उत्तम अर्याल शेयर लगानीकर्ता सङ्घ नेपालका अध्यक्ष हुन् । लगानीकर्ताको हितमा काम गर्न एउटा मात्र सङ्गठन गठनका लागि राज्यबाट पहल हुनुपर्ने माग उनको छ । समयको परिवर्तनसँगै पूँजीबजार सुधारोन्मुख रहेकाले यसको भविष्य उज्ज्वल रहेको उनको बुझाइ छ । प्रस्तुत छ, पूँजीबजार विकासका लागि शेयर लगानीकर्ता सङ्घ नेपाल कसरी अघि बढको छ भन्ने विषयमा आर्थिक अभियानकी प्रजिता बुढाथोकीले उनीसँग गरेको कुराकानी :पूँजीबजारको विकास र विस्तारसँगै लगानीकर्ताको हितका लागि तपाईंको सङ्घ कसरी अघि बढेको छ ?
हाम्रो सङ्घको विगतदेखि वर्तमानसम्मको क्रियाकलाप हेर्दा सुषुप्त अवस्थामा रहेको पूँजीबजारलाई शुरूको दिनदेखि नै सम्बन्धित निकायहरू, जुन पूँजीबजारसँग सम्बद्ध छन्, ती निकायमा पूँजीबजारको विकासका लागि नीतिगत निर्णय के के गर्नुपर्छ भन्नेतर्फ ध्यानाकर्षण गराउँदै आएका छौं । पूँजीबजारको घटबढसँग हाम्रो सङ्घको खासै सरोकार छैन । पूँजीबजार उद्योगसरह हो, यसमा सबै जनताको सहभागिता रहनेगरी उद्योगको रूपमा विकास गर्नुपर्छ भन्ने सङ्घको माग छ । त्यसका लागि सकारात्मक प्रभाव पार्ने नीतिगत निर्णय गर्न सङ्घले सम्बन्धित निकायलाई दबाब दिँदै आएको छ । छरिएर रहेको पूँजीलाई विकासका लागि देशले पनि प्रयोग गर्न सकोस् भन्ने उद्देश्यले नीतिगत निर्णय प्रभावकारी किसिमको बनाउन हामीले सम्बद्ध निकायलाई पहिलादेखि नै भन्दै आएका छौं ।
हामीले शुरूदेखि उठाएको पूँजीबजार सुधारका माग करीब पूरा पनि भइसकेको छ । अब पूर्ण अनलाइनको सफल कार्यान्वयनपछि हामीले उठाएका मागको कार्यान्वयन भइसकेको हुनेछ । नेपालमा नीतिगत भ्रष्टाचार हुन्छन् । जस्तै– नेपाल राष्ट्र बैङ्कले पूँजीबजार धेरै माथि गयो भने मार्जिन लेण्डिङ तलमाथि गरिदिन्छ । यो गर्न उपयुक्त हो/होइन भन्नेमा सरोकारवालाहरूसँग छलफल नै नगरी कुनै व्यक्तिले कुर्सीको पहुँचमा निर्णय गर्दै आएको छ । यस्ता निर्णय तथा चलखेलको अन्त्य हुनुपर्छ भन्नेमा पनि हाम्रो सङ्घले आवाज उठाउँदै आएको छ
नेपालको पूँजीबजारमा भ्याट छिराउने प्रयास पनि भएको थियो । हाम्रै अगुवाइमा भएको पहलबाट त्यसको अन्त्य भएको हो । बोनस र हकप्रदमा पूँजीगत लाभकरको विषयमा पनि सरकारलाई पछि हट्न बाध्य बनाएका छौं । यस विषयमा पनि छिटोभन्दा छिटो लगानीकर्ताको हितमा निर्णय हुनुपर्यो भन्ने माग पनि हाम्रो छ ।
लगानीकर्ताको हकहितका लागि हालसम्म चार सङ्गठन सक्रिय छन्, तपाईंहरूबीच सहकार्य छ कि छैन ?
हामी सङ्गठनहरूबीच सहकार्य र समन्वयविना लगानीकर्ताको हकहितका लागि पहल गर्न सम्भव नै छैन । सीमित व्यक्तिले एउटा सङ्गठन खडा गरेर २०औं लाख लगानीकर्ताको हितमा काम गर्छौं भन्छ भने त्यो सम्भव छैन । त्यस्तो धारणा कुनै पनि सङ्गठनले राख्नु उचित हुन्छ जस्तो मलाई लाग्दैन । हाम्रो पनि चाहना के छ भने राज्यले एउटा यस्तो सङ्गठन खडा गरोस्, जुन सङ्गठनमा लगानीकर्ताको हकहितभन्दा बाहेकको दायरा नहोस् । हामी सक्रिय चार सङ्गठनबीच सहकार्य जारी रहे पनि राज्यको पहलमा एउटै सङ्गठन निर्माणका लागि पहल गर्छौं ।
लगानीकर्ता सङ्घहरू धेरै भए भन्न खोज्नुभएको हो ?
