त्रिभुवन विश्वविद्यालयअन्तर्गतको युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवाबाट बालरोग विषयमा एमडी गरेका डा. जयदेव यादव विगत ३ वर्षदेखि हिमाल अस्पतालमा कार्यरत छन् । उनले रशियाको यरेभान स्टेट मेडिकल युनिभर्सिटीबाट एमबीबीएस गरेका थिए । प्रस्तुत छ, बच्चालाई लाग्ने रोग, सुरक्षित तरीकाले हुर्काउनेलगायत विषयमा डा. यादवसँग आर्थिक अभियानका भवनाथ प्याकुरेलले गरेको कुराकानी :बच्चालाई लाग्ने मुख्य रोगहरू के के हुन् ?
बच्चाको उमेरअनुसार उनीहरूलाई लाग्ने रोग पनि फरक–फरक हुन्छन् । मौसम परिवर्तन भइरहेका बेला बच्चामा रुघाखोकी, ज्वरो आउने गर्छ । बच्चाले फोहोर खाने कुरा खाएको छ भने पेटको खराबी हुन्छ । ज्वरो बिग्रेमा टाइफाइड ज्वरोलगायत रोग लाग्ने गर्छ ।
चिसोका कारण लाग्ने रोग के के छन् ?
चिसोका कारण लाग्ने रोग साधारण रुघाखोकीबाट शुरू भई बढ्दै गयो भने निमोनियालगायत रोग लाग्न सक्छ । तर, राम्रो पोषण पाएका बच्चालाई हत्तपत्त साधारण रोग लाग्दैन । पोषणको कमी भयो भने चाँडो रुघाखोकी लाग्नेलगायत समस्या उत्पन्न हुन्छ । त्यसैले, पोषणमा ध्यान दिनु अपरिहार्य छ । जाडोका बेला बच्चालाई न्यानो बनाएर राख्नुपर्छ । साधारण रुघाखोकीबाट शुरू भएर छातीमा सङ्क्रमण, निमोनियालगायत हुन सक्छ ।
बच्चालाई चिसोबाट बचाउन कस्ता उपाय अपनाउनु पर्छ ?
मौसम परिवर्तन भएका बेला बच्चाको प्रतिरोधात्मक क्षमता कमजोर हुने हुँदा उनीहरूलाई चिसोबाट जतिसक्दो बचाउनुपर्छ । साथै धूलो, धूँवाबाट पनि जोगाउनुपर्छ । मौसम परिवर्तन भइरहेका बेला न्यानो कपडा लगाइदिनुपर्छ । साधारण रुघा लागेको भनेर हेलचक्र्याइँ गर्नु हुँदैन । ठीक भइहाल्छ भनेर धेरै दिन नकुरीकन बेलैमा उपचार गरिहाल्नुपर्छ । बच्चालाई राम्रो पोषण दिने खाना खुवाउनु नै रोगबाट बचाउने मुख्य उपाय हो ।
आमाको दूध खाएको छैन भने बच्चाको प्रतिरोधात्मक क्षमता राम्रो हुँदैन । त्यसैले बच्चा जति बढ्दै गयो, त्यसलाई रोग लाग्ने सम्भावना त्यति बढ्दै जान्छ । त्यसैले सानैदेखि राम्ररी दूध खुवाएको बच्चालाई रुघाखोकी लाग्ने सम्भावना कम हुन्छ । पोषणमा ध्यान दिँदा बच्चाहरूलाई कम रोग लाग्छ । ६ महीनाभन्दा अगाडि आमाको दूध खुवाउन सकिन्छ । १ वर्षसम्म गाईभैंसीको दूध खुवाउँदा शरीरमा रगतको कमी हुन सक्छ ।
चिसो शुरू भएसँगै अस्पतालमा बिरामीको चाप कस्तो छ ?
चिसो बढेसँगै छातीको सङ्क्रमण भएका बिरामी बढ्न थालेका छन् । खोकी लागेका र श्वासप्रश्वासमा समस्या आएका पनि बिरामी बढ्न थालेका छन् ।
बच्चामा हुने कुपोषण कस्तो खालको समस्या हो ?
अधिकांश नेपालीलाई शरीरको विकासका लागि चाहिने पौष्टिक खानाको बारेमा थाहा छैन । बच्चाको शरीरलाई चाहिने पोषण मिलाएर खुवाउन सकिएन भने उनीहरू कुपोषणको शिकार हुन सक्छन् । हाम्रोमा ठूलो मानिसले जे खान्छन्, बच्चालाई पनि त्यही खुवाउने चलन छ । बच्चा र वयस्कको खाना तथा परिकारमा पनि फरक पर्छ । अर्कोतर्फ कति वर्षको बच्चालाई दिनमा कति पटक खाना खुवाउने वा नखुवाउने भन्ने विषयमा पनि जानकार हुनुपर्छ । बच्चालाई खुवाउने खाना उमेर अनुसार फरक–फरक हुन्छ । १ वर्षको बच्चालाई आमाको दूध सँगसँगै ६ पटकदेखि ८ पटक वा न्यूनतम पनि ६ पटक खुवाउनुपर्छ । तर, हाम्रो समाजमा बच्चालाई त्यसरी खुवाइँदैन । उनीहरूलाई चाहिने परिकारको पनि कमी भएको पाइन्छ । मानिसहरू काममा व्यस्त हुँदा पनि बच्चाको हेरचाहमा समय दिन सक्दैनन् । हाम्रो समाजमा जङ्क फूडको उपभोग बढ्दो छ । बच्चालाई बिहान के खुवाउने, बेलुका के खुवाउने कति मात्रामा खुवाउने जस्ता विषयमा ध्यान नदिँदा पोषण नपुग्ने सम्भावना हुन्छ । बच्चालाई पोषण अभाव हुनु नै कुपोषणको कारण हो ।
बच्चाको उमेर समूहअनुसार कसरी खुवाउनुपर्छ ?
