विश्वभर ११ डिसेम्बरलाई ‘विश्व पर्वत दिवस’को रूपमा मनाउने गरिन्छ । नेपालमा पनि सरकार र सम्बन्धित संघसंस्थाको पहलमा ‘पर्वत दिवस’ विगत ५ वर्षदेखि मनाइँदै आएको छ । खासगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल पर्वतारोहण संघले यो दिवसको आयोजना गर्दै आएको छ । प्रस्तुत छ, नेपालमा पर्वतीय पर्यटनको अवस्था, यो दिवसको सान्दर्भिकता लगायत विषयमा आर्थिक अभियानकी हिमा वि.कले संघका अध्यक्ष सन्तवीर लामासँग गरेको कुराकानी :
नेपालमा पर्वत दिवसको औचित्यबारे बताइदिनुहोस् न । अहिले नेपालले मात्रै नभएर विश्वमै निकै महत्वका साथ पर्यटन दिवस मनाउने प्रचलन बढेको छ । हिमाल तथा पहाड भएका देशमा मात्रै नभएर अन्य देशमा पनि पर्वतीय पर्यटन प्रवद्र्धन र प्रचार प्रसारका लागि पर्वत दिवस मनाइँदै आएको छ । संयुक्त राष्ट्र संघले २००३ मा डिसेम्बर ११ लाई विश्व पर्वत दिवसको रूपमा मनाउने घोषणा गरेपछि यसको सान्दर्भिकता झनै बढेको हो । हामीले पर्वत (माउण्टेन)को महत्व आन्तरिक र बाह्य रूपमा बुझाउन जरुरी छ । पर्वतीय क्षेत्रको पर्यटन प्रवद्र्धन, खोजअनुन्धान र प्रचार प्रसारका लागि पनि दिवस महत्वपूर्ण रहेको छ । यसले मुख्यतः पर्वतीय क्षेत्रको संरक्षण, पर्यटन विकास र विस्तारमा टेवा पुग्छ ।
पर्वतले नेपाली अर्थतन्त्रमा कसरी सहयोग पुर्याएको छ ? नेपालको अर्थतन्त्रमा पर्वतीय पर्यटनले ठूलो योगदान पुर्याएको छ । आर्थिक, सामाजिक र पर्यवरणीय रूपमा समेत यो क्षेत्रले सहयोग गरेको छ । साथै, वार्षिक रूपमा मनाउँदै आएको पर्वतीय महोत्वसको अवसरमा हुने आर्थिक गतिविधि, हिमाली क्षेत्रमा भएका उत्पादनको कारोबार, विक्री वितरणले पनि ग्रामीण अर्थतन्त्रमा टेवा दिएको छ । पर्वतीय क्षेत्रमा नयाँ गन्तव्य पहिचान गर्न समेत यस्ता दिवस तथा महोत्सवले सघाइरहेका छन् । नेपालको पर्यटन क्षेत्रको पहिचान नै पर्वत क्षेत्र हुन् । पछिल्लो समय पर्वतारोहीको संख्या बढ्दै गएको छ । यसले हरेक क्रियाकलाप बढाउन मद्दत गर्छ । पर्यटक बढेसँगै होटल तथा लजहरू थपिने तथा उपयोग बढ्ने, स्थानीय उत्पादन बढाउने र रोजगारी सृजना हुने भएकाले यो क्षेत्र आयआर्जनको भरपर्दाे स्रोत बनेको छ ।
बाह्यमात्र नभएर आन्तरिक पर्वतारोहीको पनि आगमन बढाउन जरुरी छ । यसको दायरा फराकिलो भएकाले स्वदेशीलाई पनि प्राथमिकता दिइएको छ । पर्यटकीय चहलपहलले हिमाली क्षेत्रको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउन समेत टेवा पुग्दै आएको छ । पर्वत क्षेत्रमा बढी मात्रामा टे«किङ हुन्छ । यसबाट रोजगारी सृजना हुनुका साथै रोयल्टी पनि संकलन हुन्छ । यो क्षेत्रले हिमालदेखि तराईसम्म प्रभाव पार्छ ।
जलवायु परिवर्तनले पर्वतमा कस्तो प्रभाव परेको छ ? जलवायु परिवर्तन अहिले नेपालका लागि ‘नखाएको विष’ सावित भएको छ । विश्वमा भइरहेको औद्योगिकीकरण, कलकारखानाको विकास तथा प्रदूषणले नेपाल जस्ता मुलुकको जलवायुमा नकारात्मक असर पारेको छ । जलवायु परिवर्तन अन्तरराष्ट्रिय बहसको विषय भएकाले यसलाई सरकारी तवरबाट समाधानको पहल गर्नुपर्छ । नेपालजस्ता देशले सामना गर्नुपरेको अहिलेको मुख्य चुनौतीमध्ये एक जलवायु परिवर्तन पनि हो । हुन त विश्वले रोयल्टी दिएका छन् । तर, यसरी पर्वतको संरक्षण हुँदैन । जलवायु परिवर्तनबाट हुने असरको दिगो समाधानका लागि नेपालले अन्तरराष्ट्रिय रूपमै पहल गर्नुपर्छ ।
