विगत ४ वर्षदेखि पूँजीबजारमा लगानी गर्दै आएकी युवा लगानीकर्ता संरक्षणा चौधरी नेपाल पूँजीबजार संघमा हालै अध्यक्ष पदमा चयन भएकी छिन् । यसअघि पनि नेपाल पूँजीबजार लगानीकर्ता संघमा कोषाध्यक्ष पद सम्हालिसकेकी उनले सामाजिक सेवा समेत गर्दै आएकी छिन् । आफूले सामाजिक सञ्जालमार्फत ग्रूप बनाएर सामाजिक सेवालाई पनि निरन्तरता दिँदै आएको उनी बताउँछिन् । आफ्नो संघको नेतृत्वमा युवा तथा महिला लगानीकर्तालाई पूँजीबजारमा भित्र्याउन पहल गर्ने उनको योजना छ । नयाँ नेतृत्व सहित पूँजीबजारको हितमा काम गर्न अग्रसर उनीसँग आर्थिक अभियानकी प्रजिता बुढाथोकीले गरेको कुराकानी :केही समयअघि मात्र नेपाल पूँजीबजार संघको अध्यक्षको जिम्मेवारी पाउनुभएको छ । तपाईंको नेतृत्वमा संघ कसरी अघि बढ्दै छ ?
अध्यक्ष भएसँगै अझ बढी जिम्मेवारी थपिएको अनुभव भएको छ । पहिला पनि म यस संघमा कोषाध्यक्ष भएर काम गरिसकेको छु । संघका अन्य पदाधिकारीले मलाई योग्य ठानेर अध्यक्ष जस्तो जिम्मेवार पदमा पुग्ने अवसर दिनुभएको छ । मेरो नेतृत्वमा संघ अबका दिनमा लगानीकर्ताको हकहितका लागि द्रुत गतिमा अघि बढ्नेछ । हाम्रो संघले अन्य संघले गरेजस्तै लगानीकर्ता हकहितको काम त गर्छ नै, त्यसबाहेक युवा तथा महिला लगानीकर्तालाई प्राथमिकतामा राखेर शेयरसम्बन्धी तालीम समेत आयोजना गर्नेछ । हामी मुख्यतः काठमाडौं बाहिरका जिल्लामा यस्ता तालीम तथा कार्यक्रम गर्ने योजना बनाइरहेका छौं ।
युवा तथा महिला लगानीकर्तामा शेयर शिक्षा प्रदान गर्ने योजनाका लागि संघले आर्थिक व्यवस्थापन कसरी गर्छ ?
हामीले शेयरसम्बन्धी तालीम काठमाडौंभन्दा बाहिरका जिल्लामा गर्ने योजना बनाइरहँदा अहिलेसम्म कसैबाट आर्थिक सहयोग प्राप्त भएको छैन । संघमा भएका हामी सबैले पछि आवश्यकता पर्दा प्रयोग गर्ने उद्देश्यले महीनैपिच्छे पैसा उठाएर कोषमा जम्मा गरिरहेका छौं । ब्रोकर र बैंकसँग आर्थिक व्यवस्थापनका लागि सहकार्य गर्ने सोच पनि बनाएका छौं । अहिलेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरू ७७ ओटै जिल्लामा पुगेका छन् । शेयर सम्बन्धी तालीममा बैंकहरूले सीआरएन नम्बर, डिम्याट र सी–आस्बा सम्बन्धी जानकारी दिने र हामीले शेयर सम्बन्धी अन्य जानकारी गराउने योजना छ । तत्काल हामी धादिङमा शेयर शिक्षा सम्बन्धी एकदिने कार्यक्रम गर्दै छौं । यसका लागि संघले एनआईसी एशिया बैंकसँग सहकार्य गर्नेछ ।
संघको संरचना बढाउने योजना छ कि छैन ?
पक्कै पनि हामी युवा तथा महिला लगानीकर्तामा शेयर शिक्षा पुर्याउने योजनाका लागि काठमाडौंमा मात्र सीमित हुँदैनौं । यसका लागि हामीले संघको संरचना काठमाडौं बाहिर पनि विकास गर्न आवश्यक छ । हाम्रो संघका उपाध्यक्ष नवलपरासीको भएकाले त्यहाँबाट पनि संगठन विस्तारको काम अघि बढ्नेछ । क्रमिक रूपमा आवश्यकता अनुसार सबै प्रदेशलाई समेटेर संगठन विस्तार गर्ने योजनामा छौं ।
लगानीकर्ता संघ धेरै छन् । आम लगानीकर्ताले तपाईंको संघबाट अन्य संघभन्दा फरक के अपेक्षा गर्न सक्छन् ?
