ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कित्ताकाटको अधिकारले स्थानीय तहमा भ्रष्टाचार बढ्न सक्छ

Feb 13, 2019  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको कित्ताकाटको अधिकार हस्तान्तरण गरेको छ । स्थानीय निकायलाई कृषियोग्य जमीन होइन भन्ने लागेमा कित्ताकाटका लागि सिफारिश दिने भनी निर्णय गरिएको छ । लामो समयसम्म कर्पोरेट क्षेत्रमा पुनरावेदन तथा सर्वोच्च अदालतमा बहस गर्दै आएका अधिवक्ता रुद्रप्रसाद पोखरेलसँग जग्गाको कित्ताकाटको अधिकार, यसको प्रभाव तथा असरबारे आर्थिक अभियानका भवनाथ प्याकुरेलले गरेको कुराकानी : जग्गा कित्ताकाटको अधिकार स्थानीय तहलाई दिनु कतिको उचित हो ? १ वर्ष अगाडिसम्म जग्गाको जथाभावी कित्ताकाट गरी प्लटिङ भइरहेका थिए । यसलाई व्यवस्थित गर्ने भन्दै तत्कालीन भूमिसुधार मन्त्री गोपाल दहितले २०७४ साउन २६ गते मन्त्रीस्तरीय निर्णय गराई कृषियोग्य जग्गालाई कित्ताकाट नगर्ने निर्णय भयो । निर्णयमा कृषियोग्य जग्गा कित्ताकाट नगर्ने भनिए पनि अंशियारहरू बीच अंशबन्डा हुँदा कित्ताकाट हुन सक्ने र एकजना व्यक्तिले वर्षमा एकचोटि कित्ताकाट गरेर विक्री गर्न सक्ने भन्ने प्रावधान राखिएको थियो । २०७४ कात्तिक २४ गते घरघडेरी डटकमलगायत केही व्यावसायिक कम्पनीले नगर विकासबाट प्लानिङ परमिट लिएका जग्गाहरू कित्ताकाट गर्न मन्त्रीस्तरीय निर्णय गरेर फुकुवा गरे । यस विषयमा सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । अदालतले मन्त्रालयका निर्णयहरूलाई यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरे पनि कार्यान्वयन भएन । केही महीनापछि सर्वोच्च अदालतको पूर्ण सुनुवाइमा कृषियोग्य जमीन खण्डीकरण रोक्न आवश्यक छ, तर यसका लागि नीति बनाई त्यसै बमोजिम काम गर्नू भनेर निर्देशनात्मक आदेशसमेत जारी गरेको छ । मन्त्रालयले अदालतको आदेश जारी भइसकेपछि स्थानीय निकायलाई कृषियोग्य जमीन होइन भन्ने लागेमा कित्ताकाटका लागि सिफारिश दिने भनी निर्णय गरेको छ । जग्गा कित्ताकाट गर्न दिन वन, कृषि जस्ता निकायका प्रतिनिधिको आवश्यकता पर्दछ । तर ती निकाय स्थानीय तहमा नपुगेकाले त्यस्ता समिति बन्नै कठिन छ । समिति बने तापनि कस्ता जग्गालाई प्लानिङ गर्न अनुमति दिने र कस्तालाई नदिने भन्ने कुनै नियम र नीति नबनिसकेको आधारमा तिनले के आधारमा कुन जग्गालाई कृषियोग्य हो र होइन भनी छुट्ट्याउँछन् ? जग्गा कित्ताकाटको अधिकार स्थानीय तहलाई दिँदा दीर्घकालीन कस्तो असर गर्छ ? मन्त्रालयको निर्णयले मालपोत तथा नापी कार्यालयमा जुन ढंगको घुसखोरी र अनियमितता बढेको थियो, त्यो अब स्थानीय तहमा पुगेको छ । यसले स्थानीय निकायहरू आलोचित हुने र भ्रष्टाचारको दलदलमा फस्ने देखिन्छ । यस विषयले संघीय र स्थानीय जनप्रतिनिधिप्रति जनताको विश्वास कम हुँदै जाने देखिन्छ । मन्त्रालयको अधिकार किन स्थानीय तहमा सारियो होला ? हामीले असल नियतबाटै सारिएको भनेर बुझ्नुपर्छ । मन्त्रिपरिषद्, मन्त्रालय र अदालतको निर्णयले गरीब तथा सर्वसाधारण जनताका आफ्नो जीविकोपार्जन गर्न खोजिएका जग्गा पनि विक्री भएनन् । तर भूमाफियाका जग्गा विभिन्न नाममा सगोलनामा गर्ने र अदालतमा गएर मिलापत्र गरी कित्ताकाट गरेर ठूलो रकम चलखेल भयो । त्यो चलखेल विशुद्ध राजनीतिक दलले चुनावी खर्च उठाउने तथा मालपोत तथा नापीका कर्मचारी तथा सो निकाय अन्तर्गतका उच्चपदस्थ अधिकारीले अनुचित लाभ लिने उद्देश्यले भएको थियो । त्यस्तो विकृति र विसंगतिको पर्दाफास हुन्छ भन्ने डरले यो अधिकार अन्यत्र सार्न खोजिएको हो । कृषि भूमिलाई व्यवस्थित र संरक्षण गर्न के गर्नुपर्ला ? यसका लागि भूउपयोग नीति बनाउन जरुरी छ । हाल भूउपयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन छलफलको क्रममा रहेकाले यस विषयमा गृहकार्य भइसकेको र केही हदसम्म काम पनि भइसकेको छ । तर मन्त्रालयले जग्गा कित्ताकाटमा बन्देज गरेपछि कृषियोग्य, औद्योगिक, शहरी, आवासलगायत विषय छुट्ट्याउन जरुरी थियो । तर यसको प्रारम्भिक कार्य अहिलेसम्म भएको देखिँदैन । यसका लागि एक उच्चस्तरीय आयोग बनाई कानून बनाएर स्थानीय तहलाई अधिकार दिनु पर्दछ । व्यवस्थित बसोवासको विकासका लागि नगरविकास प्राधिकरणले नै जिम्मा लिनु उपयुक्त हुन्छ । यस अनुसार काम भएन भने के हुन्छ ? जग्गालाई राम्रोसँग व्यवस्थापन गरिएन भने सम्पूर्ण कृषियोग्य उर्वर भूमिमा जग्गाको कारोबार गर्ने कारोबारीले जथाभावी प्लटिङ गर्नेछन् । त्यसले उत्पादनमा असर पर्छ । त्यसले भोकमरी र अरू समस्या आउनेछन् । अहिले हामीले सोचेभन्दा कहालीलाग्दो अवस्था सृजना हुने देखिन्छ । त्यसैले यस विषयलाई जसरी पनि नियन्त्रणमा ल्याउन जरुरी छ । त्यसका लागि भूउपभोग नीति बनाउन आवश्यक छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)