लुम्बिनी मेडिकल कलेजबाट एमबीबीएस सकेका डा. विज्ञान महर्जन अहिले दोलखाको जिरी अस्पतालमा कार्यरत छन् । कीर्तिपुरको पाँगा सेकेण्डरी स्कूलबाट एसएलसी उत्तीर्ण गरी सेन्ट जेभियर कलेजबाट प्लस टु सकेर उनी चिकित्सा अध्ययन गर्न पाल्पा लागे । एमबीबीएसपछि धेरैको चाहना शहरका निजी अस्पतालमा केही समय काम गरी एमडी वा एमएस गर्ने हुन्छ । तर, उनी रामेछाप, दोलखा, संखुवासभाका विकट क्षेत्रका बासिन्दाको उपचार गर्न जिरीतर्फ लागे । ग्रामीण क्षेत्रमा पनि अहिलेको रहनसहन र खानपानका कारण रक्तचापका बिरामीको संख्या बढेको अनुभव डा. महर्जनको छ । उच्च रक्तचाप अहिले विश्व स्वास्थ्यका लागि एउटा ठूलो चुनौती बनेको छ र नेपाललगायत हरेक राष्ट्रहरूको मृत्युदर बढाउन उच्च रक्तचापले ठूलो भूमिका खेलेको छ । प्रस्तुत छ यसै सन्दर्भमा डा. महर्जनसँग आर्थिक अभियान दैनिकका प्रमुख समाचारदाता पूर्णभक्त दुवालले गरेको कुराकानीको सम्पादित अंश :
उच्च रक्तचापको अर्थ के हो ?
स्वस्थ मानिसको रक्तचाप सिस्टोलिक (९०–१५०) सम्म र डाइस्टोलिक (६०–९०) सम्म हुन्छ । यसलाई हामी सामान्यरूपमा १२०/८० मिलिमिटर अफ मर्करी भन्छौं । निरन्तर रूपमा रक्तचाप १४०÷९० मिलिमिटरभन्दा माथि छ भने त्यसलाई उच्च रक्तचाप भएको हो भनी बुझ्नुपर्छ । शारीरिक व्यायाम गर्दा, मानसिक तनाव हुँदा, रिस उठ्दा, भयमूलक वातावरण हुँदा, डर लाग्दा पनि रक्तचाप बढ्छ । तर, यस्तो रक्तचाप केही समयपछि आफै घट्ने गर्छ र यस्तो रक्तचापलाई उच्च रक्तचाप भन्न मिल्दैन ।
उच्च रक्तचापका जोखिमहरू र यसका कारणहरू केके हुन् ?
उच्च रक्तचाप मुख्यतया दुई किसिमको हुन्छ । लगभग ९० प्रतिशत उच्च रक्तचापका बिरामीहरू प्राथमिक उच्च रक्तचाप समूहमा पर्छन् । प्राथमिक उच्च रक्तचापको स्पष्ट कारण थाहा पाउन मुश्किल हुन्छ । बाँकी १० प्रतिशतलाई सेकेन्डरी उच्च रक्तचाप भएको हुन्छ । शारीरिक परीक्षणपछि उच्च सेकेन्डरी उच्च रक्तचापको कारण स्पष्ट हुन्छ । मृगौलाको रोग, मस्तिष्कको रोग, मधुमेह, मुटुको रोग आदिले गर्दा सेकेण्डरी उच्च रक्तचाप हुन्छ । यसका साथै अत्यधिक मात्रामा लागूपदार्थ सेवन, मद्यपान र धूमपान गर्दा पनि सेकेण्डरी उच्च रक्तचाप हुन्छ । गर्भवती महिला, शारीरिक मोटोपना भएका मानिसहरूमा पनि सेकेण्डरी उच्च रक्तचाप देखा पर्न सक्छ ।
उच्च रक्तचापका लागि विविध कारकहरू छन् । मानिसको रहनसहन, क्रियाकलाप, खानाको प्रकार, मानसिक तनाव एवम् शारीरिक रोगले गर्दा रक्तचाप उच्च हुन जान्छ । अल्छी मानी बस्ने, शारीरिक क्रियाकलाप कम गर्ने र मानसिक तनाव लिई बस्नेहरू उच्च रक्तचापको शिकार बन्न पुग्छन् । साथै, नुनको मात्रा बढी भएको खाना खाने, चिल्लो धेरै प्रयोग भएको खाना खाने, प्याकेटबन्दी खाना, बजारी खाना आदिले पनि रक्तचाप बढाउन ठूलो भूमिका खेल्छन् । बढी रिसाउने बानी भएका, मानसिक यातना धेरै सहेका, निरन्तर रूपमा सोचेर काम गर्नेहरू र सानो कुरालाई लिएर धेरै आत्तिनेहरूमा पनि उच्च रक्तचाप बढी भएको पाइन्छ । आनो नजिकको आफन्तलाई रक्तचापको समस्या भएकाहरूमा पनि उच्च रक्तचापको सम्भावना बढी हुन्छ । अर्थात् वंशाणुगत कारणले पनि रक्तचाप उच्च हुने गर्छ ।
उच्च रक्तचापका लक्षणहरू र सम्भावित परिणामहरू केके हुन् ?
