रौतहटका रामाश्रय साह निर्माण व्यवसायको क्षेत्रमा परिचित नाम हो । आश्रय निर्माण सेवा प्रालिका संस्थापक साह करीब ३५ वर्षदेखि निर्माण सेवामा सक्रिय छन् । काठमाडौं उपत्यका निर्माण व्यवसायी सङ्घका संस्थापक सदस्यसमेत रहेका उनी रौतहटका अग्रज निर्माण व्यवसायी हुन् । निर्माण व्यवसायी सङ्घ, रौतहटको भवन निर्माणमा उल्लेख्य योगदान गरेका साह समाज सेवामा पनि सक्रिय छन् । नदी नियन्त्रण, सिँचाइ, सार्वजनिक संरचना निर्माणलगायत क्षेत्रमा उनको भूमिका महत्त्वपूर्ण छ । प्रस्तुत छ, निर्माण क्षेत्रका विविध विषयमा रहेर आर्थिक अभियानका रौतहट संवाददाता दीपेश पौडेलले साहसँग गरेको कुराकानी :निर्माण व्यवसायको क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
मेरो जीवनमा तीर्थयात्रा नै निर्माण व्यवसायमा प्रवेश गर्ने मुख्य प्रेरणा बन्यो । रसुवाको गोसाइकुण्ड जाने क्रममा त्यस भेगका जनताले पाएको दुःख र आफूले भोगेको समस्याले नै निर्माण व्यवसायमा लाग्न प्रेरित गर्यो । विकट स्थान, साँघुरो सडक र त्यसमाथि त्यहाँका नागरिकको कष्टपूर्ण दिनचर्या देखेर निर्माण क्षेत्रमा काम गर्ने सोच आयो । त्यति बेला सडकलगायत भौतिक पूर्वाधारको राम्रो व्यवस्था भएको भए तीर्थयात्री र त्यस भेगका गाउँलेलाई निकै सुविधा पुग्ने थियो भन्ने लाग्यो । यस्तै कल्पना मनमा बोकेर तीर्थयात्राबाट फर्किएँ । करीब ४ वर्षसम्म सरकारी जागीर गरी बीचमौ छाडेर भर्खरै हात्तीछाप चप्पल कारखानामा काम गरेको थिएँ । १० वर्षसम्म उक्त कारखानामा काम गरे पनि निर्माण क्षेत्रमा देखिएको समस्याले चिन्तित बनाउँथ्यो । त्यसपछि स्थानीयस्तरमा हुने विकास निर्माणका ठेक्कापट्टामा संग्लन भएर २०४१ सालमा कम्पनी नै दर्ता गरेका हौं ।
यो कम्पनीले बनाएका भौतिक संरचनाको अवस्था कस्तो छ ?
निर्माण गरिएका संरचना गुणस्तरीय हुनुपर्छ भन्ने मान्यता आश्रय निर्माण सेवा प्रालिले लिएको छ । यस कम्पनीले निर्माण गरेका संरचनाका बारेमा कतैबाट विरोध र गुनासो नभएकाले पनि हाम्रो काम गुणस्तरीय छ भन्न सकिन्छ । २०४२ सालमा बनाएको कृषि कार्यालय, सर्लाहीको भवनमा हालसम्म पनि कुनै किसिमको समस्या देखा परेको छैन । सर्लाहीकै पशु कार्यालय, सरकारी अस्पताल, सिँचाइ भवनलगायत संरचनामा कुनै समस्या नआउनुले पनि बनाइएका संरचना गुणस्तरीय र दिगो छन् भन्ने पुष्टि हुन्छ ।
प्रायः निर्माण व्यवसायी आलोचित हुने गर्छन् । विकास निर्माणका काम व्यवस्थित र मर्यादित बनाउन के गर्नुपर्छ ?
निर्माण व्यवसायीहरू आलोचित हुनु आफैमा रहेको कमीकमजोरी र सरकारको नीतिका कारण पनि हो । निर्माणको जिम्मा पाएपछि कम्पनीले निर्धारित समयमा सक्ने र गुणस्तर कायम गर्नेगरी काम अघि बढाउनुपर्छ । आफ्नो जिम्मेवारीको काम तोकिएको अवधिमै सके मात्र कम्पनीको विश्वसनीयता देखिन्छ । निर्माण कम्पनीले एकैपटक धरैओटा निर्माणको जिम्मा लिने र सीमित स्रोतसाधनको परिचालन गर्ने प्रवृत्ति छ, जस कारण समयमै निर्माण सम्पन्न नहुँदा आलोचित हुनुपरेको छ । अर्कोतर्फ, टेण्डर आह्वान प्रक्रियामा निर्माण कम्पनीले कम रकममा ठेक्का लिनुपर्ने बाध्यता छ । लागतभन्दा कम रकममा काम गर्दा भुक्तानी समस्या, स्रोतसाधनको अभाव आदिले समयमै निर्माण नसकिने र निर्मित संरचनामा समस्या आउने गर्छ । त्यसैले, टेण्डर आह्वान प्रक्रिया व्यवस्थित गर्नुपर्ने देखिन्छ । सम्झौताअनुसार बजेट नछुट्ट्याई टेण्डर आह्वान गरेर समयमा रकम नपाउँदा पनि काममा ढिलाइ भएको पाइन्छ । त्यसैले, यसलाई व्यवस्थित र मर्यादित बनाउन सरकारी स्तरबाट समेत सहयोग आवश्यक पर्छ ।
निर्माण क्षेत्रमा के कस्ता चुनौती छन् ?
