भारतको राजधानी दिल्लीमा रहेको एपोलो हस्पिटल भारतका ठूला अस्पतालमध्ये पर्छ । सबैजसो रोगको उपचार हुने उक्त अस्पतालका वरिष्ठ क्लिनिकल डाइरेक्टर हुन् डा. सुजितकुमार चौधरी । भारत र बेलायतमा उच्च शिक्षा अध्ययन गरेका डा. चौधरीले बालबालिका र वयस्कको मिर्गौला तथा मूत्राशयसँग सम्बन्धित रोगको उपचारमा विशेषज्ञता हासिल गरेका छन् । भारत, हङकङ, बेलायत र यूरोपका विभिन्न मुलुकमा काम गरेका उनको पेड्रियाटिक शल्यक्रियामा डेढ दशकभन्दा बढी समयको अनुभव छ । प्रस्तुत छ, विभिन्न उमेर समूहमा देखिने मिर्गौलाको समस्या, लक्षण, उपचार प्रविधि लगायत विषयमा आर्थिक अभियानका निर्भीक रायमाझीले उनीसँग गरेको कुराकानीको सार :बालबालिकामा हुने पिसाबथैली र मिर्गौलाको समस्या कस्तो रोग हो ?
वयस्कलाई मात्रै नभएर बालबालिका वा भर्खरै जन्मेका शिशुमा पनि मिर्गौला र मूत्राशयको समस्या देखिने गर्छ । झन् दक्षिण एशियाका कुल बालबालिकामध्ये १ प्रतिशतमा यस्तो समस्या भएको पाइएको छ । यो समस्या देखिनेबित्तिकै उपचार गराइहाल्नुपर्छ । अन्यथा उमेर बढ्दै गएपछि समस्या थप जटिल बन्दै जान्छ । यसका लागि सर्वप्रथम त हामीले मिर्र्गौलाको कामबारे प्रस्टरूपमा बुझ्नुपर्छ । मिर्गौला मानव शरीरको अति महत्त्वपूर्ण अंग हो । यसले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । मिर्गौलाले हाम्रो रगतमा पानी, नून तथा अन्य खनिज पदार्थलाई सन्तुलित राख्छ । जब मिर्गौलाको कार्यक्षमता कम हुन्छ वा फेल हुन्छ, शरीरमा रहेको विषाक्त रासायनिक पदार्थ, तरल पदार्थ आदि बाहिर निस्कन पाउँदैन । मिर्गौलाको जटिल समस्या भनेको यो खराब भएको अन्तिम अवस्थामा मात्र थाहा हुने गर्छ । साथै उपचार पनि महँगो हुन्छ । सबै उमेर समूहका मानिसले यसबारे ध्यान पुर्याउनुपर्छ ।
यस रोगका लक्षण केके हुन् ?
मिर्गौला सुन्निने, मिर्गौलामा ट्युमर पलाउने, पिसाब गर्दा अत्यधिक पोल्ने, पिसाब चुहिने आदि यसका प्रमुख लक्षण हुन् । तर बालबालिका र वयस्कमा देखिने लक्षणमा अलिकति भिन्नता हुन्छ । वयस्कमा यौनशक्तिमा कमी आएको महसूस हुने, पिसाब गर्न बल गर्नुपर्ने, राति पिसाब गर्न पटकपटक उठ्नुपर्ने, पिसाब लागेपछि रोक्न नसकिने हुने, नाइटोदेखि अण्डकोषको भाग दुख्ने, मलद्वारदेखि अण्डकोषसम्मको भाग दुख्ने, पिसाब ननिख्रने जस्तो हुने वा पिसाब लागिरहेकोजस्तो हुने समस्या देखिन्छ ।
बालबालिकामा विशेष रूपमा देखिने समस्या चाहिँ के के हुन् ?
बालबालिकामा पिसाबमा संक्रमण देखिने, राति सुत्दा पिसाब लाग्ने, मिर्गौलामै समस्या देखिए मूत्रप्रणाली कमजोर हुने लगायत लक्षण देखिन्छ । यस्तै साना बच्चामा मूत्रमार्गमा संक्रमण (यूटीआई) भए त्यसको लक्षण ज्वरो हुन सक्छ । कम खाना खाने, बान्ता गर्ने, धेरै सुत्न मन गर्ने वा जन्डिसका संकेतहरू देखिएमा पनि मूत्राशयको संक्रमण भएको हुन सक्छ ।
यो समस्याको समाधानका उपाय र उपचार विधि के कस्ता छन् ?
