फिजियोथेरापीबाट प्रौढावस्थामा हुने ढाड दुखाइ कम गर्न सकिन्छ
Jan 11, 2019
 
अन्तरवार्ता
विश्व स्वास्थ्य संगठनले फिजियोथेरापी (भौतिक चिकित्सा स्वास्थ्य उपचार विधि) को मापदण्ड तयार गरिसकेको छ । संसारभर यो विधिको प्रभाव बढ्दै गएको देखिन्छ । नेपालमा पनि यो उपचार विधि सञ्चालनमा छ । रोशन भण्डारी फिजियोथेरापीको क्षेत्रमा परिचित नाम हो । उनले भारतको राजीव गान्धी युनिभर्सिटीबाट ब्याचलर अफ फिजियोथेरापिस्ट गरेका हुन् । केही समय निदान अस्पतालमा संलग्न उनी विगत २ वर्षदेखि मध्यपुर अस्पतालमा कार्यरत छन् । प्रस्तुत छ, फिजियोथेरापी विषयमा फिजियोथेरापिस्ट भण्डारीसँग आर्थिक अभियानका काशीराम बजगाईंले गरेको कुराकानीको सार :फिजियोथेरापी के हो ?
फिजियोथेरापी मेशिन तथा शारीरिक कसरतमार्फत शरीरमा उत्पन्न भएका सबै प्रकारका रोग निदान गर्ने विधि हो । फिजिकल थेरापीलाई फिजियोथेरापी भनेर बुझ्न सकिन्छ ।
फिजियोथेरापी किन गर्ने ?
शरीरका विभिन्न अंगसँग सम्बन्धित समस्या सुधार गर्न फिजियोथेरापीको आवश्यकता पर्दछ । यो विधि धेरै प्रकारका उपचारका लागि उपयुक्त हुन्छ । हाड, नशा तथा मांसपेशीका समस्या, श्वासप्रश्वास समस्या र कुनै शल्यक्रियापछि हुने पीडा कम गर्न फिजियोथेरापी गरिन्छ । अर्को शब्दमा भन्नुपर्दा मानिसलाई सक्रिय बनाउन, रोगीलाई पुरानै जीवनशैलीमा फर्काउन यसको आवश्यकता पर्दछ ।
फिजियोथेरापी कसरी गरिन्छ ?
विद्युतीय मेशिनको सहायताबाट गरिने इलेक्ट्रो थेरापी मोडालिटिज, टेन्स, आईएफटी, अल्टासाउन्ड लगायत विभिन्न मेशिनको प्रयोग गरी यो थेरापी गरिन्छ, जसले दुखाइ कम गर्न मद्दत पुग्छ । ढाड दुखेका बिरामीलाई सर्वप्रथम थेरापी गरेर ढाडको दुखाइ कम गरिन्छ । ढाडको मासु खुम्चिएको छ भने शारीरिक कसरतको माध्यमबाट तन्काइन्छ, कमजोर भएकोलाई बलियो बनाइन्छ र फुलेकालाई खुम्चाउने गरिन्छ । यसरी मोडालिटिज र कसरतको मिश्रणद्वारा ढाडको थेरापी गरिन्छ ।
फिजियोथेरापीमा मेशिनको बढी प्रयोग हुन्छ कि अन्य कसरतको ?
मेशिन भनेको पेनकिलर हो । यसको प्रयोगबाट दुखाइ कम गरिन्छ । त्यसपछि अन्य कसरतको सहायताले यसको उपचार अगाडि बढाइन्छ ।
यो उपचार विधि मुख्यतः कसका लागि र कुन उमेर समूहका लागि प्रयोग गरिन्छ ?