निर्माण क्षेत्रमा जटिल किसिमका विभिन्न समस्या छन् । मुख्य समस्या सरकारको दोहोरो नीति नै हो । सरकार संरचना निर्माणका लागि बोलपत्र आह्वान गर्छ । तर निर्माणका लागि आवश्यक ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्न दिँदैन । यस कारण विकास निर्माणका काममा ढिलासुस्ती हुने गरेको छ । सरकारले नै निर्माणको जिम्मा पनि दिने र उक्त काममा बाधा पनि पु¥याउने यो कस्तो नीति हो ? सरकारको दोहोरो नीतिका कारण नै निर्माण व्यवसायी मारमा छन् । स्थानीयस्तरको स्रोत परिचालन गर्ने नपाउने र कम मूल्यमा निर्माणको जिम्मेवारी लिनुपर्ने बाध्यता छ । सरकारले नै ढुङ्गा, गिट्टी, बालुवा उत्खननका लागि बोलपत्रमै स्थान र मापदण्ड तोकिदिनु पर्छ । निर्माण क्षेत्रमा मुआब्जा, जग्गालगायत विषयमा विवाद उत्पन्न हुने गरेको छ । यस्ता समस्या समाधान गर्न सरकार र निर्माण व्यवसायीबीच समन्वय र सहकार्य हुनुपर्छ । निर्माण व्यवसायको क्षेत्रमा देखिएको समस्याप्रति सरकारी उदासीनताका कारण पनि चुनौती थपिएको हो, जसको समाधान सरकारी पक्षबाटै हुनुपर्छ ।
कतिपय निर्माण कम्पनीले कामको जिम्मा लिने र पूरा नगर्ने प्रवृत्ति पनि देखिन्छ । यसको मुख्य कारण के हो ?
निकै राम्रो प्रश्न गर्नुभयो । यसअघि पनि मैले भनिसकेँ, निर्माण व्यवसाय प्रायः आलोचित हुने गर्छ । यसको दोषी व्यवसायी मात्र नभई सरकारी नीति पनि हो । सरकारले क्षमताअनुसार निर्माण व्यवसायीलाई काम दिने, बोलपत्र आह्वान गर्दा मापदण्ड तोकिदिने, कम मूल्यमा ठेक्का सकार्ने प्रवृत्ति हटाउने र भुक्तानी समयमै दिने काम गर्नुपर्छ, जस कारण निर्माण क्षेत्रमा असहजता उत्पन्न नहोस् । निर्माण कम्पनीले पनि निर्माणको जिम्मा पाएपछि दायित्वबोध गर्दै समयमै सम्पन्न गर्ने लक्ष्य लिनुपर्छ । अर्कोतर्फ, निर्माणका लागि आवश्यक पर्ने स्थानीयस्तरका स्रोतसाधनमा अवरोधले पनि लक्ष्यअुनसार काम हुन सक्दैन । निर्माण सामग्री र कामदारको अभावले समेत काम रोकिने भएकाले यस्ता समस्याको समाधान हुनुपर्छ ।
सरकारले भर्खरै लागू गरेको गुणस्तर आचारसंहिताको विषयमा के भन्नुहुन्छ ?
सरकारले नै तोकिदिएको मापदण्डअनुसारको सामग्री निर्माण व्यवसायीले प्रयोग गर्ने गरेका छन् । उत्पादित निर्माण सामग्री गुणस्तरीय भए÷नभएको अनुगमन गर्ने जिम्मा नेपाल सरकारको हो । तोकिएको मापदण्डअनुसारकै सामग्री प्रयोग गर्दा समेत संरचना गुणस्तरीय नहुनुमा सरकारी पक्ष पनि दोषी देखिन्छ । सिमेण्ट, छडलगायत निर्माण सामग्रीको उत्पादनमै कमीकमजोरी रहेको भए त्यसको दोष निर्माण व्यवसायीलाई दिन मिल्दैन । त्यसैले, मापदण्डअनुसारको संरचना बनाउन निर्माण सामग्रीको उत्पादन पनि गुणस्तरीय हुनुपर्छ ।
निर्माण व्यवसायसँगै समाजसेवा गर्दा कस्तो अनुभव भएको छ ?
निर्माण व्यवसायमा संग्लन रहेको ३५ वर्षमा चारपटक निर्माण व्यवसायी महासङ्घबाट स्वर्णपदक पाएँ । निर्माण व्यवसायी सङ्घको २१ राष्ट्रको संयुक्त सम्मेलन मलेशियामा हुँदै छ । उक्त ४४औं सम्मेलनबाट अवार्ड पाउने घोषित हुँदा हर्षित बनाएको छ । २०५० सालमा सर्लाहीका बाढीपीडित नागरिक र केही वर्षअघि बाग्मती नदीबाट पीडित बनेका रौटहट दुर्गाभगवती गाउँपालिकाका नागरिकलाई समेत राहत वितरण गरेँ । आपत्कालीन अवस्थामा नदी नियन्त्रणका लागि नाइलन डोरीको जालीसँगै तारजाली उत्पादन र तटबन्ध निर्माणमा सघाउने मौका पाएँ । सामाजिक कार्य गरेबापत नेपाल सरकारको दैवी प्रकोप उद्धार समितिबाट सम्मान र प्रमाणपत्रसमेत पाउनुलाई गर्वको रूपमा लिएको छु । आगामी दिनमा पनि समाज सेवाका काममा सक्रिय रहनेछु ।