स्त्रीरोग तथा बाँझोपन विशेषज्ञ डा. नूतन शर्मा ल्याप्रोस्कोपिक सर्जन पनि हुन् । दिउँसो अल्का अस्पताल र साँझबिहान बयोधा अस्पतालमा कार्यरत डा. शर्माले अल्का अस्पतालमा बाँझोपनको सफल उपचार गर्दै आएकी छन् । महिलाहरूको पाठेघरको उपचार विना चिरफार ल्याप्रोस्कोपिक दूरबिनमार्फत गर्दै आएकी शर्माले नागपुर युनिभर्सिटीबाट एमबीबीएस गरेकी हुन् । बम्बे युनिभर्सिटीबाट स्त्रीरोगमा डिप्लोमा गरेकी उनले ढाका युनिभर्सिटीबाट एमडी गरेकी छन् । दिल्लीबाट ल्याप्रोस्कोपी फेलोसिप गरेकी डा.शर्माले सिंगापुरबाट टेस्टट्युब बेबीसम्बन्धी आईभीएफ गरेकी छन् । प्रस्तुत छ, अल्का अस्पतालमा आईभीएफ एन्ड फर्टिलिटी सेन्टर सञ्चालन गर्दैै आएकी डा. शर्मासँग आर्थिक अभियानका प्रमुख संवाददाता पूर्णभक्त दुवालले गरेको कुराकानीको सम्पादित अंश :बाँझोपन के हो ?
बाँझोपन नेपालको मात्र समस्या नभएर विश्वकै चुनौतीपूर्ण समस्या हो । प्रजनन उमेरमा पनि गर्भ रहन नसक्नु बाँझोपन हो । बाँझोपन महिला र पुरुष दुवैका कारण हुन सक्छ ।
श्रीमान् श्रीमतीबीच १ वर्षसम्म कुनै पनि गर्भनिरोधक साधन प्रयोग नगरी सम्बन्ध राख्दा पनि गर्भ रहँदैन भने त्यसलाई साधारण भाषामा बाँझोपन भनिन्छ । कहिल्यै पनि गर्भ रहन सकेको छैन भने त्यसलाई प्राथमिक बाँझोपन भनिन्छ । त्यस्तै एउटा गर्भ रहेर बच्चा जन्मेपछि लामो समयसम्म प्रयास गर्दा पनि अर्को गर्भ रहेन भने यो दोस्रो खालको बाँझोपन हो ।
बाँझोपन किन हुन्छ ?
अहिलेको बदलिँदो परिवेश र जीवनशैलीका कारण बाँझोपन बढ्दै भएको छ । बाँझोपन दैनिक क्रियाकलापमा भर पर्छ । जन्मजात कारणले पनि बाँझोपन हुन सक्छ । खासगरी पाठेघर र डिम्बाशय नहुने, पाठेघरको फर्मेशन राम्रो नहुने जस्ता कारणले जन्मजात बाँझोपना हुन्छ । यस्ता खाले बाँझोपना १५–२० प्रतिशत मात्र हुन्छ । बाँझोपन हुनुको प्रमुख कारण संक्रमण हो । यौनांग र विशेषगरी पाठेघरमा संक्रमण भयो भने बाँझोपन हुन्छ । यौनांगमा भएको संक्रमणको समयमा नै निदान गरी उपचार गर्न सकियो भने बाँझोपन हुँदैन । सामाजिक व्यवस्थाका कारण पनि बाँझोपन बढिरहेको छ । अहिले बाँझोपन बढ्नुको कारण ढिलो विवाह पनि एक हो । पहिलो बच्चा पाउने उमेर ३० वर्षभन्दा कम हुनुपर्छ । बच्चा पाउने राम्रो उमेर २५ देखि २८ वर्ष होे । अहिले गर्भपतनको दर बढेको छ यसले बाँझोपन बढ्दो छ । असुरक्षित गर्भपतनले पाठेघरमा संक्रमण गर्छ । यसबाट पाठेघरको ट्युब बन्द भई बाँझोपन हुन्छ ।
बाँझोपनको सामाजिक कारण के हो त ?
