बीमा कम्पनीहरूको साझा संगठनको रूपमा नेपाल बीमक संघ रहेको छ । तर हाल जीवन बीमा कम्पनीहरू आफ्नो छुट्टै संगठन बनाउन लागेका छन् । यसका लागि तदर्थ समितिको गठन समेत भइसकेको छ । प्रस्तुत छ, यिनै समसामयिक विषयमा जीवन बीमा कम्पनी संघका संयोजक शिवनाथ पाण्डेसँग आर्थिक अभियानले गरेको कुराकानीको सम्पादित अंश :बीमा कम्पनीहरूको साझा संगठनको रूपमा नेपाल बीमक संघ छ । तर तपाईंहरू जीवन बीमा कम्पनीहरूको छुट्टै संगठन बनाउँदै हुनुहुन्छ । यो किन आवश्यक देखियो ?
वास्तवमा जीवन बीमा र निर्जीवन बीमाको कार्यक्षेत्र फरक फरक हुन्छ । साथै एक–अर्काका एजेन्डा पनि फरक छन् । त्यो अवस्थामा हामीलाई एउटै संघमा रहेर काम गर्न सैद्धान्तिक समस्या भयो ।
यस्तै जीवन बीमा सम्बन्धीका एजेन्डा छलफल गर्ने ठाउँ पनि भएन । हिजोका दिनमा जीवन बीमा सम्बन्धी एजेन्डा ओझेलमा पनि परेको थियो । त्यस्ता समस्या समाधानका लागि जीवन बीमाको छुट्टै संगठन बनाउन लागेका हौं । यसले जीवन बीमा सम्बन्धी मुद्दा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा छ । यद्यपि नेपाल बीमक संघबाट छुट्टिने निर्णय भएको छैन । हामी सहमतिमै छुट्टै संगठन बनाउन लागेका हौं । नेपाल बीमक संघलाई बीमा बजारको साझा संगठनको रूपमा स्थापित गर्न सक्छौं ।
भोलिका दिनमा बीमाको पहुँच र दायरा बढाउन तपाईंहरूको संगठनको कस्तो भूमिका हुन्छ ?
हाम्रो संगठनको अर्काे उद्देश्य बीमाको पहुँच र दायरा बढाउने पनि हो, जसअनुसार यसमा हाम्रो भूमिका अवश्य नै रहन्छ । हामी बीमा सम्बन्धी जागरण कार्यक्रम गरेर यस सम्बन्धमा काम गर्छाैं । साथै यसका लागि नियामक निकाय र राज्यबाट हुनुपर्ने आवश्यक सहयोगका लागि दबाब दिने काम पनि गर्छाैं ।
नयाँ कम्पनीको आगमनपछि पुराना जीवन बीमा कम्पनीलाई कस्तो चुनौती थपिएको छ ?
नयाँ कम्पनी आएपछि व्यवसाय विस्तारका क्रममा केही चुनौती थपिए । नेपाली बीमा बजारमा पहिलेदेखि जनशक्तिको अभाव थियो । नयाँ कम्पनी आएपछि त्यस्तो समस्या झन् बढ्यो । पुराना कम्पनीमा कार्यरत कर्मचारी सेवा सुविधा खोज्दै नयाँ कम्पनीमा जान थाले । यसरी पुराना कम्पनीलाई केही समस्या प¥यो । पछि बीमा समितिले यस विषयमा नियमन गरेपछि यो समस्याको समाधान भइसकेको छ ।
तर अहिलेको अवस्थामा त्यस्तो चुनौती छ जस्तो लाग्दैन । नयाँ कम्पनी आएपछि सुस्ताएका पुराना कम्पनी पनि सक्रिय भएका छन् । साथै यसले बीमाको दायरा र पहुँच विस्तारमा पनि मद्दत पुगेको छ । यसअनुसार नयाँ कम्पनीको आगमन स्वागतयोग्य छ ।
अन्य देशको तुलनामा नेपालमा बीमा कम्पनी बढी छन् । निकट भविष्यमा नेपालको बजारले यतिका कम्पनी थेग्न सक्ला ?
