ज्वरो आउँदा आफूखुशी औषधि नखानुहोस्, डेङ्गी हुन सक्छ
Nov 23, 2018
 
अन्तरवार्ता
सरुवा रोग भन्नेबित्तिकै अधिकांशलाई निको नहुने एचआईभी एड्स, क्षयरोग, मलेरिया, म्यानेञ्जाइटिस, कालाज्वरलगायत रोगको सम्झना हुन्छ । यस्ता रोगको नामै सुन्दा पनि धेरैलाई डर लाग्छ । त्यसैले, सरुवा रोगसम्बन्धी त्रास मनोवैज्ञानिक समस्या नै बनेको डाक्टरहरू बताउँछन् । पछिल्लो समय यस्ता रोगको सूचीमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गी थपिएको छ । खतरनाक यो रोग विभिन्न किसिमको हुन्छ ।डेङ्गी वा अन्य कुनै पनि सरुवा रोग एउटा मानिसमा भएपछि उसको दैनिक सम्पर्कमा हुने परिवारका सदस्य, साथीभाइलगायतमा सजिलै सर्न सक्न सक्छ । हालसम्म डेङ्गी रोगको खास उपचार पत्ता नलागेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन् । यो रोगका बिरामीलाई उचित स्याहार सुसार गरे रोग सर्ने जोखीम कम गर्न सकिने उनको अनुभव छ । प्रस्तुत छ, नेपालमा सरुवा रोगको अवस्था, रोगको जोखीमबाट बच्न अपनाइने विधि र हालै देशका केही भेगमा जटिल समस्याको रूपमा देखिएको डेङ्गीको असर, प्रकृति तथा जोगिने उपायबारे डा. पाण्डेसँग आर्थिक अभियानका रञ्जु काफ्लेले गरेको कुराकानी :सरुवा रोग अन्य रोगभन्दा के कसरी भिन्न हुन्छ ?
जीवाणु, ब्याक्टेरिया वा अन्य माध्यमले एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने रोगलाई सरुवा रोग भनिन्छ । सरुवा रोगलाई कम्युनिकेबल
डिजिज भनिन्छ । रोग नसर्ने (नन–कम्युनिकेबल) प्रकृतिको पनि हुन्छ । मानिसलाई मुख्यगरी यिनै दुई किसिमका रोग लाग्छ । यी दुईबीचको फरक त्यसले पार्ने प्रभाव हो । नसर्ने रोगले सम्बन्धित बिरामीलाई मात्र प्रभाव पार्छ । सर्ने रोग बिरामीको सम्पर्कमा रहेका हावा, पानी, रोगीले प्रयोग गर्ने सामग्री र जीवाणुको सहयोगबाट परिवारका सदस्य र नजीकका अन्य व्यक्तिमा पनि सजिलै सङ्क्रमित हुन्छ । यसलाई यसरी बुझौं दम, क्यान्सर, ग्याष्ट्रिक/अल्सर जस्ता नसर्ने रोगले यसका बिरामीलाई ग्रस्त पार्छ, तर उसका परिवारका सदस्य, साथीभाइ वा निरन्तर सम्पर्कमा हुने अन्यलाई कुनै असर पार्दैन । रुघाखोकी, क्षयरोग (टीबी)/कालाज्वर वा डेङ्गीले भने ग्रस्त बिरामीलाई पर्याप्त सरसफाइ भएन, सतर्क रहन सकिएन भने अरूलाई पनि रोगी बनाइदिन्छ ।
मानिसलाई के कारण सरुवा रोग लाग्छ ?
मानिस बिरामी हुने फरक–फरक कारण हुन्छन् । कहिले मानिस हाइजिनका कारण बिरामी पर्छन् । दैनिक जीवनयापनको शैलीले पनि रोगी बनाउन सक्छ । आहार÷विहारको असन्तुलन, आफ्नै बानी र व्यवहारले पनि रोगी बनाउन सक्छ । एचआईभी एड्स आचरणकै कारण हुन्छ ।
गरीबी वा अभावले पनि मानिसलाई विभिन्न रोगको शिकार बनाउँछ । पर्याप्त ठाउँको अभावले एउटा सानो ठाउँमा रोगी मानिस र परिवारका अन्य सदस्य सँगै रहनुपर्ने बाध्यता हुन्छ । सरसफाइ र सावधानी नहुँदा सरुवा रोगका जीवाणु पानी तथा हावाको माध्यमले एक मानिसबाट सजिलै अर्काे मानिसमा सर्छ ।
सबैभन्दा महत्त्वपूर्ण त रोगसँग प्रतिरोध गर्ने क्षमता कमजोर भयो भने मानिसलाई छिटो छिटो सरुवा रोग लाग्न सक्छ । र, यस्ता रोग निको हुन धेरै समय लाग्छ । अनी अर्काे कुरा, रोगका जीवाणु कति शक्तिशाली छन् भन्नेले पनि उत्तिकै फरक पार्छ । बलिया खालका जीवाणुले मानिसलाई छिट्टै सङ्क्रमित गर्छ ।
सरुवा रोगसँग डरको मनोविज्ञान पनि जोडिएको पाइन्छ । कारण के होला ?
