ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पश्मिना उद्योगमा तीन दशक : धागो रंगाउने प्राविधिकदेखि निर्यात उद्यमसम्म

Jan 7, 2019  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
सरकारले निर्यात प्रवर्द्धनका लागि विभिन्न वस्तुलाई प्राथमिकताका वस्तु भन्दै ‘नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस)’ मा समावेश गरेको छ । यसरी प्राथमिकता पाउने वस्तुमध्ये पश्मिना पनि एक हो । नेपालमा उत्पादन भएका पश्मिना हरेक वर्ष अन्तरराष्ट्रिय बजारसम्म पुग्ने गरेका छन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकलाई आधार मान्ने हो भने चालू आवको पहिलो ५ महीनामा देशबाट रू. १ अर्ब २८ करोडको पश्मिना निर्यात भएको छ । २०५६ सालमा माउण्ट मनास्लु पश्मिना उद्योग स्थापना गरेसँगै धन लामिछाने यस क्षेत्रको व्यवसायमा संलग्न भएका हुन् । त्यसअघि उनी कार्पेट उद्योगमा धागो रंगाउने सामान्य प्राविधिक थिए । पश्मिना उद्योगमा अवसरै अवसर देखेका उनी अहिले देशबाट वर्षेनि ५० हजार थान पश्मिना निर्यात गर्छन् । प्रस्तुत छ, नेपाल पश्मिना उद्योग संघका सचिवसमेत रहेका उनीसँग पश्मिना उद्योगका सम्भावना तथा चुनौतीको सेरोफेरोमा रहेर आर्थिक अभियान दैनिककी रञ्जु काफ्लेले गरेको कुराकानी : निर्यातको नगद अनुदान बढ्यो नि ? सन्तुष्ट हुनुहुन्छ ? हाम्रो पश्मिना उद्योगको अनुदान एक प्रतिशत बढेको छ । नगद प्रोत्साहन लिन पार गर्नुपर्ने झन्झटिला प्रक्रिया अहिले पनि उस्तै छन् । राज्यले बाह्य व्यापारका समस्या कम गर्न अनुदान बढाएर पहल गरेको छ । त्यसैले अत्यन्त खुसी लागेको छ । नगद अनुदान बढाउने सरकारी निर्णयले उद्योग क्षेत्रका अरू धेरै समस्या क्रमशः सम्बोधन गर्छ भन्ने आशा पलाएको छ । आयातमुखी अर्थतन्त्रलाई सन्तुलनमा राख्न निर्यात बलियो हुनुपर्छ । त्यसको शुरुआत भएको छ । उत्पादन क्षेत्रलाई अझै धेरै प्रोत्साहित गर्दै बलियो बनाउनुपर्छ । पश्मिना उद्योगलाई कहिलेदेखि चिन्नुहुन्छ ? ३० वर्षपहिले म कार्पेट उद्योगमा धागो रंगाउने प्राविधिकको काम गर्थें । त्यसबेला नेपालको कार्पेट उद्योग अत्यन्त समृद्ध अवस्थामा थियो । विदेशी बजारमा नेपाली कार्पेटको ठूलो माग थियो । नेपालको लोगो भएका कार्पेट हातहातै विक्री हुन्थे । तर, त्यस्ता कार्पेट बनाउने, धागो ड्राई गर्ने मेशिनचाँहि नेपालमा थिएन, भारत जानुपथ्र्याे । सोही क्रममा मैले काम सिक्ने र उद्योग चिन्ने अवसर पाएको हो । अरू व्यवसाय नगरेर किन पश्मिनाकै व्यापार रोज्नुभएको ? त्यसबेला मलाई व्यवसाय गर्नुपर्छ भन्ने थियो तर यही नै गर्ने भन्ने योजना थिएन । २०५०/५२ सालतिरबाट विदेशी बजारमा कार्पेटको माग घट्यो र पश्मिनाको लहर चल्यो । मेरा लागि दुवै उद्योगको काम उस्तै थियो । मलाई काम आउँथ्यो, त्यसैले मैले यही काम रोजें । मसँग पश्मिनाको धागो रंगाउने मेशिन थिए अनि म उद्योग स्थापना गरेरै यस क्षेत्रमा होमिएँ । कुनै योजनाविनै मलाई सन् २००० तिर अन्तरराष्ट्रिय बजारमा आएको पश्मिनाको अत्यधिक मागले यस व्यवसायमा ल्याएको हो भने पनि हुन्छ । त्यसअघि म कार्पेट उद्योगको सामान्य प्राविधिक थिएँ । धागो रंगाउने काम गर्थें । तपाईको उद्योगमा कतिजना कामदार छन् ? र, महिला पनि छन् ? मौसमी व्यवसाय हो यो । मेरो उद्योगमा आठजना पूर्णकालीन र २२/२५ जना आवश्यकताअनुसार काम गर्ने कामदार छन् । लुम चलाउने प्राविधिक पुरुष छन् । अरू उद्योगको तुलनामा मसिना हातले गर्नुपर्ने काम धेरै हुने भएकाले महिला कामदारको संख्या धेरै छ । खासगरी सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा मागअनुरूप उत्पादन तयार गर्ने, ब्रान्डिङ गर्ने, आकर्षक