कार्यालयमा काम गर्ने अधिकांशलाई हाडजोर्नी र नसाको समस्या छ
Nov 16, 2018
 
अन्तरवार्ता
पछिल्लो समय नेपालमा हाडजोर्नी तथा नसाका बिरामी बढ्दै गएको समिद कतिला श्रेष्ठ बताउँछन् । श्रेष्ठले राजीव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्सअन्तर्गत डाक्टर एमभी सेट्टी कलेज अफ फिजियोथेरापी, (ब्याङ्गलोर) भारतबाट ब्याचलर अफ फिजियोथेरापी र सोही कलेजकबाटै माष्टर गरेका छन् । उनी बानेश्वरको कात्यायनी मन्दिर नजिकै रहेको कतिलाज हाडजोर्नी, नसा फिजियोथेरापी केन्द्र खोलेर उपचार सेवा दिँदै आएका छन् । त्यसबाहेक उनी भक्तपुर जिल्ला अस्पताल, बीपी नेत्र प्रतिष्ठानद्वारा सञ्चालित बाल तथा नाक, कान, घाँटी अस्पताल र सञ्जीवनी हेल्थ केयर सेण्टर जडीबुटीमा प्रमुख फिजियोथेरापिष्ट रूपमा कार्यरत छन् । प्रस्तुत छ, नेपाल फिजियोथेरापी सङ्घको महासचिवसमेत रहेका श्रेष्ठसँग आर्थिक अभियानका भवनाथ प्याकुरेलले गरेको कुराकानी :फिजियोथेरापी के हो ?
फिजियोथेरापी विभिन्न मेडिकल उपचार पद्धतिमध्ये एक हो । हाडजोर्नी, नसा, पेट आदिको अलग विभाग भएजस्तै फिजियोथेरापी पनि एउटा विभाग हो । यो उपचार पद्धतिले विशेषगरी जोर्नीको दुखाइ, मांसपेशीमा हुने दुखाइ, नसाका कारण हुने दुखाइ, विभिन्न रोगका कारण हिँडडुल गर्न हुने समस्याको समाधान गर्छ । यसैगरी जोर्नी कडा हुने, चलाउन गाह्रो हुने, जन्मजातै बालबालिकामा देखिने विकासका समस्या आदिको पनि निदान तथा उपचार गरिन्छ । फिजियोथेरापीमा बिरामीहरूको शारीरिक कसरत (एक्सर्साइज थेरापी), फिजियोथेरापिष्ट स्वयम्का हातले गरिने उपचार (म्यानुअल थेरापी), मेशिनको प्रयोगले हुने उपचार (इलेक्ट्रो थेरापी) तथा तातोचिसो (घामपानी)को सहयोगबाट गरिने उपचार बढी प्रयोगमा छ ।
फिजियोथेरापीबाट कस्ता रोगको उपचार हुन्छ ?
विधागत रूपमा भन्नुपर्दा हाडजोर्नी विभागमा जाँदा हड्डीहरू खिइएको, मर्किएको उपचार हुन्छ । हड्डी भाँचिएपछि उपचारका लागि प्लाष्टर लगाइन्छ । त्यो खोलिसकेपछि हातखुट्टा नचल्ने भएमा त्यस्ता समस्याको पनि यो पद्धतिबाट उपचार हुन्छ । त्यस्तै, नसा विभाग गयौं भने प्यारालाइसिसको उपचार हुन्छ । ढाडको नसा च्यापिएका, नसा कमजोर भएका बिरामीको उपचार हुन्छ । बालबालिकामा हुने अटिजम, डाउन सिम्ड्रम आदि कारणले उनीहरूको वृद्धि विकासमा ढिलाइ हुन्छ । यस्तो बालबालिकाको पनि उपचार गरिन्छ । आङ खसेका महिलाको उपचार गरिनुका साथै गर्भवती हुनुअघि र पछि विभिन्न किसिमका व्यायाम सिकाइन्छ । त्यस्तै, वृद्ध अवस्थामा हुन सक्ने कमजोरी तथा नसाका रोगहरू, जस कारण हिँड्न समस्या हुन्छ । यस्ता समस्याको उपचार पनि फिजियोथेरापीबाट हुँदै आएको छ ।
फिजियोथेरापी क्लिनिकमा कस्ता बिरामी आउने गरेका छन् ?
