बच्चालाई शौचालयको बानी नबसालेमा पेट दुख्ने समस्या हुन्छ
Jan 18, 2019
 
अन्तरवार्ता
बच्चालाई सबैभन्दा बढी सताउने समस्या पेटको दुखाइ हो । सरसफाइ र खानामा राम्ररी ध्यान नदिँदा पेट दुख्ने गर्छ । बालबालिका आफैले स्वास्थ्यको ख्याल गर्न नसक्ने भएकाले यसमा अभिभावकले विशेष ध्यान पुर्याउनुपर्छ । बच्चालाई पेट दुखाइका अलावा जन्डिस पनि हुने डा. विनीता जोशी बताउँछिन् । डा. जोशी पेडियाट्रिक ग्यास्ट्रोलोजिस्ट गर्ने पहिलो चिकित्सक हुन् । प्रस्तुत छ, यसै सेरोफेरोमा रहेर आर्थिक अभियानका पूर्णभक्त दुवालले उनीसँग गरेको कुराकानीको सार :बच्चालाई पेटको समस्या किन हुन्छ ?
बच्चाको उमेर समूह अनुसार फरक फरक कारणले पेट दुख्ने गर्छ । भर्खरै जन्मेको शिशुदेखि डेढ वर्षसम्मको उमेर समूहमा खाना खाने नली र पेटको भाग जोड्ने नलीको भागको मांसपेशी खुकुलो भएर पेट दुख्छ । यसलाई गर्द भनिन्छ । त्यसकारण उनीहरूले खानेकुरा खाइसकेपछि हुलुक्क निकाल्ने, वाकवाक गर्ने, तौल नबढ्ने हुन्छ । खानेकुरा खुवाइसकेपछि टाउको माथि पारेर बच्चालाई सुतायो भने कम हुन्छ । बच्चाले उल्टी गरेर पनि उसको तौैल ठीक छ भने आत्तिनुपर्दैन । तर, १८ महीना नाघिसकेपछि पनि उल्टीको मात्रा बढ्यो र तौल पनि राम्रोसँग बढेन भने सावधानी अपनाउनुपर्छ । यस्तो अवस्थामा मांसपेशी चाहिनेभन्दा बढी खुकुलो हुन सक्छ । त्यसैले चिकित्सकको सल्लाह लिनुुपर्छ । मांसपेशी खुकुलो भएपछि खाना खाने नलीको तल्लोपट्टिको भागमा घाउ बन्न सक्छ ।
बच्चाको पेट दुख्ने अन्य कारण के के छन् ?
भर्खरै जन्मेका बालबालिकामा कहिलेकाहीँ गाईभैंसीको दूधको प्रोटिनले एलर्जी हुन सक्छ । बच्चालाई गाईभैंसीको दूध खुवाएमा वा आमाले गाईभैंसीको दूध खाएमा पनि यो समस्या भएको पाइन्छ । आमाले डेरीको दूध खाँदा समेत यो समस्या देखिन सक्छ । यो अवस्थामा बच्चालाई दिसा लाग्ने र रगत देखिने हुन्छ ।
बच्चामा कब्जियतको समस्या कत्तिको हुन्छ ?
बच्चा अलि ठूलो भएपछि कब्जियत देखिन थाल्छ । नयाँ खानेकुरा शुरू गर्दा र दूधको मात्रा बढी भयो भने कब्जियत हुन्छ । यसैगरी शौचालयको बानी बसालिएन भने पनि कब्जियत हुन्छ । बिहान उठ्नेबित्तिकै शौचालय गराउने बानी नबसाले यो समस्या देखिने गर्छ । खासगरी विद्यालय जाने हुन थालेपछि यो समस्या हुन्छ । यो उमेरमा ऊ हतारमै विद्यालय जान्छ र घरमा दिसा गर्दैन । अनि विद्यालयमा पनि नगर्ने हुन्छ । यसले गर्दा कब्जियतको समस्या निम्तन्छ । दिसा २–३ दिनमा गर्न खोज्दा दुख्न थाल्छ र दिसा गर्न नमान्ने हुन थाल्छ । यसले गर्दा समस्या जटिल हुने गर्छ । कब्जियत हुँदा पेट दुख्ने र खाना नरुच्ने हुन्छ । दिसा कडा भयो भने रगत पनि जान सक्छ । हप्तामा ३ पटकभन्दा कम दिसा गर्न थाल्यो भने कब्जियतको लक्षण हुन्छ ।
बालबालिका ७–८ वर्षको भएपछि अभिभावकले उनीहरूको हेरचाहबारे कम ध्यान दिन थाल्छन्, जसले बालबालिकाले दिसा गर्ने बानी अनियमित बन्न पुग्छ । बच्चाले आफूलाई कब्जियत भएकोे थाहा पाउन सक्दैन । ३–४ दिनसम्म पनि शौचालय नजाने, गए पनि नियमित नगर्ने, शौचालय बस्दा कन्ने भयो भने कब्जियत भएको भनेर बुझ्नुपर्छ । २ देखि ४ वर्षका बालबालिका शौचालय जान नमान्ने, रुने, कुनामा गएर उभिने गर्छन् । यसले गर्दा उनीहरूमा पेट दुख्ने, पेट फुल्ने लगायत समस्या देखिन्छन् ।
कब्जियत खानाका कारण पनि हुन्छ र ?
