ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तरराष्ट्रिय ब्राण्ड भित्र्याउन ठाउँको अभाव मुख्य समस्या

Nov 29, 2018  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
आरपी ग्रूपले नेपालमा विदेशी ब्राण्डका सामानको व्यवसाय गर्दै आएको छ । यसले दा मिलानो, इण्डियन टेरेनलगायत अन्तरराष्ट्रिय ब्राण्डका उत्पादन होलसेल तथा खुद्रा विक्री गर्छ । नेपालमा विश्वस्तरीय सामानको माग तथा गुणस्तरप्रति उपभोक्ताको रुचिसमेत बढिरहेको कम्पनीको भनाइ छ । यही सन्दर्भमा आफूहरूले गरिरहेको व्यापार व्यवसायबाट नेपाली उपभोक्ता तथा व्यापारीसमेत लाभान्वित भएको कम्पनीको दाबी छ । नेपालमा ब्राण्डेड भनी गुणस्तरीय सामान भित्रिरहेको परिप्रेक्ष्यमा कम्पनीले गरिरहेको व्यवसायबाट नेपाल र नेपालीले पाउने फाइदा तथा अन्तरराष्ट्रिय सामग्रीको नेपाली बजार, समस्या र चुनौतीबारे उक्त ग्रूपका प्रबन्ध निर्देशक रूपेश पाण्डेसँग आर्थिक अभियानका टीपी भुसालले गरेको कुराकानीको सार : आरपी ग्रूप प्रालि कस्तो कम्पनी हो र यसले नेपालका कुन क्षेत्रमा काम गरिरहेको छ ? आरपी ग्रूप प्रालि १० वर्षपहिले स्थापित ट्रेडिङ हाउस कम्पनी हो । यसले खासगरी विभिन्न अन्तरराष्ट्रिय ब्राण्डका कपडा आयात गरी होलसेल तथा आफ्नै आउटलेटमार्फत विक्री गर्दै आएको छ । नेपालमा बदलिँदो परिवेशअनुसार अहिले उपभोक्ताको चाहना र क्रयशक्ति पनि बढ्दो छ । सोहीअनुरूप नेपालमा विश्वस्तरका ब्राण्ड ल्याउनुपर्छ भन्ने कम्पनीको मान्यता छ । सोहीअनुसार कम्पनीले फ्रेञ्चाइजीको रूपमा आउटलेट खोलेर ती ब्राण्डको विक्रीवितरण गरिरहेको छ । यस ग्रूपअन्तर्गत आरपी ट्रेड प्रालि, जय अम्बे सारी शोरूम प्रालि, अन्सु इलेक्ट्रोनिक्स प्रालि, अन्सु सप्लायर्स प्रालि, फेशन स्टोर्स नेपाल प्रालिलगायत कम्पनी छन् । यो कम्पनीमार्फत कुन कुन विदेशी ब्राण्डको कारोबार हुन्छ ? हामीले अहिले दा मिलानो इटालिया, इण्डियन टेरेन, रोसो ब्रुनेलियो, डब्ल्यू ओरिलिया, सेलियो, क्याक्स, जोस ए बैङ्क, विशफुललगायत ब्राण्डको कारोबार गरेका छौं । अब छिट्टै अल डो ब्राण्डको नयाँ ब्राण्ड काठमाडौंमा सञ्चालनमा ल्याउँदै छौं । यसमा महिला र पुरुषले लगाउने सबै खालका कपडा, चप्पल, जुत्तादेखि सबै खालका सामान उपलब्ध हुन्छ । कम्पनीले अन्तरराष्ट्रिय ब्राण्डको काम गरिरहँदा उपभोक्ताको रुचि र ब्राण्डप्रतिको सचेतना कस्तो पाउनु भएको छ ? मेरो १० वर्षको अनुभवमा अहिले उपभोक्ताको सचेतना बढेको देख्छु । पहिले