अवश्य पनि हो । लगानीकर्ता सङ्घ राजनीतिक सङ्घसङ्गठन होइन । पूँजीबजारमा लगानी गर्नु भनेको आफ्नो राजीरोटीको व्यवस्थापनका लागि सजिलो उपाय हो जस्तो लाग्छ । यस क्षेत्रमा ४ घण्टा समय दिए पुग्छ । यस क्षेत्रको राम्रो पक्ष भनेको १ हजार पनि लगानी गर्न सकिन्छ । यसमा सबै क्षेत्रका व्यक्तिको सहभागिता हुने हुनाले राजनीतिक सङ्घसङ्गठन जस्तो च्याउ उम्रेजसरी उम्रिन जरुरी छैन । लगानीकर्ता सङ्घले लगानीकर्ताको पूँजीको सुरक्षा गर्ने हो । पूँजीको सुरक्षा गर्न कुनै पनि वादप्रतिवादले असर गर्नु हुँदैन । लगानीकर्ताको हितमा काम गर्नुपर्ने सङ्गठन भएकाले एउटाभन्दा धेरै आवश्यक छैन ।
लगानीकर्ता सङ्घहरू पूँजीबजार सुधारको पहलमा सक्रिय भइरहेका छन् । सुधारका लागि सम्बन्धित पक्षबाट पनि काम भइरहेको अवस्थामा बजार माथि जान नसक्नुको कारण के होला ?
अहिले राज्य र राष्ट्र बैङ्कले पूँजीबजारमा स्लो पोइजन हालिरहेको अवस्था छ । स्लो पोइजन कसरी हालेको छ भने बैङ्क तथा वित्तीय संस्थाले शेयर धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पूँजीको १ सय प्रतिशतसम्म प्रवाह गर्ने व्यवस्था २ वर्षअघि ४० प्रतिशतमा प्रतिशतमा झा¥यो । यस वर्ष फेरि २५ प्रतिशतमा झारेको छ । अर्थतन्त्रको आकार बढेको छ, पूँजीबजारमा कारोबार गरिरहेको संस्थाको पूँजी बढाऊँ भनेर सरकार आफै भन्छ र ४ देखि ४ गुणासम्म पूँजी वृद्धि गर्न प्रोत्साहित गर्छ । शेयर खपतका लागि कुनै आधार तयार नगरी आपूर्ति बढाउन काम गर्छ ।
संविधानमा पनि सर्वसाधारणको सम्पत्तिको रक्षा गर्छौं भन्ने उल्लेख छ । शेयरबजारमा गरेको लगानी सर्वसाधारणको सम्पत्ति हो । यसको रक्षा गर्ने आधार सङ्कुचित गर्दै जाँदा खोलाबाट पानी बगाइदिने र त्यसको व्यवस्थापनमा ध्यान नदिँदा बाढीले क्षति गरेको अवस्था भएको छ । मुख्य कुरा पूँजीबजारका लागि तयार गरिने मापदण्ड निश्चित समयका लागि तय गर्नुपर्छ । कम्तीमा ५ वर्षसम्म जनताले त्यो मापदण्डबमोजिम काम गर्न पाऊन् ।
हामी लगानीकर्तामा पनि के कमजोरी छ भने आज लगानी गरेर भोलि नै प्रतिफलको आश गर्छौं । लगानी गरेपछि घटीमा पनि ६ महीना १ वर्ष कुर्न सक्नुपर्छ । लगानीर्तामा वित्तीय साक्षरताको कमी छ । यसका लागि राज्यले ध्यान दिन आवश्यक देख्छु । हामी लगानीकर्ताले तिरेको पैसा वित्तीय साक्षरताका लागि खर्च गरिनुपर्छ । वित्तीय रूपमा साक्षर लगानीकर्ताले मात्र स्वविवेकले लगानी गर्न सक्छ ।
राज्यले पनि वित्तीय साक्षरताका कार्यक्रम ल्याउनुपर्छ भन्ने माग राखिरहँदा तपाईंको सङ्घबाट यस्ता कार्यक्रम भएका छन् ?
