धुलिखेल अस्पतालमा स्त्रीरोग तथा प्रसूतिरोग विभागमा कार्यरत डा. सुमनराज ताम्राकार यौनरोग विशेषज्ञ हुन् । नेपाल तथा भारतका विश्वविद्यालयमा मेडिकल शिक्षा अध्ययन गरेका डा. ताम्राकार शिक्षा क्षेत्रमा पनि क्रियाशील छन् । यस्तै, यौनरोगका विषयमा उनका विभिन्न लेखरचना प्रकाशित हुँदै आएका छन् । प्रस्तुत छ– यौनरोग, यसका प्रकार, लक्षण, उपचार लगायत विषयमा रहेर आर्थिक अभियानका निर्भीक रायमाझीले डा. ताम्राकारसँग गरेको कुराकानीको सार :यौन रोग भन्नाले के बुझिन्छ ?
हाम्रो शरीर विभिन्न प्रणाली मिलेर बनेको हुन्छ । यिनै प्रणालीमध्ये एक हो, प्रजनन प्रणाली । यसै प्रजनन प्रणाली र तिनका सहायक अंगमा हुने संक्रमणलाई नै यौन रोग भनिन्छ । यौन रोगहरू विशेषगरी एक व्यक्तिबाट अर्कोमा सर्ने प्रकृतिका हुन्छन् ।
नेपालमा यौन रोगको स्थिति कस्तो छ ?
हाम्रो देश र यहाँका अधिकांश नागरिकको आर्थिक स्तर न्यून छ । सरसफाइ, जनचेतना र प्रभावकारी स्वास्थ्य सेवा सहजै उपलब्ध छैन । यसकारण पनि समयमै उपचार पाउन गाह्रो छ । तर विगत केही दशकमा एन्टिबायोटिकको प्रयोग धेरै हुन थालेकाले केही सामान्य प्रकृतिका संक्रामक यौन रोगमा भने कमी आएको छ । आफूलाई लागेको रोगको विषयमा मानिसले खुलेर भन्न थालेका छन् र यौनरोगका विभिन्न समस्याको उपचार गर्न सम्बन्धित विशेषज्ञ भएको ठाउँमा आउने चलन बढेको छ ।
यौन रोगको नाम सुन्दा मात्र पनि मानिस डराउँछन्, यस्तो किन भएको हो ?
कुनै पनि रोग वा समस्यासँग डराउनु मानवीय स्वभाव नै हो । तर कुनै घाउ औंलामा लाग्दा र यौन अंगमा लाग्दा व्यक्तिले त्यसमाथि राख्ने धारणा फरक हुन्छ । यौन अंगमा केही समस्या आउँदा मानिस संवेदनशील बन्छ । यसबाहेक हाम्रो सामाजिक धारणामा पनि कसैलाई यौन तथा प्रजनन रोग भएमा उसमाथि नकारात्मक सोच राखिन्छ । यिनै कारणले मानिस यौन रोग भनेपछि तर्सने गर्छन् । तर अधिकांश यौन रोगको उपचार हुने भएकाले लाज मान्न, डराउन र आफ्नो समस्या लुकाउन हुँदैन । फराकिलो चेतना राखेर रोगको निदान गर्नतर्फ लाग्नुपर्छ ।
नेपालमा कस्ता यौन रोग बढी देखिएका छन् ?
पहिला पहिला मानिस भिरिंगी, धातुमेह जस्ता रोग लिएर स्वास्थ्य संस्थामा आउँथे । अहिले एन्टिबायोटिक लगायत घाउ निको पार्ने औषधिको प्रयोग बढेर यी रोग कम देखिन थालेको छ । सन् १९९० पछि भने एचआईभी/एड्सको समस्या बढेको हो । एचआईभीले मानिसको समग्र शारीरिक क्षमतामा शिथिलता र संक्रमण ल्याउने भएकाले तुलनात्मक रूपमा यो बढी डरलाग्दो रोग हो ।
यसबाहेक नेपाली महिलामा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, पाठेघरको मुखको क्यान्सर हुनेजस्ता समस्या बढी देखिने गरेको छ । यससँगै जननेन्द्रीयमा दाग आउने, घाउ हुने र मुसा आउने समस्या पनि देखिन थालेका छन् ।
यौन रोगका लक्षण के के हुन् ?
यौन रोग लागिसकेपछि पिसाब फेर्दा पोलिरहने, पिसाबबाट धातु अथवा पिप बग्ने हुन्छ । यस्तो हुँदा युरिथ्राइटिस (पिसाबको नलीमा इन्फेक्शन हुने) हुन्छ । गोनोरिया रोग लाग्दा यस्तो लक्षण देखा पर्छ । अर्को, घाउमात्रै हुने रोग पनि हुन्छ । यससँगै सिफिलिस रोग लाग्दा पुरुषको लिंग तथा महिलाको योनीमा घाउ, खटिरा हुन्छ । रोगको सबै प्रकृति भने परीक्षण, निदानपछि मात्र मात्र थाहा हुन्छ । कुनै यौनरोगले पूरै शरीरलाई असर गर्छ भने कुनै यौनांगमा मात्रै सीमित हुन्छ । यौनांगमा ढुसी जम्मा हुने, पिसाब पोल्ने, पिप आउने समस्याले पनि धेरैलाई सताउँछ । यस्तै, यौन सम्पर्क गर्दा योनी भित्रपट्टि दुख्ने, तल्लो पेट दुख्ने, हल्का ज्वरो आउने, ढाड दुख्ने, गुप्तांग वरिपरि घाउ–खटिरा आउने, रातो हुने, सुन्निने, गुप्तांगमा मुसा वा मासु पलाउने, तिघ्रा र काछका गन्थ्री सुन्निने, दुख्ने वा फुटेर घाउ हुनेजस्ता लक्षण देखिन्छन् ।
यौन रोगबाट बच्ने उपाय के के हुन् ?