सबै उमेर समूहकालाई यसको आवश्यकता पर्न सक्छ । बच्चादेखि वृद्धसम्मलाई फिजियाथेरापी गराउन सकिन्छ । उमेर र रोगको प्रकृतिअनुसार फिजियोथेरापी गरिन्छ । कुनै बच्चाहरू जन्मजात सुस्तमनस्थिति भएर जन्मिन सक्छन् (जुन ६–७ महीनादेखि नै थाहा हुन्छ) । त्यस्ता बच्चालाई पनि फिजियोथेरापी गर्न सकिन्छ । किशोरावस्थामा केही केटाहरूको ढाड कुप्रो हुने, केटीहरूको बांगो हुने सम्भावना हुन्छ । यसलाई पनि फिजियोथेरापीको माध्यमद्वारा ठीक पार्न सकिन्छ । प्रौढ अवस्थामा हुने ढाड लगायतका विभिन्न दुखाइ यस विधिबाट कम गर्न सकिन्छ । ५० वर्षपछि केही व्यक्तिमा स्ट्रोकको कारण विस्तारै प्यारालाइसिस हुँदै जाने सम्भावना हुन्छ । वृद्धवृद्धाको हाड, जोर्नी र मांसपेसी कमजोर हुन्छ । फिजियोथेरापी न्युरोलोजिकल (नसासम्बन्धी), अर्थोपेडिकल (हाडजोर्नी तथा नसा सम्बन्धी), पेडियाट्रिक (बच्चा सम्बन्धी), जेरियाट्रिक (वृद्धवृद्धा सम्बन्धी), कार्डियोरासिक (मुटुसम्बन्धी) गरी विभिन्न प्रकारको हुन्छ । यस प्रकारले सबै उमेर समूहका सबै खाले व्यक्तिमा फिजियोथेरापी गरिन्छ ।
फिजियोथेरापीले पोलियो तथा अन्य शारीरिक दुर्बलता पनि रोक्छ ?
फिजियोथेरापीले शारीरिक दुर्बलता रोक्ने नै भन्ने त हुँदैन । तर, अंगको कार्यक्षमता कति छ, त्यो बराबर ती अंगले काम गरेका छैनन् भने यथास्थितिमा ल्याउन मद्दत गर्दछ । कुनै कारणवश शरीरको कुनै अंगले काम गर्न छाडेको छ र त्यो अंग चलाउने गरिएको छैन भने उक्त अंगले काम गर्न छाड्न सक्दछ । त्यसैले यस्ता बिरामीलाई फिजियोथेरापी आवश्यक छ । जस्तै– कुनै व्यक्तिको कम्मर भन्दा मुनिको अंग नचल्ने छ भने त्यसमा ‘सपोर्टेड ट्रिटमेन्ट’ गरिन्छ । मांसपेशी चलाइदिने गर्दा त्यस्ता अंग जाम हुन पाउँदैनन् । यसरी सपोर्टेड ट्रिटमेन्ट गर्दा केही घटनामा त्यस्ता नचल्ने अंग निको हुन पनि सक्छन् । निको हुने नहुने रोग कुन चरणमा पुगेको छ, त्यसले निर्धारण गर्दछ ।
नेपालमा फिजियोथेरापीको अध्यापन कहिलेदेखि शुरू भयो ?
सर्वप्रथम शिक्षण अस्पताल, महाराजगञ्जले २०३७ सालपछि फिजियोथेरापीमा डिप्लोमा शुरू गरेको थियो । काठमाडौं विश्वविद्यालयले २०५८ सालतिर डिप्लोमा इन फिजियोथेरापी शुरू गरेको थियो । नेपालमा ब्याचलर इन फिजियोथेरापी शुरू भएको चाहिँ धेरै भएको छैन । हाल नेपालमा काठमाडौं विश्वविद्यालय र पोखरा विश्वविद्यालयले फिजियोथेरापीको अध्यापन गराउँदै आएका छन् ।
फिजियोथरापी कत्तिको सुलभ छ ? शहरी क्षेत्रबाहिर यसको त्यति प्रभाव देखिँदैन नि ?
तपाईंले राम्रो प्रश्न उठाउनुभयो । नेपालभर फिजियोथेरापिस्टको संख्या करीब २ हजार जति छ । त्यसमा पनि ६ सय जनाजति त मुलुकबाहिरै होलान् । बाँकी रहेकामध्ये पनि आधा त काठमाडौंमै केन्द्रित छन् । त्यसबाट बचेका केही फिजियोथेरापिस्ट ठूला शहरमा छन् । लोकसेवा आयोगले खटाएका केही ठाउँमा भने फिजियोथेरापिस्टहरू पुगे पनि धेरै ठाउँमा आवश्यकता अनुसार उपलब्ध छैनन् । यसले गर्दा पनि यो उपचार सेवा त्यति सुलभ हुन नसकेको हो ।
यसलाई सर्वसुलभ बनाउन के गर्नुपर्ला ?
