व्यावसायिक कारोबारसम्बन्धी एक विश्वव्यापी भाषाको रूपमा तयार गरिएको अन्तरराष्ट्रिय वित्तीय प्रतिवेदन मान (आईएफआरएस)लाई नेपालमा पनि अनुसरण गर्न थालिएको छ । आईएफआरएसकै अनुसरण गरी जारी गरिएको नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) कार्यान्वयनमा छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले यसलाई आर्थिक वर्ष २०७१/७२ देखि नै लागू गर्ने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैङ्कले गत आर्थिक वर्ष २०७४/७५ देखि ‘क’ वर्गका सम्पूर्ण वाणिज्य बैङ्कहरूमा अनिवार्य रूपमा एनएफआरएस नै अनुशरण गर्न निर्देशन दिएबमोजिम सोहीअनुसार वाणिज्य बैङ्कहरूले यसलाई लागू गर्न थालेका छन् । यसक्रममा बैङ्कर तथा सरोकारवालामा नयाँ प्रणालीबारे केही द्विविधासमेत उत्पन्न भएको देखिन्छ । यसै परिप्रेक्ष्यमा एनएफआरएसमा आईक्यानका अध्यक्ष सीए जगन्नाथ उपाध्याय (निरौला) सँग आर्थिक अभियान संवाददाता ममता थापाले गरेको कुराकानी :नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले नेपाल वित्तीय प्रतिवेदनमानहरू (एनएफआरएस) लागू गरी कार्यान्वयनको क्रममा छ । एनएफआरएस कार्यान्वयनको स्थिति कस्तो छ ?
यसबारे शुरूमा पृष्ठभूमि बुझ्न जरुरी छ । एनएफआरएस लागू हुनुभन्दा पहिला नेपाल एकाउन्टिङ स्ट्यान्डर्डस् प्रचलनमा थियो । बैङ्क तथा वित्तीय संस्थादेखि लिएर सबै संस्थाहरूले सो नेपाल एकाउन्टिङ स्ट्यान्डर्डस्का साथै नियमनकारी निकायहरूको निर्देशनअनुसार वित्तीय विवरण तयार गरिरहेका थिए । तर, अन्तरराष्ट्रियस्तरमा लागू गर्न परिमार्जित वित्तीय प्रतिवेदन मान (आईएफआरएस) जारी भइसकेपछि नेपालमा पनि त्यस्तै गर्न आवश्यक भयो र एनएफआरएस जारी गरिएको हो । एनएफआरएस लागू हुनुभन्दा पहिला नेपाल एकाउन्टिङ स्ट्यान्डर्डस् र नियमनकारी निर्देशनअनुसार तयार गरिएको वित्तीय विवरणले संस्थाको वास्तविक वित्तीय स्थिति प्रस्तुत नगरेको र विकसित अन्तरराष्ट्रिय मापदण्डअनुसार पनि नभएको महसूस भयो । एनएफआरएस अनुसार तयार गरिएको वित्तीय विवरणले कुनै पनि संस्थाको वास्तविक दृश्य देखिन्छ र यसमा खुलासाहरू बढी हुने हुनाले यसलाई राष्ट्रियस्तरमा मात्र नभई अन्तरराष्ट्रिय स्तरमा रहेका सबै सरोकारवालाहरूले समेत बुझ्न सक्ने हुन्छ । जस्तै, कुनै संस्थाले जमीन खरीद गरेको छ भने पुरानो व्यवस्थाअनुसार शुरूमा खरीद गरेको मूल्यलाई नै प्रत्येक वर्षको वित्तीय विवरणमा देखाइन्थ्यो, तर एनएफआरएस अनुसार तयार गरिएको वित्तीय विवरणमा उचित मूल्य (फेयर भ्यालु, जस्तै : बजार मूल्य)मा देखाइन्छ । यसले गर्दा संस्थाको कुनै निश्चित समयमा कस्तो आर्थिक अवस्था छ भन्ने सहजै जानकारी हुन्छ । वित्तीय विवरण भनेको वासलात बनाइने समयको यथार्थ वित्तीय स्थिति देखाउने विवरण हो । यस्तो वित्तीय विवरणले व्यवसायका सरोकारवालाहरूको निर्णयको लागि यथार्थ र भरपर्दो जानकारी उपलब्ध गराउने हुनाले अन्तरराष्ट्रिय अभ्यासलाई अवलम्बन गर्दै नेपालमा समेत एनएफआरएस लागू गरिएको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ऐन २०५३ अन्तर्गत स्थापना भएको एक स्वतन्त्र निकाय हो । यसले नेपाल लेखामान बोर्डबाट अन्तरराष्ट्रिय स्तरमा नै विकास भई जारी भएका मानहरूलाई नेपालमा लागू गराउन एनएफआरएस तयार गर्दछ । नेपाल लेखामान बोर्डले उपरोक्तअनुसार तयार गरेका मानहरू नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले लागू गरेपछि सबै निकायहरूले वित्तीय विवरण तयार गर्दा सो मानहरूको अवलम्बन गर्नुपर्ने हुन्छ ।
यसको कार्यान्वयन कसरी हुन्छ ?