आफ्नो यौन व्यवहारमा सचेत भएमा अधिकांश यौन रोगबाट बच्न सकिन्छ । यसकारण म सचेतनालाई नै यौन रोगबाट बच्ने प्रमुख उपाय मान्छु । सुरक्षित यौन व्यवहार गर्ने, पुरुषहरूले अनिवार्य रूपमा कण्डमको प्रयोग गर्ने बानीले यौन रोगबाट बच्न सकिन्छ । यस्तै, निर्मलीकृत सुई/औजारको प्रयोग गरी जाँचेको रगत मात्र प्रयोग गर्नुपर्छ । यौन र यौन रोगको बारेमा संकोच वा लाज नमानिकन जानकारी लिने, सुरक्षित यौन व्यवहार अपनाउने र यौन अंगको नियमित सरसफाइ गर्ने बानीले यौन रोगबाट बच्न सघाउँछ । हाम्रो समाज यौन स्वास्थ्यबारे त्यति खुल्न चाहँदैन, जसका कारण विभिन्न जटिलता उत्पन्न हुने गरेका छन् । कतिपयले शारीरिक सम्पर्कका बेला गर्ने सामान्य गल्तीले पनि ठूला समस्या आएको देखिन्छ । यौन रोगबाट बच्ने प्रमुख उपाय शारीरिक सम्पर्कका बेला कण्डम लगायत अस्थायी साधनको प्रयोग पनि हो । यस्ता साधन महिला र पुरुष दुवैका लागि सहजै उपलब्ध छन् ।
यौन रोग पुरुषमा बढी देखिन्छ कि, महिलामा ?
प्रकृतिले नै महिलाको शारीरिक संरचना जटिल बनाएको छ । यसले गर्दा यौन तथा प्रजनन रोग महिलामा बढी देखिनु स्वाभाविक हो । महिलाको यौन अंगको शारीरिक क्षेत्रफल नै बढी हुन्छ, जसले गर्दा सरसफाइ गर्न र संक्रमण भएको थाहा पाउन गाह्रो पर्छ । पुरुषमा बाहिरी तत्त्व भएको हुनाले लिंग र अण्डकोषमा आएको समस्या प्रष्टसँग देखिन्छ । पिसाबमा समस्या आयो भने जलन हुन्छ, केही पिप देखिन्छ । तर महिलामा भएको समस्या बाहिरी रूपमा देखिँदैन । संक्रमण भइसकेको भए पनि उनीहरूलाई थाहा नै हुँदैन ।
यौन रोगकै कारणले क्यान्सर हुन सक्छ ?
यौनरोगका कारण क्यान्सर हुन सक्ने सम्भावना उच्च रहको हुन्छ । जस्तै– पाठेघरको मुखको क्यान्सर पनि यौन रोगको कारण नै हुने हो । भाइरसको संक्रमणले गर्दा क्यान्सर हुने हो, जुन यौन रोगका कारण पनि हुन सक्छ । तर, स्तन क्यान्सर चाहिँ योन रोगमा पर्दैन । यो जेनेटिक (वंशाणुगत) तथा संक्रमणको कारण हुन्छ ।
वैदेशिक रोजगारमा जानेहरूमा यौन रोग कत्तिको देखिन्छ ?
तथ्यांक हेर्दा वैदेशिक रोजगारबाट फर्केकाहरूमा यस्ता समस्या धेरै देखिने गरेको छ । भारतका विभिन्न ठूला शहर, थाइल्यान्ड, मलेशिया जस्ता देशको रोजगारीमा गएका नेपालीहरू यौन समस्याबाट बढी पीडित छन् । श्रीमतीबाट टाढा बस्नुपर्दा र लामो समय एक्लै हुनुपर्दा मानिसले यौन चाहना मेट्न वैकल्पिक उपाय रोज्छ । उक्त समयमा ध्यान नपुर्याउँदा यौन रोगको संक्रमण हुने सम्भावना रहन्छ । त्यसैले, विदेशका ‘रेड लाइट एरिया’ जस्ता स्थानमा गएर यौन सम्बन्ध राख्दा होश पुर्याउनुपर्छ ।
किशोरकिशोरी र युवा यौनजन्य रोगबाट कसरी बच्न सक्छन् ?
अहिले युवामा यौनजन्य संक्रमण बढेको पाइन्छ । दुर्गम स्थानमा कम उमेरमै हुने विवाह हुने र इन्टरनेटको सहजता (पोर्न साइट, अश्लील सामग्रीको पहुँच)ले किशोर किशोरी र युवाहरू छिट्टै यौन क्रियाकलापमा संलग्न हुन्छन् । यसले गर्दा असुरक्षित गर्भ रहनेदेखि अन्य जटिल किसिमका स्वास्थ्य समस्या आएका छन् । शहरी क्षेत्रमा युवतीहरू आफूखुशी गर्भनिरोधका औषधि सेवन गरिरहेका छन् ।
यौनको मामिलामा विशेषगरी किशोरीहरूले आफ्नो भविष्यको जीवन सम्झेर पनि सतर्क हुनै पर्छ । अन्यथा, सन्तान जन्माउँदादेखि वृद्ध अवस्थासम्म अनेकौं समस्या आउँछन् । युवाहरूले परिवार नियोजनका साधन र औषधिको दुरुपयोग गर्न हुँदैन । सम्बन्धित विशेषज्ञको परामर्शपछि मात्र औषधि लिनुपर्छ । रोगका कुनै लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ ।