पोखरामा प्रधान कार्यालय रहेको गण्डकी विकास बैंक राष्ट्रियस्तरको सक्षम र सबल बैंकका रूपमा स्थापित छ । सातओटै प्रदेश तथा हिमाल, पहाड र तराईमा आफ्ना शाखा कार्यालयमार्फत सेवा दिइरहेको बैंकले ७७ ओटा शाखा सञ्चालनमा ल्याइसकेको छ । यसै क्रममा बैंकको वर्तमान वित्तीय अवस्था, लगानीको सम्भावना र चुनौतीलगायत विविध विषयमा बैंकिङ क्षेत्रमा २५ वर्षको अनुभव प्राप्त गरिसकेका बैंकका प्रमुख कार्यकारी अधिकृत तथा डेभलपमेन्ट बैंकर्स एशोसिएशनका सचिव रेशमबहादुर थापासँग आर्थिक अभियान दैनिकका सुरेन्द्र पौडेलले गरेको कुराकानी सार :बैंकको वित्तीय अवस्था कस्तो छ ?
अहिले बैंकको अवस्था अत्यन्तै राम्रो छ । जुन कुरा बैंकले नियमित रूपमा प्रकाशन गर्ने वित्तीय सूचकांकबाट पनि थाहा हुन्छ । हाल बैंकको चुक्तापूँजी २ अर्ब ७५ करोड रुपैयाँ छ । निक्षेपतर्फ करीब रू. २५ अर्ब र कर्जातर्फ रू. २२ अर्ब ५० करोड पुगेको छ । गत आवमा रू. ७९ करोड सञ्चालन मुनाफा आर्जन भएको थियो भने आव २०७५÷७६ को पहिलो त्रैमासमा रू. १५ करोड रुपैयाँभन्दा माथि सञ्चालन मुनाफा भएको छ । बैंकको निष्क्रिय कर्जा पनि अत्यन्तै कम छ । विकास बैंकहरूको कुरा गर्दा गत वर्ष हामी ‘वेष्ट म्यानेज्ड डेपलभमेन्ट बैंक २०१७’ बाट सम्मानित भएका थियौं भने २०१८ मा ‘फस्ट रनर अप’ भयौं । बैकका शेयरधनी ३४ हजार पुगेका छन् भने कुल ६ सय जना कर्मचारी, ३ लाख निक्षेपकर्ता तथा २२ हजार ऋणी पुगेका छन् ।
बैंकले शाखा विस्तारमा जोड दिनुको कारण के हो ?
नेपाल राष्ट्र बैंकले तोकेअनुसार बैंक तथा वित्तीय संस्थाले हकप्रदमार्फत पूँजी वृद्धि गरेर पु¥याए । जसको परिणामस्वरूप उचित प्रतिफलका लागि उच्चदरमा व्यवसायको विस्तार गर्नुपर्ने भयो । सोहीअनुरूप बैंकले राष्ट्रियस्तरको बैंकको रूपमा सातओटै प्रदेशमा शाखा सञ्जाल विस्तार गरेको छ । हाल देशभर ७७ ओटा शाखा कार्यालयमार्फत वित्तीय कारोबार सञ्चालन भइरहेको छ । हिमाल, पहाड, तराई सबै ठाउँमा गण्डकी विकास बैंक पुगेको छ । नाफामुखी मात्र नभई सेवामुखी भएर हामी लागेका छौं । सबै स्थानमा हाम्रो उपस्थिति हुनुपर्छ भन्ने तरिकाले लागेका हौं ।
बैंकिङ क्षेत्रमा देखिएको प्रतिस्पर्धालाई कसरी लिनुहुन्छ ?
बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा धेरै छ । स्वस्थ प्रतिस्पर्धाले सबैलाई राम्रो हुन्छ । तर, यहाँ त वित्तीय स्थायित्वलाई असर पुग्ने गरी अस्वस्थ प्रतिस्पर्धा भएको छ । यो पक्कै पनि राम्रो होइन । मुनाफा कमाउने नाममा प्रुडेन्ट बैंकिङ भएकै छैन । अहिले विकास बैंकहरू संयमित भएर अगाडि बढेका छन् । अहिलेको अवस्थामा निजीक्षेत्रका वाणिज्य बैंकहरू अझ बढी संयमित हुनु जरुरी छ ।
समय–समयमा बैंकहरूबीच ब्याजदर बढाउन होडबाजी चल्ने गरेको छ, यसप्रति यहाँको धारणा ?
अहिले वित्तीय बजारमा लगानी गर्ने रकमको अभाव छ भने कर्जाको माग बढी छ । जसका लागि निक्षेप आकर्षित गर्न निक्षेपमा ब्याज बढाउने होडबाजी नै चलेको छ । यसमा विकास बैंकहरू संयमित भएर अगाडि बढेका छन् भने निजी क्षेत्रका केही वाणिज्य बैंकले अस्वाभाविक रूपमा निक्षेपको ब्याजमा वृद्धि गरेकाले यसले कर्जा विस्तारमा समस्या हुने र समग्र अर्थतन्त्रलाई असर पुग्ने देखिएकाले नेपाल राष्ट्र बैंकको पहलमा हाल यसमा सुधार आइसकेको छ ।
मर्जपछि बैंकको अवस्था कस्तो रह्यो ?