अहिले पनि कतिपय महिलाहरू रोगको संक्रमण गरिसकेपछि पनि समाजले के भन्ला भन्ने डरले रोग लुकाएर बस्छन् । योनीबाट गन्हाउने र फोहोर पानी बग्ने, पाठेघरमा हुने, ढाड, पेट दुख्ने हुँदो पनि निको भइहाल्छ नि भनेर चिकित्सककहाँ जाँदैनन् । संक्रमण भएको लामो समयपछि रोक निको पार्न समय लाग्छ र कठिन पनि हुन्छ । त्यस बेलासम्म महिलाको डिम्बाशयमा अण्डा सकिसकेको हुन्छ र बाँझोपन बढ्छ । खासगरी ३५–४० वर्षमा अण्डा सकिसकेको हुन्छ । संक्रमणको उपचार बेलैमा गर्न सकियो भने बाँझोपनबाट बच्न सकिन्छ ।
पाठेघरमा संक्रमण हुँदा त्यसकोे मुखबाट भित्र गएर त्यसको ट्युबलाई संक्रमण गर्छ । ट्युबमा संक्रमण भएपछि ट्युबको मुख बन्द हुन्छ । ट्युबको मुख बन्द हुनेबित्तिकै गर्भ रहँदैन । गर्भ रहन डिम्बाशयबाट अण्डा फुट्नुपर्छ । स्पर्म तलबाट पाठेघरभित्र छिरी ट्युबमा गएर पुरुष स्पर्मसँग मिलन हुन्छ अनि मात्र गर्भ बस्छ । यदि ट्युब बन्द हुन्छ भने बच्चा बस्दैन । यसकारण संक्रमण बाँझोपनको सबैभन्दा पहिलो कारण हो ।
दोस्रो कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । महिलाको उमेर महत्त्वपूर्ण पाटो हो । यो कुरा पुरुषको हकमा लागू हुँदैन । महिलाको एउटा निश्चित उमेर हुन्छ । यसको अर्थ महिलामा जुन डिम्बाशय हुन्छ त्यसको एउटा ‘पार्टिकुलर फोलिकल काउण्ट’ हुन्छ । उसले निश्चित फोलिकल्स लिएर जन्मिएको हुन्छ । यो कसैको बढी हुन्छ कसैको कम हुन्छ ।
आमा बन्ने राम्रो उमेर कुन हो ?
महिलाको उमेर ३५ देखि ४० नाघेपछि उनीहरूमा अण्डाको मात्रा कम हुँदै जान्छ । अझ राम्रो अण्डाको मात्रामा स्वतः कमी हुन्छ । यस्तो अवस्थामा बाँझोपनको समस्या बढ्दै जान्छ ।
तीस वर्षभन्दा कम उमेर र ४५ वर्षभन्दा बढी उमेरका महिलामा तुलना गर्ने हो भने ४५ वर्षभन्दा बढी उमेर भएका महिलामा बाँझोपनको समस्या दश गुणा बढी हुन्छ ।
पहिला महिलाहरू अहिलेको जस्तो सक्रिय थिएनन् । उनीहरू घरकै काममा केन्द्रित रहन्थे । बिहे भयो बच्चा पायो यसैमा केन्द्रित थिए। त्यसैले बाँझोपनको समस्या पनि कम थियो । अहिले बाँझोपनको समस्या बढ्नको कारण हो, अहिले विशेष गरी महिलाहरू पढाइ र आप्mनो ‘करीयरमा’ वा व्यवसायमा ध्यान दिन्छन् । यसले गर्दा बिहे ढिलो हुन्छ । अहिले मेरो काम छ, जागीर छ, म बच्चा पछि पाउँछु भन्दाभन्दै एउटा उमेर छिप्पी सक्छ ।
यदि कसैले बेलैमा बिहे गर्छ र बच्चा जन्माउँछ भन्यो भने यस्तो समस्या हुँदैन । महिलाका लागि बच्चा जन्माउने उमेर ३५ वर्षभन्दा तल हुनैपर्छ । ३० वर्ष पुग्दै गर्दा आमा बन्नु सबैभन्दा राम्रो हो । ३५ वर्ष त कट्नै भएन ।
विवाहपछि लामो समयसम्म गर्भनिरोधक वस्तु प्रयोग गर्यो भने पनि बाँझोपन हुन्छ ?
विवाहपछि लामो समयसम्म गर्भनिरोध वस्तु प्रयोग गर्यो भने पनि बाँझोपन हुने सम्भावना बढ्छ । सामान्यतया विवाह भएपछि महिलामा ‘इन्फेक्शन हुने चान्स बढी हुन्छ । यदि कसैको ‘इन्फेक्शन’का कारण लामो समयसम्म बच्चा भएन भने यसले पनि बाँझोपन बढाउँदै जान्छ । अहिले विवाहपछि पनि ४–५ वर्षपछि बच्चा जन्माउँछु भन्ने मान्यतासमेत बढ्दै गएको छ । यस अवधिमा हुने अन्तरका कारण पनि ‘इन्फेक्शन’ हुनसक्छ । सुरक्षित तवरले संसर्ग नगर्दा नचाहँदाचाहँदै गर्भ बस्न जान्छ । अनि गर्भपतन गराउँछन । गर्भपतन सधैं सुरक्षित हुन्छ भन्ने पनि छैन । कोही क्लिनिकमा जान्छन् त कोही कता जान्छन्, कोही लुकेर गर्भपतन गराउँछन् । यसरी असुरक्षित गर्भपतन पनि बाँझोपनको एउटा प्रमुख कारण हो । असुरक्षित र गैरकानूनी गर्भपतनले ‘इन्फेक्शन’ गराउँछ । कहिलेकाहीँ नराम्रो सामग्रीको प्रयोगले पाठेघर नै जानसक्छ । त्यसैले असुरक्षित गर्भपतन पनि यसको एउटा महत्त्वपूर्ण कारण हो ।
बाँझोपन हुने कारण के हो ?
