विद्युतीय व्यवसायी महासंघले सन् १९९६ देखि इलेक्ट्रो टेक व्यापार मेला आयोजना गर्दै आएको छ । हरेक २ वर्षमा हुने यो मेला यस वर्ष पुुस ६ गतेदेखि शुरू हुँदै छ । ५ दिनसम्म चल्ने मेलामा ट्रान्सफर्मर, वायर, स्विचलगायत विद्युतीय सामग्रीका ७१ ओटा स्टल राख्ने तयारी भएको छ । पछिल्ला दुई दशकदेखि विद्युतीय उपकरण व्यवसायमा संलग्न सुदर्शनप्रसाद पौड्याल निक इलेक्ट्रो टेक–२०१८ का संयोजक हुन् । प्रस्तुत छ, मेला संयोजक पौड्यालसँग नेपालमा इलेक्ट्रो टेकको आवश्यकता, महङ्खव र सान्दर्भिकताको सेरोफेरोमा आर्थिक अभियान राष्ट्रिय दैनिकले गरेको कुराकानीको संक्षेप :निक इलेक्ट्रो टेक–२०१८ बारे केही बताइदिनुस् न ?
निक इलेक्ट्रो टेक विद्युतीय क्षेत्रको एउटा महŒवपूर्ण प्रविधि तथा उपकरण प्रदर्शन गर्ने व्यावसायिक मेला हो । विद्युतीय व्यवसायी महासंघले हरेक २ वर्षको अन्तरमा गर्ने यस्तो मेला यसपटक पुस ६ गतेदेखि भृकुटीमण्डपमा शुरू हुँदै छ । हामीले मेलाको सम्पूर्ण तयारी गरिसकेका छौं ।
५ दिनसम्म चल्ने इलेक्ट्रो टेक मेलामा पछिल्ला प्रविधियुक्त गुणस्तरीय विद्युतीय सामग्री प्रदर्शन गरिनुका साथै सरोकारवालासँग त्यसको गुणस्तरीयता तथा सुरक्षाबारे छलफल गर्ने कार्यक्रम छ । यसले व्यावसायिक क्षेत्रका नयाँ प्रयोग र अन्य पक्षबारे अद्यावधिक गर्छ ।
इलेक्ट्रो टेकमा विद्युतीय उपकरण प्रदर्शनी मात्रै हो कि विक्रीवितरण पनि हुन्छ ?
हामीले इलेक्ट्रो टेकमा प्रत्येक २ वर्षबीच उत्पादकले बनाएका नयाँ उपकरण, प्रविधि र त्यस्ता वस्तुको प्रयोग, सुरक्षा तथा गुणस्तरीयताबारे छलफल गर्ने र सामग्री प्रदर्शन गर्ने लक्ष्य लिएका छौं । इलेक्ट्रो टेक मुख्यगरी प्रविधि र अनुसन्धानात्मक अध्ययनको थलो बनोस् भनेरै हामीले विक्रीवितरणलाई प्राथमिकतामा नराखेका हौं । यस वर्षको टेकमा पनि हामीले ५१ ओटा प्याभेलियनमा प्राथमिकताका साथ विद्युतीय सामग्री प्रदर्शन गर्ने भनेका छौं । अघिल्ला वर्षका टेकमा भिजिटरहरूले विक्रीवितरणका लागि पनि स्पेस हुनुपर्ने भनेर आवाज उठाउनु भएको थियो । त्यसैले सो मागलाई सम्बोधन गर्न हामी २६ ओटा स्टलमार्फत विद्युतीय उपकरण तथा पछिल्ला प्रविधि विक्रीवितरण गर्छाैं ।
वर्षेनि यस्ता मेला आयोजना हुँदा र नहुँदामा यस क्षेत्रको व्यवसायमा के कस्तो फरक पर्ने गरेको छ ?
यस क्षेत्रका व्यवसायीलाई २ वर्षको समयमा भएका नयाँ आविष्कारसँग अपडेट गर्न/गराउन टेकले महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसैगरी उत्पादक, उपभोक्ता र साझेदारहरूसँग सम्पर्क विस्तार गर्न, उत्पादनका गुणस्तरबारे जानकारी लिनदिन र यस क्षेत्रमा भएका उपलब्धि सार्वजनिक गर्न पनि यस्ता प्रदर्शनी आवश्यक हुन्छन् । सोही आवश्यकताअनुरूप नै हामीले टेकलाई निरन्तरता दिएका हौं । विश्वका अन्य देशमा यस्ता प्रदर्शनी अझै छोटो–छोटो समयमा हुन्छन् । व्यावसायिक विस्तारका लागि प्रदर्शनी आवश्यक हुन्छ ।
इलेक्ट्रो टेकले के कस्ता अवसर ल्याउँछ ?
अहिले देशभित्रको १३ सय मेगावाट ऊर्जा आपूर्ति गर्न सरकारले ३ सय मेगावाट विद्युत् आयात गरेको छ । हामीले स्वदेशी मागलाई सम्बोधन गर्नसक्ने क्षमतासमेत बनाएका छैनौं । निजीक्षेत्रका लागि लगानीको वातावरण बन्न सकेको छैन । सरकारले अहिलेको विद्युत् उत्पादनलाई आउँदा वर्षमा तीन गुणा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ । जसले यस क्षेत्रमा पर्याप्त अवसर रहेको देखाउँछ । अहिले करीब ७५ अर्ब रुपैयाँको विद्युतीय उपकरणको कारोबार हुन्छ । सरकारले भनेकै अनुसार काम भयो भने हाम्रो व्यवसाय २ खर्ब ४० अर्ब रुपैयाँमा विस्तारित हुन्छ । बजारको आकार ठूलो भएपछि उत्पादन पनि त्यसैअनुसार गर्नुपर्छ । ठूलो आकारमा उत्पादन गर्दा त्यस वस्तुको उत्पादन लागत घट्छ र थप अवसरको ढोका खुल्छ । हामी आशावादी छौं । त्यसबाहेक इलेक्ट्रो टेकले अध्ययन÷अनुसन्धान गर्ने साझा थलोको आवश्यकतासमेत पूर्ति गरेको छ ।
चुनौती पनि छन् कि ? तपाईहरूले भोग्ने चुनौती पनि बताइदिनुस् न ।
कुनै पनि व्यावसायिक क्षेत्र चुनौतीरहित हुनै सक्दैन । हामीले भन्सार दरमा समस्या भोग्ने गरेका छौं । कच्चा पदार्थ र तयारी उत्पादनमा राज्यले फरक दरको कर लगाइदेओस् । करसम्बन्धी विषय बुझ्न/बुझाउन सहज होस् । प्राविधिक प्यारामिटर निर्धारण गरेर गुणस्तरीयता निर्धारण होस् । परीक्षण प्रयोगशाला बनाइयोस् । निजीक्षेत्र प्रोत्साहित भए मात्रै औद्योगिक वातावरण बन्छ, सरकारले त्यसलाई बुझोस् र मनन गरोस् । अरू धेरै पक्षहरू त क्रमशः बन्दै जान्छन् ।