जलविद्युत् कम्पनीहरूको छुट्टै नियामक निकाय आवश्यक छ
Nov 5, 2018
 
अन्तरवार्ता
धितोपत्र बजारमा लामो समयदेखि लगानी गर्दै आएका डम्बरु बल्लव घिमिरे कम्पनीहरूको साधारणसभामा अत्यन्त सक्रिय रूपमा सहभागी हुन्छन् । हालसम्म ३ सयभन्दा बढी कम्पनीमा लगानी गरेको बताउने उनी कतिपय कम्पनीमा आफ्नो लगानी डुबेको गुनासो गर्छन् । कम्पनीहरूको उचित नियमन गर्ने निकाय नभएकोले त्यस्ता कतिपय कम्पनी डुबेको उनको विश्लेषण छ । अहिले बैङ्क तथा वित्तीय संस्था, बीमा कम्पनीलगायतको नियमनकारी निकाय भएको र जलविद्युत् कम्पनीको नभएको अवस्थामा यस्ता कम्पनीको नियमनका लागि पनि सरकारले यथाशीघ्र छुट्टै निकाय गठन गर्नुपर्ने उनी औंल्याउँछन् । यसै सन्दर्भमा आर्थिक अभियानकी प्रजिता बुढाथोकीले घिमिरेसँग गरेको कुराकानी :धितोपत्रमा पहिलोपटक कहिले र कुन कम्पनीमा लगानी गर्नुभएको थियो ?
म २०२८ सालदेखि नै धितोपत्र बजारमा लागेको हुँ । सक्रिय रूपमा भने २०३२ सालदेखि यो क्षेत्रमा छु । त्यस बेला मोरङ सुगर मिल, नेपाल बैङ्कलगायत कम्पनीको शेयरमा लगानी गरेको थिएँ । शेयर किनबेचको माहोल पहिला भौतिक रूपमै हुन्थ्यो । म शुरूको अवधिमा केही कम्पनीको दश/दश कित्ता शेयर खरीद गरेर धितोपत्र बजारमा प्रवेश गरेको हुँ । अहिले दोस्रो बजारमा सूचीकृत सबै कम्पनीमा मेरो लगानी छ ।
यो क्षेत्रमा प्रवेश गर्ने अवसर कसरी मिल्यो ?
म त्यो बेला नेपाल औधोगिक विकास निगममा कार्यरत थिएँ । मैले सम्झनैपर्छ, अग्रज शेयर लगानीकर्ता अमृतनाथ रेग्मीलाई । उहाँ र म एउटै कार्यालयमा काम गर्थ्यौं । उहाँले शेयर खरीद गर्ने गरेको देखेरै पनि म यो क्षेत्रमा लागेको हुँ । वास्तवमा मलाई विशेषगरी यो क्षेत्रमा लगानी गर्ने प्रेरणा उहाँले नै दिनुभएको हो । त्यो बेला म ७० रुपैयाँ तलब पाउँथे । १० कित्ता शेयर खरीद गर्नु ठूलै रकम हुन आउँथ्यो । तर, शेयर किस्ताबन्दीमा किन्न पाइने सुविधा थियो । १ हजारको शेयर किन्दा ५ सय रुपैयाँ दिएर बाँकी रकम विस्तारै तिर्न पनि पाइन्थ्यो ।
नेपाल स्टक एक्सचेञ्ज सञ्चालनअघि शेयर खरीदविक्री प्रक्रिया कसरी हुन्थ्यो ?
पहिले पहिले दुईजना मिलेर आफैमा मोलमोलाइ गरेर शेयर खरीदविक्री गथ्र्यौं । दुई जनाको समझदारीपछि कम्पनीमा निवेदन दिनुपथ्र्यो । कम्पनीले नामसारी गरिदिन्थ्यो । पछि २०३४/३५ सालतिर डिल्लीबजारको ओरालोमा सेक्युरिटी खरीदविक्री केन्द्रको स्थापना भयो । त्यतिबेला झ्यालबाट ब्रोकरहरू कराएर शेयरको मोलमोलाइ हुन्थ्यो । त्यो बेला २० ओटा ब्रोकर थिए । अरुभन्दा सुचिता खनाल बहिनी त्यो बेला ठूलो ठूलो स्वरमा कराएर शेयरको खरीदविक्री गराउनुहुन्थ्यो । त्यति बेलाको माहोल सम्झँदा रमाइलो लाग्छ ।
पूँजीबजारमा लामो समय बिताइसक्नुभएको छ । यो क्षेत्रको लगानीले दिएको प्रतिफल कस्तो लाग्छ ?
