ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विना धितो ऋण लगानी गर्न डराएका छौं

Mar 7, 2019  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
संघीय संरचनाअनुसार दुई जिल्लामा विभाजन भएसँगै रुकुममा आर्थिक गतिविधि शून्यप्रायः छ । ठूलाठूला उद्योगधन्दा खुलिनसकेको अवस्थामा जिल्लामा घरजग्गा कारोबार, होटेल व्यवसाय र अन्य व्यवसायमा समेत ठूलो गिरावट आएको छ । यस्तो अवस्थामा किसानको घरआँगनको बैंक कृषि विकास बैंकले आफ्ना गतिविधि कसरी अगाडि बढाएको छ ? कृषि विकास बैंकका आगामी योजना कस्ता छन् ? र रुकुम जिल्लामा कृषि क्षेत्रमा लगानीको अवस्था कस्तो छ ? भन्ने विविध विषयमा केन्द्रित रही कृषि विकास बैंक, रुकुमका प्रबन्धक प्रकाशकुमार श्रेष्ठसँग आर्थिक अभियान दैनिकका लागि संवाददाता प्रवीर ददेलले गरेको कुराकानीको सार : रुकुम जिल्लाको समग्र बैंकिङ क्षेत्रको अवस्था कस्तो छ ? रुकुम जिल्ला भौगोलिक हिसाबले निकै सुन्दर जिल्ला भए पनि आर्थिक दृष्टिकोणले कमजोर जिल्लाको रूपमा रहेको छ । विशेषगरी संघीय संरचनामा रुकुम दुई जिल्लामा विभाजन भएकाले पछिल्लो समय रुकुमको सदरमुकाम आसपासमा घरजग्गा कारोबार न्यून रहेको छ । यस क्षेत्रमा ठूला–ठूला उद्योगधन्दा कलकारखाना नहुनु र पछिल्लो समय व्यापार व्यवसायका साथै होटेल व्यवसायमा समेत गिरावट आएका कारण आर्थिक गतिविधि शून्यप्रायः छ । तर कृषि, जडीबुटी र जलविद्युत् क्षेत्रको सम्भावना निकै राम्रो रहेको छ । यस क्षेत्रमा लगानी प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको छ । रुकुममा कृषि विकास बैंकले कुनकुन क्षेत्रमा लगानी गरेको छ ? रुकुममा कृषि विकास बैंक २०३० सालमा स्थापना भएको हो । चालू आवमा मात्रै यस बैंकले २८ करोड रुपैयाँ लगानी गरेको छ । यस बैंकमा विपन्न किसानदेखि उद्योगी व्यापारीसम्मको सहज पहुँच भएकाले सबै क्षेत्रमा लगानी भएको छ । तापनि कृषि विकास बैंक किसानको बैंक भएका कारण कृषि क्षेत्रमा बढी लगानी गरिएको छ । कृषिमा कुल लगानीको ३५ प्रतिशत लगानी गरिएको छ । यसका साथै व्यापार, घरायसी, सेवालगायत क्षेत्रमा लगानी गरेका छौं । आगामी दिनमा कृषिक्षेत्र सँगसँगै व्यापार, पर्यटनजस्ता क्षेत्रमा लगानी गर्ने योजना रहेको छ । साथै, आकर्षण ब्याजदरमा नयाँ बचत योजना ल्याउने तयारी गरेका छौं । कृषि विकास बैंकले ग्राहक आकर्षित गर्न केकस्ता योजना अघि सारेको छ ? कृषि विकास बैंकमा ग्राहकको आकर्षण बढी नै छ । तापनि बैंकको ५२औं वार्षिकोत्सवको अवसरमा केही ग्राहक लक्षित योजना अघि सारिएका छन् । जसमा अनलाइन बैंकिङ सेवा, एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एएसबीए र सीएएसबीए जस्ता अत्याधुनिक सेवासमेत सञ्चालन गर्ने तयारी गरेका छौं । यसका साथै ग्राहक लक्षित निक्षेपतर्फ एडीबीएल तलबखाता, शेयर होल्डर बचत खाता, कृषक बचत