काठमाडौं विश्वविद्यालयबाट अर्थोपेडिकमा एमएस गरेका डा. विनोद बिजुक्छेंले भारत, अमेरिका, अष्ट्रेलियामा स्पाइन सर्जरीमा फेलोशिपसहित अध्ययन गर्नुका साथै तालीम लिएका छन् । उनीसँग २०६२ देखि २०६९ सालसम्म बी एण्ड बी हस्पिटलमा काम गरेको अनुभव छ । २०६९ सालदेखि उनी ग्राण्डी इण्टरनेशनल हस्पिटलमा कार्यरत छन् । प्रस्तुत छ, मेरुदण्डको समस्या, लक्षण, उपचारलगायत विषयमा डा. बिजुक्छेंसँग आर्थिक अभियानका भवनाथ प्याकुरेलले गरेको कुराकानीको सम्पादित अंश :स्पाइन भनेको के हो ?
स्पाइनलाई नेपालीमा मेरुदण्ड भनिन्छ । यसले हाम्रो शरीरलाई सीधा राख्न र चलायमान बनाउन मद्दत पुर्याउँछ । मेरुदण्डभित्र एउटा नसा हुन्छ, त्यसलाई स्पाइनल कर्ड भनिन्छ । यही नसालाई अड्याउन मेरुदण्डले सहयोग गर्दछ ।
मेरुदण्डमा समस्या हुँदा के–कस्ता लक्षण देखा पर्छन् ।
मेरुदण्डमा हुने समस्याको पहिलो लक्षण– दुखाइ, दोस्रो–हातखुट्टामा कमजोरी हुनु र तेस्रो– पिसाब नियन्त्रण नहुनु हो । पिसाब नियन्त्रण नहुनु भनेको पिसाब चुहिनु वा रोकिनु हो । अन्य सामान्य लक्षणहरू– खाना नरुच्नु, तौल घट्नु, कोल्टो फेर्न र बस्न उठ्नसमेत गाह्रो भएर अरूको सहयोग लिनु मेरुदण्ड रोगका लक्षण हुन् ।
यसबाट बच्ने उपाय के के छन् ?
धेरैजसो मानिसमा देखिने मेरुदण्डको समस्या खासै जटिल हुँदैन । बस्ने र काम गर्ने तरीका नमिल्दा मेरुदण्डमा समस्या हुन्छ । त्यस्तै, शरीरको तौल बढी हुँदा र उमेरका कारण पनि यसमा समस्या देखिन्छ । ढाड र घाँटीको दुखाइ छ भने बस्ने तरीका मिलाउनु पर्छ । सकेसम्म टुक्रुक्क र पँलेटी मारेर बस्नु हुँदैन । यसरी बस्दा दुखाइ बढ्छ । होचो ठाउँमा बस्दा ढाडमा चाप पर्ने भएकाले समस्या बल्झिन सक्छ । उक्त चापका कारण मांसपेशी छिट्टै थाक्छ । त्यसो हुँदा शरीरमा दुखाइ हुन थाल्छ । यस्तो दुखाइ राति बढी हुन्छ । दुखाइसँगै ज्वरो आएको छ भने हिँड्न समस्या पर्छ, गोडा वा हातमा समस्या देखिन्छ, लेख्दा अक्षर बिग्रन्छ, सही बिग्रन्छ, हिँड्दा सन्तुलन बिग्रेर चप्पल फुस्किन्छ भने त्यसले नसामा असर पारेको छ भनेर बुझ्नुपर्छ । त्यस्तो अवस्था आएमा परीक्षण गराउनुपर्छ । त्यसका लागि एक्सरे, एमआरआई गर्नुपर्छ । यस्तो समयमा चिकित्सकसँग परामर्श लिनु राम्रो हुन्छ ।
मेरुदण्डको उपचार विधिबारे बताइदिनुहोस् न ?
नेपालमा मेरुदण्डका सबै किसिमको समस्याको उपचार हुन्छ । विदेशमा जुन तहको उपचार हुन्छ, नेपालमा पनि त्यही तहको उपचार गरिन्छ । मेरुदण्डका धेरैजसो समस्यामा शल्यक्रिया गर्नु पर्दैन । हातगोडामा कमजोरी बढ्दै गएको छ भने त्यतिबेला नसा च्यापिरहेको हुन्छ । यस्तो अवस्थामा शल्यक्रियामार्फत उपचार गर्नुपर्छ । साधारण उपचारबाट दुखाइ कम भएको छैन भने पनि शल्यक्रियाको माध्यमबाट उपचार गर्नुपर्छ । ढाड वा मेरुदण्ड बाङ्गो भइरहेको छ भने त्यसलाई सर्जरी गरेर उपचार गर्नुपर्छ ।
नेपालका सबै क्षेत्रमा मेरुदण्डको उपचार सम्भव छ त ?