कुनै पनि देशमा आईएफआरएस दुई किसिमबाट लागू गर्न सकिन्छ । एउटा एडप्सन र अर्को कन्र्भजेन्स । एडप्सन भनेको आईएफआरएसका सम्पूर्ण मानहरू हुबहु लागू गर्ने हो । कन्र्भजेन्स भनेको स्थानीय कानून समेतलाई हेरी देशमा लागू गर्न सकिने मानहरूलाई मात्र लागू गरिन्छ । तर, यो केही समयको लागि मात्रै हुन्छ । अन्ततः पूर्ण रूपमा आइएफआरएस नै लागू गर्ने हो । यसैले वित्तीय विवरणमा सबैतिर एकरूपता होस् भनेर यो ल्याइएको हो । भन्सारमा वस्तुहरूको हार्मोनिक कोड संसारभर एउटै भए जस्तै वित्तीय विवरण पनि सबैले बुझ्न सक्ने गरी एउटै खालको होस् भनेर यो ल्याइएको हो । नेपालमा एनएफआरएस कार्यान्वयनको जटिलता तथा सरोकारवालको तयारीको स्थितिलाई दृष्टिगत गर्दै यस संस्थाले आव २०७१/७२ देखि थालेर चरणबद्ध रूपमा आव २०७६÷७७ सम्ममा सम्पूर्ण निकायहरूमा लागू हुने गरी निर्णय गरेको थियो । कार्यान्वयनको शुरूमा पहिलो वर्ष बहुराष्ट्रिय कम्पनी तथा ५ अर्बभन्दा बढी शेयर पूँजी भएका सार्वजनिक संस्थाहरूमा लागू गरियो भने आव २०७२/७३ मा ‘क’वर्गको वाणिज्य बैंक तथा अन्य सार्वजनिक संस्थाहरूमा लागू गरिएको थियो । त्यसैगरी आव २०७३/७४ देखि सम्पूर्ण विकास बैङ्क, वित्तीय संस्था, बीमा कम्पनीसहित सूचीकृत कम्पनीहरूमा लागू गर्ने नीति अवलम्बन गरियो । अब आउने वर्ष साना तथा मझौला निकायहरू (एसएमई)मा पनि ‘एनएफआरएस ‘फर एसएमई’ लागू हुँदै छ ।
एनएफआरएस लागू भएपछि पब्लिक कम्पनीहरूलाई खासगरी वाणिज्य बैङ्कहरूलाई एनएफआरएस अनुसारको वित्तीय विवरण तयार गर्न धेरै चुनौतीपूर्ण भएको प्रतिक्रिया आएको छ । के यो साँच्चै चुनौतीपूर्ण छ ? कसरी ?