सागपात नखाने, पानी कम खाने कलिला बालबालिकामा पनि यो समस्या देखिन्छ । खासगरी आमाबुबाले बच्चालाई माया गर्ने नाममा ‘जंकफूड’ दिन्छन् । यस्तो खानेकुराले कब्जियतको समस्या विकराल बन्दै छ । शहरका बालबालिकामा जंकफूड बढी खाने, पर्याप्त व्यायाम नहुने लगायत समस्या छ । नियमित शौचालय नगई दिसा रोक्ने बानी पर्दै गएपछि कब्जियत हुन थाल्छ । लामो समय कब्जियत रहिरह्यो भने पेट दुख्ने समस्या शुरू हुन्छ । लामो समय आन्द्रामा दिसा संकलन भइरह्यो भने बालबालिकालाई खाना नरुच्ने, खाना खाएपछि वाकवाकी लाग्ने, बान्ता हुने, खाना नखाएकाले तौल घट्दै जाने हुन्छ । कब्जियत लामो समयसम्म रहेमा उनीहरूले बल गरेर दिसा गर्नुपर्ने भएकाले दिसामा रगत जाने र ठूलो आन्द्राभित्र मासु पलाउने खतरा रहन्छ ।
कब्जियत हुन नदिन के गर्ने त ?
बच्चाहरूलाई सकेसम्म घरमै नियमित समयमा शौचालय जाने बानी बसाउनुपर्छ । विद्यालय जाने बालबालिकालाई बिहान दिसा आए पनि नआए पनि शौचालयमा बसाल्नुपर्छ । यसबाट उनीहरूले असहज महसूस गर्ने विद्यालयको शौचालयमा जानुपर्ने बाध्यता कम हुन्छ । बिहान शौचालय जाने बानी भएमा कब्जियत हुने सम्भावना निकै घट्छ । जंकफूड खान नदिने र सागसब्जी तथा फलफूलमा जोड दिनुपर्छ । यसले कब्जियत भइसकेकाहरूलाई पनि सहयोग गर्छ ।
बच्चालार्ई पेट दुख्नुका अन्य पनि कारण छन् कि ?
ठूलोलाई हुने ग्यास्ट्राइटिस जस्तै सानालाई पनि हुन्छ । बच्चाहरूमा देखिएको बाहिरी खानाको मोहले गर्दा ग्यास्ट्राइटिस भइरहेको छ । शरीरमा चाहिनेभन्दा बढी मात्रामा एसिड उत्पादन हुनुलाई सामान्यतया ग्यास्ट्राइटिस भनिन्छ । बोलीचालीमा यसलाई ग्यास्ट्रिक भनिन्छ । ठूला मान्छेमा हुने र ८–९ वर्षदेखिका बच्चामा हुने ग्यास्ट्राइटिस एउटै हो । तर भर्खरै जन्मेको बच्चादेखि २ वर्षसम्मको बच्चालाई भने पेटसम्बन्धी ग्यास्ट्राइटिस हुँदैन । ग्यास्ट्राइटिस एच प्योलोरी भन्ने कीटाणुको कारण हुन्छ । ठूला मानिसलाई पनि यही कीटाणुको कारणले ग्यास्ट्राइटिस हुने हो । यो कीटाणुको संक्रमण बच्चाबेलादेखि नै हुन्छ । जब बच्चाहरू बाहिरी खानेकुरातर्फ आकर्षित हुँदै जान्छन्, तब यसको संक्रमण झनै बढ्न थाल्छ ।
बच्चामा हुने ग्यास्ट्राइटिसका लक्षण के के हुन् ?
