ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन क्षेत्रको विकासमा सक्रिय छौं

Dec 12, 2018  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
तनहुँको व्यास नगरपालिका सुधारका लागि नगर प्रमुख वैकुण्ठ न्यौपानेले विभिन्न योजना अगाडि सारेका छन् । प्रस्तुत छ : स्थानीय तहको निर्वाचनपछि नगरमा भएका सुधार, विकासका योजना लगायत विषयमा आर्थिक अभियानका सुरेन्द्र पौडेलले नगर प्रमुख न्यौपानेसँग गरेको कुराकानी : जननिर्वाचित प्रतिनिधि आएपछि नगरपालिकामा सुधारका काम के के भएका छन् ? स्थानीय तहको निर्वाचनपछि यहाँ सुधारका काम धेरै भएका छन् । आन्तरिक आम्दानी बढाएका छौं । ४ करोडको हाराहारीमा रहेको आन्तरिक आम्दानी करीब १० करोड पुर्‍याएका छौं । यस वर्ष १४ करोडको लक्ष्य राखेका छौं । विकासका काममा पनि ध्यान दिएका छौं । सबै वडामा विकासमा आयोजना पुर्‍याएका छौं । सामाजिक तथा राजनीतिक विवादका कारण काम रोकिएका छैनन् । यस्ता विवाद भएका छैनन् । वडाहरूलाई समानुपातिक विकासको सन्दर्भमा प्राथमिकतामा राखेका छौं । नगरपालिकालाई पनि धेरै व्यवस्थित बनाएका छौं । प्रमुख भएपछि के–कस्ता काम गर्न सक्षम हुनुभएको छ ? करीब १० करोड लागतमा बहुउद्देश्यीय भवनको निर्माण सम्पन्न गरी प्रयोग शुरू भएको छ । नगरवासीका समस्या सम्बोधन गर्ने र दीर्घकालीन रूपमा अगाडि बढ्ने सोच बनाएर काम गरेका छौं । शहरी आयोजना व्यवस्थित बनाउन ‘एकीकृत शहरी व्यवस्था आयोजना’ बनाएका छौं । घना आवादी भएका वडा नं २, ३, ४ मा डिजिटल घर नम्बरको व्यवस्था गरेका छौं । विकासमा हामी क्रमिक रूपमा अगाडि बढिरहेका छौं । हामीसँग भएका साधन तथा स्रोतको अधिकतम प्रयोग गरी नागरिकका अपेक्षा तथा विकास निर्माणका कामलाई पूरा गर्नतर्फ लागेका छौं । हरेक महीनाको ७ गते र २२ गते हामी नियमित बैठक बस्छौं । यो एउटा संस्थागत प्रक्रिया पनि हो । नागरिकका केही गुनासा÷समस्या भए बैठकबाट सम्बोधन हुन्छ भन्ने सन्देश पनि हामीले दिएका छौं । नगरपालिकाले कस्ता योजनालाई प्राथमिकता दिएको छ ? सबै हिसाबले नगरपालिकालाई व्यवस्थित, विकसित र शान्त ढंगले क्रमिक विकासको अभियानमा नगरपालिका लागेको छ । खानेपानीलाई प्राथमिकतामा राखिएको छ । खानेपानीको समस्या रहेका स्थानमा त्यसलाई समाधान गर्ने लक्ष्य छ । तर, सडकमा धेरै बजेटको माग आएको मैले पाएको छु । त्यसैले, नरपालिकाको लगानी सडकमै धेरै हुन्छ । नयाँ सडक बनाउने भन्दा पनि पुराना सडक स्तरोन्नति गर्नुपर्ने छ । नगर क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि के गरिँदै छ ? नगरपालिकाको पर्यटकीय तथा सांस्कृतिक पक्षको विकासका लागि पनि योजना बनाएका छौं । व्यास नगरपालिकामा रहेका धार्मिक तथा सांस्कृतिक सम्पदा र भाषासंस्कृतिको प्रवर्द्धनमा लागेका छौं । पर्यटन प्रवर्द्धनका लागि हामीले गुरुयोजना निर्माण गरेका छौं । धार्मिक पर्यटनका लागि व्यास नगरपालिकामा धेरै सम्भावना छन् । यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि व्यासको मूर्ति बनाउन लागेका छौं । गुरुयोजनासहित काम अघि बढाउन समिति पनि बनाइसकेका छौं । परासर क्षेत्रको विकासमा पनि लागेका