विश्वका १० देशमा विभिन्न प्रकारका एक्स्पो आयोजना गर्दै आएको भारतीय कम्पनी फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट्सले विगत ५ वर्षदेखि नेपालमा बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी आयोजना गर्दै आएको छ । नेपालको मिडिया स्पेस सोलुसन्ससँग सहकार्य गर्दै संस्थाले यो एक्स्पो आयोजना गर्दै आएको हो । प्रस्तुत छ, संस्थाका निर्देशक निमित गुप्तासँग गरिएको कुराकानीको अंश :नेपालमा बिल्डकन एक्स्पो आयोजना गर्ने सोच कसरी आयो ?
फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट्स कम्पनीले विभिन्न १० देशमा बिल्डकन एक्स्पोको आयोजना गर्दै आएको छ । कम्पनीले बंगलादेश, श्रीलंका, ताइवान, कम्बोडिया, केन्या, ओमान, भुटान लगायत देशमा बिल्डकन एक्स्पोको आयोजना गरिसकेको छ । कम्पनीले नेपालमा बिल्डकन एक्स्पो मात्र गरे पनि अन्यत्र ८ भन्दा बढी उद्योगको एक्स्पो गर्दै आएको छ । कम्पनीले कृषि, बिल्डकन र मेडिकल तथा प्रिन्टिङ लगायत क्षेत्रमा एक्स्पोको आयोजना गरिसकेको छ ।
नेपाल र भारतको बिल्डकन व्यवसायमा के फरक पाउनुभयो ?
नेपाल अहिलेको समयमा जुन तरीकाले अगाडि बढिररहेको छ, त्यो वेगमा विकास गर्दै गयो भने आगामी ५ वर्षमा धेरै माथि जानेछ । त्यसैले भारतीय बजारको तुलनामा नेपाली बिल्डकन व्यवसायमा अवसर छ । दुनियाँका ठूलाठूला कम्पनी जो जर्मनी, इटाली, चीन तथा इन्डियामा छन्, त्यस्ता कम्पनीले आफूले उत्पादन गरेको मेशिन नेपालमा आयोजना हुने एक्स्पोमा ल्याउनेछन् । निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न मेशिन÷उपकरण नेपालमा ल्याएर नयाँ वस्तुको उत्पादन गर्न सकिन्छ । त्यसबाट चाहिनेभन्दा बढी सामग्रीको उत्पादन भएपछि निर्यात गर्न सकिन्छ । नेपालमा उत्पादित वस्तु निर्यात भएपछि विदेशी पैसा नेपालमा भित्रिन्छ । नेपालका कम्पनीले अहिले पनि भारत र भुटानमा निर्यात गरिरहेका छन् ।
नेपालमा आएको भूकम्पपछि हरेक नेपालीले एउटा सुरक्षित आवास बनाउन चाहेका छन् । भूकम्पका कारणले धराशयी बनेको पर्यटन व्यवसाय फेरि सुधारको क्रममा छ । होटल निर्माणको काम सुचारु भएको छ । त्यसकारण नेपालमा बिल्डकन व्यवसायको भविष्य राम्रो छ ।
नेपालको निर्माण व्यवसायका चुनौती के के हुन् ?
नेपालका धेरै कम्पनीसामु विश्वका ठूला कम्पनीका प्रविधि पुगेका छैनन् । अहिले त्यसैलाई हामीले चुनौतीका रूपमा मानेका छौं । किनकि त्यस्ता ठूला कम्पनीले बजारमा ल्याएका नयाँ प्रविधिलाई नेपाली बिल्डकन व्यवसायमा भित्र्याउन आवश्यक छ । ताकि ठूलाठूला बिल्डर्स, कन्ट्र्याक्टर्स, आर्किटेक्चर्सले त्यो प्रविधि लिन सकून् ।
निर्माण व्यवसायमा प्रविधि किन महत्त्वपूर्ण छ ?
नेपालको ग्रामीण भेगमा बस्दै आएका धेरै नेपालीसँग कम बजेटमा सुरक्षित घर बनाउनुपर्ने चुनौती छ । नेपालका इन्जिनीयर, आर्किटेक्चर, बिल्डर, कन्ट्र्याक्टर बिल्डकन एक्स्पोको प्रतीक्षामा हुन्छन् । आयोजनाको समयदेखि अहिलेसम्म नेपाली कम्पनी र विदेशी कम्पनीको अनुपात ५०/५० छ । नेपालमा निर्माण व्यवसायीले यस क्षेत्रका लागि आवश्यक पर्ने वस्तुको उत्पादन गर्न सके भने नेपालको पैसा बाहिर जाँदैन । यो नेपाली अर्थतन्त्रका लागि महत्त्वपूर्ण सावित हुन सक्छ ।