वित्तीय साक्षरता, गोष्ठी, सम्मेलनलगायत कार्यक्रममार्फत लगानीकर्तालाई प्रोत्साहन गर्न एशोसिएशन अफ इन्भेस्टमेन्ट प्रोफेशनल्स नेपाल (एआईपीएन) स्थापना भएको छ । गत वर्ष कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएको नाफा नबाँड्ने उक्त संस्थाले आज (शुक्रवार) औपचारिक शुरुआत गर्दै छ । १२ जना सदस्यबाट शुरू गरिएको यो संस्थाले सीएफए (चार्टर फाइनान्सियल एनालिस्ट) कोर्स अध्ययन गरेका तथा यसबाहेक करीब ४ वर्ष वित्तीय क्षेत्रमा अनुभव बटुलेका व्यक्तिलाई सदस्यता दिँदै जाने बताएको छ । स्थानीय तथा विश्वव्यापी स्तरमा सीएफए चार्टर होल्डर र अन्य लगानी विज्ञहरूको अन्तरक्रिया गर्ने थलो बनाउन खोलिएको बताउने एआईपीएनका अध्यक्ष डा. मनोज शाहीसँग आर्थिक अभियानकी ममता थापाले गरेको कुराकानी :एआईपीएन स्थापना गर्नुको मुख्य उद्देश्य के हो ?
गत वर्ष कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएको यो नाफा नबाँड्ने कम्पनी हो । यसको मुख्य उद्देश्य भनेको सामाजिक हितका लागि लगानी प्रवद्र्धन गर्ने, पूँजीबजारमा नैतिक व्यावसायिकता स्थापित गर्ने र लगानीकर्तालाई सहज गराउने गरी वित्तीय विश्लेषण तथा विभिन्न अध्ययन गर्ने हो । अन्तरराष्ट्रिय तुलनामा नेपालको पूँजीबजार सानै छ । पूँजीबजार विकासका लागि धेरै कुरा गर्न बाँकी छ । यस क्षेत्रको व्यावसायिकता र विज्ञहरू बढाउँदै लैजान जरुरी छ । अडिट गर्न आधिकारिक (सर्टिफाइड) चार्टर्ड एकाउन्टेन्ट (सीए) चाहिन्छ भने पूँजीबजारमा लगानी व्यवस्थापन गर्न सीएफए । सीएफएले आम ग्राहकलाई लगानीसम्बन्धी विश्वव्यापी मान्यता, व्यावसायिकता र नैतिकतामा केन्द्रित भएको सीएफए पाठ्यक्रमलाई पनि नेपालमा प्रवर्द्धन गर्दै जानुपर्छ ।
सस्तोमा किन्नु महँगोमा बेच्नु भनेको आधारभूत कुरा हो । आधारभूत विश्लेषण सबै देशमा उस्तै हो तर फरक भनेको सन्दर्भ र नीतिगत व्यवस्था हो । अन्तरराष्ट्रिय नीतिगत व्यवस्था भएको आईएफआरएस (अन्तरराष्ट्रिय वित्तीय प्रतिवेदन मान) लाई नेपालले पनि आत्मसात् गर्दै वित्तीय विवरण तयार पार्न एनएफआरएस (नेपाल वित्तीय प्रतिवेदन मान) लागू भइसकेको छ । यदि सीएफए चार्टर होल्डर छन् भने उनीहरूले यसलाई सहज रूपमा बुझ्छन् । सीएफए कोर्सको अन्तरराष्ट्रिय स्तर एउटा छ, तर यसमा अध्ययन गर्ने विषयमध्ये करीब १० प्रतिशत स्थानीय विषय अध्ययन गर्नुपर्ने हुन्छ । यस विषयमा हामी सदस्यलाई सघाउ पुर्याउन सक्छौं ।
तपाईहरूले सीएफए कार्यक्रमलार्ई जोड दिनुको कारण के हो ?
वित्तीय विश्लेषण गर्ने जुनसुकै कामका लागि यो लाभदायी कार्यक्रम हो । लगानी व्यवस्थापन गर्न वित्तीय विश्लेषण जरुरी छ । तथ्यांकीय वित्तीय विश्लेषण, फन्ड व्यवस्थापन गर्न पोर्टफोलियो विश्लेषण, बैंकको क्रेडिट विश्लेषण ( कम्पनी तथा परियोजनामा किन कर्जा प्रवाह गर्ने, कर्जा दिन हुन्छ वा हुँदैन भन्नेबारे), म्युचुअल फन्ड व्यवस्थापन अन्तर्गत भ्यालुएशन लगायतको विश्लेषण गर्न सीएफए कोर्स गरेको विज्ञता आवश्यक पर्छ । पूँजीबजारको हकमा यो कोर्सको अध्ययनले हरेक कम्पनीको आधारभूत र प्राविधिक विश्लेषण गर्ने क्षमताको विकास गर्दछ । दोस्रो बजारमा कुनै कम्पनीको प्रतिशेयर मूल्य २ हजार रुपैयाँ छ भने त्यो मूल्य ठीक छ कि छैन भनेर आधारभूत विश्लेषण गर्न सीएफए चार्टर होल्डर सक्षम हुन्छन् । साथै, जोखिम व्यवस्थापनको विश्लेषण गर्न पनि सकिन्छ । नेपालमा पूँजीबजारमा पनि विदेशी विनिमय जोखिम छ । किनकि नेपालमा रेमिट्यान्स विदेशी मुद्रामा भित्रिन्छ । विदेशी विनिमयमा तलमाथि हुँदा असर पर्छ ।
यो कार्यक्रम अध्ययन गर्न तीन तहको परीक्षा दिनुपर्छ । करीब ३ वर्षमा अध्ययन सकिन्छ । अध्ययनले मात्र हुँदैन, ४ वर्ष जतिको वित्तीय क्षेत्रमा काम गरेको अनुभव पनि चाहिन्छ ।
संस्था शुरू गरिएको छ, अब बजारबाट सीएफए चार्टर होल्डरलाई कसरी समेट्नु हुन्छ ?
यो नियामक संस्थाको रूपमा दर्ता भएको संस्था हो । यो रूपमा हामी अहिले छैनौं । हामीले स्वनियमनकै आधारमा काम गर्ने हो । बजारमा चार्टर फाइनान्सिङको फाइदाबारे बुझाउँछौं ।
तपाईहरूले पूँजीबजारको विश्लेषण गर्ने भन्नुभएको छ । यस्तो विश्लेषण शुरू गरेपछि अब समग्र पू“जीबजार विकासमा तपाईको भूमिका कस्तो हुन्छ ?
हामीले अब विस्तारै अन्तरराष्ट्रिय स्तरमा हुने चुनौतीका कार्यक्रम गर्नेछौं । जस्तै, सम्पत्ति मूल्यांकन (इक्विटी भ्यालुएशन) कुन आधारमा गर्ने, के के हेर्ने भन्ने जानकारीका लागि कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । लगानीकर्तालाई कुन कम्पनीको शेयर किन्ने, होल्ड गर्ने वा बेच्ने भन्नेबारे निर्णय गर्न विश्लेषण आवश्यक पर्छ । यसबारे विश्वविद्यालयलाई सहभागी गर्नेछौं ।
त्यसो भए पूँजीबजार सुधारमा के के गर्ने योजना बनाउनु भएको छ ?
हामी सम्भव भएसम्म सञ्चार माध्यममार्फत लगानीकर्तालाई सचेत गर्ने लेखलगायत सामग्री दिनेछौं । हामी आधारभूत तथा प्राविधिक विश्लेषणबाट पनि सुझाव दिन सक्छौं । सकेसम्म सर्वसाधारणले बुझ्ने गरी सुझाव दिन्छौं । सबैले जोखिमबारे बुझ्न जरुरी छ । लगानी गरिएको कम्पनीबारे ज्ञान हुनुपर्छ र बुझ्दै नबुझी अरूले जबर्जस्ती किन र बेच भनेको भरमा कारोबार गर्नुहुँदैन । हामीले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत् कम्पनीलगायतमा लगानी गर्दा मूल्यांकन कसरी गर्ने भन्ने सिकाउँछौं । हामी विभिन्न कार्यशाला गोष्ठी, सम्मेलन गरेर पूँजीबजारबारे जनचेतना फैलाउन सक्छौं ।
यस्ता कार्यक्रममा लगानीकर्ता कसरी सहभागी हुन सक्छन् ?
हामी नाफारहित संस्था भए पनि सञ्चालन खर्च आवश्यक पर्ने भएकाले कुनै शुल्कसहित त कुनै शुल्करहित कार्यक्रम गर्नेछौं । संस्थाको सदस्यता शुल्कले मात्र चल्दैन ।
एआईपीएनले नियमन निकायसँग कस्तो सहकार्य खोजेको हो ?
नियमन निकायले सुझाव मागेको बेला अन्तरराष्ट्रिय वित्तीय क्षेत्रमा भएका राम्रा अभ्यासलाई हेरेर प्रस्तावित नीतिनियमबारे सुधार गर्न सुझाव दिन्छौं । नियमन निकायलाई पनि सुझावको खाँचो पर्छ । हामीले यसबारे काम पनि शुरू गरिसक्यौं । हामी नियामक निकायलाई अन्तरराष्ट्रिय स्तरको सीएफए इन्स्टिच्युटका स्रोतलाई प्रयोग गरेर केही गर्न सक्छौं । नियामक निकाय, लगानीकर्ता, विश्लेषक हरेकका लागि नयाँ प्रविधि, विकासबारे जान्न जरुरी छ । अहिले बजारमा नेप्से ओरालो लाग्यो भनेर गुनासो गर्छन् । लगानीमा सबैलाई ‘बटम’ र ‘टप पिक’ गर्न गाह्रो हुन्छ । वास्तविक अर्थतन्त्रमा राम्रो वृद्धि भए मात्र त्यसले वित्तीय क्षेत्रमा वृद्धि गराउने हो । अहिले पूँजीबजारमा सूचीकृत कम्पनी करीब ९५ प्रतिशत वित्तीय क्षेत्रका छन् । प्रायः यस्ता कम्पनीले धितोमा आधारित भएर कर्जा दिने गर्छन् । अर्थात् उनीहरू सुरक्षित छन् । जोखिममा छैनन् । अन्त्यमा जोखिम सबै गएर रियल सेक्टरमा पर्छ । यस्तो जोखिम नेपालमा बढी छ । हुन त संसारभरि नै रियल सेक्टरको कारण जोखिम व्योहोर्नु परेको अवस्था छ । नेपालमा समग्र पूँजीबजार विकास गर्ने हो भने उद्योगको विकास गर्नुपर्छ । खास अर्थतन्त्रको विकास गर्नुपर्छ । यस्तो विकास गर्ने नीति भएमा उद्योग र कलकारखाना फस्टाउँछन् । यसले पूँजीबजारको समेत स्थायित्व हुन्छ ।
नेपालमा पूँजीबजार खासै वृद्धि हुन सकेन भन्नुभयो । के नीतिगत व्यवस्थाको कारणले नै पूँजीबजार वृद्धि हुन नसकेको हो त ?