खाता, बाआमा बचत खाता, चेतनशील नारी बचत खाताजस्ता खाता सञ्चालन गर्ने तयारी भइरहेको छ । आगामी चैतदेखि आधुनिक र निक्षेपतर्फ आकर्षित खाताहरू सञ्चालन हुनेछन् । एडीबीएल बचतखाता सञ्चालन गर्ने निक्षेपकर्तालाई कम ब्याजदरमा संस्थागत जमानतमा कर्जा उपलब्ध गराउने नयाँ योजना रहेको छ । अरू बैंक र कृषि विकास बैंकमा फरक के छ ? कृषि विकास बैंकमै कारोबार गर्नुपर्ने कारण ? कृषि विकास बैंकको आफ्नो छुट्टै छवि छ । यो बंैक स्थापना भएको ५२ वर्ष भयो । यसको पहुँच गाउँका निमुखा किसानदेखि ठूला व्यापारी घरानासम्म रहेको छ । बैंकको नामले गर्दा पनि किसान बढी आकर्षित छन् । त्यस्तै, सरकारी बैंक भएकाले पनि किसान मजदुरको ध्यान केन्द्रित भएको हुन सक्छ । कृषि विकास बैंक, रुकुममा लामो समयदेखि तरलता अभाव रहेको समाचार बाहिर आइरहेका छन् । यस्तो समस्या समाधान गर्ने केकस्ता उपाय अपनाउनु भएको छ ? कृषि विकास बैंकको रुकुम शाखामा मात्र होइन, सबैतिर केही समय तरलता उत्पन्न भएको थियो । अहिले रुकुम शाखामा तरलता अभाव हटेको छ । बैंकले अहिले नयाँनयाँ प्रोडक्ट पनि ल्याएको छ । बचतमा राम्रो ब्याज पनि दिएको छ । कृषि विकास बैंकमा गरीब किसानको पहुँच नपुगेको जनगुनासो सुन्न पाइन्छ, यस विषयमा के भन्नुहुन्छ ? त्यो साँचो होइन । किनभने सबैभन्दा बढी कृषि क्षेत्रमा लगानी गरेका कारण पनि यस्तो गुनासो सही हो जस्तो लाग्दैन । हुन सक्छ, हाम्रो मापदण्डभन्दा बाहिर भिरपाखामा रहेका जग्गा धितो राखेर ऋण लिन खोज्ने किसानले यस्तो गुनासो गर्नुहुन्छ होला । तर, बैंकको मापदण्डभित्र रहेर ऋण खोज्ने किसानलाई लगानीका लागि ऋण दिन कृषि विकास बैंक सधै तयार छ । केही वर्षपहिले यस बैंकले लागू गरेको युवा स्वरोजगार कर्जाको अवस्था कस्तो छ ? रुकुममा २०६९ सालमा विनाधितो युवा स्वरोजगार कृषि कर्जा लगानी गरेका थियौं । त्यसबेला हामीले नेपाल सरकारबाट ६३ जना युवालाई झन्डै १ करोड रुपैयाँ लगानीका लागि प्रदान गरेका थियांैं । जसमध्ये अझै पनि ३३ जनाबाट साँवा ३९ लाख र ब्याज झन्डै २८ लाख असुल गर्न बाँकी छ । यसमा विशेषगरी ठूला नेता र पहुँचवाला व्यक्तिबाटै असुल गर्न समस्या भएको छ । त्यसका लागि हामीले जिल्ला मालपोत कार्यालय गएर १७ जनाको जग्गा रोक्का गरिदिएका छौं । पछिल्लो समय नेपाल सरकारले कृषि, उद्यमजस्ता क्षेत्रमा विनाधितो ऋण लगानी गर्ने भनेको छ । पहिलेको अवस्थाले गर्दा विनाधितो ऋण लगानी गर्न हामी डराएका छौं । अन्त्यमा समग्र रुकुमवासीलाई के भन्न चाहनुहुन्छ ? कृषि विकास बैंक नेपालको स्थापित बैंक हो । यस बैंकमार्फत विभिन्न अत्याधुनिक सेवाहरू सुचारु भएका छन् । तपाई हाम्रो घरआँगनको बैंक भएकाले यसलाई अझै माया गर्नुहोस् । यस बैंकमा विभिन्न सेवा सुविधासहितका खाता खोलेर लाभ लिनुहोस् भन्न चाहन्छु ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)