धेरैलाई अझै पनि फिजियोथेरापी के हो, यो किन गर्ने र गर्दा के हुन्छ भन्ने जानकारी छैन । त्यसैले यसबारे जनचेनता र प्रचार प्रसार बढ्नुपर्छ । यसलाई सर्वसुलभ बनाउने मुख्य भूमिका त सरकारकै हुन्छ । सरकारले प्रत्येक स्थानीय तहमा फिजियोथेरापिस्टको बन्दोबस्त गराउनु पर्छ । यो व्यवस्था हुन सके यसको सर्वसुलभता स्वतः बढ्छ । यसका लागि पर्याप्त जनशक्ति उत्पादनमा पनि राज्यको ध्यान जानुपर्छ । यो क्षेत्रमा दक्ष जनशक्तिको माग धेरै छ, तर उपलब्धता निकै कम छ । त्यस्तै फिजियोथेरापी गर्नुभन्दा पहिले सेवाग्राहीलाई यसबारे सामान्य जानकारी हुनु आवश्यक छ । फिजियोथेरापी बारे केही पनि थाहा नभएका व्यक्तिमा यो उपचार विधिको प्रयोग गर्न समस्या हुन सक्छ । हरेक जिल्लामा कम्तीमा पनि पाँच फिजियोथेरापी कक्ष अनिवार्य गर्न सके पनि यो क्षेत्रमा धेरै सुधार हुन्छ । यसमा सबैभन्दा पहिले जानकारीमूलक कार्यक्रम गरिनुपर्छ ।
कस्तो अवस्थामा यो थेरापी गर्नुहुन्न ?
क्यान्सर, ट्युमर भएको अवस्थामा यो थेरापी गर्नु हुँदैन । क्यान्सर र ट्युमर हुँदा शरीरका विभिन्न अंग दुख्छ । विभिन्न रोगको संक्रमण भएको बेला पनि अंग दुख्ने गर्छ । जस्तै– ढाडको क्यान्सर छ भने त्यो समयमा ढाडको फिजियोथेरापी गर्दा स्थिति झन् जटिल हुन सक्छ । मेडिकल भाषामा यस्तो अवस्थालाई ‘डेड फ्ल्याक्स साइन’ भनिन्छ । यस्तो अवस्थामा फिजियोथेरापी गर्नु हुँदैन । यस्ता रोग छन् कि छैनन् भनेर पहिले परीक्षण गरेर मात्र फिजियोथेरापी गर्नुपर्छ ।
फिजियोथेरापीबारे सर्वसाधारणको बुझाइ कस्तो पाउनु भएको छ ?
पहिले सम्बन्धित चिकित्सकले फिजियोथेरापिस्टकहाँ रिफर गर्नुपथ्र्यो । तर अहिले यसमा धेरै सुधार भएको छ । अहिले फिजियोथेरापीको बारेमा सर्वसाधारणलाई सामान्यतया जानकारी छ । यसको बारेमा बुझेर आउनेहरू पनि धेरै छन् । पहिलेको तुलनामा फिजियोथेरापी गराउन आउनेको संख्या पनि बढ्दै गएको छ ।
फिजियोथेरापी गरिसकेपछि पनि बिरामीले केही गर्नुपर्छ कि ?
फिजियोथेरापी गरिसकेपछि सर्वसाधारणलाई हामी केही विधि सिकाएर पठाउँछौं । विशेषतः यसमा धेरै मात्रामा त बिरामीको संलग्नता हुनु आवश्यक छ । यसका लागि बिरामीलाई घरमा आफैले गर्न उत्प्रेरणा जगाउँछौं र केही विधि सिकाएर पठाउँछौं । बिरामीले ती विधि निरन्तर रूपमा कम्तीमा ६ महीनासम्म गर्नुपर्छ । दुखेका बेला ती कसरत गर्ने, अरू बेला नगर्ने काम गर्नु हुन्न ।