मेरो भनाइ ऋणपत्र बजार (डेब्ट मार्केट) सोचेजस्तो चलेको छैन भन्ने हो । काठमाडौंको अन्तर बैंकदर सार्वजनिक हुने व्यवस्था छैन । व्यवस्था गरे राम्रो हुन्छ । यसो भयो भने सबैको दर एउटै हुन्छ र सबैलाई थाहा पनि हुन्छ । यस्तो व्यवस्था हुँदा फ्लोटिङ लेन्डिङ गर्न सकिन्छ । काठमाडौं अन्तर बैंकदरमा थप यति भनेर ब्याजदर निर्धारण गर्न सकिन्छ । भोलि यसको आधारमा डेरिभेटिभ बनाउन सकिन्छ ।
अर्को कुरा नेपालमा ऋणको खरीदविक्री (लोन ट्रेडिङ) हुँदैन, यद्यपि अहिले भर्खर हुन थालेको छ भन्ने सुनेको छु । यस्तो कारोबार बैंकबीच मात्र हुनुपर्छ भन्ने छैन, कुनै कम्पनीले पनि ऋण किन्न सक्छन् । यस्तो नीतिगत व्यवस्था ल्याउनुपर्छ । यसो भएमा कर्जाबाट तरल बनाउन सकिन्छ ।
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) घट्नुको कारण के जस्तो लाग्छ ?
संसारमा २ सयभन्दा बढी देश छन् । लगानीकर्ताले प्रतिफल नै हेर्ने हो । उनीहरूलाई कम जोखिममा बढी प्रतिफल अरू देशबाटै आउँछ भने किन नेपाल आउँछन् ? यस्तो लगानी नेपालमा भिœयाउने हो भने शुरूमा सरकारले नै केका लागि ल्याउने भनेर ध्यान दिन जरुरी छ । यस्ता लगानी नभित्रिएका पनि होइनन् । जस्तै सिमेन्ट फ्याक्ट्रीमा लगानीको प्रतिफल राम्रो देखेर आएका छन् । यस्तै, नेपालमा डाबर, युनिलिभर, केएफसी जस्ता कम्पनी बजार सम्भावना देखेर आए । उनीहरू वित्तीय सुरक्षा खोजेर आएका त होइनन् । जलविद्युत् जस्ता केही जोखिमका परियोजनामा विदेशी लगानीलाई प्रोत्साहन गर्न सरकारले नीतिगत रूपमा उदारवादी हुनुपर्छ जस्तो लाग्छ । पूर्वाधार विकासको हकमा भने सरकारले नै लगानी गर्दा प्रभावकारी हुन्छ । चीन, जापान, अमेरिकाजस्ता मुलुकको पूर्वाधार विकास सरकारकै लगानीमा भएका हुन् ।
अब तपाईहरूले पूँजीबजार विकासमा के के गर्ने योजना बनाउनु भएको छ ?
यो हाम्रो शुरुआत हो । संस्थाका हामी सबै स्वयंसेवी हौं । हामी सबै आआफ्नै पेशामा आबद्ध छौं । फुर्सदमा हामी काम गर्छौं । हामी अहिले १२ जना छौं । हाम्रो उद्देश्य यसलाई बढाउँदै जाने रहेको छ । सदस्य र हाम्रो आम्दानीको स्रोत पर्याप्त भएपछि अनुसन्धान डिभिजन खोल्न सक्छौं । यसले बजारको विश्लेषण गर्न सकिन्छ । साथै, वित्तीय साक्षरतामा काम गर्न सकिन्छ । समय लाग्छ । हामीले चार्टर होल्डर बढाउनु छ । उहाँहरूलाई रोजगारीको अवसर प्रदान गर्नेछौं । सीएफए चार्टर होल्डरमार्फत सरकारलाई सघाउन सक्छ भनेर लविङ गर्नेछौं । सरकारले सधै विश्व बैंकजस्ता अन्तरराष्ट्रिय संस्थासँग सहकार्य गर्नुपर्दैन । सीएफए चार्टर होल्डरले समेत त्यस्तो काम गर्न सक्छन् ।