बच्चाको महŒवपूण पोषक तŒव आमाको दूध नै हो । ६ महीनापछि भने त्यसको विकल्प प्रयोग गर्न सकिन्छ, जसमा दालको पानी, जाउलोलगायत खाद्यवस्तु खुवाउन सकिन्छ । विभिन्न गेडागुडी मिलाएर पिँधेर बनाएको लिटो बच्चालाई खुवाउँदा राम्रो पोषण पुग्दछ ।
त्यसैगरी, दालभातमा अण्डा मुछिदिने, हलुवा बनाउँदा घिउ मिसाउने, चिनी, सख्खर मिलाएर धेरै क्यालोरी बनाई खुवाउने पनि गर्न सकिन्छ । दूधका परिकार जति पनि खुवाउन सकिन्छ । बच्चाको उमेरअनुसार ३/४ घण्टाको फरकमा खानेकुरा खुवाउन सकिन्छ । १ वर्ष भने अलि समय खटाउन पनि सकिन्छ । त्यसरी नै नियमित रूपमा खुवाउँदै जाँदा बच्चाको स्वास्थ्यमा सकारात्मक सुधार हुँदै जान्छ ।
कुपोषित बच्चाको निदान तथा उपचार कसरी गरिन्छ ?
शुरूमा कस्तो किसिमको कुपोषित भनेर ग्रेडिङ गरिन्छ । त्यसपछि कुपोषित बच्चालाई खुवाउने छुट्टै फर्मुला पनि हुन्छ । उक्त फर्मुलाअनुसार तीन÷चारओटा वस्तु मिलाएर दूध, घिउ, पानी, चिनी मिसाएर क्यालोरी बनाइन्छ । त्यो मिसाएर बच्चाको तौल बढ्ने तरीकाले खुवाउने गरिन्छ । त्यसबाहेक पनि ६/७ प्रकारका मल्टी भिटामिन पनि हुन्छन् । कुन कसरी खुवाउने भन्ने विषय निक्र्योल गरेर बनाइएको पोषण र किनेको भिटामिन मिलाएर खुवाउन्छ ।
त्यस्तै आवश्यकताभन्दा मोटो भएमा पनि बच्चाहरू कुपोषित हुन्छन् । बच्चा बढी खानाका साथै अन्य कारण पनि मोटाउँछन् । त्यसका लागि पनि निश्चित क्यालोरी र खानपान मिलाउनुपर्ने हुन्छ ।
बच्चालाई सहज तरीकाले कसरी हुर्काउन सकिन्छ ?
बच्चा जन्मेदेखि नै कुन उमेरमा के खुवाउने भन्ने विषयमा ध्यान दिन आवश्यक छ । कुन उमेरमा बच्चाले कस्तो क्रियाकलाप गर्छ भन्ने विषयमा पनि सामान्य ज्ञान हुनुपर्छ । जन्मेको ६ महीनासम्मको बच्चालाई आमाको दूध खुवाउनुपर्छ ।
बच्चाहरू ३ महीनामा मुण्टो ठड्याउने, ६ महीनामा पल्टिने र ८ महीनामा केही अडेस लगाइदियो भने बस्न सक्ने हुन्छन् । ८ महीनामा अडेस नलगाई बस्न सक्ने र १२ महीनामा केही नसमाई उभिन सक्ने हुन्छन् । सामान्यतया १२ महीनामा हिँड्न सक्ने हुन्छन् । बच्चाले उमेरअनुसार त्यस्तो गरेको छ वा छैन भन्ने विषयमा ध्यान पु¥याउन आवश्यक छ । त्यस्तै, बच्चाको बोली फुट्ने उमेरमा फुटेको छैन भने बच्चाको विशेषज्ञलाई देखाउनु पर्दछ । बच्चाहरू उमेरअनुसार हिँड्न, खेल्न र बोल्न सक्छन् । बच्चा राम्रै भए पनि ३/४ महीनाको फरकमा विशेषज्ञलाई देखाउनुपर्छ । यसो गर्दा बच्चालाई सहज तरीकाले कसरी हुर्काउन सकिन्छ ।
बच्चालाई लगाइने सुईको बारेमा पनि केही बताइदिनुस् न ?
सरकारले अहिले नयाँ एक/दुईओटा भ्याक्सिन थपेको छ, जसमा रोटा भाइरस र इञ्जेक्टेबल पोलियो भाइरस छन् । रोटा भाइरसको इञ्जेक्सन सरकारले राखे पनि पूर्ति गर्न सकेको छैन । बच्चालाई सरकारले दिएकोजति भ्याक्सिन लगाइदिनुपर्छ । त्योबाहेक टाइफाइड, हेपाटाइटिस एलगायत भ्याक्सिन पनि बच्चालाई लगाउनुपर्छ । त्यस्ता भ्याक्सिनले रोग लाग्न कम गर्छ ।