देशको अर्थतन्त्रको आकार र अन्तरराष्ट्रिय बजार हेर्दा नेपालमा बीमा कम्पनीको संख्या बढी हो जस्तो त लाग्छ । तर यतिका कम्पनी हुँदा पनि बीमाको व्यवसाय भने बढ्दै गएको छ । यद्यपि सधैंभरि यही रूपमा व्यवसाय बढ्छ भन्ने छैन । निकट भविष्यमा बजारले थेग्न नसक्ने अवस्था आएमा यसमा पुनरवलोकन गर्न सकिन्छ ।
कम्पनीहरूलाई निकट भविष्यमा मर्जरमा लैजाँदा कस्तो हुन्छ ?
भर्खर मात्र नयाँ कम्पनी सञ्चालनमा आएका छन् । यो अवस्थामा बीमा बजारको व्यवसाय पनि राम्रो देखिएको छ । यो अवस्थामा अहिले नै मर्जर जान आवश्यक देखिँदैन । यही अनुपातमा व्यवसाय बढ्न नसकेको अथवा बजारले थेग्न नसकेको अवस्थामा मर्जरमा जान आवश्यक पनि हुन सक्छ । राज्यले पनि यस सम्बन्धमा नीति ल्याएको छ । त्यस्तो अवस्थामा सरकारी नीतिभित्र रहेर मर्जरमा जान समस्या हुँदैन ।
बीमा समितिले जीवन बीमा कम्पनीलाई रू. २ अर्ब चुत्तापूँजी पुर्यााउन निर्देशन दिएको १ वर्ष भइसक्यो । तर अझै पनि कम्पनीहरूले चुक्तापूँजी पुर्याूउन सकेका छैनन् । कम्पनीहरूलाई चुक्तापूँजी पुर्यािउन कहाँ समस्या छ ?
प्रक्रियागत झमेलाले गर्दा पनि चुक्तापूँजी बढाउन गाह्रो भएको छ । रू. ५० अर्ब रहेको चुक्तापूँजी एकैपटक बढाएर रू. २ अर्ब पु¥याउनुपर्दा स्रोत जुटाउन समस्या भएको हो । कर्जा लिएर पनि लगानी गर्न पनि पाइँदैन । यसरी प्रक्रियागत रूपमै चुक्तापूँजी पुर्यायउन कठिनाइ देखिएको छ । यद्यपि हामी चुत्तापूँजी बढाउने कार्यमा सक्रिय छौं । चुक्तापूँजी बढाउने योजना राम्रो पक्ष हो । साथै एनएफआरएस प्रणालीमा वित्तीय विवरण बनाउन ढिला भएर साधारणसभा गर्न सकिएको छैन । साधारणसभा गरेपछि चुक्तापूँजी बढाउने काममा केही सहज हुने अपेक्षा गरेका छौं ।
५ वर्षअघि र अहिलेको बीमा बजारलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
५ वर्ष पहिले र अहिलेको बीमा बजारमा आकाश–जमिनको फरक छ । हिजो बीमाबारे अधिकांशलाई थाहा थिएन । तर अहिले धेरै मानिस यसबारे अवगत छन् । साथै पछिल्लो समय नियमन निकायको गतिविधि पनि बलियो हुँदै गएको छ ।
यस्तै हिजोका दिनमा कम्पनीहरू सुस्ताएका थिए । तर अहिले प्रतिस्पर्धा र व्यवसाय बढ्दै गएको छ । बजारमा नयाँ नयाँ बीमा योजना उपलब्ध छन् । ५ वर्षअघिको तुलनामा अहिलेको बीमा बजार सुशासनयुक्त, प्रतिस्पर्धी र सेवामुखी छ ।
बीमा बजारमा लामो समयदेखि दक्ष जनशक्तिको अभाव रहँदै आएको छ । हाल बीमा समिति र कम्पनीहरूको सहकार्यमा बीमा तालीम केन्द्र सञ्चालित छ । तालीम केन्द्र सञ्चालनपछि दक्ष जनशक्ति उत्पादनको अवस्था कस्तो छ ?
