हिमाल आरोहण पदयात्रा रेस्क्यूमा अस्पतालको भूमिका हुँदैन
Feb 15, 2019
 
अन्तरवार्ता
नेपालका हिमाल आरोहण तथा पदयात्रामा पर्यटकको ‘फेक रेस्क्यू’ हुने र त्यसमा नेपालका अस्पताल, हेलिकोप्टर तथा ट्रेकिङ कम्पनी संलग्न रहने गरेको भन्दै विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यममा प्रसारित तथा प्रकाशित समाचारले नेपालको पर्यटन र स्वास्थ्य क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । यस प्रकरणमा संलग्न रहेको भनी आरोपित निजी अस्पताल र नेपाल हेलिकोप्टर सोसाइटीले विज्ञप्ति जारी गरी यस कार्यमा आफूहरूको संलग्नता नरहेको स्पष्टीकरण दिएका छन् । निजी अस्पतालहरूको छाता संस्था एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टच्युशन नेपाल (अफिन) र नेपाल हेलिकोप्टर सोसाइटीले नेपालको पर्यटन र स्वास्थ्य क्षेत्रलाई बदनाम गर्न बेलायतको एक बिचौलिया कम्पनी सक्रिय रहेको तथ्य बाहिर ल्याएका छन् । प्रस्तुत छ– फेक रेस्क्यू प्रकरण, रेस्क्यूमा अस्पतालको भूमिका र पछिल्लो समय नेपालको ट्राभल मेडिसिनको अवस्थाबारे सिवेक अस्पताल (सीआईडब्ल्यूएसी)का प्रबन्ध निर्देशक डा. प्रतिभा पाण्डेसँग आर्थिक अभियानका टीपी भुसालले गरेको कुराकानीको अंश :नेपालका हिमाल आरोहण तथा पदयात्रामा हुने गरेको पर्यटकको ‘फेक रेस्क्यू’मा निजी अस्पताल संलग्न रहेको भनिएको छ । यथार्थ के हो ?
पहिलो कुरा त रेस्क्यू किन गरिन्छ । कस्तो कस्तो अवस्थामा गरिन्छ भन्ने बुझ्न जरुरी छ । नेपालमा खासगरी हिमाल आरोहण र टे«किङका क्रममा तल्लो सतह र माथिल्लो सतहमा लेक लाग्ने गर्छ । उपल्लो सतहमा लेक लाग्दा उद्धार गर्नुपर्ने हुन्छ । यसलाई मेडिकल ट्रममा भन्दा एक्विट मेडिसिन सिक्नेस (एएमएस), हाईअल्टिच्युट पल्मोनरी इडुमा (एचएपीई) र हाईअल्टिच्युट सेरेब्रल इडुमा (एचएसीई) भनिन्छ । पहिलो भनेको सामान्य उचाइमा पुग्दा हुने एक खालको बिरामीपन हो । पहिलो अवस्थामा बिरामीलाई त्यहीँ राखेर उपचार गर्दा वा त्यो सतहभन्दा केही तल ल्याउँदा आफै पनि ठीक हुन सक्छ । तर अर्को दुई खालको समस्या भनेको हाईअल्टिच्युडमा हुन्छ । यस्तो समयमा उद्धार गरिएन भने मानिसको मृत्यु पनि हुन सक्छ । विदेशी पर्यटक प्रायः पहिलोपटक त्यस्तो हाईअल्टिच्युडमा पुगेको हुन सक्छ । आफ्नो ज्यानको जोखिम हुने देख्यो भने उसले आफ्नो स्वास्थ्यका लागि उद्धार खोज्नु स्वाभाविक हो । किनकि उसले त्यस्तै जोखिमपूर्ण यात्राका लागि स्वास्थ्य बीमा गरेको हुन्छ । उद्धारमा हेलिकोप्टर कम्पनी खट्ने गर्छन् । यो त राम्रो कुरा हो । जसरी निजी अस्पताललाई जोडेर प्रचार गरिएको छ, त्यो सत्य होइन । अस्पतालको पहिलो कर्तव्य त्यहाँ आएको बिरामकिो उपचार गर्नु हो ।
फेक रेस्क्यू प्रकरणमा निजी अस्पतालको नाम जोडिनुको कारण के हो त ?