हामी विशेषगरी युवालाई नै प्राथमिकतामा राखेर अघि बढेका छौं । अहिले संघमा आबद्ध अधिकांश लगानीकर्ता पनि युवा नै हुनुहुन्छ । हामीसँग आबद्ध भएका लगानीकर्ता पूँजीबजारमा लगानी गर्ने इच्छा भएका, तर लगानी गर्ने तरीका नजानेका धेरै हुनुहुन्छ । आम लगानीकर्ताले हाम्रो संघबाट पूँजीबजारमा प्रवेश गरेर योग्य लगानीकर्ता बन्ने अवसर पाउन सक्छन् । यसका लागि हाम्रो प्रयास जारी छ ।
युवा लगानीकर्ता हुनुहुन्छ । यो उमेरमै आम लगानीकर्ताको हितमा काम गर्न नेतृत्व लिनुभएको छ । यो क्षेत्रमा कहिले र कसरी प्रवेश गर्नुभयो ?
म यो क्षेत्रमा २०७१ सालदेखि लगानी गर्दै आएको छु । तर त्यो बेला मैले आफ्नो नभएर अफिसको कार्य व्यवस्थापनको क्रममा सरको लगानी व्यवस्थापन गर्दै आएको थिएँ । त्यो समयमा शेयर डिम्याट गराउन भर्खरै अनिवार्य गरिएको थियो । मैरो शेयर डिपार्टको काम थियो । सरको शेयर प्रमाणपत्र डिम्याट गर्न ब्रोकर र क्यापिटल जानुपर्ने हुन्थ्यो । त्यसले गर्दा विस्तारै विस्तारै शेयरको बारेमा बुझ्ने मौका पाएँ । र, उहाँकै आग्रहमा मैले पनि लगानी गर्न थालेँ । मेरो पहिलो लगानी सरले नै पछि तलबबाट कट्टा गर्नेगरी दिनुभएको थियो । मैले पहिलो लगानी काष्ठमण्डप डेभलपमेन्ट बैंकको ८५ कित्ता शेयरबाट गरेको थिएँ, जुन शेयर मैले दोस्रो बजारबाट खरीद गरेँ । त्यसपछि धेरैजसो लगानी प्राथमिक बजारमा आएका आईपीओहरूमा गरेको छु । दोस्रो बजारमा जोखिम नहुने सबै खालका कम्पनीमा थोरै थोरै कित्ता लगानी गरेको छु ।
यो क्षेत्रमा लगानी गरेर सन्तुष्ट हुनुहुन्छ ?
मैले यो क्षेत्रमा जति पनि लगानी गरेको छु, त्यो मेरो खर्च हुने पैसा हो । त्यसैले यो क्षेत्रमा लगानी गर्न थालेपछि मेरो खर्च कम भएको छ । त्यसैले सन्तुष्ट छु । हामी अविवाहितहरूलाई विवाहितको भन्दा जिम्मेवारी कम हुने भएर होला, साथीभाइ भेट्ने, रमाइलो गर्ने काममा बढी खर्च हुन्छ । यो क्षेत्रमा लगानी गर्न थालेपछि बचत गर्ने बानीको विकास भएको छ ।
युवा तथा महिलालाई पूँजीबजारमा प्रवेश गराउने, उनीहरूलाई वित्तीय रूपमा साक्षर बनाउने योजना बनाउनुभएको छ । हालको अवस्थामा युवा तथा महिलाको सहभागिता कस्तो पाउनुभएको छ ?
म जहिलेदेखि यो क्षेत्रमा छु, सोही बेलादेखि नै लगानीकर्ताको हकहितका लागि काम गरिरहेको छु । यही थाहा पाएर मेरा साथीहरू पनि यो क्षेत्रमा लगानी गर्ने इच्छा राखेर प्रवेश गर्नुभएको छ । अहिलेको अवस्थामा पूँजीबजार लगानीमैत्री भएको छ । प्राथमिक बजारमा प्रविधिको विकाससँगै लगानी गर्न सहज र न्यूनतम १ हजार रुपैयाँमै शेयर खरीद गर्न सकिने भएको छ । त्यसो हुँदा शेयरबजारमा युवा तथा महिला लगानीकर्ता मात्र होइन, सबै खालका लगानीकर्ता प्रवेश गरिरहेका छन् । साथै यो क्रम दिनप्रतिदिन बढ्दै पनि गएको छ ।
पूँजीबजारको हालको अवस्था अनुसार लगानीकर्ता संघहरूले के के गर्न आवश्यक देख्नुहुन्छ ?