मिर्गौलाको रोग लाग्दा शुरूमा त निदान नै गरिन्छ । समस्या देखिएपछि पहिला अल्ट्रासाउन्ड गरेर हेर्नुपर्छ । विशेषज्ञकहाँ देखाएपछि मात्र के भएको थाहा हुन्छ । यसपछि आवश्यक औषधी सेवन गर्ने र त्यसले भएन भने शल्यक्रिया नै गर्नुपर्छ । शल्यक्रियाका लागि अहिले रोबोटिक सर्जरी प्रचलनमा आएको छ । बालबालिकामा देखिने मिर्गौला र मूत्राशयको समस्यामा पनि यो सर्जरीबाट शल्यक्रिया गरिन्छ ।
रोबोटिक सर्जरी भनेको के हो ?
रोबोटिक सर्जरी नयाँ उपचार विधि र नवीनतम प्रविधि हो । यसमा पुरानो तरिकामा जस्तो शरीरको भाग चिरेर शल्यक्रिया गर्नुपर्ने हुँदैन । यो रोबोटको सहायतामा गरिने शल्यक्रिया हो । यस्तो प्रकृतिको शल्यक्रियामा सर्जनले बिरामीको शरीरमा मसिना चिरा पार्छ र भित्र थ्रीडी क्यामेरा पनि फिट गरिएको हुन्छ । दूरविनको माध्यमबाट सानो प्वाल बनाएर उपचार गरिन्छ । चिकित्सक कम्प्युटरमा बस्छ र उसले बिरामीको भित्री अंग हेर्न सक्छ । त्यसपछि साना रोबोटिक हातको सहायतामा शल्यक्रिया गरिन्छ । सुईजस्ता सानासाना रोबोटिक हात शल्यक्रिया गर्नुपर्ने सम्बन्धित ठाउँमा पुर्याएर शल्यक्रिया गरिन्छ । यसरी शल्यक्रिया गर्दा शरीरका धेरै भाग चिर्नु नपर्ने हुनाले बिरामीलाई दुःखाइ कम हुने र रगत पनि कम आउने हुन्छ । संक्रमणको सम्भावना पनि एकदमै कम हुन्छ । यो विधिबाट शल्यक्रिया गरेको ७ दिनभित्रै बिरामीलाई सञ्चो हुन्छ ।
नेपालका अस्पतालमा यस किसिमको शल्यक्रिया पद्धति रहेको पाइँदैन । एपोलो अस्पतालले भने प्याकेजमै यसको प्रचार गर्ने गरेको छ । जुन सहज र सस्तो पनि छ । यसरी एउटा रोगको उपचार प्याकेजमै गर्ने व्यवस्था हामीले पहिलोपटक ल्याएका हौं । यो प्रविधिबाट बच्चाको उपचार २ लाखदेखि साढे २ लाख रुपैयाँमै सकिन्छ । रोबोटिक सर्जरीमा एशियामा यस अस्पतालले नाम कमाएको छ ।
मिर्गौला र मूत्राशयसँग सम्बन्धित रोगबाट बच्ने दीर्घकालीन उपाय के–के हुन् ?
यसका लागि व्यक्तिगत स्वास्थ्मा बढी ध्यान पुर्याउनुपर्छ । खानेकुरामा नून र फस्फोरसको मात्रा कम हुनुपर्छ । पोटासियम पनि नियन्त्रित हुनुपर्छ । यस्तो अवस्थामा केरा फाइदाजनक मानिन्छ । यसमा कम मात्रामा प्रोटिन हुन्छ । तरल पदार्थ सीमित मात्रामा लिनुपर्छ । उसिनेको सब्जी मात्र सेवन गर्ने तथा तारेको, भुटेको र मसलेदार खानेकुरा कम खानाले मिर्गौला र मूत्राशयसँग सम्बन्धित रोगबाट बच्न सकिन्छ ।
मूत्रनली र पिसाबमा हुने संक्रमण महिलामा बढी देखिन्छ कि पुरुषमा ?
पुरुषको तुलनामा महिलामा पिसाब संक्रमण बढी हुने गर्छ । किनभने महिलामा कुनै एक नलीमा भएको संक्रमण अर्कोमा सजिलै सर्ने सम्भावना हुन्छ । महिलाको पिसाब गर्ने नली सानो हुन्छ, जम्मा ४ सेन्टिमिटरको । पाठेघर र दिसा आउने बाटो पिसाबनली नजिकै हुन्छ । महिलाको दिसा र पिसाब गर्ने ठाउँ नजीकै हुने भएकाले ब्याक्टेरिया सीधै पिसाब थैलीमा पुग्ने सम्भावना बढी हुन्छ । यस्तै पुरुषको पिसाब नली लामो हुने भएकाले पिसाब थैलीमा संक्रमण हुने सम्भावना कम हुन्छ । केही अवस्थामा पिसाब नलीबाटै ब्याक्टेरिया भित्रिएर संक्रमण हुन्छ । पिसाब फेर्दा राम्ररी ननिख्रिए, पिसाब नली साँघुरो भए तथा पिसाब माथि नै फर्किए संक्रमण हुन्छ ।