प्याकेजिङ गर्ने र डिसेम्बर लागेपछि आपूर्तिको काम हुन्छ । अनि तपाईका औद्योगिक उत्पादन कहाँ कहाँ विक्री हुन्छन् ? मेरा सबै उत्पादन विदेशी बजार जान्छन् । खासगरी यूरोपका इटाली, फ्रान्स, जर्मन र स्विट्जरल्याण्ड निर्यात हुन्छ । सबैभन्दा धेरै ८० प्रतिशत अमेरिका जान्छ । त्यहाँका उपभोक्ता हाम्रा उत्पादन सर्वाधिक रुचाउँछन् । माउण्ट मनाश्लु पश्मिना उद्योगले वर्षेनि ४०/५० हजार थान निटिङ र वेभिङ भएका पश्मिनाका सल, मफलर, स्वेटर, पन्जालगायत विभिन्न उत्पादन अन्तरराष्ट्रिय बजारसम्म पुर्‍याउने काम गर्छ । नेपालको पश्मिना उद्योग अहिले कस्तो अवस्थामा छ भन्ने लाग्छ ? अवसर नै अवसर भएको नेपालको पश्मिना उद्योग समस्याको भुमरीमा रुमल्लिएको थियो । अहिले केही सकारात्मक परिवर्तन देखिन थालेको छ । हामी उद्यमी अझै राम्रो औद्योगिक वातावरण बन्छ भन्नेमा आशावादी छौं । राज्यको नीतिले उद्योगलाई प्रत्यक्ष प्रभाव पार्छ । भारत, चीन र बंगलादेशमा उद्योगलाई लगानीको ठूलो हिस्सा नगद प्रोत्साहनसहित धेरै सुविधा दिइएको छ । जसले त्यहाँका उत्पादनको प्रतिस्पर्धी क्षमता बढाउँछ । उद्योगीले सहुलतपूर्ण ऋण सुविधा पाउँछन् । निर्यात उद्योगलाई थप अरू सुविधा पनि हुन्छ । तर, हाम्रोमा त्यस्तो केही अवसर नै छैन । भएका पनि अत्यन्त कम छन् । निर्यात उद्योग बलियो बनाउन सरकारले विशेष ध्यान दिन्छ भन्ने आशामा छौं । पश्मिना उद्योगका व्यावसायिक समस्या पनि बताइदिनुहोस् न । यो उद्योगलाई चाहिने दक्ष र शीपयुक्त कामदार पाउन एकदमै समस्या छ । हामीकहाँ त्यस्तो शीप भएका कामदार नै छैनन् । भारत, बंगलादेशबाट कामदार ल्याउनुपर्छ । स्वदेशमै कामदारको दक्षता अभिवृद्धि गर्न लामो समय र ठूलो लगानी चाहिन्छ । तयार गरिएका कामदार सोही उद्योगमै काम गर्छन् भन्ने सुनिश्चितता नभएकाले उद्योग गर्नेले जोखिम चाहँदैन । उद्योग सञ्चालन गर्ने बैंक ऋणको ब्याजदर निरन्तर परिवर्तन हुन्छ । कहिले ऋण पाइँदैन, ऋण पाए धेरै ब्याज तिर्नुपर्छ । यसो गर्दा औद्योगिक उत्पादनको लागत बढ्छ र प्रतिस्पर्धी क्षमता कम हुन्छ । निर्यातको मापदण्ड छैन । त्यसैगरी निर्यातयोग्य उत्पादन पहिचान गर्ने/गराउने र उपभोक्ता आकर्षित गर्ने ‘अन्तरराष्ट्रिय स्तरका व्यापार मेला’लगायत अवसर पनि छैनन् । उद्योग/व्यवसाय गर्दा धेरै चुनौतीको सामना गर्नुपर्छ । व्यवसायीहरू पश्मिना उद्योगमा के–कस्ता अवसर देखेर आकर्षित हुन्छन् ? पश्मिनाका उत्पादन अत्यन्तै नरम, हलुका र न्याना हुन्छन्, त्यसैले विदेशीहरू पश्मिनाका उत्पादनलाई मन पराउँछन् । जुन हामीजस्ता उत्पादकलाई राम्रो अवसर हो । बजारले चाहेको आकर्षक डिजाइनको सुनिश्चितता दिने, विविधता युक्त उत्पादन तयार गर्ने र समयमा डेलिभरी दिन मात्रै सके पनि यो व्यवसाय विस्तार हुन सक्छ । विश्व बजारको फराकिलो अवसर सदुपयोग गर्दै कारोबार चलिरहेको छ । राज्यबाट के–कस्तो अपेक्षा गर्नुभएको छ ? निर्यात बढ्ने नीतिगत स्पष्टता कायम भए धेरै अवसर आउँछन् । राज्यले त्यसलाई ध्यानमा राखिदेओस् भन्ने हो । त्यसैगरी सरकारले व्यावसायिक जटिलता तत्काल फुकाउन सहजीकरण गर्ने र शीप विकास गर्ने तालीम दिनुपर्छ । भनेर बोलेर होइन, व्यवहारमा परिवर्तन आओस् भन्ने व्यवसायीको माग हो । राज्यले भनेको धेरै छ, तर त्यसअनुसार काम भएको छैन । भनिएका सबै प्रावधान सहजतापूर्वक कार्यान्वयन भए निर्यात बलियो हुन्छ । देशमा विदेशी विनिमय संकट हुँदैन । मुख्यगरी उद्योग ग्राम बन्ने/बनाउने, औद्योगिक ऋणको सहुलियतपूर्ण व्यवस्था गर्ने, शीप विकास गर्ने तालीम र रोजगारीको अवसर सृजना गर्ने हो भने निर्यात सबल हुन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)