मेरुदण्डको उपचार उपत्यकामा मात्र नभएर सबै अस्पतालमा सम्भव छ । त्यसमा विशेष तालीम लिएको मानिसले मात्र शल्यक्रिया गर्नुपर्छ । मेरुदण्डको शल्यक्रिया गर्ने डाक्टरका लागि विशेष तालीमकै व्यवस्था भएको हुन्छ । यसरी तालीम लिएका डाक्टर सबै अस्पतालमा उपलब्ध हुनुहुन्छ । उहाँहरूले नै उपचार गर्नुहुन्छ । तर, ढाड बाङ्गो हुने र गम्भीर समस्याको उपचार सबै ठाउँमा उपलब्ध छैन । सामान्य चोटपटक लागेको उपचार भने उपत्यका बाहिरका अस्पतालमा पनि हुन्छ ।
मेरुदण्ड भाँचिनुको कारण के हो ?
नेपालमा धेरैजसोको भीरबाट लडेर, रूखबाट खसेर भाँचिने गरेको छ । विदेशतिर भने सवारी दुर्घटनामा परेर मेरुदण्ड भाँचिनेहरू धेरै हुन्छन् । सवारी दुर्घटनामा परेर मेरुदण्ड भाँचिएकाहरूको उपचार पनि नेपालमा हुन्छ ।
मानिसमा हड्डीसम्बन्धी के–कस्ता समस्या देखा परेका छन् ?
विशेषगरी जोर्नी दुख्ने समस्या भएका बिरामी धेरै आउने गरेका छन् । धेरैजसो बिरामी हड्डी खिएर दुख्ने समस्या लिएर पनि आउँछन् । हड्डी उमेरका कारण खिइने गर्दछ । यो ढिलो चाँडो सबैको खिइन्छ । कसैको सानै उमेरमा पनि खिइएको देखिन्छ । त्यसको कुनै कारण छैन । हड्डी खिइन नदिन रोगथामका कुनै उपाय छैन । यो प्राकृतिक विषय हो । जोर्नी पनि सबैजसो खिइने गरेका छन् । कम्मर, घाँटी, घुँडा, नितम्ब (हिप)जस्ता अङ्गका हड्डी चाँडै खिइने गरेका छन् ।
मेरुदण्डको दुखाइबाट बच्ने उपाय के के छन् ?
दुखाइबाट बच्न धेरै बेर टुक्रुक्क, पलेँटी मारेर वा होचो ठाउँमा बस्नु हुँदैन । यसरी बसेमा घुँडा, कम्मरमा र नितम्बमा असर गर्दछ । आजकाल मानिसहरू कम्प्युटर/मोबाइलमा धेरै बेर काम गर्दछन् । त्यसले टाउको झुक्ने भएकाले पछाडिको मांसपेशीमा असर परिरहेको हुन्छ । त्यसैले, झुक्नुपर्ने यस्ता काम सकेसम्म कम गर्नुपर्छ ।
खानाको कारण पनि हड्डी खिइन्छ ?
खानाका कारण सीधै हड्डी कमजोर हुने त होइन । तर, अजिना मोटो मिसिएको खाना धेरै खाएमा हड्डी कमजोर हुन्छ । हड्डी कमजोर बनाउने केही औषधि पनि छन्, जसले गर्दा हड्डी कमजोर हुन्छ । दुखाइ कम गर्ने औषधिको सेवनले पनि हड्डी कमजोर हुन्छ । त्यसैले, अत्यावश्यक नभई यस्ता साइड इफेक्ट (पाश्र्व प्रभाव) गर्ने औषधि सेवन गर्नु हुँदैन । यसले मुख्य रूपमा हड्डी कमजोर पार्छ । बाथ, दमजस्ता रोगका कारण पनि टेरोइड भन्ने औषधिको सेवन गर्नुपर्ने हुन सक्छ । लामो समयसम्म टेरोइड औषधि खानुपर्ने भयो भने हड्डी कमजोर हुने सम्भावना बढी हुन्छ । यस्ता रोग लागेको मानिसले औषधि सेवन गरिरहेको रहेछ भने हड्डी कमजोर भएको हुन्छ । दूध, दही, बटर, चिज, मासुलगायत खानेकुरामा प्रशस्त क्याल्सियम हुन्छ । यसले हड्डी बलियो बनाउन सहयोग गर्छ । तर, क्याल्सियम चक्की खाएर हड्डी बलियो हुने भने होइन । चाहिएको मानिसले मात्र क्याल्सियम ट्याब्लेट खानुपर्छ, आवश्यकता नभएकाले यस्तो औषधि सेवन गर्नु हुँदैन । त्यसले मिर्गौला र मुटुमा असर गर्छ ।
कस्ता उपाय अपनाए हड्डी तथा मेरुदण्ड बचाउन सकिन्छ ?
मानिसको शरीर जति चलायमान हुन्छ, त्यति नै हड्डी र मांसपेशी पनि बलियो हुन्छ । जीउ वा ढाड दुखेको छ भनेर त्यसै बस्यो भने त्यसले हड्डी कमजोर हुनेछ । मांसपेशी पनि कमजोर हुँदै जान्छ । त्यसैले, नियमित शारीरिक व्यायाम गर्दा हड्डी मात्र नभएर सबै अङ्गलाई फाइदा पुग्छ । कसरतका लागि फिजियो थेरापी, योग अथवा आफूले जानेका जुनै विधि पनि अपनाउन सकिन्छ । हिँड्ने, दौडने, डोरी खेल्ने आदि पनि गर्न सकिन्छ ।