नेपालको मौसम चार प्रकारको मानिन्छ । यीमध्ये असोजको मध्यदेखि पुसको मध्यसम्म शतप्रतिशत हिमाले देखिन्थे । अहिले हेर्दा यो सिजनमा ३० प्रतिशत मात्र हिमाल देखिन्छन् । जलवायु परिवर्तनको एउटा ठूलो असर यो पनि हो । यो अवस्था मूल्यांकन गरेर नेपालले अन्तरराष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ । नेपालका हिमाली क्षेत्रमा देखिएको फोहोरका कारण मात्र समस्या भएको होइन । तर, हिमाली क्षेत्रमा बसोवास गर्ने बासिन्दा पनि सचेत हुनुपर्छ । वातावरण संरक्षणमा उनीहरूको पनि समान दायित्व हुन्छ । हिमाली भेगमा जलवायु परिवर्तनको असर कम गर्ने विषयमा अन्तरराष्ट्रिय स्तरमै आवाज उठाउनुपर्छ । साथै, सुधारका लागि दबाब पनि दिन जरुरी छ ।
सरकारले पर्वत दिवसलाई कत्तिको महत्व दिएको छ त ? पर्वत दिवसको अवसरमा हामीले गर्ने कार्यक्रमको प्रमुख अतिथि नै पर्यटनमन्त्री हुनुहुन्छ । सरकारले यो दिवसलाई महत्व दिएकै छ । यो दिवसको अवसरमा पर्वतीय क्षेत्र तथा पर्यटनको प्रचारप्रसारका लागि हामीले सञ्चारमाध्यमलाई पनि बोलाएका छौं । हिमाली क्षेत्रसँग सरोकार राख्ने विभिन्न व्यक्तिलाई निमन्त्रणा गरेका छौं । कार्यक्रममा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर र समाधानबारे छलफल गर्ने भएका छौं । २०/२५ ओटा देशबाट छलफलका लागि विज्ञहरू आउँदै छन् । कोरियाका विश्वविख्यात हिमाल आरोही, जसले ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेका छन्, उनीहरूलाई अवार्ड दिने कार्यक्रम पनि छ । जलवायु परिवर्तनको असरबारे क्याम्पेनिङ गर्न र आवाज उठाउन पनि यस्तो अवार्ड दिन लागिएको हो । यो दिवसको अवसरमा तीनदिने सबै कार्यक्रम पोखरामै हुनेछन् ।
यो दिवस ३ दिनसम्म मनाउनुको कारण के हो ? एक दिन मात्र मनाएर जति सचेतना फैलाउनु पर्ने हो, त्यति हुन सक्दैन । त्यसैले पर्याप्त छलफल, अन्तरक्रिया, अवलोकन र संवादका लागि पनि हामीले पर्वत दिवस ३ दिन मनाउन लागेका हौं । हामी वातावरण संरक्षणबारे बढीभन्दा बढी जानकारी दिन चाहन्छौं ।
पर्वत संरक्षण तथा प्रचारप्रसारमा यससँग सम्बन्धित संघसंस्थाको भूमिका कस्तो छ ? पर्वत क्षेत्रसँग सम्बन्धित धेरै संस्था हामीसँग आबद्ध छन् । पर्यटन, वन, कृषि, अन्य गैरसरकारी तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाले हामीसँग हातेमालो गर्दै आएका छौं । यस संस्थाको साथमा हामी पर्वत संरक्षणमा सक्रियतापूर्वक लागेका छौं । सगरमाथा चढ्ने तालीम लगायत कार्यक्रम पनि गर्दै आएका छौं । हामी शुरुआतदेखि नै अन्तरराष्ट्रिय स्तरको पर्वतारोहण तालीम, आफ्नो र वातावरण सम्बन्धी सुरक्षा लगायत क्षेत्रमा काम गरिरहेका छौं । पर्वतीय क्षेत्रको फोहोर व्यवस्थापनका लागि हाम्रै संस्थाबाट उत्पादित गाइडबाट पनि काम गर्दै छौं ।