वाणिज्य बैङ्कहरू आईक्यानले एनएफआरएस लागू गरेको जानकारी हुँदाहुँदै नेपाल राष्ट्र बैङ्कको स्पष्ट निर्देशनको अभावमा द्विविधामा थिए । तर, नेपाल राष्ट्र बैङ्कले वित्तीय विवरणको खाकासहित नियमनकारी समायोजनहरूको सम्बन्धमा स्पष्ट निर्देशन जारी गरिसकेपछि भने कुनै द्विविधाको स्थिति रहेको छैन । आईक्यान, नेपाल लेखामान बोर्ड तथा नेपाल राष्ट्र बैङ्कको त्रिपक्षीय संयन्त्र पनि बनाइएको छ, जसले एनएफआरएसको कार्यान्वयनमा आउने समस्याको समाधान पहिल्याउने छ । केही बैङ्कहरूले आव २०७२/७३ र केहीले आव २०७३/७४ देखि एनएफआरएस अनुसारको वित्तीय विवरण तयार गरेका छन् । त्यसैले यो प्रणालीअनुसार वित्तीय विवरण तयार पार्न अब वाणिज्य बैङ्कहरूलाई चुनौती रहेन, तर विकास बैङ्कहरूलाई नेपाल राष्ट्र बैङ्कले निर्देशन जारी नगरी सकेको कारणले भने केही चुनौती हुन सक्छ । आईक्यानले सबै बैङ्क तथा वित्तीय संस्थाले यसलाई अवलम्बन गर्न भनिरहे पनि राष्ट्र बैङ्कले अर्को आर्थिक वर्षमा लागू गर्ने भनेको छ । यसर्थ ढिलो चाँडो सबैमा लागू हुने नै छ ।
एनएफआरएस अनिवार्य अवलम्बन गर्नुपर्ने भएपछि वाणिज्य बैङ्कहरूले वित्तीय विवरण प्रकाशनमा ढिलाइ भएको बताउँदै आएका छन् नि ?
वाणिज्य बैङ्कहरूलाई एनएफआरएसअनुसार वित्तीय विवरण तयार गर्न आईक्यानले सन् २०१५/१६ देखि नै भनिरहेको थियो । जसले पहिलाबाट शुरू गर्यो उसलाई समस्या छैन । जस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, नेपालले पहिलेदेखि नै एनएफआरएस अनुसारको प्रतिवेदन गर्दै आएकाले उसलाई समस्या छैन, तर अन्य बैङ्कहरूले भर्खर शुरू गर्न थालेकाले केही ढिलो भएको हो । बैङ्कहरूले गृहकार्य पनि ढिलै गरेका हुन् । शुरूमा नै गरेको भए अहिले समस्या हुने थिएन । लागू गरेको शुरू वर्षको गृहकार्य अलि समय लाग्ने खालको भए पनि आउँदा वर्षहरूको लागि आधार तयार भइसक्ने हुनाले अन्य वर्षहरूमा वित्तीय विवरण प्रकाशन गर्न ढिला हुने छैन ।
नेपाल राष्ट्र बैङ्कले पनि नेपाल लेखामान बोर्ड र आईक्यानसँग परामर्श गरी अघि बढ्नुपरेकोले केही समय लागेको हो । यो समस्या अहिले मात्र हो, पछि हुँदैन भन्ने कुरामा विश्वस्त छौं । लेखा परीक्षण प्रतिवेदनमा एनएफआरएस लागू गरेको छैन भने यो वित्तीय विवरणमा सत्यतथ्य प्रस्तुत गर्न सकेको छैन भन्ने हुन्छ, परिणामस्वरूप लाभांश पनि दिन मिल्दैन । किनभने विवरण नै सत्य हुँदैन भने कसरी लाभांश दिने त ?
केही बैङ्करले यो प्रणाली राम्ररी नबुझेकाले द्विविधा बढेको बताएका छन् । यसबारे बुझ्ने मानिस कम भएकै हो त ?
एनएफआरएस अनुसारका मानहरू नेपालमा मात्र नभई अन्तरराष्ट्रिय रूपमा नै वित्तीय प्रतिवेदनको नवीनतम अवधारणामा आधारित भएको पक्कै हो । हरेक बैङ्कमा एनएफआरएस बुझ्ने पेशागत दक्षता भएका कर्मचारीहरू पनि छन् र बैङ्कहरूसँग उपयुक्त परामर्श लगायत स्रोतसाधनको व्यवस्था गर्ने क्षमता पनि छ । यस संस्थाका सदस्यहरू पनि एनएफआरएसमा तालीमहरू लिई अध्ययन गरी दक्ष भइरहेका छन् । साथै, आईक्यानको कोर्षमा नै एनएफआरएस छ । अतः बुझ्न कठीन भएको बहानामा मात्र एनएफआरएस लागू गर्न ढिला गर्नु अब उपयुक्त तर्क रहँदैन ।
एनएफआरएस अनुसार एक्रुअल (प्रोदभावी) आधारमा आम्दानी देखाउनु पर्ने कि नगदमा हात परेकोलाई मात्र आम्दानी देखाउने भन्ने द्विविधा देखिन्छ । हातमा नपरेकोलाई आम्दानी मान्नु सान्दर्भिक नभएको बैङ्करको तर्क छ । यसमा तपाईंको भनाइ के छ ?
