सुर्खेत । एशियाली विकास बैङ्क (एडीबी)ले कर्णाली प्रदेशमा लगानीका लागि सम्भाव्यता अध्ययन शुरू गरेको छ । गरीबी घटाउने र भौतिक पूर्वाधारको निर्माणबाट उक्त प्रदेशलाई समृद्धितर्फ उन्मुख गराउने उद्देश्यले एडीबीले सम्भाव्यता अध्ययन थालेको हो ।
प्रदेश सरकारको सहकार्यमा गरीबी निवारण, व्यावसायिक शीप तथा क्षमता अभिवृद्धि र शिक्षा, स्वास्थ्य, खानेपानी लगायत पूर्वाधार विकासका लागि छलफल शुरू गरिएको एडीबीले बताएको छ ।
नेपालका लागि एडीबीको प्रस्तावित साझेदारी रणनीति (२०२०–२०२४)को सन्दर्भमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका प्रनिनिधिसँग सोमवार सुर्खेतको वीरेन्द्रनगरमा छलफल भएको छ । उक्त कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले परम्परागत शैलीले प्रदेशको विकास सम्भव नरहेको उनको भनाइ छ ।
‘एडीबीले नेपालमा ठूलो मात्रामा लगानी गरेको भए पनि कर्णालीमा त्यसको परिणाम नदेखिएको मन्त्री शाहीले टिप्पणी गरे । ‘अबको लगानी एडीबीले प्रदेश सरकारको प्राथमिकताका आधारमा गर्नुपर्छ,’ उनले भने, ‘कर्णाली प्रदेशमा सडक, विद्युत्, उद्योग, पर्यटन र कृषि क्षेत्रका ठूला परियोजनामा लगानी आवश्यक छ । एडीबीले कर्णालीमा लगानी गर्न चाहेको हो भने सबैभन्दा पहिले कोहलपुर–सुर्खेत सडक ६ लेनको बनाइदिन उनले माग गरे । प्रदेश सरकारले योजना आयोगसमेत गठन गरिसकेको र छिट्टै परियोजना बैङ्क स्थापना गरेर विकास निर्माणका काम अघि बढाइने उनको भनाइ छ ।
कर्णालीको गरीबी र विकटता बेचेर व्यक्तिगत स्वार्थ पूरा गर्ने प्रवृत्ति रहेको भन्दै मन्त्री शाहीले परिणाममुखी काममा मात्रै हात हाल्न दातालाई आग्रह गरे । ‘प्रदेश सरकारको तर्फबाट दाताको लगानीको सदुपयोग गर्न र पारदर्शिताका साथ परिणाममुखी काम गर्न हामी प्रतिबद्ध छौं,’ उनले भने ।
कार्यक्रममा एडीबीका नेपाल आवासीय नियोगका राष्ट्रिय निर्देशक मुख्तोर हामुदखानोभ र नेपालका लागि एशियाली विकास बैङ्कको प्रस्तावित राष्ट्रिय साझेदारी रणनीतिका प्रमुख अर्थशास्त्री शरद भण्डारीले प्रदेश सरकारको योजना, विकासका लागि गरिने क्रियाकलाप र जनअपेक्षाअनुसार लगानी गरिने बताएका थिए ।