ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वाइनफ्लू लाग्दैमा आत्तिनु पर्दैन, उपचार हुन्छ

Jan 25, 2019  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको तथ्यांक अनुसार २०७५ मङ्सिरदेखि माघ ८ गतेसम्म ६०४ जना बिरामीको परीक्षण गरिएकोमा ३०५ जनालाई एचवानएनवान/एन्फ्लुएन्जा अर्थात् स्वाइनफ्लू प्रमाणित भएको छ । यो अवधिमा उक्त रोगबाट पाँच जनाको मृत्यु भइसकेको समेत तथ्यांकले देखाएको छ । सन् २००९ मा मात्र पत्ता लागेको स्वाइनफ्लू छोटो समयमा महामारीको रूपमा विश्वभरि फैलिएको रोग हो । पछिल्लो समय नेपालमा यस प्रकृतिको रोग पुनः सक्रिय भएको छ । यसै विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. वासुदेव पाण्डेसँग आर्थिक अभियानका काशीराम बजगाईंले गरेको कुराकानी : स्वाइनफ्लू कस्तो प्रकृतिको रोग हो ? सुँगुरबाट मानिसमा सर्ने यो रोग स्वाइनफ्लू नामले परिचित छ । तर यो रोगको नाम एचवानएनवान ओनाइन प्यान हो । अर्को शब्दमा यसलाई एचवानएनवान वा एन्फ्लुएन्जा मात्र पनि भनिन्छ । सन् २००९ मा मात्र यस प्रकृतिको रोग पत्ता लागेकोमा छोटो समयमा यो विश्वभर फैलिसकेको छ । एन्फ्लुएन्जालाई सामान्य मौसमी रुघाखोकीकै संक्रमणको रूपमा लिन सकिन्छ । यो रोग कसरी फैलिन्छ ? एचवानएनवानमा एच १ देखि १६ सम्म र एन १ देखि ९ सम्म सक्रिय हुन सक्छ । यी दुई भाइरसलाई नै लिएर यसको नाम एचवानएनवान राखिएको हो । एनले शरीरको रोग प्रतिरोधात्मक शक्ति पत्ता लगाउँछ र एचले भाइरसलाई शरीरभित्र छिराउने काम गर्छ । रोग प्रतिरोधात्मक शक्ति बढी छ भने त यसले असर गर्न सक्दैन । तर जब यो रोगको भाइरस त्योभन्दा शक्तिशाली भएर निस्कन्छ, तब यसले असर पुर्‍याउँछ । यसका लक्षण के के हुन् ? रुघाखोकीकै लक्षण यसमा पनि हुन्छन् । यो रोग लाग्दा उच्च ज्वरो आउने, खोकी लाग्ने, धेरै चिसो महसूस हुने, गलामा समस्या देखिने, टाउको दुख्ने, नाकबाट सिँगान बग्ने, श्वासप्रश्वास छिटो छिटो हुने र समग्र स्वास्थ्य कमजोर हुने जस्ता लक्षण देखा पर्छन् । सामान्य रुघाखोकी हो वा एन्फ्लुएन्जा हो भनेर कसरी छुट्ट्याउने ? हो, रुघाखोकी र यसका लक्षण एउटै हुने हुँदा यी दुईमध्ये कुन हो छुट्ट्याउन गाह्रो पर्छ । यो रोगले शरीरको छातीभन्दा माथिल्लो भागमा असर पुर्‍याउँछ, झट्ट हेर्दा भने रुघाखोकी नै हो कि जस्तो लाग्छ । कतिपय अवस्थामा निमोनिया भनेर उपचार गराउन आएको बिरामीमा पनि यो रोग देखिएको छ । एन्फ्लुएन्जा हो कि होइन भनेर थाहा पाउन त परीक्षण नै गर्नुपर्छ । तर रुघाखोकी सामान्यतया मौसम परिवर्तन हुने बेला र चिसो समयमा प्रायः सबै व्यक्तिमा हुन सक्छ । त्यस्ता सबै व्यक्तिको जाँच गराइरहन सकिन्न । हामीले सय डिग्रीभन्दा बढी ज्वरो आएकालाई यो रोगको परीक्षण गर्ने गरेका छौं । सय डिग्रीभन्दा तल ज्वरो आएको छ भने सिटामोल खाएर आराम गर्नुपर्छ । तर सिटामोल बाहेकका औषधि डाक्टरको सल्लाहविना खानु हुँदैन । झोलिलो खानेकुरा खाने गर्नुपर्छ । तर ज्वरो त्योभन्दा उच्च छ, श्वासप्रश्वास उच्च हुन्छ र लामो समयसम्म कमी आएन भने परामर्श लिइहाल्नुपर्छ । सुलभ सुविधा छ भने त पहिले नै मेडिकल वा अस्पतालमा देखाउँदा झन् राम्रो हुन्छ । सय डिग्री ज्वरोभन्दा तलका बिरामीमा यो रोग हुँदैन भन्न खोज्नु भएको हो ? होइन, यसभन्दा कम ज्वरो आउँदा पनि एन्फ्लुएन्जा हुन सक्छ । तर त्यो सामान्य हुन्छ, असर पु¥याउँदैन । त्यसलाई मौसमी रुघाखोकी नै हो भनेर बुझ्नुपर्‍यो । त्यस्तै ज्वरोबाहेक अन्य लक्षणका पनि सीमितता हुन्छन् । यो रोग कुन समयमा बढी सक्रिय हुन्छ ? चिसो मौसममा, वर्षायाममा, मौसम परिवर्तन हुँदा यसको भाइरस बढी सक्रिय हुन्छ । कस्ता प्रकृतिका व्यक्तिलाई यसले छिटो र बढी आक्रमण गर्छ ? यसले शरीरको प्रतिरक्षा शक्ति कम भएका व्यक्तिमा छिटो आक्रमण गर्छ । वृद्धवृद्धा, बच्चा, क्यान्सर, एचआईभी लगायत विभिन्न रोगका बिरामी व्यक्ति, गर्भवती महिला आदिमा यो रोग छिटो र बढी फैलिने सम्भावना हुन्छ । अहिले फेरि एन्फ्लुएन्जा फैलिएको छ भन्ने सुनिन्छ, यो कत्तिको डरलाग्दो हुन्छ ? अहिले बढी देखिएको छ । यसका दुई कारण छन् । एक त वर्षैैपिच्छे जाडो याममा यसको भाइरस बढी सक्रिय हुन्छ । दोस्रो, अहिले देखिएको यो रोग पहिलेको भन्दा कडा हुन सक्छ । यही डरको कारण पनि जँचाउन आउनेहरू बढेको मेरो अनुमान छ । विश्वमा एन्फ्लुएन्जाबाट १ प्रतिशतभन्दा कमको मात्र मृत्यु भएको देखिन्छ । त्यसैले उपचार गरे यसबाट डराउनुपर्दैन । आजसम्मको यस प्रकारको रोग त्यति गम्भीर नभएकोमा यसपालिको कडा खालको हुन सक्छ । यसमा सतर्कता अपनाउनुपर्छ । यो रोगका बिरामी जाँच्न कतिपय डाक्टर नै डराएका समाचार पनि आउँछन् नि ? डाक्टर पेशाका छुट्टाछुट्टै क्षेत्र हुन्छन् । त्यसैले यो विषयका डाक्टरको कमी छ । डाक्टरको धर्म नै बिरामीलाई हेर्ने हो । डाक्टरले आफू पनि सुरक्षित भएर बिरामीको पनि सेवा गर्नुपर्छ । यो रोगबाट बच्न के गर्नुपर्छ ? बच्चा, वृद्ध, गर्भवती महिला, विविध रोगका बिरामीलाई एन्फ्लुएन्जा भाइरस विरुद्धको भ्याक्सिन (खोप) लगाउँदा धेरै राम्रो हुन्छ । यो खोप अरूले पनि लगाउँदा हुन्छ । यस्तो रोग लागेका व्यक्तिसँग घुलमिल हुनु हुँदैन, कम्तीमा १ मिटर जति परै बस्नुपर्छ । अनिवार्य रूपमा सबैले मास्कको प्रयोग गर्ने गर्नुपर्‍यो । यो रोग हावाबाट मात्र नभएर रोगीको संसर्गमा आएका चीजबीज छुँदा पनि सर्न सक्छ । जस्तै– सार्वजनिक सवारीमा चढ्दा, हुलमुल, मेला/महोत्सवमा जाँदा त्यहाँ भएका रोगीबाट यो रोग सर्न सक्छ । बाहिरबाट आएपछि नङसमेत सफा हुनेगरी साबुन पानीले हात धुने गर्नुपर्छ । सकभर भीडभाडमा नजानु नै बेश हुन्छ । अर्को कुरा, हामीले सत्कारको रूपमा हात मिलाउने गरेका छौं । तर संक्रमण फैलन सक्ने भएकाले यो राम्रो बानी होइन । सत्कार दर्शाउन नमस्कार गर्न सकिन्छ । यस्तो प्रकृतिको रोग ठीक नहुँदासम्म परिवारका अन्य सदस्यसँग घुलमिल हुनुहुँदैन । हाछ्युँ गर्दा रुमाल लगायत वस्तुको प्रयोग गर्नुपर्छ । यसका लक्षण देखिएमा झोलिलो पदार्थ धेरै खानुका साथै अधिकतम आराम गर्नुपर्छ । यो रोगका कुनै पनि लक्षण देखिएमा सम्बन्धित डाक्टर, विशेषज्ञबाट चेकजाँच गराउनुपर्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)