सबैभन्दा पहिला त पूँजीबजारको अवस्थाको बारेमा सबै संघहरू जानकार हुन आवश्यक छ । भर्खरैको ताजा घटना सम्झन चाहन्छु । प्यानको विषयमा आम लगानीकर्तालाई सहज गराउनुपर्ने अवस्थामा संघका प्रतिनिधिहरू नै आत्तिनुभएको थियो । यो अवस्थामा अन्य सर्वसाधारण लगानीकर्ता प्यानिक हुनु सामान्य हो । यो अवस्थामा हामी लगानीकर्ता संघ संगठनहरूले प्यानको विषयमा सम्बन्धित निकायबाट स्पष्ट धारणा माग गरी आम लगानीकर्तालाई संयम बनाउन पहल गर्ने हो । प्यानको विषय त एउटा उदाहरण मात्र हो । योबाहेक अन्य धेरै कुरा आउन सक्छन् । हामी सबै संगठनहरू एकजुट भएर विनास्वार्थ १५ लाख लगानीकर्ताको हितका लागि काम गर्नुपर्छ भन्ने लाग्छ ।
अहिले पाँच लगानीकर्ता संगठन सक्रिय भएको देखिन्छ । संघहरूबीच कत्तिको सहकार्य छ ?
हामी पाँचओटै संघहरूको उद्देश्य एउटै भएकाले सहकार्य अति नै आवश्यक छ । चौतर्फी रूपमा पहल भयो भने हरेक समस्याको सहज समाधान हुन्छ । संघहरू धेरै हुनुको अर्थ एउटाले नभ्याएको ठाउँमा अर्कोले पहल गर्ने हो । अहिलेसम्म उठेका विषयमा सबै संघहरूको सहकार्यमै पहल भइरहेको छ । प्यानको विषय पनि अनिवार्य होइन, स्वेच्छाले लागू गराउन हामी सबै संघहरू एकजुट भएरै पहल गरिरहेका छौं ।
प्यानको विषयमा तपाईंहरूले ध्यानाकर्षण गराइसक्नुभएको छ । वैशाख १ गतेदेखि प्यान अनिवार्य लागू गर्ने सरकारी योजना सफल होला ?
वैशाख १ गतेदेखि नै अनिवार्य हुने सम्भावना कम छ । अहिले सरकार र पूँजीबजार सम्बद्ध निकायबाट प्यानको विषयमा स्पष्ट धारणा नआई अनिवार्य गर्ने तयारी भएको छ । यसबाट आम लगानीकर्तालाई अन्योल भएको छ । हामी लगानीकर्ता प्यानका विरोधी होइनौं, तर यसबाट राज्य र आम लगानीकर्तालाई हुने फाइदा र प्यान लिन सहज वातावरण बनाउनेतर्फ स्पष्ट धारणा सार्वजनिक हुन जरुरी देख्छु । वैशाखका लागि त धेरै समय छैन । हामी पहुँच भएकाहरूले त प्यान बनाउँला, तर जो पहुँच बाहिर छन्, जसले विदेशबाट पनि लगानी गरिरहेका छन्, उनीहरू त वञ्चित हुने भए । त्यसैले यी सबै पक्षलाई ध्यान दिने हो भने वैशाखदेखि नै अनिवार्य नहोला ।
आम लगानीकर्तालाई केही सुझाव छ ?
शेयरमा लगानी गर्नु बचत गर्नुजस्तै हो । यसले अहिले नाफा नभए पनि भविष्यमा हुने निश्चित छ । दीर्घकालीन लगानी नै राम्रो हो । म आफै पनि दीर्घकालीन लगानीकर्ता हुँ । अर्को कुरा, शेयर बजारमा प्रवेश गर्दा सामान्य जानकारी लिएरै आउनुपर्छ । अहिले त विभिन्न सञ्चार माध्यममा पनि शेयरबजार सम्बन्धी महत्त्वपूर्ण समाचार आइरहेको हुन्छ । यसप्रति पनि लगानीकर्ताले ध्यान दिनु राम्रो हुन्छ । विशेषगरी महिलाहरू, जो बालबच्चालाई स्कूल पठाएर खाली बस्नुहुन्छ, उहाँहरूलाई यो क्षेत्र लगानीका लागि अति उत्तम छ । शुरूमा थोरै थोरै कित्तामा लगानी गर्न मेरो आग्रह छ ।