‘नो कण्ट्री लेफ्ट बिहाइण्ड’ अर्थात् कुनै पनि देश पछाडि नपरून् भन्ने नाराका साथ अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले आज (७ डिसेम्बर) अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस मनाउँदै छ । आइकाओको आह्वानअनुरूप विश्वभरका नागरिक उड्डयन विभागहरूले नागरिक उड्डयनमा सुरक्षा चासो र व्यवस्थापन तथा जनचेतनाका लागि यो दिवस मनाउने गर्छन् । यस सन्दर्भमा यसको उद्देश्य र महत्त्व तथा नेपालको उड्डयन क्षेत्रको विकास सम्भावना र चुनौतीका विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसँग आर्थिक अभियान राष्ट्रिय दैनिकका टीपी भुसालले गरेको कुराकानीको सार :‘नो कण्ट्री लेफ्ट बिहाइण्ड’ नाराका साथ आज विश्वभर अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस मनाउँदै छ । यसको उद्देश्य के हो ?
अन्तरराष्ट्रिय नागरिक संगठन (आइकाओ) ले विभिन्न नाराका साथ यो दिवस मनाउने गर्छ । यसको सदस्य रहेका विश्वभरका १ सय ९२ सदस्यहरूले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गर्छन् । सिकागो कन्भेन्शन लागू भएपछि सन् १९९४ देखि नै आइकाओले यो दिवस मनाउँदै आएको भए पनि संयुक्त राष्ट्रसंघको महासभाले १९९६ डिसेम्बर ७ लाई अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवसका रूपमा घोषणा गरेपछि यसले राष्ट्रसंघीय मान्यता पाएको हो । यो वर्षका लागि आइकाओले ‘नो कण्ट्री लेफ्ट बिहाइण्ड’ नारा तय गरेको छ । यसको अर्थ उड्डयन क्षेत्रमा कुनै पनि देश पछि नपरून् भन्ने हो । किनभने, उड््डयन यस्तो क्षेत्र हो, जसको विश्वव्यापी सरोकार रहन्छ । त्यसैले आआफ्नो क्षेत्रमा उड्डयन सुरक्षाका हिसाबले र तालीमका हिसाबले सक्षम बनाउनुपर्छ भन्ने उद्देश्यअनुरूप यो दिवस मनाइँदै छ । अहिले विश्वमा दिनानुदिन एयर ट्राफिक बढे पनि त्यो अनुपातमा अन्य सुविधाको विकास भएको छैन । त्यसकारण हरेक देशले बढ्दो ट्राफिकअनुरूप आफ्नो भौतिक पूर्वाधार, क्षमता, तालीम सबै क्षेत्रमा विकास गर्न जरुरी छ ।
दिवसका अवसरमा केकस्ता कार्यक्रम आयोजना गरिन्छ र यसको प्रभावकारिता कत्तिको रहन्छ ?
आजको दिन संसारका नागरिक उड्डयन विभागले नागरिक उड्डयन सुरक्षा चासो र व्यवस्थापन तथा जनचेतनाका लागि यो दिवस मनाउने गर्छन् । उड्डयन क्षेत्रलाई सुरक्षित, विश्वसनीय तथा स्तरीय बनाउन र जनचेतना अभिवृद्धिका लागि यो कार्यक्रम गर्ने हो । उड्डयनका विभिन्न पक्ष, जस्तै सुरक्षाको दृष्टिकोणले र सेवाको दृष्टिकोणले कुनै पनि देश धरै माथि र कुनै धेरै तल नहोऊन् भन्ने उद्देश्यले पनि आइकाओले यो नारा तय गरेको हो । विश्वभर रहेका नागरिक उड्डयन विभागमा विभिन्न छलफल, अन्तरक्रिया, प्रदर्शनी, न्यूज एनाउन्समेण्टलगायत गतिविधि हुने गर्छन् । हरेक १५ देखि २० वर्षमा विश्वभर हवाई यात्रुको सङ्ख्या दोब्बर बढ्ने गरेको सन्दर्भमा नयाँ पुस्तालाई उड्डयन क्षेत्रमा आकर्षित गर्न र उड्डयन क्षेत्रबारे आममानिसमा जनचेतना फैलाउन यो दिवस फलदायी हुन्छ ।
उड्डयन क्षेत्रमा नेपालको पछिल्लो अवस्था कस्तो छ ?