म अहिले जे, छु जुन अवस्थामा छु, त्यसमा पूँजीबजारबाट पाएको प्रतिफलबाट नै छु । म नोकरीमा मात्र लागेको भए आज यो अवस्थामा हुने थिइनँ होला । अझ मैले लगानी गरेका धेरै कम्पनी डुबेर गए । डुबेका कम्पनीमा गरेको त्यो बेलाको लगानी हिसाब गर्ने हो भने पनि १० लाखभन्दा बढी छ । लगानी गरेका सबै कम्पनी सक्रिय भएका भए म अझ बढी सफल हुने थिएँ होला । यही क्षेत्रमा गरेको लगानीबाट काठमाडौंमा घरसम्पत्ति जोडेको छु । अहिले अवकाश प्राप्त जीवनमा पनि यही शेयरबाट पेन्सनस्वरूप पाएको प्रतिफलले नै खुशीसाथ जीवन बिताइरहेको छु ।
धितोपत्र बजारमा गरेको लगानी भनिष्यका लागि सुरक्षित होला ?
मेरो अहिलेसम्मको अनुभवमा जुन कम्पनीको नियामक निकाय हुन्छ, ती कम्पनीको कार्यव्यवस्थापन नीतिगत रूपमा अघि बढेको हुन्छ । यसले गर्दा कम्पनीहरू नाफामा जान्छन् । ती कम्पनीमा गरेको लगानी पक्कै पनि भविष्यका लागि सुरक्षित हुन्छ । पहिला लगानी गरको नेकोन एयर, हरिसिद्धि इँटा टाइल कारखाना, पोखरा पाउरोटी उद्योग, चलचित्र विकास कम्पनीलगायत धेरै कम्पनीमा मेरो लगानी डुबेको छ । ती कम्पनीको नियामक निकाय नभएकाले पनि लगानी सुरक्षित नभएको जस्तो मलाई लाग्छ । त्यस्तै समस्या अहिले तत्कालका लागि जलविद्युत् कम्पनीमा देखिन सक्ने सम्भावना छ । पछिल्लो समय पूँजीबजारमा जलविद्युत् कम्पनी थपिने क्रम बढ्दो छ । जलविद्युत् कम्पनीका लागि पनि छुट्टै नियामक निकाय हुनुपर्छ भनेर हामीले बारम्बार झकझकाइरहेका छौं । सरकारले यसतर्फ ध्यान दिएन भने जलविद्युत् कम्पनीका लगानीकर्ता डुब्ने सम्भावना देख्छु ।
सूचीकृत सबै कम्पनीमा लगानी गरेको छु भन्नुभयो । कुन क्षेत्रका कम्पनीले बढी प्रतिफल दिँदा रहेछन् ?
मेरो अनुभवमा हालसम्म राम्रो प्रतिफल दिने कम्पनी वाणिज्य बैङ्कहरू नै हुन् । लघुवित्त कम्पनीहरूले ३५ देखि ५० प्रतिशतसम्म लाभांश दिने गरेको छन् । यसमा के छ भने यी कम्पनीहरूको पूँजी सानो छ । ८ अर्ब पूँजी भएका वाणिज्यहरूले १० प्रतिशत लाभांश दिनु र १० करोड पूँजी भएकाहरूले ४० प्रतिशत दिनुमा फरक पर्छ जस्तो मलाई लाग्छ ।
तपाईं लगानीको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
मैले दुई किसिमले यो क्षेत्रमा लगानी व्यवस्थापन गर्दै आएको छु । आईपीओको लगानी म दीर्घकालीन रूपमा गर्छु भने दोस्रो बजारमा गरेको लगानी अवस्था हेरेर अल्पकालीन रूपमा गर्ने गरेको छु । दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताले भित्रिने र बाहिरिने तरीका जान्नुपर्छ । कुनै कम्पनीको शेयर घटेको बेलामा उठाउने र बढेको बेलामा बेच्ने गर्नुपर्दछ । आज किन्यो, भोलि घट्यो भन्दैमा आत्तिएर विक्री गर्ने लगानीकर्ता पनि छन् । यस्तो अवस्थामा होल्ड गर्ने र बरु घट्यो भने थप खरीद गर्न सके घाटा कम हुन्छ ।
कम्पनीको वार्षिक साधारणसभामा सुझावकर्ताको रूपमा बोल्दै आउनुभएको छ । तपाईंहरूले दिएको सुझाव सम्बन्धित कम्पनीले कत्तिको कार्यान्वयन गर्दै आएका छन् ?