सामान किन्दा उपभोक्ता मात्र होइन, व्यवसाय गर्नेलाई पनि सामान भए पुग्थ्यो । सुटको कपडा होस् या जुत्ता आफूलाई मिल्ने वा सुहाउने भेट्टायो भने भयो । त्यसको गुणस्तरप्रति खासै वास्ता हुँदैनथ्यो । ब्राण्डप्रति उपभोक्ताको रुचि तथा सचेतना बढ्न थालेपछि व्यवसाय गर्नेले पनि ब्राण्ड, त्यसको गुणस्तरमा ध्यान दिन थाले । यो सबै उपभोक्ताकै कारण भएको हो । अहिले कुनै सामान खरीद गर्न सय जना आउँदा ९० जनाले ब्राण्ड र त्यसको गुणस्तरबारे चासो राख्छन् । कतिसम्म भने उक्त वस्तुको रङ जान्छ कि जाँदैन, फिनिशिङ कस्तो छ लगायत प्रश्न नगरी वा अन्य ब्राण्डसँग तुलना नगरी किन्दैनन् । अर्कोतर्फ नेपालीमा ब्राण्डेड कपडा लगाउने प्रचलन पनि बढ्दै गएको छ । यसरी हेर्दा ब्राण्डप्रतिको सचेतना बढेको देखिन्छ । नेपाल अन्तरराष्ट्रिय स्तरका विभिन्न खालका सामानको डम्पिङ साइटजस्तै बनिरहको छ । बजारमा हेर्दा पनि कमसल सामानकै व्यापारको वर्चस्व रहेको जस्तो दखिन्छ । तपाईं ब्राण्डप्रति उपभोक्ताको सचेतना बढेको भन्नु हुन्छ । यो कसरी मान्ने ? हो, तपाईंले भनेको (डम्पिङ साइट) जस्तै भएको छ । त्यसैले त उपभोक्ताको सचेतना बढेको छ । ब्राण्डको नाममा नक्कली सामान लिएर आए पनि अब ती नेपाली बजारमा धेरै टिक्दैनन् । किनभने कुन ब्राण्डको कुन गुणस्तर छ र मूल्य कति पर्छ, यो सबै विषयमा उपभोक्ताले हेर्ने गरेका छन् । उपभोक्ता सचेतनाकै कारण डम्पिङ साइट बन्न पनि यसले रोक्छ । तर, यसमा सरकार पनि लाग्नु जरुरी छ । सरकार एण्टी डम्पिङ ऐन ल्याउने तयारी गरिरहेको छ । यसमा सम्बद्ध व्यवसायीबाट विरोध हुने होला । यसमा तपाईंको धारणा के छ ? नेपाललाई डम्पिङ साइट बन्न र भइरहेको अवस्थाबाट बाहिर ल्याउन यथाशक्य छिटो यो ऐन ल्याउनुपर्छ । यो त स्वागतयोग्य कुरा हो । यो ऐन तत्कालै ल्याउनुपर्छ । नेपालमा सबैभन्दा गाह्रो काम नै ब्राण्डेड सामानको विक्री गर्नु भएको छ । किनभने हरेक सामानको नक्कली वस्तु बजारमा छ । त्यसो हुन नदिन सरकारको यो कदम ठीक हो । अर्थमन्त्रीले पनि विभिन्न ठाउँमा नेपाललाई डम्पिङ साइट बन्न नदिन सशक्त कानूनको खाँचो औंल्याएका छन् । यो ऐन आउँदा, अझ भनौं कुनै न कुनै रूपमा नक्कली सामानको विक्रीवितरण बन्द हुनु राज्य र उपभोक्ता दुवैका लागि फाइदाजनक नै हुन्छ । नक्कली सामानको आयात रोक्न तत्कालै अन्य केही उपाय छन् कि ? नक्कली सामान रोक्न भन्सार कार्यालयले पहिले त आयातकर्तासँग कुनै पनि वस्तुको ओरिजिन सर्टिफिकेट माग्नुपर्‍यो । त्यो