हामीले २ वर्षको बीचमा दुईओटा मर्जर सफलतापूर्वक सम्पन्न गरेका छौं । मर्जरमा सबैभन्दा चुनौती भनेको मावन संशाधन (एचआर) व्यवस्थापन हो । यो पनि सहज रूपमा सम्पन्न भयो । मर्जअघि र मर्जपछाडिलाई हेर्दा कर्मचारीको उत्साहमा कुनै कमी देखिँदैन । जसको परिणाम व्यवसायमा पनि उत्साहजनक वृद्धि भएको छ । कर्मचारी, शेयरधनी तथा ग्राहक संख्यामा भएको वृद्धि र सबैको साथ, सहयोग माया र उत्साहले आज बैंक यो अवस्थामा आउन सफल भएको छ ।
लगानीका लागि कुन क्षेत्रलाई प्राथमिकता दिनुभएको छ ?
लगानीको हिसाबले चालू आवमा उत्पादनशील क्षेत्रको वृद्धि राम्रो छ । हामी न्यूनतम आवश्यकताभन्दा माथि पुगेका छौं । सबै क्षेत्रलाई समेटेका छौं । सहुलियतपूर्ण कर्जामा पनि हामीले सहज तरिकाले लगानी गरेका छौं । हाइड्रोपावरमा पनि हामीले लगानी गरेका छौं । साना र मझौला कर्जालाई प्राथमिकता दिएका छौं । आगामी दिनमा सहुलियतपूर्ण कर्जाका साथै उत्पादनशील क्षेत्रलगायत आर्थिक वृद्धिलाई टेवा पुग्ने अर्थतन्त्रका समग्र क्षेत्रमा लगानी विस्तार गरिनेछ ।
लगानीका लागि बजारमा पूँजीको अभाव भएकै हो त ?
हो, अहिले बैंकमा तरलताको समस्या छैन तर लगानीयोग्य पूँजीको अभाव छ । बैंक तथा वित्तीय संस्थाले निक्षेपको तुलनामा उच्च दरमा कर्जा प्रवाह गर्नु, लक्ष्य अनुसारको पूँजीगत खर्च नहुनु, व्यापार घाटा बढ्नु आदि कारणले गर्दा लगानीयोग्य पूँजी अभाव भएको हो । त्यसकारण बैंकहरूले निक्षेप परिचालनलाई विशेष जोड दिँदै उच्च ब्याजदरमा निक्षेप योजना बजारमा ल्याएका छन् । उच्च ब्याजदरले निक्षेप वृद्धि नभई निक्षेप लागतमा मात्र वृद्धि भई कर्जा लगानीलाई असर पुग्ने देखिएकाले यसलाई बैंक तथा वित्तीय संस्थाले सुधार गरिसकेका छन् । आगामी दिनमा लगानीयोग्य पूँजीको अभाव हुन नदिन सबै पक्ष संयमित र अनुशासित भएर अगाडि बढ्नुपर्ने देखिन्छ ।
बैंक तथा वित्तीय संस्थालाई कसरी बलियो बनाउन सकिन्छ ?
सक्षम जनशक्तिको व्यवस्थापन, संस्थागत सुशासन तथा सबल आन्तरिक नियन्त्रण प्रणालीलाई अवलम्बन गर्न सकेमा बैंक तथा वित्तीय संस्था सबल हुन्छन् ।
बैंकिङ क्षेत्रमा चुनौतीहरू के के छन् ?
सक्षम जनशक्तिको व्यवस्थापन, अस्थिर ब्याजदर, क्रेडिट क्रन्चको अवस्था, नवीनतम प्रविधिको प्रयोगसँगै आइपर्र्ने ह्याकिङ, बैंकिङ क्षेत्रमा भएको अस्वस्थ प्रतिस्पर्धालगायत सञ्चालन जोखिम अहिलेका मुख्य चुनौती हुन् ।
बैंकको अबको लक्ष्य के छ ?
सबल, सक्षम र ग्राहकको रोजाइको बैंक नै हाम्रो लक्ष्य हो । यही कुरालाई आत्मसात् गर्दै अगाडि बढेका छौं । सक्षम जनशक्तिको व्यवस्थापन, संस्थागत सुशासन, नवीनतम प्रविधिको प्रयोग, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणालीको माध्यमबाट जोखिम न्यूनीकरण गर्दै बैंकिङ सेवालाई थप विस्तार गरिँदै लगिनेछ । यसका लागि बैंकले मर्जर र एक्विजिशनको विकल्पलाई पनि खुला राखेको छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
अहिले क्रेडिट क्रन्चको अवस्था छ, ब्याज बढाएर मात्र निक्षेप बढ्ने होइन, यसमा संयमित हुनु जरुरी छ । कुनै १ वर्षको नाफालाई मात्र हेरेर हुँदैन । वित्तीय स्थायित्वलाई पनि ख्याल गरेर अगाडि बढ्नुपर्छ । संकटको बेलामा व्यवहार धान्नु राम्रो पक्ष हो । यसमा सबै पक्षले आ–आफ्नो जिम्मेवारी बोधका साथ काम गर्नुपर्छ ।