कुनै पनि अस्पताल पदयात्रा तथा हिमाल आरोहणका लागि नेपाल आउने कुनै पनि पर्यटकको उद्धार (रेस्क्यू)मा कुनै पनि तवरबाट प्रत्यक्ष संलग्न हुँदैनन् । आएका बिरामीको उपचार प्रदान गर्नु अस्पताल र डाक्टरको कर्तव्य हो । यही विश्वास नै बिरामी र डाक्टर बीचको मूल सम्बन्ध हो । उपचार गरेको विषयलाई अतिरञ्जित गरी प्रचार गर्दा नेपाली निजी अस्पतालको शाख खस्किएको छ । ‘ट्राभलर एसिस्ट’ नामक बेलायतको एक बिचौलिया कम्पनी निजी स्वार्थपूर्तिका लागि नेपालको चिकित्सा तथा समग्र पर्यटन क्षेत्रलाई अन्तरराष्ट्रिय रूपमा बदनाम गराउन लागिपरेको स्पष्ट देखिएको छ । यसमा त नेपाल सरकार आफै गम्भीर हुनुपर्ने हो ।
‘ट्राभलर एसिस्ट’ नामक बिचौलिया कम्पनी यसरी नेपाललाई बदनाम गर्न लाग्नुको कारण के होला ?
नेपाल पर्यटन वर्षको तयारीमा रहेको समयमा यस्ता गलत प्रचार गरिनु नेपालको स्वास्थ्य सेवा र पर्यटनलाई अन्तै मोड्ने प्रयास हुन सक्छ भन्ने मेरो धारणा हो । किनभने कुनै बेला विदेशीहरू सिंगापुरमा उपचारका लागि जाने गर्थे, पछि त्यो बजार थाइल्यान्डले लग्यो । अहिले भारतले पनि त्यो प्रयास गरेको छ । यसरी नेपालको बढ्दो पर्यटन क्षेत्र र अस्पतालको सेवालाई अन्तै मोड्ने एउटा प्रयास र अर्को आफूलाई ‘ट्राभलर एसिस्ट’का प्रतिनिधि रूपमा बताउने ड्यानी काइनले विदेशी पर्यटकको स्वास्थ्य बीमा व्यवसाय ब्ल्याकमेलिङबाट आफ्नो पक्षमा पार्ने गलत अभिप्राय हो भन्ने देखिन्छ ।
यस प्रकरणमा (अफिन)ले पनि आफ्ना संस्थाको संलग्नता नभएको भन्दै विज्ञप्ति जारी गरेको छ । यो प्रकरणमा निजी अस्पतालको कुनै भूमिका नै छैन त ?
नेपालको मेडिकल क्षेत्रमा विकृति नै छैनन् भनेर भन्न सक्ने अवस्था छैन । सामान्य स्वास्थ्य जाँचदेखि आईसीयू, अप्रेशनदेखि अन्य विभिन्न स्वास्थ्य सेवामा कमिशन छ भनेर सुनिँदै आएको र कतिपय अवस्थामा त्यो देखिएकै पनि छ । पछिल्लो समय अस्पताल सञ्चालक कतिपयले हेलिकोप्टर र टे«किङ कम्पनीमा पनि लगानी गरेको अवस्थामा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’का कारण कहीँ कतै बदमासी भयो होला । कसैले गलत गरेको छ भने कारबाही गर्ने निकाय त नेपाल सरकार हो, उसले गर्नुपर्यो । सबैलाई एउटै डालोमा हालेर हेर्नु भएन नि । जहाँसम्म सिवेकको कुरा छ, हामी न कसैलाई कमिशन दिन्छौं न लिन्छौं । र फेक रेस्क्यूमा पनि हाम्रो कुनै खालको संलग्नता छैन ।
सिवेक कस्तो अस्पताल हो ? यहाँ कस्ता कस्ता सेवा उपलब्ध छन् ?