विशेषगरी लाइफस्टाइल डिजिज, डिजेनेरेटिभ डिस्क डिजिज, जस्तै– हाड खिइएको, नसा च्यापिएको, मांसपेशी कमजोर भएको समस्या लिएर बिरामीहरू आउँछन् । यस्ता बिरामीमध्ये अधिकांश ४५ वर्षभन्दा माथिका हुन्छन् । यस्तै, कार्यालयमा काम गर्ने अधिकांश मानिस गर्धन, ढाड, कुम, हात दुख्ने लगायत समस्या भएर आउँछन् ।
फिजियोथेरापीमा कसरी उपचार गरिन्छ ?
रोगको निदान भइसकेपछि हामी बिरामीलाई दुई किसिमले हेर्ने गर्छौं, एउटा दुखाइ कस्तो छ र अर्को चलाइ कस्तो छ । सबैजसो समस्या हामी यसरी नै विभाजन गर्दछौं । दुखाइ प्रमुख छ वा चलाइ प्रमुख छ भन्नेमा ध्यान दिन्छौं । दुखाइ धेरै छ भने हामी दुखाइ कम गर्नतिर लाग्छौं । दुखाइ कम भएपछि कसरत बढाउँदै लैजान्छौं । यो विशेषगरी ढाड, गर्धन, हड्डी दुखेको मानिसलाई हुने गर्दछ । त्यस्तै, जोर्नीहरू कसिएको तथा मर्के/भाँचिएको उपचारका लागि लगाइएको प्लाष्टर खोलिसकेपछि गरिने उपचारमा पहिले जोर्नी राम्ररी खुलाइन्छ, अनि मात्र दुखाइ कम गरेर उपचार थालिन्छ ।
फिजियोथेरापीमा उपचार हुने समस्या आउनै नदिन के के गर्न सकिन्छ ?
फिजियोथेरापीको मुख्य विशेषता रोगको निदान मात्र नरहेर रोग लाग्न नदिनु पनि हो । कार्यालयमा प्रयोग गर्ने कुर्सी, टेबलदेखि गाडी, मोटरसाइकलमा भएका सीट कस्ता छन्, तिनले हामीलाई कस्तो असर पारिरहेका छन् भन्नेमा ध्यान दिनुपर्छ । यसैगरी हाम्रो दिनभरको क्रियाकलाप, शारीरिक गतिविधि आदिलाई विचार गरेर सही रूपमा बस्ने, हिँड्ने, काम गर्ने बानी बसाल्नुपर्छ ।
मोटोपनाका कारण पनि धेरै रोग लाग्छ । यसको रोकथामका लागि नियमित कसरत गर्ने, खानामा ध्यान दिने र आफूले काम गर्दा शरीरमा कस्तो दबाब सृजना हुन्छ भन्ने विषयमा ध्यान दिने गरेर शारीरिक गतिविधि सुधार्ने गर्नुपर्छ । हाल धेरै रोग आफ्नो गलत जीवनशैली तथा खानपानका कारण लागेको देखिन्छ । त्यसैले, आफूलाई कस्तो किसिमको रोग लाग्न सक्छ भन्ने अनुमान गरी रोग लाग्नुअघि नै उपाय अपनाउनुपर्छ ।
व्यस्त जीवनशैलीका कारण हुने शारीरिक समस्याको समाधान कसरी गर्न सकिन्छ ?
