बच्चामा सेरेब्रल प्याल्सीको समस्या पोषणयुक्त खानाको कमीले हुन्छ
Feb 8, 2019
 
अन्तरवार्ता
बंगलादेशबाट एमबीबीएस र नेपालको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमडी सकेकी डा. विना प्रजापतिले पेडियाट्रिक न्युरोलोजीमा लामो समयदेखि काम गर्दै आएकी छिन् । उनीसँग शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा डेढ वर्ष तथा कान्तिबाल अस्पतालमा १३ वर्ष काम गरेको अनुभव छ । उनले अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस न्यु दिल्लीबाट पेडियाट्रिक न्यूरोलोजीबारे अध्ययन गरेकी छिन् । पेडियाट्रिक न्युरोलोजीअन्तर्गतको सेरेब्रेल प्याल्सी रोगबारे आर्थिक अभियानका भवनाथ प्याकुरेलले उनीसँग गरेको कुराकानी :पेडियाट्रिक्स न्युरोलोजी भनेको के हो ?
बच्चाहरूको स्नायु सम्बन्धी जस्तै : स्पाइनल कर्ड र मसलसँग सम्बन्धित रोग नै पेडियाट्रिक न्युरोलोजी हो । योअन्तर्गत छारेरोग, बच्चाहरू बोल्न नसक्ने, ब्रेन, स्पाइनल कर्ड, हिँड्न नसक्ने र अटिजमजस्ता रोगहरू पर्दछन् ।
नेपालमा यो रोग बढ्ने वा घट्ने कस्तो अवस्थामा छ ?
नेपालमा विशेष गरी पेडियाट्रिक न्युरोलोजी स्पेशलाइजेशन विषयमा अध्ययन हुँदैन र जनशक्ति पनि कम छ । यस आधारमा मैले नेपालमा यस रोगबारे भन्न सक्ने अवस्था छैन । अन्तरराष्ट्रिय जगत्मा यो रोग बढ्ने क्रममै छ । अटिजम रोग त हामीकहाँ पनि धेरै नै आउने गर्दछन् । पेडियाट्रिक न्युरोलोजी रोगको उपचार गर्ने ठाउँ कान्ति बाल अस्पताल मात्र भएका कारण धेरै आएको हुनसक्छ । हामीकहाँ आउने सबैमध्ये १० प्रतिशत बिरामी न्युरोलोजीसँग सम्बन्धित हुन्छन् ।
यो रोग के कारणले लाग्छ ?
बच्चाको न्युरोलोजीमा धेरै विषयहरू पर्दछन् । यिनीहरूको रोग पनि एक अर्काको भन्दा फरक रहन्छ । अहिले मैले पेडियाट्रिक न्युरोलोजीको एक विषय सेरेब्रल प्याल्सी भन्ने रोगको बारेमा मात्र बताउँछु । घरमा बच्चा जन्माउँदा बच्चालाई अक्सिजन नपुगेर यो रोग लाग्ने गर्दछ । आमाहरूले राम्रो खाना नपाएका कारणले पनि बच्चामा यो रोग लाग्न सक्छ । नौ महीनामा जन्मिने बच्च सात महीनामै जन्मिँदा पनि ‘ब्रेन ड्यामेज’ हुने सम्भावना धेरै हुन्छ । तर, तुरुन्त आईसीयूमा पुगेका बच्चाहरू बचे पनि ब्रेनले भने काम गर्दैन । अहिले सरकारले बच्चा जन्मिने विषयलाई केही सुविधा दिएको हुनाले अबका दिनमा यस्ता रोग कम हुने सम्भावना भने देखिन्छ । पहिलेको तुलनामा अहिले बच्चाहरू अस्पतालमा गएर जन्माउने चलन बढ्दै गएकाले यो रोग कम हुने सम्भावना छ ।
यो रोग लाग्नबाट बच्न केके उपायहरू छन् ?
बच्चा जन्मिँदा अक्सिजन नपुग्ने हुनाले अस्पतालमा बच्चा जन्माउनु पर्छ । आमाको पेटमा बच्चा बन्ने प्रक्रियामा नै यस्तो समस्या हुनसक्छ । त्यसका लागि बच्चा पेटमा हुँदै आमालाई सन्तुलित र पोषिलो खाना खुवाउनु पर्छ । गर्भवती महिलाले अस्पतालमा नियमित जचाउनु पर्छ, जसले गर्दा बच्चा कमजोर रहेछ भने गर्भ तुहाउन पनि सकिन्छ । बच्चा जन्माउँदा सकिन्छ भने आईसीयू भएको अस्पतालमा जन्माउँदा पनि बच्चालाई केही सुरक्षित रूपमा गर्न सकिन्छ । बच्चा जन्मेपछि पनि बेलाबेलामा जचाइ रहनु पर्दछ ।
यो रोगका लक्षणहरू केके देखिन्छ ?