ग्यास्ट्राइटिस भएका बच्चालाई वाकवाकी लाग्ने हुन्छ । योसँगै बिहान र साँझ पेट दुख्छ । कसैलाई खाना खाएपछि धेरै पेट दुख्ने पनि हुन्छ भने कसैलाई खाना खाएपछि कम हुने गर्छ । लक्षण बढिसकेपछि अल्सर बढ्ने र दुखाइको मात्रा बढेपछि मुखबाट रगतसमेत आउन सक्छ । साथै पेट पोल्ने र अमिलो डकार आउने जस्ता लक्षण पनि देखापर्छन् । यसपछि बच्चाको आहार घट्दै जान्छ र उपचार ढिला हुँदा विस्तारै तौल घट्दै जान्छ । केही केहीमा आन्द्रामा घाउ हुने, अल्सर पनि हुने गर्छ । त्यसका लागि इन्डोस्कोपी र बायोप्सी गरेर हेर्नुपर्छ । बच्चाको पनि इन्डोस्कोपी गर्न मिल्ने भएकाले डराउनु पर्दैन ।
ग्यास्ट्राइटिस भयो भने खाना बार्नुपर्छ ?
धेरै अभिभावकले बच्चालाई एसिडिटी भयो भन्नेबित्तिकै खानेकुरा बार्न थाल्छन् । तर घरमा सामान्य तेलबाट बनाएको अन्डा, माछामासु र अन्य खानेकुरा बार्नुपर्दैन । धेरैले दूध पनि खुवाउँदैनन् । तर खुवाउँदा फरक पर्दैन । चिल्लो, प्रोटिन र कार्बोहाइड्रटयुक्त खानेकुरा बार्नुपर्दैन । कोक फान्टालगायत पेयपदार्थ, जंकफूड र धेरै तारे–भुटेका खाना खुवाउनु हुँदैन । खाना बार्नेबित्तिकै बच्चाको तौल स्वतः घट्दै जान्छ । झनै समस्या निम्तिन्छ । बालकालिकाले पढाइका साथै खानेकुरामा पनि निकै ध्यान दिनुपर्छ । समय–समयमा खानेकुरा खाइरहनुपर्छ । भोको पेट बस्नुहुँ दैन । व्यवस्थित खानपान भयो भने यस्ता समस्या दोहोरिने सम्भावना निकै कम हुन्छ ।
बच्चामा देखिने अन्य रोग पनि छन् कि ?
बच्चामा देखिने अर्को पेटको रोग भनेको गहुँको एलर्जी हो । गहुँको एलर्जीलाई सिलियाक डिजिज भनिन्छ । गहुँ वा गहुँबाट बनेको खाना खाँदा केही बच्चालाई एलर्जी हुन्छ । यो एलर्जी भयो भने तौल राम्रोसँग नबढ्ने, पेट फुल्ने, दिसा पातलो हुने, रगतको कमी हुनेजस्ता लक्षण देखिन्छ । रगतको जाँच र इन्डोस्कोपी गर्यो भने रोग पत्ता लाग्छ ।
बालबालिकाको कलेजोमा देखिने समस्या के हो ?
उमेर अनुसार कलेजोको समस्या फरक फरक हुन्छ । भर्खरै जन्मेको बच्चामा जन्डिस देखिनुलाई सामान्य रूपमा लिन सकिन्छ । यो यत्तिकै हराएर जान्छ । गएन भने फोटोथेरापी गरिन्छ । यसमा आत्तिनु पर्दैन । तर ३ हप्तासम्म पनि जन्डिस हराएन भने यससँगै दिसा सेतो हुन थाल्छ । त्यसमा शल्यक्रिया नै गर्नुपर्ने हुन सक्छ । पित्तथैलीको नलीमा समस्या भयो भने यस्तो हुने गर्छ । यस्तो बेला ६० देखि ९० दिनभित्र शल्यक्रिया ग¥यो भने राम्रो हुन्छ । जन्डिस देखिएपछि चिकित्सकसँग परामर्श गरिहाल्नुपर्छ । शल्यक्रिया गर्नुपर्ने अवस्थाको भए ढिलो हुँदा कलेजो नै फेर्नुपर्ने हुन सक्छ । ३ हप्ता नाघेको जन्डिसलाई यत्तिकै राख्नु हुँदैन ।