ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

७१ स्थानीय तह अझै बैंकविहीन

Dec 26, 2018  
विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । नेपाल राष्ट्र बैंकको ७ सय ५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने योजना अझै सफल हुन सकेको छैन । राष्ट्र बैंकले गत असार मसान्तसम्म २८ वाणिज्य बैंकलाई सबै स्थानीय तहमा शाखा विस्तार गर्न निर्देशन दिएको थियो । तर, अझै ७१ स्थानीय तह बैंकिङ पहुँचभन्दा बाहिर रहेका छन् । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्ष (आव) २०७५/७६ को पहिलो चौमासिकको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार निर्धारित समय सकिएको ४ महीनासम्ममा ६ सय ८२ स्थानीय तहमा मात्र बैंक पुगेका छन् । राष्ट्र बैंकले उक्त निर्देशन जारी गर्दा २ सय ९६ स्थानीय तहमा मात्र बैंकिङ पहुँच रहेको थियो । बैंकहरूले भने तोकिएका स्थानीय तहमा शाखा विस्तार गर्न कटिबद्ध रहेको बताएका छन् । भौगोलिक विकटता, नेटको समस्या लगायतका कारण विकट ठाउँहरूमा शाखा स्थापना गर्न नसकिएको उनीहरूको भनाइ छ । यस्ता समस्यालाई दृष्टिगत गर्दै राष्ट्र बैंकले उन्नति परियोजनामार्फत बैंकलाई शाखा विस्तार गर्न समय थपेको छ । तर, त्यसका लागि कुनै मिति भने तोकेको छैन । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले देखिएका समस्याहरू गम्भीर रहेकाले निश्चित म्याद नतोकिएको बताए । उनले भने, ‘त्यस्ता समस्याहरूले परेको असरमा राष्ट्र बैंक सकारात्मक छ । देखिएका समस्यालाई सुल्झाएर बाँकी स्थानीय तहमा शाखा स्थापना हुन्छ ।’ गत असार मसान्तसम्ममा ६ सय ३१ स्थानीय तहमा मात्र वाणिज्य बैंकको शाखा विस्तार भएको थियो । त्यसपछिको ४ महीनामा ५१ ओटा स्थानीय तहमा मात्र बैंकको शाखा विस्तार भएको देखिन्छ । तथ्यांकअनुसार अन्य प्रदेशको तुलनामा विकट मानिने सुदूरपश्चिमका २२ र कर्णालीका १७ स्थानीय तहमा शाखा विस्तार हुन सकेको छैन । यस्तै, प्रदेश नम्बर १ का १७, प्रदेश नम्बर २ का ५ र प्रदेश नम्बर ३ का ७ स्थानीय तहमा बैंकिङ पहुँच पुग्न सकेको छैन । यस्तै, प्रदेश नम्बर ५ मा सबैभन्दा कम २ स्थानीय तह बैंकिङ पहुँचको पखाईमा रहेको देखिन्छ । यस अवधिमा इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या १५४ ओटा पुगेको छ । गत असार मसान्तसम्म १५१ ओटा मात्र त्यस्ता संस्था थिए । उनीहरूले देशभरका विभिन्न ठाउँमा ७ हजार २ सय १८ शाखा विस्तार गरेर बैंकिङ सेवा प्रदान गर्दै आएका छन् । गत असारसम्ममा बैंक तथा वित्तीय संस्थाको ६ हजार ६ सय ५१ शाखा रहेका थिए । यस अवधिमा ५ सय ६७ ओटा नयाँ शाखा विस्तार भएको देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)