एचआईभी एड्स र कुष्ठरोगको प्रभावले त्यस्तो भएको हो । धेरै जनासँग यौन सम्बन्ध राख्ने गलत आचरणका कारण एड्स हुने र भइसकेपछि उपचार नहुने भएकाले यससँग त्रासको मनोविज्ञान जोडिएको हो । आफ्नै गलत आचरणले रोगबाट ग्रस्त भएपछि बिरामीको सामाजिक प्रतिष्ठा समेत घट्छ । कुष्ठरोगलाई पाप कर्मसँग जोड्ने मनोवृत्ति पनि थियो ।
अर्काे कुरा, लामखुट्टेको टोकाइबाट हुने मलेरिया, डेङ्गी वा कालाज्वर जस्ता सरुवा रोगको उपचार पनि त्यति सहज छैन । लामो समय लाग्ने, धेरै पैसा खर्च हुने र चिकित्सकको कडा निगरानीमा रहनुपर्ने हुन्छ । त्यसैले, सरुवा रोगसँग डरको मनोवृत्ति जोडिएको हो ।
मलेरिया, डेङ्गी जापानिज इन्सेफलाइटिस र कालाज्वर किन तराईमा बढी देखिने गरेको छ ?
तराईका जिल्लाहरूमा न्यानो खालको तापक्रम हुन्छ । यस्तो तापक्रम हुने भेगको ओसिलो, पानी जम्ने ठाउँ लामखुट्टेलगायत कीरा फट्याङ्ग्राका लागि उपयुक्त हुन्छ । तिनीहरूले धेरै फुल पार्ने, सक्रियता बढाउने गर्छन् । अनि मानिसलाई टोकेपछि मानिसमा जटिल प्रकृतिका स्वास्थ्य समस्या देखिन्छ । कुनै जात विशेषका लामखुट्टेले टोक्दा मलेरिया, अर्काे जातकोले टोक्दा डेङ्गी र अरू रोगको सङ्क्रमण मानिसमा देखिन्छ ।
रोगका जीवाणु बोकेका लामखुट्टेहरू सजिलै धेरै मानिससम्म पुग्न सक्छन् र तिनले टोकेपछि रोगका जीवाणुहरू मानिसमा आइपुग्छ । यो क्रिया छोटो समयमा धेरै मानिसबीच हुन सक्छ र ठूलो सङ्ख्याका मानिस रोगको पकडमा आउँछन् । जलवायु परिवर्तनको कारण अहिले कुनै एक भौगोलिक क्षेत्रका रोगका जीवाणुले अर्काे भौगोलिक क्षेत्रका मानिसमा समेत ठूलो असर पार्ने गरेको छ ।
जलवायु परिवर्तनको विश्वव्यापी प्रभावले मानिसको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको छ भन्न खोज्नुभएको हो ? वातावरणमा आएको परिवर्तनले पनि रोगका जीवाणु स्थानान्तरण हुन्छन् ?