मैले शुरूमा पूँजीबजारमा प्रवेश गर्दाको समयदेखि कम्पनीहरूको वार्षिक साधारणसभामा गएर आर्थिक तथा प्राविधिक अध्ययन तथा विश्लेषण गरी सुझाव दिँदै आएको छु । धेरैजसो कम्पनीले सुझाव कार्यान्वयन गरेका छन् । जुन कम्पनीले हामीले दिएको सुझाव आत्मसात् गरेका छन्, ती कम्पनी व्यवस्थित ढङ्गले अघि बढेका छन् । कम्पनीहरूको साधारणसभामा बोल्ने मुख्यतः पुरानो पिढीका मानिस मात्र छन् । अहिले पूँजीबजारमा महिलादेखि युवावर्गसमेत प्रवेश गरेका छन् । म महिलालगायत युवाहरू समेत साधारणसभामा उपस्थित भएर आफ्नो सुझाव राख्न अनुरोध गर्छु ।
पहिले र अहिलेको धितोपत्र बजार तुलना गर्दा कस्तो पाउनुहुन्छ ?
पहिला र अहिलेको पूँजीबजारलाई तुलना गर्नुपर्दा त आकाश र जमीनकै फरक छ । पहिला १० कित्ता आईपीओ खरीद गर्न म साढे ४ घण्टा लाइनमा बसेको छु । अहिले पूँजीबजारले यति फड्को मारेको छ कि प्रविधिको प्रयोग गर्नेका लागि त घरमै बसेर पनि शेयर भर्न सकिने भएको छ । हामीजस्ता पुराना पुस्ताका मानिस पनि बैङ्कमा गएर एउटा पाना भरेर दिएपछि ५ मिनेटमा हुन्छ । कुनै कम्पनीको लाभांश लिनुप¥यो भने त्यस्तै लाइन बस्नुपर्ने हुन्थ्यो । अहिले थाहै नपाई बैङ्क खातामा नगद र हितग्राहीमा शेयर जम्मा हुन्छ । हामीलाई त सपनाजस्तै लागेको छ । यो क्षेत्रमा धेरै विकास भएको छ ।
पूँजीबजारमा प्रविधिको विकास भएको छ । यसको प्रयोग तपाईंजस्ता अग्रज लगानीकर्तालाई कत्तिको सहज छ ?
वास्तवमा प्रविधिले फड्को मारेको पूँजीबजारमा हामीजस्ता पुराना पुस्ताका लगानीकर्तालाई भने प्रयोग गर्न समस्या नै छ । नयाँ पुस्ताका लागि भने एकदमै प्रभावकारी भएको छ । पूँजीबजारलाई बुझेको तर प्रविधिको प्रयोग गर्न नजानेकाहरूका लागि आधुनिक सेवासुविधा हाउगुजीजस्तै भएका छन् । कम्प्युटर र इण्टरनेटको प्रयोग गर्न नसिकेकोमा भने अहिले आएर मलाई पछुतो लागेको छ । पहिले चासो नै राखिएन, अहिले प्रयोग गर्नुपर्ने बाध्यता आइपरेको छ । तर पनि हामी पछि हटेका छैनौं । सीडीएससी आएपछि डिम्याटमा धितोपत्र अद्यावधिक गर्ने बेला पनि हामीलाई के होला, कसो होला भन्ने थियो । अहिले यसको बारेमा सहज महसूस हुन्छ । मलाई लाग्छ, विस्तारै अन्य प्रविधिको प्रयोगमा पनि हामीलाई सहज हुँदै जानेछ ।
पूँजीबजार सम्बद्ध सरोकारवालालाई तपाईंका केही सुझाव छन् कि ?
सबैभन्दा पहिला त नीतिगत तहमा रहेकाहरूले नै पूँजीबजारलाई अनुत्पादन क्षेत्रको उपनाम दिँदै आउनुभएको छ । त्यसैले, यो क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्यो । पूँजीबजारबाट लामो समयदेखि लगानी गर्दै आएका मलगायत दशौं लाख व्यक्तिले यही क्षेत्रबाट आम्दानी गर्दै आएका छन् । रोजगारी सृजनामा पनि यो क्षेत्रले महत्त्वपूर्ण टेवा पुर्याएको छ । त्यस कारण पनि आगामी दिनमा यस्ता अभिव्यक्ति नदोर्याउन मेरो अनुरोध छ । साथै हामी जस्ता विश्लेषक, जसले कम्पनीको अवस्था हेरेर निस्वार्थ रूपमा सुझाव दिँदै आएका छौं, जसलाई कम्पनीको हरेक गतिविधिको बारेमा जानकारी हुन्छ । हामीसँग पनि नियामक निकायले सहकार्य गरेर अघि बढे प्रभावकारी हुने थियो । अन्त्यमा सबैलाई तिहार र छठपर्वको शुभकामना व्यक्त गर्दछु ।