राष्ट्र बैङ्कको निर्देशनअनुसार यस अघिसम्म नगदमा प्राप्त ब्याज आम्दानीलाई मात्रै आम्दानी लेखाङ्कन गरिँदै आइएको थियो र बैङ्कर साथीहरू प्नि त्यही कुरामा अभ्यस्त हुनुहुन्छ । एनएफआरएसले नगदमा प्राप्त मात्र हैन, सबै पाकेको ब्याज आम्दानीलाई आयमा समावेश गर्न भनेको छ र प्राप्त हुन नसक्ने पाउनुपर्ने रकमहरूको मूल्याङ्कन गर्ने व्यवस्था पनि गरेको छ । त्यसैले, यो अझ वैज्ञानिक छ र अन्तरराष्ट्रिय जगत्मा सफल भइसकेको व्यवस्थामा आधारित छ । पहिला ब्याज प्राप्त हुने नहुने अनिश्चितताको कुनै लेखाजोखा नगरी सरल हिसाबकिताबको लागि आम्दानी नै नजनाइने गरिएको थियो भने अब एनएफआरएसले अनिश्चितताहरूको लेखाजोखा गरी वित्तीय विवरणमा समायोजन गर्ने बाटो खोलिदिएको छ । त्यसैले, नगदमा प्राप्त नभएको तर पाकेको ब्याज आम्दानीलाई आम्दानी मान्नु अब अनुपयुक्त रहेन ।
नियमनकारी निकायले प्रष्ट रूपमा यो नीतिबारे जानकारी दिन नसकेको हो त ?
यसमा राष्ट्र बैङ्कले पहिला नै एनएफआरएस लगाउनुपर्छ भनेको भए यस्तो समस्या आउँदैन थियो । अन्य देशमा पहिलादेखि नै लागू हुँदा हाम्रोमा लागू हुन नसक्ने कुनै कारण नै छैन । तर ढिलै भए पनि नेपाल राष्ट्र बैङ्कले यस सम्बन्धमा आवश्यक निर्देशन दिइसकेको छ र अन्य विकास बैङ्क तथा वित्तीय संस्थाहरूलाई पनि निर्देशन जारी गर्ने क्रममा छ । बीमा समितिले पनि बीमा कम्पनीहरूलाई आवश्यक निर्देशन र जानकारी दिने तयारी गरिरहेको छ ।
एनएफआरएस कार्यान्वयनमा आईक्यानको भूमिका कस्तो छ ?
हामी आईफ्याक (अन्तरराष्ट्रिय लेखा व्यवसायी महासङ्घ), कापा (कन्फेडेरेशन अफ एशिएन एण्ड पेसिफिक एकाउन्टेन्टस्), साफा (साउथ एशियन फेडरेसन अफ एकाउन्टेन्टस्) जस्ता क्षेत्रीय लेखा व्यवसायी सङ्घसंस्थाका सदस्य पनि बनेका छौं । यिनीहरूको सदस्यता भएको हुनाले हामीले यो लागू गर्नै पर्ने बाध्यता पनि थियो । विकल्प छैन । अन्तरराष्ट्रिय स्तरमै यो लागू भइसकेको हुनाले हामीले पनि अनिवार्य गरेका हौं ।
एनएफआरएस लागू कसरी गर्ने भन्नेबारे हामीले धेरै तालीम दिँदै आएका छौं । आईक्यानले समयसमयमा एनएफआरएस कार्यान्वयनलाई सहयोग पुग्ने अन्तरक्रिया कार्यक्रमहरू गर्ने र नेपाल राष्ट्र बैङ्क तथा बीमा समितिलगायतका निकायहरूसँग सहकार्य पनि गर्दै आएको छ । साथै, हामीले यस वर्ष एनएफआरएस कसरी लागू गर्ने भन्नेबारे बृहत् कार्यक्रम पनि गर्दै छौं । अनलाइन ट्रेनिङको पनि व्यवस्था गर्दै छौं । केही सार्वजनिक निकायहरूमा आईक्यानले एनएफआरएस कार्यान्वयनको लागि सहयोग पनि गर्न लागेको छ । विभिन्न संस्थाहरूमा हाम्रा सदस्यहरूले पनि सहयोग गरिरहेका छन् । यसले गर्दा यहाँ जनशक्ति स्रोत कम छ भन्न मिल्दैन । खाली त्यसलाई समयमा नै प्रभावकारी र प्रोयाक्टिभ बनाउनु पर्यो र योजनाबद्ध तरीकाबाट एनएफआरएस कार्यान्वयनको मार्गचित्र बनाई अघि बढ्नुपर्यो ।
एनएफआरएस कार्यान्वयनमा देखिएका यस्ता समस्या कहिलेदेखि हल हुने अपेक्षा गर्न सकिएला ?
