काठमाडौं मेडिकल कलेज अस्पताल (केएमसी)मा कार्यरत डा. राजीवराज मानन्धर अर्थोपेडिक सर्जन हुन् । भारतको बैंग्लोरबाट एमबीबीएस र बंगलादेशको ढाकाबाट हाडजोर्नीमा एमएस गरेका मानन्धर सन् २००६ देखि केएमसी अस्पतालमा हाडजोर्नी चिकित्सकको रूपमा आबद्ध छन् । प्रस्तुत छ, हाडजोर्नी रोग, उपचार विधिलगायत विषयमा आर्थिक अभियानका भवनाथ प्याकुरेलले डा. मानन्धरसँग गरेको कुराकानीको सार :
अर्थोपेडिक सर्जरी भनेको के हो ? यो हाडजोर्नी सम्बन्धी रोगको उपचार पद्धति हो । जोर्नीमा समस्या हुँदा, हड्डी फ्याक्चर (भाँचिने/टुट्ने) हुँदा, लडेर वा अन्य कारण हड्डीमा चोट लाग्दा समस्याअनुसार अर्थोपेडिक सर्जरी गरिन्छ । यो सर्जरीबाट हड्डीसम्बन्धी सबैजसो समस्याको उपचार हुने गर्छ ।
हाडजोर्नीको रोग लागेका बिरामी केएमसीमा कत्तिको आउँछन् ? पहिले मापसे जाँच नहुँदा धेरै आउँथे । मापसे जाँच हुन थालेपछि यसमा कमी आएको छ । पहिले रक्सी खाएर मानिसले झगडा गर्ने र विभिन्न समयमा हातगोडा भाँचेर आउँथे । पछिल्लो समय यस्तो समस्या घटेको छ । झगडापछिका समस्या लिएर अहिले पनि बिरामी आउँछन् । तर, पहिले जस्तो हड्डीका समस्या हुने बिरामी कम छन् । त्यसमा कतिपय मानिस गोडा दुख्ने, हड्डी भाँचिने, टुट्ने जस्ता समस्या लिएर आउँछन् । विभिन्न खेल खेल्दा नसा चुँडिने, च्यातिने, खुट्टा मर्किने समस्या भएका बिरामी पनि उपचारका लागि आउँछन् ।
हाडजोर्नी रोगको उपचारमा अन्तरराष्ट्रिय स्तरको विधि कुन हो ? अर्थोपेडिक सर्जरी विश्वको नयाँ तरीकाको उपचार पद्धति हो । यो पद्धतिमा अहिले हड्डीको समस्या भएको ठाउँमा सानोसानो प्वाल पारेर उपचार गरिन्छ, जुन विधिलाई अर्थोस्कोपी भनिन्छ । यो खालको उपचार पहिले गर्न सकिँदैन थियो । अर्थोस्कोपी विधिमा मुख्यतः एउटा प्वालबाट चिर्ने र सिउने वस्तु पठाएर अर्को प्वालबाट दूरविनले हेरेर उपचार गरिन्छ ।
यो उपचार विधिको प्रभावकारिता कस्तो छ ? अर्थोस्कोपीको क्षेत्र व्यापक छ । यसमा हामीले वार्षिक १ सय ५० ओटाभन्दा बढी बिरामीको उपचार गर्ने गरेका छौं । चिरेर गर्नेभन्दा यो विधि प्रभावकारी मानिएको छ । उपचार बढी सफल हुने भएकाले यसप्रति बिरामीको विश्वास पनि बढेको छ । सानो पारेर उपचार गरिनु यो विधिको विशेषता हो । यस कारण बिरामीले शल्यक्रियापछि चाँडै हातगोडा चलाउन सक्छन् । यो विधिबाट उपचार गर्दा दुखाइ कम र घाउ सानो हुन्छ । उदाहरणका लागि गोडामा कुरकुरे हड्डी भाँचिएको छ भने, यसमा ठूलो घाउ वा सानो प्वाल पारेर उपचार गर्न मिल्छ । काम त एउटै हुने भयो । अर्थोस्कोपीबाट उपचार गर्दा चाँडै निको हुन्छ । छिटो निको हुने र अन्य सुविधाले बिरामीलाई फाइदा पनि हुन्छ । पुरानो पद्धतिमा ठूलो घाउ पारेर शल्यक्रिया गर्नुपथ्र्यो । तर, यसबाट उपचार गर्दा घाउ अत्यन्त सानो हुन्छ ।
नेपालमा यो पद्धतिबाट उपचार गर्ने जनशक्ति र स्रोत कस्तो छ ? अर्थोस्कोपी विधिबाट उपचार गर्ने सर्जन (शल्य चिकित्सक) नेपालमा निकै कम संख्यामा छन् । यो नयाँ प्रविधि हो । अर्थोस्कोपीबाट शल्यक्रिया गर्न पहिले पहिले मानिस डराउँथे । तर, अहिले यो विधि लोकप्रिय हुँदै छ । यो संसारभर विशेषगरी यही विधिबाट हाडजोर्नीको उपचार गरिन्छ । नेपालमा यो उपचार पद्धति सन् २००६–२००७ मा भित्रिएको हो । यो विधिमा उपचार भइरहेको अवस्थाको भिडियो पनि हेर्न सकिन्छ । यसले स्वास्थ्य क्षेत्रका विद्यार्थी र अनुसन्धानकर्ताले प्रत्यक्ष जान्ने बुझ्ने अवसर पाउँछन् । नेपालको वीर अस्पताल, ग्राण्डी इण्टरनेशनल हस्पिटल, केएमसी शिक्षण अस्पताल लगायतमा अर्थोस्कोपी विधिबाट उपचार हुँदै आएको छ ।