५० प्रतिशत निश्चित उपचार हुँदैन तर सुधार गर्न सकिन्छ । यो रोगमा विशेष गरेर ब्रेन ड्यामेज हुने हो । ड्यामेज भएको अंग पूरा रूपमा फेरि जस्ताको तस्तै हुनै सक्दैन । आईसीयूबाट निकालेको बच्चालाई ३ महीना, ७ महीना गर्दै नियमित जाँच्नु पर्दछ । त्यसमा विभिन्न थेरापी गर्दा धेरै नै राम्रो भएका उदाहरण पनि छन् । एक स्वच्छ बच्चाको तुलनामा रोग लागेको बच्चा फरक हुन्छ तर केही राम्रो हुन्छ ।
बोल्नु पर्ने समयमा नबोल्ने, हिँड्ने समयमा नहिँड्ने, मुन्टो सीधा नगर्ने, बच्चा जन्मिँदा रुन नसक्ने जस्ता लक्षण देखिएमा बच्चामा सेरेब्रल प्याल्सी भन्ने रोग लागेको रहेछ भनेर बुझ्नु पर्दछ । यो रोग लागेका बच्चाहरूमा शारीरिक विकास हुँदैन, बौद्धिक विकास भने हुने गर्दछ । यस्ता बच्चालाई तुरुन्त अस्पतालमा देखाइहाल्नु पर्छ ।
यो रोग लागेर अस्पताल आउने बिरामी कति प्रतिशत निको हुन्छन् ?
यो चटक्कै निको हुने रोग होइन । तर, आमाको गर्भबाट निस्कने बेलामै रोग कम गराउन सक्यौं भने साधारण बच्चाको जस्तै बनाउन सकिन्छ ।
यस्ता बिरामीले समयमा नै उपचार पाउन सकेनन् भने युवा अवस्थामा कस्तो हुन्छन् ?
साहित्यकार झमक घिमिरे यसको उदाहरणीय पात्र हुन् । उनलाई यस्तै रोग लागेको हो । उनले हातले लेख्न नसकेर गोडाले लेख्ने गरेकी छिन् । उनले समयमा उपचार पाएको भए केही राम्रो हुन सक्ने थियो । यो रोग निको नहुने पनि हुन्छ । अन्य व्यक्तिभन्दा यस्ता व्यक्तिमा सामान्य मान्छेले गर्ने काम पनि गर्न सक्दैनन् । उनीहरूले पोषिलो खाना खानु पर्छ । यदि पोषिलो खाना पुगेन भने झनै रोग बढ्न सक्छ ।
नेपालमा पेडियाट्रिक न्यूरोलोजी सम्बन्धी डाक्टरहरू कति छन् र यो कहाँकहाँ पढाइ हुन्छ ?
नेपालमा यसको पढाइ हुँदैन । बिरामीको संख्या धेरै नै छ तर डाक्टरको संख्या एकदमै कम छ । कान्ति बाल अस्पतालले यो रोगको उपचार गर्न थालेको शुरू गरेको झन्डै ४ वर्ष भयो । शिक्षण अस्पताल महाराजगञ्ज र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि यस रोगको उपचार शुरू गर्दै छ । अरू अस्पतालमा यसको उपचार हुँदैन ।
यो रोगका बिरामीले कहिलेसम्म उपचार गरिरहनु पर्छ ?
यो रोगका लागि जीवनभरि नै थेरापी गर्नुपर्छ । कान्तिबाल अस्पतालले १४ वर्षसम्मको बच्चालाई हेर्ने गरेको छ । तर, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को परिभाषामा भने १८ वर्षसम्मको बच्चालाई हेर्नुपर्छ भन्ने छ । १४ वर्षपछि हामीले ठूलो मानिसलाई हेर्ने सम्बन्धित डाक्टरकहाँ पठाइदिने गरेका छौं । यो रोग लागेको व्यक्तिलाई ५० प्रतिशत छारेरोग लाग्ने सम्भावना धेरै रहन्छ । यस्ता बिरामीले जीवनभर औषधि खानु पर्छ । छारेरोगको उपचार भएन भने मस्तिष्कलाई असर गर्दै जान्छ ।
रोग लागेका बिरामीले केके विषयमा ध्यान दिनु पर्छ ?
यस्तो रोग लागेका बिरामीले औषधि नियमित खाने, पोषणयुक्त खानेकुरा नियमित खाने र थेरापी गर्नुपर्नेले नियमित गर्नु पर्दछ ।