छौं । पार्क निर्माणका काम पनि भइरहेको छ । परासर क्षेत्रमा मन्दिर निर्माण गर्ने काम पनि भएको छ । कालिका शहीद जंगल पार्कलाई पनि व्यवस्थित गर्न करीब ५० लाख बजेट छुट्ट्याएका छौं । मन्दिर पनि निर्माण भइरहेको छ । सरकारले समेत पर्यटकीय गन्तव्यको रूपमा यसलाई छनोट गरेको छ । छाब्दी वराही जाने बाटो कालोपत्र गर्न यस वर्ष २ करोड रुपैयाँ विनियोजन गरेका छौं । अहिले सोहीअनुसार काम भइरहेको छ । तनहुँसुर जुन ऐतिहासिक स्थल पनि हो, त्यस क्षेत्रको विकासका लागि पनि कार्यक्रम सञ्चालन गरिनेछ । पर्यटन क्षेत्रमा भएका अन्य प्रगति र सम्भावनाबारे बताइदिनुहोस् न । पर्यटन प्रवर्द्धनकै उद्देश्यले मानुङबाट पुलिमराङसम्म राष्ट्रियस्तरको म्याराथोन प्रतियोगिता पनि गरेका थियौं । यो वर्ष अर्को म्याराथोन दौड प्रतियोगिताको तयारी गरेका छौं । उक्त म्याराथोन दौड व्यास ६ को कोट भैरवीबाट तनहुँसुरसम्म गर्ने प्रस्ताव आएको छ । नगरभित्र रहेका डाँडालाई व्यवस्थित गर्न खोजेका छौं । यस्ता डाँडामा भ्यू टावर निर्माण तथा पिकनिक स्थलको रूपमा विकास गरिनेछ । पुलिमराङमा पार्क बनाउने योजना पनि छ । दमौलीमा रहेको अनसन चौतारीलाई आकर्षक बनाएका छौं । व्यास–१० मा ताल निर्माणको योजना पनि छ । काम शुरू गर्नुभन्दा पहिला धेरै प्रक्रिया पूरा गर्नुपर्छ । विविध समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन सकिन्छ । त्यसकारण पनि काम गर्न समय लाग्ने हो । यहाँँको पर्यटकीय विकासमा नगरपालिका प्रतिबद्ध छ । कानून नबनेकाले काममा अप्ठ्यारो परेको हो ? कानून निर्माण गर्ने विभिन्न चरण र अभियानमा छौं । संघीय तथा प्रदेशका कानून नआएकाले केही अन्योल भएको छ । संघ तथा प्रदेशसँग नबाझिने गरी कानून बनाउनुपर्ने अवस्था छ । कानून अभावले कतिपय काम अघि बढाउन छ । सामुदायिक वनको सदुपयोग कसरी गर्ने भन्ने अन्योल छ । सहकारीको व्यवस्थापनमा पनि समस्या आएको छ । शिक्षाक्षेत्रका आफ्नै समस्या छन् । यी क्षेत्रका समस्याको समाधान र व्यवस्थापनमा अपेक्षित काम गर्न सकिएको छैन । मालपोतले मूल्यांकन बढाएकाले कर बढेको जनगुनासो छ । यहाँको अवस्था के छ ? जग्गाको मूल्यांकन धेरै भयो भन्ने गुनासो व्यास नगरपालिकामा छैन । मालपोत कार्यालयले पनि ५ देखि १० प्रतिशतभन्दा धेरै बढाएको छैन । त्यसै आधारमा हामीले सम्पत्ति कर लिने हो । यहाँ एकीकृत सम्पत्ति कर लिएका छौं । बढ्यो भनेर हामीलाई गुनासो आएको छैन । तपाईंको पाँचवर्षे कार्यकाल सकिँदा व्यास नगरपालिकामा के परिवर्तन देखिनेछ ? ५ वर्ष पुगेर मेरो कार्यकाल पूरा हुँदा सबै वडा व्यवस्थित हुनेछन् । सडक सञ्जाल राम्रो बन्नेछ । यहाँका धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलले धेरै गति लिनेछन् । शैक्षिक स्थितिमा सुधार हुनेछ । खेलकुद क्षेत्रको विकास हुनेछ । युवा तथा महिलामा शीप विकास हुनुका साथै नेतृत्व विकास पनि गरेका हुनेछन् । स्वरोजगारका काम पनि अगाडि बढ्नेछन् । नगरपालिकालाई विभिन्न क्षेत्रबाट आत्मनिर्भर बनाउने प्रयत्न हुनेछन् । कृषिक्षेत्रको विकासका लागि अभियान सञ्चालन हुनेछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)