अहिले एशिया प्यासिफिक रिजनमा ३९ ओटा राष्ट्र छन् । तिनीहरूको सेफ्टी ओभरसाइट क्यापेबिलिटी ५ देखि ९५ प्रतिशतसम्म छ । यसमा कुनै पनि देशको सुरक्षा कमजोरीले अर्को देशको सुरक्षा अवस्थामा असर पार्न सक्छ । त्यसैले यसमा विश्वव्यापी चासो हुने गर्दछ । नेपालको सन्दर्भमा हामी आइकाकोले तय गरेका सम्पूर्ण मापदण्डको पूर्ण परिपालनामा छौं । आइकाओको विश्वव्यापी एभरेज ६० हुन आवश्क छ । तर, नेपालको अवस्था ६७ प्रतिशत छ । यस हिसाबले हामीले विश्वव्यापी सुरक्षा तथा अन्य मूल्यमान्यतालाई अनुरसरण गर्दै आइरहेका छौं । तर, यसो भन्दैमा सुरक्षाको विषयलाई सधै एउटै रूपमा हेर्न मिल्दैन । एक पटक सुधार भएको अवस्था भोलि पनि त्यही रहन्छ भन्ने छैन । यसलाई कायम राख्नु मुख्य चुनौती हो । बढ्दो एयर ट्राफिक व्यवस्थापनका लागि मुख्य रूपमा भौतिक पूर्वाधारको विकास र एयर स्पेश व्यवस्थापन नै मुख्य चुनौती हो । त्रिभुवन विमानस्थलको स्तरोन्नतिका साथै गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थलको निर्माण कार्य अघि बढाइएको अवस्था छ । यसले भौतिक पूर्वाधारमा केही सहयोग गर्छ । अन्य भएका विमानस्थलको पनि सुधार जारी छ । एयर स्पेशमा पनि अहिले सहज भएको अवस्था हो । तर, जति एयर ट्रापिक बढ्दै जान्छ, यो त्यति नै चुनौतीपूर्ण बन्दै जान्छ । त्यसैले बढ्दो एयर ट्राफिकलाई मध्यजनर गर्दै हामीले हाम्रो उडान सुरक्षा, विमानस्थल सुरक्षा, प्रभावकारिता, सहुलियत ढंगबाट सुविधा प्रदान गर्दै अगाडि बढ्नुपर्ने हाम्रो जिम्मेवारी हो ।
एयर स्पेस व्यवस्थापनको अवस्था के छ ?
अहिले नेपालको ७५ प्रतिशत आकाश राडारको कभरेजमा छ । यसले गर्दा हाम्रो एयर स्पेशमा निगरानी सहज भएको छ । भट्टेडाँडामा नयाँ राडार जडान गरेपछि पूर्वमा मेची देखि पश्चिममा सुर्खेतसम्म नेपाली आकाश राडार कभरेजमा छ । यसले नेपाली आकाशका विमानको निगरानी गर्न धरै सहज भएको छ । अर्कोतर्फ हामीले सबै पद्धति प्रक्रियाहरू (प्रोसिडियर) सेटेलाइट बेसमा गर्दै छौं । अबको २ वर्षभित्रै नेपालको सबै भूभाग राडारको कभरेजमा हुने गरी हामीले काम गरेका छौं । त्यो मात्र नभई हामीले साउथ एशियन रिजनमा एयर सेफ्टी प्लान २०१८–२०२० बनाएर सोहीअनुरूप काम गरिरहका छौं । हाम्रो अवस्था नराम्रो छैन । हामी आवश्यक पर्ने जनशक्तिको विकास तथा तालीममा जोड दिइरहेका छौं । अहिले एयर ट्राफिक कण्ट्रोलर (एटीसी) फायर फाइटर, सुरक्षाको जनशक्तिलाई तालीम दिएका छौं । अर्कोतर्फ आइकाओको नेक्स्ट जेनरेशन एभिएशन प्रोफेसनल्स (एनग्याप) कार्यक्रमअन्तर्गत गत वर्ष मात्रै करीब ३ हजार विद्यार्थीलाई एभिएशनबारे जनचेतना दिने खालका कार्यक्रम सञ्चालन गरेका छौं । एभिएशन म्युजियम सञ्चालनमा ल्याएका छौं । यसमा गत वर्ष करीब १ लाख मानिसले यसको अवलोकन गरेका छन् । यसबाट आजका विद्यार्थीलाई भोलि यस पेशातर्फ आकर्षित गर्न सहयोग पुगेको छ ।
यहाँले यसो भन्दै गर्दा नेपाल लामो समय आइकाओको एसीसीभित्र रह्यो, आइकाओले अहिले पनि सेफ्टी लिष्टमै राखेको छ, यसलाई सुधार कसरी मान्ने ?
सन् २०१३ मा नेपाल आइकाओको एसीसीमा प¥यो । त्यसले विश्वस्तरीय उड्डयन सुरक्षामा हाम्रा कमजोरी छन् भन्ने देखायो । त्यतिबेला आइकाओको विश्व एभरेज दर ६० रहँदा हाम्रो अवस्था ५४ प्रतिशत थियो । त्यसपछि आइकाओले नेपाललाई विभिन्न विषयका विशेषज्ञ पठाई सहयोग ग¥यो । खासगरी पर्सनल लाइसेन्सिङ, एयर वर्दिनेस र फ्लाइट अपरेशनका विषयमा हामीलाई गरेको सहयोगले नेपाल सन् २०१७ मा आइकाओको एसीसी लिस्टबाट बाहिर आउन सक्यो । र, अहिले हामी विश्वको औसत मापदण्डभन्दा माथि छौं । आइकाओले अडिट गरेर नेपाललाई प्रमाणपत्र प्रदान गरिसकेको अवस्थामा हाम्रा प्रतिवेदन युरोपियन युनियनलाई बुझाएका छौं । कहीँकतै समस्या छ भने आएर भन भनेका छौं । तर, ईयूले टिम पठाएको छैन । आइकाओले नेपाललाई गम्भीर सुरक्षा चासोबाट हटाएको १ वर्ष बितिसक्दा पनि ईयूले कालो सूचीमा राख्नुपर्ने खास कारण छैन । हामी प्रविधिको अधिकतम प्रयोग गर्दै अगाडि बढ्ने हो । उड्डयन क्षेत्र गतिशील क्षेत्र हो । प्रविधिको परिवर्तन धेरै छिटो हुने गर्दछ । त्यसलाई अनुसरण गर्दै जानु नेपालजस्तो मुलुकका लागि चुनौती पनि हो । तर, हामी त्यो अनुसरण गर्र्दै जाने प्रयासमै छौं ।