हो, जलवायु परिवर्तनको प्रभावले रोगका जीवाणु स्थानान्तरण भएका छन् । सरुवा रोगका जीवाणु स्वभावतः सहजै एक व्यक्ति वा ठाउँबाट अर्काेमा सर्ने प्रकृतिका हुन्छन् । पोखरा र बालाजुमा डेङ्गीका प्रशस्त बिरामी पहिचान भएका छन् । जलवायु परिवर्तनले त्यसलाई अझ सहज बनाएको विभिन्न अध्ययनले देखाएका छन् ।
डेङ्गी ज्वरोको अध्ययनमा संलग्न हुुनुहुन्छ । यस रोगको लक्षण पनि बताइदिनुस् न् ।
डेङ्गी भाइरसले सार्ने रोग हो । यसको भाइरस एडिस एजिरचाई नामको लामखुट्टेमा हुन्छ । यो लामखुट्टे न्यानो र सेपिलो ठाउँमा बस्छ । यसले दिउँसोकै समयमा मानिसलाई टोक्छ र सो टोकाइबाट मानिसमा डेङ्गीको सङ्क्रमण हुन्छ । नेपालमा दुई खालका (डेङ्गी क्लासिकल र डेङ्गी ह्यामोरेजिक फिभरका) बिरामी देखिएका छन् । डेङ्गी क्लासिकल भएका बिरामीलाई ज्वरो आउने, टाउको दुख्ने, आँखा वरिपरि दुख्ने, शरीरका हड्डीहरू भाँचिएको जस्तोगरी दुख्ने हुन्छ । डेङ्गी ह्यामोरेजिक योभन्दा पनि खतरनाक हुन्छ । यसमा माथि उल्लेख भएका सबै लक्षण देखिनुका साथै शरीरमा दादुराका जस्ता राता बिबिरा आउँछ । भाइरसले मानिसको रगतको सेलभित्रको पानी बाहिर ल्याउँछ । त्यसो भएपछि फोक्सोमा पानी भरिन्छ र शरीरबाट रक्तस्राव हुन्छ । यस्तो अवस्थामा बिरामीको तत्काल ज्यान जान पनि सक्छ ।
यसबाट बच्न के गर्नुपर्छ त ?
डेङ्गीको खास उपचार अहिलेसम्म पत्ता लागिसकेको छैन । त्यसैले, रोग नलागोस् भनेर आफू र आफ्नो वरपर सरसफाइ गर्ने, लामखुट्टेको टोकाइबाट बच्ने, सन्तुलित जीवनशैली अपनाउने र रोगीलाई विशेष हेरचाह गर्ने गर्नुपर्छ । कतिपय मानिसको जहाँ पायो त्यहीँ थुक्ने बानी हुन्छ, त्यस्तो गर्नु हुँदैन ।
अनि ज्वरो आयो भनेर जथाभावी बोरोफिन वा अन्य पेनकिलर औषधि किनेर खानु हुँदैन, डेङ्गी लागिसकेको हुन सक्छ । बरु प्रशस्त झोल पदार्थ पिउन सकिन्छ । त्यसपछि लगत्तै चिकित्सकको सम्पर्कमा गइहाल्नुपर्छ ।
रगत परीक्षण गरेपछि डेङ्गी पहिचान हुन्छ । पहिचान भएपछि देशभर नै यो रोगको निःशुल्क उपचार हुन्छ । रोग पहिचान नहुन्जेल बिरामीको खर्च हुन्छ, पहिचान भएपछि सरकारले बिरामीलाई निःशुल्क सेवा दिन्छ । बिरामीलाई अस्पतालमा भर्ना गरेर लक्षणअनुसार उपचार गर्नुपर्छ । अहिले सरकारले देशभरका स्वास्थ्य संस्थामा डेङ्गी किट उपलब्ध गराएको छ । यसले बिरामीलाई डेङ्गी छ/छैन, पहिचान गर्छ ।
यस्ता रोग अन्यमा सङ्क्रमण हुन नदिने उपाय के के छन् ?
बिरामी विशेषलाई चिकित्सकको निगरानीमा राख्ने र रोगको सङ्क्रमण बढ्न नदिने नै हो । रोग लागेर उपचार खोज्नुभन्दा पनि रोग लाग्न नदिन सजग रहनुपर्छ । सावधानीका लागि शरीर पूरै ढाक्ने खालका लुगा कपडा लगाउनुपर्छ । त्यसले पनि नढाक्ने भागका लागि क्रिमहरू छन्, लगाउन सकिन्छ । मुख्यगरी लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । घरभित्र वा बाहिर हुँदा सकेसम्म कीराको टोकाइबाट जोगीनुपर्छ ।
डेङ्गी वा त्यस्ता खालका जटिल रोगको उपचारमा राज्यले के कस्तो व्यवस्था गरेको छ ?
डेङ्गी रोग पहिचान भएमा बिरामीको निःशुल्क उपचार गरिन्छ । प्लेटलेट भएका बिरामी पोखरा र बालाजु–वनस्थलीमा ९ सय १७ जना भेटिए पनि यसले जटिल रूप लिन सक्ने भनेर सरकारले देशभर नै रोगविरुद्ध विभिन्न अभियान सञ्चालन गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रले सक्रियताका साथ त्यसलाई कार्यान्वयन गरिरहेको पनि छ । त्यसैले, रोग लाग्यो भनेर आत्तिनु पर्दैन । अन्य रोगका सन्दर्भमा पनि अलग–अलग व्यवस्था छन् ।