एकदमै छिटै समाधान हुने अपेक्षा गर्न सकिन्छ । वाणिज्य बैङ्कले पहिलोपटक शुरू गरेको हुनाले यस्तो समस्या देखिनु स्वाभाविक हो । एनएफआरएस लागू नगर्दाको स्थितिमा यसको ट्रेण्ड पनि थाहा थिएन । अब यसका आधारभूतदेखि भित्रका विषयवस्तुहरू पनि थाहा हुँदै जान्छन् । प्रत्येक वर्ष लागू गरेपछि त्यसको ट्रेण्ड पनि थाहा हुन्छ । यसपछि गति लिएर जान्छ र एनएफआरएस लागू नगर्दा हुने घाटाको बारेमा सबै स्टेक होल्डरलाई समेत सहजै थाहा हुन्छ ।
एनएफआरएसमा आधारित वित्तीय विवरण कार्यान्वयनमा आएपछि के–केमा परिवर्तन आउनेछ ?
यो प्रणाली आइसकेपछि प्रयोगकर्ताहरू (शेयरधनीहरू, सरकार, नियमनकारी निकाय, आम नागरिक, साहूहरू, दातृ निकाय) लाई पारदर्शी तरीकाले संस्थाको सम्पूर्ण स्थितिबारे थाहा हुन्छ । पहिलो कुरा त एनएफआरएस अनुसारको वित्तीय विवरण पढ्नेले व्यवसायसँग सम्बन्धित सबै कुरा थाहा पाउँछ । यो हेरेर कुनै पनि कम्पनीले के गर्दै छ भनेर विश्लेषण गर्न सकिन्छ । यस्तो सुविधा यसअघिको वित्तीय विवरण पूर्ण रूपमा थिएन । यस्तै, यसमा निष्पक्ष मान्यता हुन्छ, जसमा समयअनुकूलको विवरण प्रस्तुत गरिन्छ । तेस्रो, यो अन्तरराष्ट्रिय स्तरमै प्रयोग गरिने एउटै फम्र्याटको हुने भएकाले यसलाई अन्तरराष्ट्रिय जगत्मा सबैले चिन्न र बुझ्न सजिलो हुन्छ । विदेशी लगानीकर्ताले लगानी गर्न चाहेमा सो विवरण हेरेरै संस्थाको अवस्थाबारे प्रायः कुरा थाहा पाउन सक्छन् । यस्ता विविध फाइदा भएकाले यो प्रभावकारी हुन्छ ।
बैङ्क वित्तीय संस्थाबाहेक अन्य कम्पनीहरूमा एनएफआरएस लागू गर्ने योजनाबारे थप केही छ कि ?