कुनै एक कारणले मात्र बाँझोपन हुँदैन । बाँझोपन हुने कारण धेरै छन् । महिला र पुरुष दुवैका समस्याका कारण बाँझोपन हुनसक्छ । पुरुषमा वीर्य उत्पादन कम हुनु वा नहुनु, महिलामा पाठेघरमा समस्या हुनु बाँझोपनको प्रमुख कारण हो । अघि भनेजस्तो पाठेघरमा संक्रमण (इन्फेन्सन)हुँदा पनि बाँझोपन हुन्छ । यसैगरी पटक–पटक गर्भपतन गराउँदा पनि बाँझोपन हुन हुन्छ । महिनाबारी रोक्ने औषधिको बढी सेवन गर्दा हार्मोनको गडबडी भएर पनि बाँझोपनको समस्या आउन हुन्छ । बढी तौल हुनु तथा थाइराइडको समस्या हुनु पनि यसको कारक तŒवमा पर्छ । जाँडरक्सी, चुरोट, लागूऔषधको अत्यधिक सेवनले पनि बाँझोपन हुन्छ ।
बाँझोपनका लक्षण केके हुन सक्छन् ?
अधिकांशमा बाँझोपनको लक्षण नदेखिन पनि सक्छ । तर, अनियमित महिनाबारी, पेटको अत्यधिक दुखाइ, यौन सम्पर्क गर्दा अति पीडा, यौन सम्पर्कका बेला पुरुषको यौनांग उत्तेजित नहुनु । साथै यौन रुचि घट्नु, आँखा धमिलो देखिने जस्ता बाँझोपनका सामान्य लक्षण हुन् ।
बाँझोपनबाट बच्ने उपाय केके हुन सक्छन् ?
सकेसम्म २० देखि ३० वर्षको उमेरभित्र बच्चा जन्माउने योजना बनाउनुपर्छ । पहिलो बच्चा नभएकाले अस्थायी साधनको प्रयोग गर्दा विचार पुर्याउनुपर्छ । संक्रमण हुन नदिन चनाखो हुनुपर्छ । असुरक्षित गर्भपतन गराउनु हुँदैन । शारीरिक व्यायाम गर्ने र स्वस्थकर खानपानमा ध्यान दिनुपर्छ । साथै तौलमा नियन्त्रणमा राख्न सकियो भने पनि बाँझोपन हुने सम्भावना रहँदैन । समयसमयमा थाइराइड परीक्षण गरेर उपचार गरेको खण्डमा पनि यो समस्याबाट बच्न सकिन्छ ।
बाँझोपन कसरी हटाउन सकिन्छ ?
समयमै विवाह गरी बच्चा जन्माउने हो भने बाँझोपनको समस्या नै हुँदैन । पाठेघरमा इन्फेक्सन भएको थाहा पाउनेबित्तिकै उपचार गराउनुपर्छ । गर्भनिरोधक साधन प्रयोग गर्नुभन्दा पहिला चिकित्सकसँग परामर्श गर्नुपर्छ । आफूलाई सुहाउने साधन मात्रै प्रयोग गर्नुपर्छ । बेलाबखत स्वास्थ्य परीक्षण गराइरहनुुपर्छ । असुरक्षित गर्भ रह्यो भने त्यसलाई सुरक्षित ठाउँमा गएर गर्भपतन गराउनुपर्छ । यस्ता सावधानी अपनाइयो भने बाँझोपनको समस्या ८० प्रतिशतले कम हुन्छ ।
यति गर्दा पनि बाँझोपनको समस्या आयो भने यसको कारण पत्ता लगाउनुपर्छ । ट्युबको कारण हो वा डिम्बाशयले काम नगरेको हो, त्यो पत्ता लगाउनुपर्छ । कहिलेकाहीँ थाइराइड र हर्मोनका कारणले पनि बाँझोपन हुन्छ । यसको उपचार गर्नुपर्छ । महिलाले जन्मेदेखि नै डिम्बाशयमा निश्चित संख्यामा अण्डा लिएर आएका हुन्छन् । यो बढ्दो उमेरसँगै घट्दै जान्छ । डिम्बाशयमा कति अण्डा छ भन्ने कुरा एएचएम ब्लड टेस्ट गरेपछि थाहा हुन्छ । यदि ‘डिम्बाशय’मा अण्डा छैन भने अरू महिलाको डिम्बाशयबाट अण्डा ल्याएर आफ्नै श्रीमान्बाट ‘फर्टिलाइज’ गरेर ‘टेस्टट्युब बेबी’ बनाउन सकिन्छ । यदि पुरुषको सिमेन टेस्ट गरेर हेर्दा स्पम छैन भने पनि गर्भ बस्दैन । यस्तो बेलामा पनि अन्य पुरुषको स्पम र महिलाको डिम्बाशयबाट अण्डा ल्याबमा ल्याएर फर्टिलाइज गरी टेस्टट्युब बेबी बनाउन सकिन्छ ।