उच्च रक्तचाप प्रायः मानिसहरूमा लक्षणविना नै रहिरहेको हुन्छ र थाहै नदिई शरीरलाई हानि पु¥याइरहेको हुन्छ । त्यसैले उच्च रक्तचापलाई डरलाग्दो रोगका रूपमा लिइन्छ । टाउको दुख्ने, आँखाले धमिलो देख्ने, वाकवाकी लाग्ने, मुटु बेस्सरी धड्केको महसूस हुने, सास फेर्न गाह्रो हुने आदि यसका लक्षण हुन् । यसैगरी, छिटो थकाइ लाग्ने, नाकबाट रगत बग्ने, खुट्टा सुन्निने आदि पनि उच्च रक्तचापका लक्षण हुन् । त्यसैले यी लक्षण देखापर्ने बित्तिकै जोकोहीले उच्च रक्तचापको शंका गरी नजिकैको स्वास्थ्य चौकी वा अस्पतालमा परीक्षण गराउनुपर्छ ।
यदि समयमै उच्च रक्तचापको निदान भएन अथवा रक्तचाप घटाइएन भने पछि यसले मुटु, मस्तिष्क, मृगौला, आँखा र रगतको नलीलाई हानि पु¥याउने गर्छ । उपचारमा ढिलाइ गरे हृदयघात तथा मुटुको चाल गडबड हुने, मस्तिष्कमा रगतका नलीहरू फुट्ने तथा पक्षघात हुने आदि हुन सक्छन् । मृगौलामा पिसाब कम बनेर फाल्नुपर्ने हानिकारक तŒव शरीरमै थुप्रिन पनि सक्छ । यसले गर्दा बिरामीलाई होश कम हुँदै जाने, मान्छे नचिन्ने, बोली लर्बराउने जस्ता समस्या आउन सक्छन् ।
आँखाको पर्दाका रगतनली बिग्रिने, फुट्ने भई आँखालाई हेर्न गाह्रो हुने र पछि दृष्टिविहीन पनि हुन सक्छन् । त्यस्तै, हातखुट्टाका रक्तनलीहरू कडा हुने, रगत सञ्चालन राम्रोसँग नहुने, रक्तनलीमा रगत जम्ने आदि समस्या आई हातखुट्टा कमजोर हुने, अत्यधिक दुख्ने पनि हुन सक्छ । हृदयघात, मस्तिष्कघात एवं मृगौलाघातका कारण ज्यान नै जोखिममा पर्न सक्छ ।
यसको निदान कसरी गर्न सकिन्छ त ?
एकपटक रक्तचाप बढी देखायो भन्दैमा त्यसलाई उच्च रक्तचाप भन्न मिल्दैन । पटकपटक रक्तचाप नाप्दा पनि १४०÷९० मिलिमिटरभन्दा बढी नै देखाइरह्यो भने त्यस्तो अवस्थामा उच्च रक्तचापको समस्या निदान हुन्छ । त्यसका लागि मानिस कम्तीमा पनि १०–१५ मिनेट आराम गरेको, मानसिक तनाव नलिई बसेको, चिया कफी नखाएको हुनुपर्छ र रक्तचाप नाप्दा मानिस बसेको अवस्थामा दुवै पाखुराबाट लिनुपर्छ ।
गर्भवती महिला र मोटोपना भएको व्यक्तिलाई उच्च रक्तचाप हुने सम्भावना अधिक हुने भएकाले मासिक रूपमा चिकित्सकको सम्पर्कमा रहनुपर्छ । समयसमयमा चिकित्सकसँग रक्तचाप परीक्षण पनि गराइराख्नुपर्छ । उच्च रक्तचापका लागि विभिन्न प्रकारका औषधि उत्पादन गरिएका छन् । उच्च रक्तचापका बिरामीको अवस्थाअनुसार औषधिको मात्रा फरकफरक हुन्छ । औषधिहरू केकस्ता खाने कति मात्रामा खाने आदि तय गर्न शारीरिक जाँचको आवश्यकता पर्छ । उच्च रक्तचाप भएपछि हेलचेक्र्याइँ गर्नुहुँदैन । हेलचेक्र्याइँले अन्य समस्या उत्पन्न हुने गर्छ । यसर्थ, चिकित्सकसँगको परामर्शमा औषधि सेवन थालिहाल्नुपर्छ ।
उच्च रक्तचापको रोकथाम केकसरी गर्न सकिन्छ ?
उच्च रक्तचाप हाम्रो दैनिक क्रियाकलाप र रहनसहनको परिवर्तनले गर्दा पैदा हुने समस्या हो । यसकारण रक्तचाप हुन नदिन र एकपटक समस्या आएपछि यो आजीवन समस्याकै रूपमा रहिरहने हुनाले यसलाई रोकथाम गर्नु नै बुद्धिमानी हुन्छ । यसका लागि हामीले मानिसहरूलाई उच्च रक्तचापका कारकबारे सचेत पार्नुपर्छ । गर्भवती, मधुमेहका बिरामी, मोटोपना भएका व्यक्ति तथा मानसिक तनाव भएका व्यक्तिले बेलाबेलामा स्वास्थ्य परीक्षण गराइराख्नुपर्छ ।
अत्यधिक मद्यपान, धूमपान र लागूपदार्थ सेवन हरेक रोगको जननी भएकाले यस्ता तत्त्वबाट टाढा रहनुपर्छ । हरेक व्यक्तिले पौष्टिक र सन्तुुलित खानपान गर्नुपर्छ । साँझ ७ बजेपछि खाना नखानु फाइदाजनक हुन्छ । यसैगरी, तनावयुक्त जीवन व्यतीत नगरी दैनिक रूपमा शारीरिक व्यायाम गर्नुपर्छ । समयसमयमा रक्तचाप परीक्षण गर्नुपर्छ । स्वस्थ मानिसले पनि ३ देखि ६ महीनाको अन्तरालमा आफ्नो रक्तचाप परीक्षण गराइराख्नुपर्छ । उच्च रक्तचापका बिरामीले मासिक रूपमा आफ्नो शारीरिक परीक्षण गराइराख्नुपर्छ । साथै, यो रोगले शरीरका अन्य अगंलाई हानि पु¥याउन सक्ने भएकाले यसको लक्षणबारे थाहा पाइराख्नुपर्छ ।