आईक्यानले वाणिज्य बैङ्क होस् वा अन्य विकास बैङ्क सबैमा लागू गर्न भनिसक्यो । तर, राष्ट्र बैङ्कले पहिला वाणिज्य बैङ्कहरूले यसअनुसार विवरण तयार पार्नुपर्ने भनेको छ र यसपछि विकास बैङ्कहरूलाई सोअनुसार गर्न लगाउने भनेको छ । आईक्यानले सबै वर्गका सूचीकृत कम्पनीलाई लगाऊ भनेको हो । २ वर्षदेखि नै बीमा कम्पनी र प्राइभेट लिमिटेड कम्पनी, जसले ५० करोड रुपैयाँभन्दा बढी ऋण लिएको छ, उसले पनि यो प्रणाली लागू गर्नुपर्ने हुन्छ । सो प्रणालीअनुसार नगर्नेबारे अहिलेको वित्तीय विवरणमा अस्वीकार (डिस्क्लेइमर) देखिन्छ । अर्थात् लेखापरीक्षकले वित्तीय विवरणउपर कुनै राय व्यक्त गर्न सक्ने अवस्था हुँदैन । हुन त अहिले धेरै प्रालिहरूले पनि एनएफआरएस लागू गर्न थालेका छन् । अब साना तथा मझौला निकाय (एसएमई) मा पनि आउँदो साउन १ गतेदेखि अवलम्बन गर्ने भएका छौं । तर, एसएमईमा लागू गरिने एनएफआरएस भने एसएमईकै लागि जारी गरिएको ‘एनएफआरएस फर एसएमई’ हुनेछ, जुन एनएफआरएसकै सरलीकृत संक्षिप्त रूप हो ।
बीमा कम्पनीहरूमा एनएफआरएस लागू गर्न देखिएको एउटा समस्याका रूपमा बीमितहरूको भ्यालुएशन गर्नुपर्ने व्यवस्थालाई पनि देखाइँदै आइएको छ । यो के हो ?
बीमितहरूको भ्यालुएशन गर्नै पर्छ । साथै, सबै कर्मचारीप्रतिको दायित्वको, घर, जमीन लगायतको उपयुक्त भ्यालुएशन गर्नै पर्छ । यस्तै, बीमालेखको भ्यालुएशन गर्दा मापन गर्ने आधार हुन्छ । कर्मचारीहरूप्रतिको दायित्वको भ्यालुयशन गर्दा अहिले पाउने तलब मात्र नभई एनएफआरएसमा त अवकाश हुँदासम्ममा कति हुने भनेर समेत डिस्काउन्टिङ गरेर अहिले नै वित्तीय विवरणमा प्रस्तुत गर्नुपर्ने हुन्छ । बीमा दाबी पर्न आएको र किस्ताअनुसार भुक्तानी भएका सबैको टे«न्ड हेरेर भ्यालुयशन गर्ने विधि छ । अहिले कम्पनीहरूले दाबीको केही प्रतिशत रिजर्भ राख्नुपर्छ भन्ने गर्छन्, तर यसलाई एनएफआरएसले मान्दैन । यसकारण अहिले बीमा समितिले पनि एनएफआरएस कसरी लगाउने भनेर व्यापक रूपमा काम गरिरहेको छ । अब बीमा कम्पनीहरूको दुईओटा वासलात बन्छ । एउटा नियामक निकायको लागि र अर्को एनएफआरएस अनुसार सर्वसाधारणको लागि बीमा समितिले राष्ट्र बैङ्कको जस्तै कसरी एउटै बनाउन सकिन्छ भनेर गृहकार्य गरिरहेको छ ।
एनएफआरएस अवलम्बन गर्दा समस्या परेमा कसरी गुनासो राख्ने ?
यसका लागि हामीले समिति बनाएका छौं । आईक्यान अन्तर्गत नै दुईओटा समिति छन् । एउटा बैङ्किङ र फाइनान्सियल कम्पनीका लागि र अर्को अन्य कम्पनीहरूका लागि । शुरूमा यो समितिले हेर्छ र आईक्यान परिषद्लाई आवश्यक निर्णय वा सिफारिश गर्दछ । एनएफआरएसको व्याख्यासम्बन्धी कुराहरू भए नेपाल लेखामान बोर्डलाई थप कार्यवाहीका लागि पठाइनेछ । बैङ्कहरूको हकमा आईक्यान, नेपाल लेखामान बोर्ड र नेपाल राष्ट्र बैङ्क सम्मिलित त्रिपक्षीय संयन्त्रले समस्या समाधान गर्ने उपाय खोज्नेछ । यसर्थ, द्विविधा भएमा हामीले क्रमशः समाधान गर्दै जाने हो ।
सरकारी क्षेत्रको वित्तीय प्रतिवेदनहरूमा चाहिँ के कस्तो प्रतिवेदनमानहरू लागू भएका छन् ? आईक्यानको भूमिका के रहेको छ ?
