ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुन्तला खेतीको विकास तथा प्रवर्द्धनका कार्यक्रम गर्दै छौं

Dec 19, 2018  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
दैलेखका दुल्लु नगरपालिका र भैरवी गाउँपालिकामा ‘सुन्तला जोन’ कार्यक्रम सञ्चालन भएको छ । जिल्लाका यी दुई पालिकामा सुन्तलाखेतीका लागि उपयुक्त हावापानी र ठाउँ छन् । त्यसैले, यो क्षेत्रमा परियोजनामार्फत सुन्तलाखेतीको व्यावसायिकता विकास गर्न लागिएको हो । गत असोजदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, सुन्तला जात फलफूल जोनको मुख्य कार्यालयसमेत दुल्लुमा स्थापना गरिएको छ । परम्परागत रूपमा सुन्तलाखेती गर्दै आएका यहाँका किसान उक्त कार्यालय स्थापनाले उत्साहित भएका छन् । प्रस्तुत छ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, सुन्तला जात फलफूल जोनका प्रमुख एवम् कृषि अधिकृत राजु भुजसँग आर्थिक अभियानका दैलेख संवाददाता पंखबहादुर शाहीले गरेको कुराकानी : दैलेखमा सुन्तला जात फलफूल जोनको कार्यालय स्थापना गर्नुको प्रमुख उद्देश्य के हो ? स्वदेशी सोच तथा लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार कृषि विकास रणनीति कार्यान्वयनको सहयोगी परियोजनाको रूपमा यो कार्यक्रम ल्याइएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सबै जिल्लामा सम्भाव्य बालीको व्यावसायिकीकरण, आधुनिकीकरण तथा औद्योगिकीकरण गर्ने नीति लिएको छ । सोहीअनुसार यो जिल्लामा सुन्तला जात फलफूलको सम्भाव्यता देखिएकाले कार्यालय स्थापना गरिएको हो । जिल्लाको ६ सय ५० हेक्टरमा सुन्तला खेती गरिएको छ । यो परियोजनाले के कस्ता काम गर्छ ? यो परियोजनाले दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका विभिन्न ठाउँमा सुन्तला जातका फलफूल क्षेत्र विस्तार गर्ने लक्ष्य लिएको छ । यसैगरी पुराना फलफूल बगैंचाको व्यवस्थापन, बजारीकरण, सुन्तला प्रशोधन, साना सिँचाइ अनुदानका कार्यक्रम सञ्चालन पनि गर्छ । यो कार्यालयले कृषकलाई व्यावसायिक तथा आत्मनिर्भर बनाउन विभिन्न किसिमका तालीमसमेत सञ्चालन गर्दै आएको छ । अहिले यो क्षेत्रमा सुन्तला खेतीको अवस्था कस्तो छ ? यो क्षेत्रमा पहिलेदेखि नै सुन्तला खेती गरिँदै आएको छ । यहाँको ६ सय ५० हेक्टर सुन्तला बालीले ढाकेको छ । कृषकले व्यावसायिक रूपमा सुन्तलाखेती गरेका छन् । तर, यहाँका सुन्तला बगैंचामा व्यवस्थापन पक्ष कमजोर छ । त्यसैले, अपेक्षित उत्पादन लिन सकिएको छैन । गतवर्षको तुलनामा सुन्तला ३० प्रतिशत कम उत्पादन भएको छ । गतवर्ष ६ हजार १ सय ७५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यो वर्ष घटेर ४ हजार ३ सय २५ मेट्रिक टन मात्र उत्पादन भएको छ । उत्पादन बढ्न नसक्नुको अन्य कारण के हो ? उत्पादनमा ह्रास आउनुका कारण धेरै छन् । जस्तै– अघिल्लो वर्षको तुलनामा यो वर्ष लामो खडरी परेको थियो । व्यवस्थापन तथा मलजल कमीका साथै असिनाको कारण पनि सुन्तला उत्पादन खस्किएको हो । उत्पादन बढाउन कार्यालयसँग कस्तो योजना छ त ? सुन्तलाको उत्पादन वृद्धिका लागि यो परियोजनाले पुराना बगैंचामा मल व्यवस्थापन, सिँचाइ सुविधा, रोगकीराको नियन्त्रण र काटछाँट तथा तालीमका लागि कार्यक्रम गर्दै छ । यसले उत्पादन बढाउन टेवा पुग्ने छ । सुन्तलाको उत्पादन बढ्दा कृषकको जीवनस्तरमा पनि सुधार आउने अपेक्षा गरेका छौं । दुल्लुमा कुन कुन जातको सुन्तला फल्छ ? एक सिजनमा सुन्तलाबाट यहाँका कृषकले कति आम्दानी गर्छन् ? दुल्लु क्षेत्रमा स्थानीय जातका सुन्तला मात्र पाइन्छ । यहाँको सुन्तलाको स्वाद अन्यत्रको भन्दा फरक छ । दैलेखको सुन्तलाको आफ्नै पहिचान छ । जिल्लामा उत्पादित ४५ प्रतिशत सुन्तला जिल्लाभित्र खपत हुन्छ भने बाँकी उत्पादन वीरेन्द्रनगर, नेपालगञ्ज लगायत शहरसम्म निकासी हुने गरेको छ । यस क्षेत्रमा सुन्तलाबाट वार्षिक करीब ५ करोड बराबरको आम्दानी हुने गर्छ । तर, यस वर्ष ३० प्रतिशत उत्पादन घटेकाले आम्दानी पनि घटेको छ । सुन्तला खेती प्रवर्द्धनका लागि के आवश्यक देख्नुहुन्छ ? यो क्षेत्रमा सुन्तला जात फलफूलको प्रशस्त सम्भावना छ । अहिले नै ठूलो क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ । सुन्तलाको उत्पादकत्व बढाउन कृषकले पुराना बगैंचामा काँटछाँट, मलजल, रोगकीराको व्यवस्थापनका साथै नयाँ बगैंचा स्थापनामा आधुनिक तथा उन्नत प्रविधिको प्रयोग गर्नुपर्ने देखिन्छ । उन्नत प्रविधिको प्रयोगले सुन्तलाको उत्पादन बढाउन सकिन्छ । त्यसैले, राज्यका सबै तहले यो क्षेत्रमा सुन्तला जात फलफूल खेतीको विकास तथा प्रवर्द्धनका लागि पहल गर्नुपर्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)