माग्नेबित्तिकै धेरै समस्याको सामाधान एकै पटक निस्किन्छ । आयातकर्ताले कुनै ब्राण्डको लोगो र लेबल लगाएर नेपालमा ल्याइरहेको छ भने भन्सारबाटै नियन्त्रण गर्न सकिन्छ । अहिले जति पनि ब्राण्डका नक्कली ब्राण्ड आएका छन्, ती पनि त भन्सार गराएरै आएका हुन् नि ! सबै नेपालीले ब्राण्डेड सामग्री नै खरीद गर्छन् भन्ने पनि त नहोला । उपभोक्ताले क्रयशक्तिको आधारमा खरीद गर्ने हो । यसले त उपभोक्तालाई समस्या पार्दैन ? हो, नेपालमा औंलामा गन्न सकिने व्यवसायीले मात्र ब्राण्डेड सामग्रीको कारोबार गर्ने गरेका छन् । तर, यसको नाममा जसले पायो, उसले विक्रीवितरण गर्दा समस्या छ । अहिले पनि ब्राण्डकै नाममा काम गर्नेहरूले पनि भारतमा वर्षको चारपटक लाग्ने अन्तरराष्ट्रिय ब्राण्डहरूको मेलामा गएर ५० प्रतिशत छूटमा पाइने सेलका सामान ल्याउँछन् । यसमा ४० प्रतिशतकै मार्जिन दिए पनि व्यवसायीलाई राम्रो नाफा हुने भयो । यसो गर्दा भन्सार पनि कम लाग्ने भयो । यी सबै कुरा आम उपभोक्तालाई पनि थाहा हुँदैन । यी सबै काम बैङ्किङ माध्यमबाट भएमा एकातर्फ भन्सार पनि बढ्छ, अर्कोतर्फ उपभोक्ताले ब्राण्डको गुणस्तरीय सामान पाउँछन् । यो प्रक्रियाबाट जाँदा आयात गर्ने कम्पनीले सामान बैङ्कको च्यानलबाट मगाएको छ/छैन, उत्पादित ब्राण्डको ओरिजिन सर्टिफिकेट, अधिकतम खुद्रा मूल्य (एमआरपी प्रिण्ट) कति हो, त्यसको लेबलसहित आउनु पर्‍यो । यसरी आयो भने कहीँ पनि तलमाथि हुनै सक्दैन । तपाईंको कम्पनीले एमआरपी प्रिण्टसहित सामान आयात गर्ने गरेको छ त ? अवश्य पनि । नेपालमा सबैभन्दा पहिले ब्राण्डेड सामानमा एमआरपी प्रिण्ट गरेर ल्याउने पहिलो कम्पनी आरपी ग्रूप नै हो । हामीले मगाउने सबै ब्राण्डका सामान ५ वर्ष अघिदेखि नै एमआरपी प्रिण्टसहित आउँछन् । कारोबार गर्ने कम्पनीसँग ‘कोर्ट एग्रिमेण्ट’अनुसार काम गरेका छौं । साथै, त्यो वस्तु नेपालमा कतिमा विक्री गर्न सकिन्छ भनेर उहीँ मूल्य राखेर ल्याउने गरेका छौं । ब्राण्डका नाममा उपभोक्ता ठगिएका छन् । यसलाई कसरी नियन्त्रण गर्न सकिएला ? अब त्यसरी ठग्न गाह्रो छ । कति पटक ठग्ने ? कुनै पनि सामान किन्नुपूर्व उपभोक्ताले गूगलका माध्यममा पनि त्यसको मूल्य, गुणस्तरबारे जानकारी लिइसकेका हुन्छन् । कसैलाई कुनै पनि ब्राण्डको सक्कली सामान भनेर बेचियो र भोलि उसले लगाउँदा रङ उड्यो, खुम्चियो वा च्यातियो भने ब्राण्डका नाममा व्यवसाय गर्नेहरू टिक्लान् त ? अब उपभोक्ता ठग्न त्यति सजिलो छैन । सरकारले केही गरेन भने पनि