सरकारी संस्था र सबै सरकारी निकायहरू (सङ्घ तथा प्रदेशसमेत) मा भने इन्टरनेशनल पब्लिक सेक्टर एकाउन्टिङ स्ट्यान्डर्डस् (ईफ्सास) अनुसार जारी भएको नेपाल पब्लिक सेक्टर एकाउन्टिङ स्ट्यान्डर्डस् (नेफ्सास) लागू गर्नुपर्छ । महालेखा नियन्त्रक कार्यालयको अगुवाइमा केही मन्त्रालयमा लागू हुन थालिसकेको छ । अब यस वर्ष हामीले महालेखा नियन्त्रक कार्यालयको समेत सहकार्यमा ७ ओटै स्थानीय सरकारलाई पनि नेफ्सास लागू गर्न तालीम दिने कार्यक्रम छ । भर्खरै हामीले विराटनगरमा तालीम दिएका छौं । अहिलेसम्म नगदमा आधारित लेखा प्रणाली भएकाले सरकारको सम्पत्ति (भवन, जमीनलगायत) कति छ भन्ने यकीन तथ्याङ्क छैन । नेफ्सासले एक्रुअल (प्रोदभावी) आधारमा सबै हिसाब देखाउँदछ । अहिले भारतले पनि आफ्नो देशको भारतीय चार्टर्ड एकाउन्टेन्टस् संस्थासँग प्राविधिक सहयोग लिई रेल–वेमा एक्रुअल (प्रोदभावी) आधारमा लेखा प्रणाली लागू गरेर रेल–वेको सम्पत्ति तथा दायित्व कति छ भनेर सबै चित्रण गर्न सक्ने विवरण बनाएको छ । नेपाल सरकारले पनि यसलाई अवलम्बन गर्दा फाइदा हुन्छ ।
आईक्यानले गत वर्षदेखि नोभेम्बर १०मा ‘इन्टरनेशनल एकाउन्टेन्ट्स डे’ मनाएको थियो । यो दिवसको महत्त्व के हो ? यस वर्ष कसरी मनाउने तयारी गर्दै हुनहुन्छ ?
गत वर्ष पहिलो पटक मनाएका थियौं । यसपटक भव्य तरीकाले मनाउने चाहना हुँदाहुँदै पनि तिहारको भोलिपल्ट भएकाले सामान्य तयारी गरेका छौं । वास्तवमा आधुनिक लेखाका पिता भनी परिचित लुका पासीओलीले सन् १४९४ नेभेम्बर १० मा एभ्रिथिङ अबाउट अरिथमेटिक, ज्योमेट्री एण्ड प्रोपोर्सन नामक पुस्तक प्रकाशित गरेको सम्झनामा विश्वमा हरेक वर्ष सो दिनलाई अन्तरराष्ट्रिय लेखा दिवसको रूपमा मनाउन थालेको हो । आईफाक (इन्टरनेशनल फेडेरेशन अफ एकाउन्टेट्स), कन्फेडेरेशन अफ एसिया एण्ड प्यासिफिक एकाउन्टेन्ट्स (कापा) तथा साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्स (साफा)का सदस्य संस्थाहरूले नोभेम्बर १० लाई दिवसका रूपमा मनाउँदै आएका छन् । यस वर्ष पनि यही कात्तिक २४ गते शनिवारलाई लेखा दिवसको रूपमा मनाउनेछौं । यस कार्यक्रमको मुख्य उद्देश्य लेखा शिक्षाको महत्त्वप्रति जनचेतना जगाई लेखाशिक्षाको क्षेत्रमा भएका महŒवपूर्ण उपलब्धिहरूलाई उजागर गर्ने तथा लेखा शिक्षासम्बन्धी मुद्दाहरूमा नवीन रणनीतिहरूको विषयमा छलफल गर्ने, लेखा विद्यार्थीहरूलाई प्रोत्साहन प्रदान गर्ने र लेखा शिक्षाको प्रचारप्रसार गर्ने रहेको छ । यसै अवसरमा संस्थाद्वारा सरकारी निकायका महानुभावहरू, वरिष्ठ शिक्षाविद्हरू, संस्थाका सदस्यहरू, संस्थाका विद्यार्थीहरूलगायतको उपस्थितिमा भृकुटीमण्डप, भद्रकाली, जमल, घण्टाघरमा प्रभातफेरी कार्यक्रम गर्ने भएका छौं ।