तालीम केन्द्र सञ्चालनमा आएपछि दक्ष जनशक्तिको उत्पादन बढ्दै गएको छ । हामीले यसबाट एकेडेमिक रूपमै व्यावसायिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएका छौं । साथै यो केन्द्र स्थापनापछि कम्पनीहरूमा कार्यरत कर्मचारीलाई पनि आवश्यक तालीम दिएका छौ । यसले उनीहरूको क्षमता अभिवृद्धिमा ठूलो मद्दत पुर्याएको छ ।
बीमा बजारले नयाँ बीमा ऐन पाउँदै छ । अब आउने बीमा ऐनले बजारलाई कस्तो प्रभाव पार्छ ?
समग्रमा प्रस्तावित बीमा ऐनमा प्रचलित ऐनमा भएको कमी कमजोरी सुधार्दै केही नयाँ व्यवस्था गरिएको छ । बीमा क्षेत्रलाई बलियो रूपमा अगाडि बढाउने परिकल्पना समेत गरिएको छ । यद्यपि नियामक निकायलाई भने कमजोर बनाइएको देखिन्छ । बीमाक्षेत्रको विकासका लागि नियामक निकायलाई विशेष अधिकार र ‘पावर’ दिन आवश्यक छ । त्यस्तो व्यवस्था गरिएमा यसले बीमा बजारलाई राम्रो प्रभाव पार्छ ।
स्नातकोत्तर गरेको व्यक्ति कम्पनीको सीईओ हुन पाउने व्यवस्था प्रस्तावित बीमा ऐनमा छ । तर यो व्यवस्था संस्थागत सुशासन निर्देशिकाको विपरीत भयो भन्ने भनाइ पनि छ । यसमा तपाईंको धारणा के छ ?
बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अनुभवी व्यक्ति नै हुनुपर्ने व्यवस्था गर्नुपर्छ । प्रस्तावित ऐनको उक्त व्यवस्था लागू भएमा बीमा बजार कमजोर बन्न सक्छ । बीमाक्षेत्र आफैमा प्राविधिक क्षेत्र हो । यसमा डिग्री मात्र हासिल गरेका व्यक्तिले नेतृत्व लिन सक्दैन । बीमा कम्पनीलाई नेतृत्व गर्न यस क्षेत्रसँग परिचित र अनुभवी व्यक्ति चाहिन्छ । यसो भए मात्र बीमा बजार सुशासित र बलियो रूपमा अगाडि बढ्छ । त्यसैले यो व्यवस्थामा परिमार्जन आवश्यक देखिएको छ ।
बीमा बजारका चुनौती के के छन् । आगामी दिनमा कसरी अगाडि बढ्नु आवश्यक छ ?
बीमा कम्पनीहरू बढी हुँदा बजारले धान्न नसक्ने हो कि भन्ने आशंका पनि छ । साथै उत्तिकै मात्रामा अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना पनि छ । बीमा बजार अघि बढिरहँदा यस्ता समस्या र चुनौती आउन सक्छन् । यस्तो अवस्थामा बीमा समितिले बलियो भूमिका निर्वाह गर्नुपर्छ ।
यस्तै राज्यका विभिन्न नीतिहरू हाम्रा लागि सधैं चुनौतीपूर्ण हुन सक्छन् । निकट भविष्यमा फेरि नयाँ कम्पनीका लागि इजाजतपत्र नखुल्ला भन्न सकिँदैन । साथै, यस पेशालाई मर्यादित र पारदर्शी बनाउन सकिएन भने व्यावसायिक भविष्य नै अन्योलमा हुन्छ । हाम्रा लागि बजारमा यस्ता चुनौती पनि छन् । साथै उत्तिकै मात्रामा अवसर पनि छन्, जसअनुसार बीमा कम्पनी त्यस्ता चुनौतीको सामना गर्दै प्राप्त अवसरको संरक्षण गर्दै अगाडि बढ्न आवश्यक छ ।