यो संस्था सन् १९८२ देखि १९९६ सम्म क्यानेडियन दूतावास अन्तर्गत रहेर सञ्चालित थियो । त्यति बेला यो संस्था मेल्ला नर्सिङ होमको रूपमा सञ्चालित थियो । १९९६ पछि दूतावासले अब आफ्नो ढंगले सञ्चालन गर भनेर दिएपछि अमेरिकन र नेपाली ज्वाइन्ट भेञ्चरका रूपमा सिवेक अस्पतालको रूपमा यो अस्पताल सञ्चालनमा छ । यसको विश्वभर रहेका अन्य केन्द्रहरू सिवेक क्लिनिककै नामले चिनिन्छन् । यो जनरल अस्पताल नै हो । सिवेक फाउन्डेशन अन्तर्गतको यो अस्पताल १५ शय्याको अस्पताल हो । यहाँ अन्तरंग, बहिरंग सेवा, आईसीयू र अप्रेशन सेवा उपलब्ध छ । यस्तै पोखरामा पनि ७ शय्याको अस्पताल छ । यो अस्पतालको मुख्य लक्ष्य ट्राभल मेडिसिन सेवा प्रदान गर्नु हो । यसमा पहिलो, नेपाल आएका विभिन्न देशका नागरिक र नेपालीलाई स्वास्थ्य सेवा प्रदान गर्ने र अर्को, उनीहरूलाई एक देशबाट अर्को देश जाने क्रममा आवश्यक स्वास्थ्य उपचार र परामर्श दिने गरिन्छ । एक देशबाट अर्को देश जाँदा वा विदेशबाट नेपालमा आउनेका लागि यो सेवा प्रदान गरिन्छ । यसका लागि हामीसँग विशेष अर्को ट्राभल मेडिसिनको समूह नै सक्रिय छ । अर्को, हामीले ट्राभल मेडिसिनबारे विभिन्न अनुसन्धान गर्ने गरेका छौं । मुख्य रूपमा सिवेकले अहिले यिनै सेवा प्रदान गर्दै आएको छ ।
यस अस्पतालमा आउने बिरामीमा विदेशी र नेपालीको संख्या कस्तो छ ?
हाम्रो अस्पतालमा जनरल प्राक्टिशनरहरू हुनुुहुन्छ । नेपाल आउँदा विशेषज्ञ सेवाभन्दा पनि सामान्य बिरामी पर्दा पनि आउनुहुन्छ । हामी यहाँ गर्न नसकिने वा विशेषज्ञ सेवा आवश्यक पर्ने भयो भने विशेषज्ञ सेवा उपलब्ध भएका ठाउँमा रिफर गर्छौं । औसत ९० प्रतिशत विदेशी र १० प्रतिशत मात्र नेपाली बिरामी हुन्छन् ।
नेपालको स्वास्थ्य सेवामा गुणस्तर कस्तो छ ?
नेपालमा पछिल्लो समय स्वास्थ्य सेवामा धेरै सुधार आएको छ । निजीक्षेत्रबाट राम्रो अस्पतालले स्तरीय सेवा प्रदान गरिरहेका छन् । पछिल्लो समय नेपालको स्वास्थ्य क्षेत्रमा उपचारका नयाँ प्रविधि र सेवा भित्रिएका छन् । यस कारण उपचारका लागि विदेश गइहाल्नुपर्ने अवस्था छैन । तर पनि विभिन्न कारण धेरै नेपाली उपचारका लागि विदेश जाने गरेका छन् ।
नेपाली अस्पतालमा गुणस्तरीय सेवा छैन भनेर बाहिर जाने क्रम नरोकिएको हो वा त्यो खालको विश्वसनीयता कायम गर्न नसकेर हो ?
आम नागरिकमा जति प्रचार पुग्नुपर्ने हो, त्यो नपुगेको होला । तैपनि स्वदेशकै अस्पतालमा उपचार गराउने नेपाली बढेका छन् । खासगरी नेताहरू विदेश जाने क्रम अझै रोकिएको छैन । उनीहरू उपचारका लागि विदेश जाँदा राज्यकोषको ठूलो रकम खर्च हुन्छ । उनीहरूले नेपालमै गुणस्तरीय स्वास्थ्य सेवाका लागि काम गर्नुपर्ने हो । यहाँको सेवा विश्वसनीय बनाउन योगदान दिनुुपर्ने हो, तर त्यस्तो भइरहेको छैन ।
स्वास्थ्य सेवा सुधारमा राज्यले कस्तो भूमिका हुनुपर्छ ?
नेपालमा निजी अस्पताललाई मापदण्ड लाग्ने, सरकारी अस्पताललाई नलाग्ने अवस्था छ । अहिले सरकारले विदेशी बिरामीको उपचारका लागि पनि शुल्क निर्धारण गर्ने नीति बनाउँदै छ भन्ने सुनिएको छ । यसो हुनु हुँदैन भन्ने हाम्रो माग हो । हामीले विभिन्न बीमा कम्पनीसँग सम्झौता गरेका हुन्छौं । उनीहरू बीमा कम्पनीबाट विभिन्न प्याकेज लिन्छन् र सोही अनुसार उपचार गर्छन् । यसले गर्दा राज्यले विदेशी मुद्रा पनि आर्जन गरेको छ । यसरी नियन्त्रण गर्ने प्रयासले नकारात्मक पर्छ भन्ने हाम्रो धारणा हो ।