यस विधिबाट अन्य रोगको पनि उपचार गर्न सकिन्छ ? जोर्नीभित्रको कुरकुरे हड्डी च्यातियो भने अर्थोस्कोपी विधिबाट यसलाई सिलाउन सकिन्छ । गोडा सुन्नियो वा औषधि चलाउँदा पनि निको भएन भने त्यसका लागि सुई लगाएर पनि उपचार गरिन्छ । हड्डी र नसासम्बन्धी रोगको उपचारमा यो विधिको प्रयोग बढी हुने गरेको छ । तर, हाडका सबै रोगमा यो विधिको प्रयोग नहुन पनि सक्छ । अवस्था हेरेर यो विधिबाट शल्यक्रिया गर्नुपर्छ ।
हड्डी भाँचिएमा पहिलेजस्तै गरेर जोडिन्छ ? बच्चा, किशोर र युवा अवस्थाका मानिसको हड्डी भाँचिएको छ भने चाँडै जोडिन्छ । तर, वृद्ध मानिसको हड्डी चाँडै नजोडिन सक्छ । भाँचिएको हड्डी निको हुन समय लाग्छ ।
छातीमाथिको हड्डी भाँचिएमा त्यसलाई सीधा जोड्न मिल्छ कि मिल्दैन ? हड्डी मिलेको छ भने जोडिन्छ । जोडिएको छैन र जोडिँदा पनि धेरै ग्याप छ भने त्यसलाई शल्यक्रिया नै गर्नुपर्छ । थोरै मात्र सरेको छ भने जोडिन्छ । यो हड्डीको अवस्थामा निर्भर रहन्छ । भाँचिएका हड्डी खप्टिएर जोडिन पनि सक्छ । भित्रपट्टि शल्यक्रिया गर्नुपरेमा घाउ देखिन सक्छ । दुई सेण्टिमिटरसम्म खप्टिएर भएको जोडाइले असर पार्दैन । त्योभन्दा बढी भयो भने शल्यक्रिया नै गर्नुपर्छ ।
हड्डीसम्बन्धी मुख्य समस्याबारे बताइदिनुहोस् न । हाडसम्बन्धी रोग मुख्यगरी चोट लागेर हुन्छ । उमेरअनुसार हड्डी खिएर र क्यान्सरका कारण पनि यो रोग लाग्छ । यस्तै, हड्डीमा संक्रमण भएर पनि समस्या गराउँछ । बाथका बिरामीलाई पनि हड्डीको समस्या हुन सक्छ । बच्चादेखि कसैको ढाड बांगो छ भने पनि पछि त्यसले दुःख दिन सक्छ ।
हड्डीसम्बन्धी समस्याबाट बच्ने उपाय के के छन् ? यसमा पनि रोगको प्रकृतिअनुसार बच्ने उपाय हुन्छन् । जन्मजातै हड्डी कमजोर छ भने त्यसको उपचार हुन सक्छ । तर, यसलाई रोक्ने उपाय छैनन् । बाथको समस्या अर्थोपेडिक शल्य चिकित्सकले पनि हेर्छन् । अहिले बाथका बिरामी मात्र हेर्ने डाक्टर आइसकेका छन् । कुनै बाथ रोग औषधि मात्र दिएर निको गर्न सकिन्छ भने कुनैको उपचार हुँदैन । औषधि जीवनभर खाइरहनु पर्ने बाथरोग पनि छन् ।
हाड विभिन्न कारणले खिइन सक्छ । गोडाको हड्डी खिइएको बिरामीले टुक्रुक्क बस्नु हुँदैन, पलेँटी कसेर बस्नु हुँदैन । माथि तल धेरै गर्नु हुँदैन । गोडालाई धेरै चलाउनु पनि हुँदैन । यो समस्या भएका बिरामीले धेरै पक्षमा ध्यान दिनुपर्छ । औषधि नियमित रूपमा खानुपर्छ । बसाइको स्थान परिवर्तन गरेर पनि यसबाट बच्न सकिन्छ । उमेरअनुसार व्यायाम र योगासन गर्न सकिन्छ ।
योगासन गरेर समस्या झन् बढेको पनि सुनिन्छ । यसमा स्पष्ट पारिदिनुहोस् न । वास्तवमा योगासन सम्बन्धित चिकित्सक वा योग प्रशिक्षणको निगरानीमा गर्नुपर्छ । प्रक्रिया नपुर्याई योग गर्दा समस्या बढेका धेरै उदाहरण छन् । जोर्नीको समस्या भएका मानिसलाई उसले जुन कसरत गरेको छ, त्यसलाई सहयोग हुनेगरी अर्को मान्छेले मद्दत गर्नुपर्छ । रोगी वा बिरामीले आफ्नो आवश्यकता हेरेर मात्र योगासन, व्यायाम गर्नुपर्छ । सुनेको वा देखेको भरमा आफैले जथाभावी यसको अभ्यास गर्नु हुँदैन ।