यो क्षेत्रका समस्या के–के छन् ? हामी सरकारसँगै मिलेर काम गर्दै छौं । हामी २०७२ सालदेखि ४ सय १४ हिमालको ‘पिक प्रोफाइल’ तयार गर्दै छौं । हिमालको पहिचान तथा दक्ष आरोही बनाउन हामी लागिरहेका छौं । महिलालाई पनि आरोहण तालीम दिँदै छौं । त्यसकारण धेरै समस्या छैनन् । मुलुक संघीय संरचनामा गएकाले स्थानीय सरकारसँग मिलेर काम गर्नुपर्ने अवस्था छ । हिमाल आरोहणका क्रममा संकलन हुने रोयल्टीका सम्बन्धमा सरकारले हालै मात्र नयाँ व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार स्थानीय तहसँग मिलेर काम गर्न सहजता खोजिँदै छ । हामी सरकारको निर्णयअनुसार चलिरहेका छौं ।
हिमाली क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा बजारीकरण लागि के कस्ता प्रयास हु“दै छन् ? सरकार र पर्वतारोहण संघ मिलेर नयाँ हिमालको आरोहण खुला गर्ने विषयमा पटकपटक छलफल हुने गरेको छ । हाम्रो संस्था अन्तरराष्ट्रिय रूपमा चिनिएको हुनाले पनि नयाँ हिमालको जानकारी दिन सजिलो भएको छ । ४ सय १४ पीकको प्रोफाइल बनाउने काम अन्तिम चरणमा पुगेको छ । हाम्रो वेबसाइट मार्फत नेपालका हिमालबारे जानकारी दिने हो भने कम्तीमा पनि ३० लाख जनाले हेर्ने अनुमान छ । देशमा विभिन्न प्रकृतिको भूगोल, जातजाति, भाषा, संस्कृति, वेशभूषा लगायत मौलिक सम्पदा छन् । हाम्रो संस्थाले यस्ता सम्पदा र सम्भावनाको राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्दै आएको छ ।
नेपालमा पर्यटक आगमन बढाउन के गर्नुपर्ला ? पहिलो त हाम्रो वायुसेवा पर्याप्त, विश्वसनीय र प्रभावकारी हुनुपर्छ । किनकि, हामीले जति प्रचार, पहल गरे पनि पर्यटक हिँडेर त नेपाल आउँदैन । त्यसैले, सरकार र निजीक्षेत्रले हवाई सेवा भरपर्दो र सहज बनाउन आवश्यक छ । नेपालका सडक पनि सुधार गर्नुपर्ने देखिन्छ । यस्तै, अन्तरराष्ट्रिय सम्बन्ध बढाएर पनि पर्यटक आगमन बढाउन सकिन्छ ।
यस क्षेत्रबाट कतिले रोजगारी पाएका छन् ? हाम्रो अनुमान अनुसार करीब ५ हजार व्यक्ति हिमाल आरोहणका लागि आए भने प्रत्येक आरोही बराबर ५ जना परिचालन गर्नुपर्ने हुन्छ । यो हिसाबले पनि करीब २५ हजारले त यही संस्थाबाट रोजगारी पाएका छन् । प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पर्वतीय पर्यटन क्षेत्रबाट धेरैले रोजगारी पाएका छन् । हामीले वार्षिक १०/१२ करोड रुपैयाँ रोयल्टी संकलन गर्ने गरेका छौं । सरकारबाट पनि हामीले सहयोग पाउँदै आएका छौं । ग्रामीण क्षेत्रको रोजगारीका लागि यो एक उपयुक्त माध्यम बनेको छ ।
संघीयता कार्यान्वयनको चरणमा पर्वतारोहण सम्बन्धी के कस्ता समस्या छन् ? केही स्थानीय तहले अहिले विभिन्न शीर्षकमा पर्वतारोहीबाट रकम उठाउन खोजेका छन् । हाम्रो जस्तो भौगोलिक संरचना भएको देशमा, जस्तो कि– अन्नपूर्ण बेसक्याम्प पुग्न पनि थुप्रै गाउँपालिका पार गर्नुपर्ने हुन्छ । एक गाउँपालिकाले २ हजार रुपैयाँ लिँदा पाँच स्थानीय तहलाई १० हजार दिनुपर्ने हुन्छ । त्यसैले, संघ र स्थानीयबीच सहकार्य अझै हुन सकेको छैन । यसबाट हामीजस्ता पर्यटनसँग सम्बन्धित संस्था, ट्रेकिङ एजेन्सी र पर्यटकलाई केही समस्या पक्कै परेको छ । आपसी समन्वयमा यस्ता समस्या सुल्झाउन सके पर्यटनमैत्री वातावरण निर्माण बन्छ, जसले बढी भन्दा बढी पर्यटक भित्र्याउन टेवा पुग्छ । हामीले साना कुरा त हो नि भनेर यी विषयमा ध्यान दिएनौं भने समग्र पर्यटन क्षेत्रमै नकारात्मक असर पर्छ ।
सन्दर्भः विश्व पर्वत दिवस