अधिकांश कार्यालयमा मानिसहरू बिहान–देखि बेलुकासम्म निरन्तर बसेरै काम गर्छन् । लामो समयसम्म कार्यालयमा बस्दा अडेस लाग्न मिल्ने कुर्सीको प्रयोग गर्नुपर्छ । पैतालाले भुइँमा छुनुपर्छ । कुर्सीको उचाइ धेरै माथि भएको र धेरै तल झुकेको पनि राम्रो होइन । टेबलमा हामीले आफ्नो हातले पुग्ने ठाउँमा सामान राख्नुपर्छ । जस्तै– टेलिफोन, कागजपत्र, कलम नजिकै राख्नुपर्छ । आफूले प्रयोग गर्ने महत्त्वपूर्ण वस्तुहरू नजिकै र कम महत्त्व भएका वस्तुलाई केही टाढा राख्नुपर्छ । ल्यापटपको किबोर्ड प्रयोग नगरी साधारण किबोर्ड प्रयोग गर्नुपर्छ । मनिटर कम्तीमा ५० सेण्टिमिटरभन्दा बढी टाढा हुनुपर्छ । टाउको र ढाड सधैं सीधा राख्नुपर्छ । लामो समयसम्म कुर्सीमा बसेर काम गर्नुपर्ने मानिसले आधा घण्टाको फरकमा बाहिर केही बेर टहल्ने गर्नुपर्छ । जापानमा लामो समयसम्म कार्यालयमा काम गर्ने मानिस कुर्सी र बलमा पालैपालो बस्ने गर्छन् । बलमा बस्दा ढाडलाई फाइदा हुन्छ । धेरै निहुरेर चलाउनुपर्ने र गह्रौं मोटरसाइकल उपयुक्त हुँदैन । मोटरसाइकल खरीद गर्दा त्यसको सकको लचकता र ह्याण्डलको वजन कम भएको हेर्नुपर्छ ।
हाइड्रोथेरापी भनेको के हो ?
यो फिजियोथेरापीबाट गरिने उपचारमध्ये एउटा विधि हो, जुन पानीभित्र गएर व्यायाम गरिन्छ । पानीभित्र जाँदा पानीका कारण घुँडामा शरीरको वजन कम पर्छ र पानीले जोर्नीहरू चलाउन वजन दिने काम गर्छ । यस कारण घुँडामा वजन कम गर्नुका साथै मांशपेशीको शक्ति बढाउन मद्दत गर्छ । विशेषगरी धेरै तौल भएकाहरूलाई यो निकै नै लाभदायी हुने गर्छ ।
नेपालमा फिजियोथेरापीबारे मानिसलाई कत्तिको चेतना छ ?
म नेपालको फिजियोथेरापीको चेतनास्तरलाई दुई भागमा बाँड्छु । पहिलो भूकम्पभन्दा अगाडिको अवस्था र पछाडिको अवस्था । यी दुई अवस्थामा आकाश–जमीनको फरक देखिन्छ । भूकम्पपछि फिजियोथेरामीको चेतनास्तर अन्य वर्षको भन्दा बढेको छ । भूकम्पअगाडि केहीले डाक्टरले सुझाएको आधारमा मात्र फिजियोथेरापी गर्दथे । पछि धेरै मानिसको अङ्गभङ्ग भएका कारण फिजियोथेरापी गर्नेको सङ्ख्या बढ्यो । त्यसबेला विभिन्न सङ्घसंस्थाले पनि फिजियोथेरापीको उपचारका लागि मानिसलाई प्रोत्साहन गरे । अहिले देशैभर निजी र सरकारी अस्पतालमा फिजियोथेरापी गर्नेको सङ्ख्या बढेको छ । पहिला फिजियोथेरापी पढाइ हुने शिक्षक संस्था पनि थिएनन् अहिले तीनओटा कलेज खुलिसकेका छन् ।
फिजियोथेरापिष्टका समस्या के के छन् ?
फिजियोथेरापी पढ्न समय र आर्थिक लगानी पनि धेरै नै लागेको हुन्छ । तर, पढाइ सकिएर कार्य शुरू गर्दा निजीस्तरका अस्पताल, क्लिनिक आदिमा तलब निकै कम हुन्छ । नेपालमा फिजियोथेरापिष्टले कम पैसामा काम गर्नुपर्ने बाध्यता छ । फिजियोथेरापिष्टको सङ्ख्या तथा यो उपचार पद्धतिको महत्त्व पनि दिनदिनै बढेको छ । तर, फिजियोथेरापिष्टलाई दिने सेवासुविधा र तलबको स्तरको कम हुँदा काम गर्न समस्या हुने गरेको छ । यही कारण अधिकांश फिजियोथेरापिष्ट असन्तुष्ट भएर विदेशिने क्रम पनि बढ्दो छ । यो समस्या समाधानका लागि सरकारले फिजियोथेरापिष्टको न्यूनतम तलब तोक्नु जरुरी छ । फिजियोथेरापिष्ट जस्ता दक्ष जनशक्तिलाई देशमै काम गर्ने वातावरण बनाउनु राज्यको कर्तव्य हो । राज्यका नीतिनियम बनाउने जिम्मा लिएका व्यक्ति यो विषयमा गम्भीर हुनुपर्यो ।