोटोपन बढ्न नदिने र तनावबाट टाढा रहने गरेमा मुटुरोगबाट धेरै हदसम्म बच्न सकिन्छ । यसैगरी धेरै बोसो भएको तथा रातो मासु कम खाने गर्नुपर्छ । साथै, मधुमेह, उच्च रक्तचाप र मोटोपन भएका मानिसमा मुटुरोगको जोखीम उच्च हुने भएकाले नियमित रूपमा चिकित्सकसँग परामर्श र चेकजाँच गराउनुपर्छ ।
नेपालमा उच्च रक्तचापका कारण हृदयाघात भएको भनिन्छ । साँचो के हो ?
उच्च रक्तचाप मात्रै मुटुरोगको कारक तत्त्व होइन । प्रेशर १४० बाई ९० भएपछि औषधि सेवन ग¥यो भने जोखीम कम हुन्छ । मधुमेह पनि मुटुरोगको कारक हुन सक्छ । मधुमेह रोगीले चुरोट सेवन गरेमा उसलाई मुटुरोग लाग्ने सम्भावना अन्य अवस्थामा भन्दा ५ गुणा बढी हुन्छ । त्यसमाथि उच्च रक्तचाप पनि छ भने ८ गुणा बढी हुन्छ । उच्च रक्तचाप भएकालाई हृदयाघात हुने सम्भावना उच्च हुन्छ ।