उपभोक्ता सचेतनाको कारण नक्कली ब्राण्ड आफै किनारा लाग्दै जान्छन् । किनभने आज नेपालीहरू वैदेशिक रोजगारीको क्रममा होस् वा पर्यटकको रूपमा, विभिन्न देशको भ्रमण तथा त्यहाँ किनमेल गर्न थालेका छन् । त्यसले पनि उनीहरूलाई अन्तरराष्ट्रिय ब्राण्ड, सामानको गुणस्तर, मूल्य आदिका बारेमा धेरै जानकारी हुन्छ । मैले ग्राहकलाई एकपटक त ठगुँला, तर दोस्रो पटकदेखि उनीहरूले मेरोबाट कुनै समान खरीद गर्दैनन् । आफ्नो नजीकका साथीभाइ वा परिवारलाई किन्न सिफारिश पनि गर्दैनन् । यो ग्रूपमार्फत आउने सामान देशका कुन कुन ठाउँसम्म जाने गरेको छ ? यसले नेपाली उपभोक्तालाई के फाइदा छ ? यो ग्रूपले ६४ ओटा होलसेल विक्रेताको माध्यमबाट देशका सबैजसो प्रमुख शहरमा अन्तरराष्ट्रिय ब्राण्डका सामान विक्री गरिरहेको छ । यसबाट उपभोक्तालाई मात्र नभएर व्यवसाय गर्नेलाई पनि फाइदा भएको छ । कुनै पनि अन्तरराष्ट्रिय ब्राण्ड चाहेर मात्र मगाउन पनि गाह्रो छ । हामीले विभिन्न ब्राण्डको कारोबार गरेकाले हाम्रोबाट लिँदा व्यवसायीले पनि स्थानीयस्तरमै बसेर अन्तरराष्ट्रिय ब्राण्डको व्यापार गर्न सहज भएको छ । यस्तै, उपभोक्ताले पनि अन्तरराष्ट्रिय ब्राण्डको सामान उपभोग गर्न पाएका छन् । यो ग्रूपप्रति उपभोक्ता र अन्तरराष्ट्रिय ब्राण्डको दृटिकोण कस्तो पाउनु भएको छ ? १० वर्षको अनुभवमा नराम्रो भन्ने छैन । अहिले विभिन्न अन्तरराष्ट्रिय ब्राण्ड पनि आरपी ग्रूपसँग काम गर्न खोजिरहेका छन् । कम्पनीको विश्वसनियताकै यो अवस्था आएको हो भन्ने लाग्छ । आउँदा दिनमा अन्य ब्राण्डसँग पनि सहकार्य गर्दै जानेछौं । नेपालमा अन्तररराष्ट्रिय ब्राण्ड ल्याउन कुनै समस्या छ कि ? सबैभन्दा ठूलो समस्या भनेकै ठाउँको अभाव हो । कुनै पनि अन्तरराष्ट्रिय ब्राण्डका लागि निश्चित स्पेश आवश्यक हुन्छ । त्यो भएन भनेर उनीहरू मान्दैनन् । नेपालमा विदेशी ब्राण्डको डिस्प्लेका लागि उपयुक्त स्थानको अभाव छ । निश्चित स्थानको अभावमा उनीहरूले आफ्नो ब्राण्ड विक्रीवितरणको अनुमति दिन चाहँदैनन् । यसका लागि नेपाल सरकार, कर्मचारी सञ्चय कोषजस्ता संस्थाले अन्तरराष्ट्रिय ब्राण्डकै लागि हुने खालका भवन बनाउनु पर्‍यो । आरपी ग्रूपको भावी योजना के छ ? अबको योजना पर्यटनतर्फ हो । त्यसमा पनि रेष्टुराँमा लगानी गर्ने सोच छ । सन् २०१९ भित्रै काठमाडौं तीन र पोखराका साथै धरानमा एक/एकओटा अन्तरराष्ट्रिय चेनकै रेष्टुराँ सञ्चालन गर्ने योजना छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)