हामीसँग फण्डको अभाव छ । हामी सङ्घका सदस्यबाट फण्ट जुटाएर काम गरिरहेको अवस्था छ । कुनै लगानीकर्तालाई पैसा लिएर सङ्घको सदस्य बन्न आऊ भन्ने नैतिकता हामीमा छैन । त्यस हिसाबले काम गर्दा लगानीकर्तामा हाम्रो पैसाबाट काम गरिहेको छ भने हाम्रो सबै समस्याको समाधान हुनुपर्छ भन्ने दबाब आउन सक्लान् । नीति निर्माण तहमा हामीले केही गर्न सक्दैनौं । हामी त आवाज मात्र उठाउने हो । त्यसैले, हाम्रो बलबुताले भ्याएसम्म वर्षको एकपटक वित्तीय साक्षरताका कार्यक्रम आयोजना गर्छौं । साथै, हामीले विभिन्न सञ्चारमाध्यमबाट अन्तरवाता दिएर पनि आम लगानीकर्तालाई सचेत गराउने काम गरेका छौं ।
पूर्ण अनलाइन कारोबार प्रणालीले पूर्णता नपाउनुमा कसको कमजोरी देख्नुहुन्छ ?
कात्तिक २० गतेदेखि अनलाइन कारोबार प्रणालीको शुरुआत भएको छ । यसलाई पूर्ण अनलाइन भन्न मिल्दैन । जुन दिनदेखि पूर्ण अनलाइन कारोबारले पूर्णता पाउँछ, त्यस दिनदेखि नेपालको पूँजीबजारले पछाडि फर्केर हेर्नुपर्दैन । पूर्ण अनलाइन प्रभावकारी छ÷छैन भन्ने विषय हामी नैतिक रूपमा भन्न सक्दैनौं । किनभने, हामीले अहिलेसम्म आफैले प्रयोग गर्न पाएका छैनौं । हालसम्म ५० ओटा ब्रोकरमा मात्र सीमित छ । तर, अहिलेसम्म हामीले कारोबार गर्न नपाएको स्थिति हेर्दा अनलाइनमा समस्या छ भन्ने कुरा हामीले अनुभूति गरेका हौं । आज देखिएको अनलाइनका कमजोरी औंल्याई भोलिका दिनमा त्यो कमजोरी नदेखियोस् भन्ने हाम्रो माग हो । सम्बन्धित निकायले जुन कम्पनीले अनलाइन कारोबार प्रणालीको निर्माण गरेको छ, त्यसलाई त फलोअप गराउनुपर्यो नि । नेतृत्व लिएका व्यक्तिले २४ घण्टाभित्र समस्याको समाधान गराउन सक्ने क्षमता देखिएन । अर्को कुरा, अनलाइन कारोबार प्रणालीसँग सम्बन्धित पक्षहरूबीच भएका असमझदारीलाई आपसी समन्वयमा मिलाउने जिम्मेवारी नेप्सेको हो ।
अन्त्यमा आम लगानीकर्तालाई केही सुझाव दिन चाहनुहुन्छ ?
आम लगानीकर्तालाई म के भन्न चाहन्छु भने हाल पूँजीबजारमा देखापरेका समस्या क्षणिक हुन् । हाम्रो देशको पूँजीबजारको भविष्य उज्ज्वल छ । अन्तरराष्ट्रिय जगत्मा पनि नेपालको पूँजीबजारलाई हेर्ने दृष्टिकोण फरक भइसकेको छ । हिजोसम्म अनुत्पादक क्षेत्र भन्ने व्यक्तिहरूले समेत पूँजीबजारलाई उत्पादनमूलक क्षेत्रको रूपमा स्वीकार गरिसकेका छन् । समयले ल्याउने परिवर्तन हो, पूँजीबजारमा पनि परिवर्तन हुन्छ । लगानी गर्न पूँजीबजार उपयुक्त क्षेत्र हो । ३०औं वर्ष अघिदेखि खोलिएका पुराना बैङ्कहरूको शेयर २ सयमै पाइरहेका छौं । पूँजीबजारको विकासका लागि नयाँ नयाँ प्रविधि भित्रिरहेका छन् । यी प्रविधिको सफल कार्यान्वयन भयो भने पूँजीबजारमा नयाँ लगानीकर्ता पनि थपिनेछन् । अनलाइन आउनेबित्तिकै पूँजीबजार बढ्छ भन्ने होइन । अहिले पूँजीबजारमा देखिएको शेयर आपूर्ति बढी र माग कमको समस्या सन्तुलनमा ल्याउन भने पक्कै सहयोग गर्छ । सबैभन्दा महŒवपूर्ण हामी लगानीकर्तामा धैर्य आवश्यक छ ।