ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ल्याप्रोस्कोपिक माध्यमद्वारा बाल शल्यरोगको उपचार

Mar 8, 2019  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
डा आशिषलाल श्रेष्ठ अहिले नेपालको पहिलो र एकमात्र ‘एमसीएच पेडियाट्रिक सर्जन’ हुन् । भारतको तमिलनाडुस्थित क्रिश्चियन मेडिकल कलेजबाट एमबीबीएस, एमएस गरी सन् २०१७ मा उनले पेडियाट्रिक सर्जरीमा एमसीएच (म्याजिस्टर चिरर्जी ) गरेका छन् । एमएसपश्चात् पाल्पाको मिशन अस्पताल र एमसीएचपछि पाटन अस्पतालमा सर्जन भएर काम गरेका डा श्रेष्ठ हाल ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालमा कार्यरत छन् । नवजात शिशुदेखि किशोर बालबालिकाहरूको जटिलभन्दा जटिल अपरेशनका लागि उनी एकमात्र प्राज्ञिक र अनुभवी चिकित्सक हुन् । उनी बाहेक अहिलेसम्म एमसीएच पूरा गरेका पेडियाट्रिक सर्जन नेपालमा उपलब्ध छैन । एमसीएच पेडियाट्रिक सर्जरी नेपालमा नयाँ विषय हो । यो विषयको नेपालमा पढाइ हुँदैन । प्रस्तुत छ, डा श्रेष्ठसँग आर्थिक अभियानका प्रमुख संवाददाता पूर्णभक्त दुवालले गरेको कुराकानीको सम्पादित अंश : पेडियाट्रिक सर्जरी भन्नाले के बुझिन्छ ? पेडियाट्रिक सर्जरी भन्नाले एउटा विशेषज्ञता बुझिन्छ जसले बालबालिकाका सर्जिकल अथवा बाल शल्य चिकित्सा सम्बन्धी समस्याहरूको उपचार गर्छ । यो एउटा नयाँ विधा हो, जसको पढाइ नेपालमा हुने गरेको छैन । बाल शल्यचिकित्साका बिरामीहरू कति उमेरसम्मका हुन्छन् र यसरी उमेर छुटाएर विशेषज्ञता प्राप्त भएकै चिकित्सकबाट उपचार गराउन किन आवश्यक हुन्छ ? उमेरको हिसाबले भन्दा भर्खर जन्मेदेखि १८ वर्ष उमेरसम्मका बालबालिकाको शल्य चिकित्सा सम्बन्धी समस्याहरूको ख्याल राख्ने काम एक बाल शल्यचिकित्सकले गर्ने गर्छ । बालबालिकाहरूको शारीरिक बनोट एवम् मानसिक विकास तथा आवश्यकता अलग हुन्छन् । यिनका समस्या पनि धेरै संवेदनशील हुने गर्छन् र ठूला मान्छेहरूमा देखिने समस्याभन्दा बेग्लै र भिन्न प्रकारका हुन्छन् । यस्तो अवस्थामा उनीहरूलाई उपचार गर्ने पद्धति पनि विशेष प्रकृतिको हुने गर्छ । उदाहरणका लागि बालबालिकामा देखिने क्यान्सर रोग अधिकांशमा बेलैमा उपचार गरेमा पूरै निको पनि हुने गर्छ । त्यस्तै गरी उनीहरूको अपरेशन गर्ने शैली पनि फरक हुन्छ जस्तै : सानो प्वाल अथवा ठूलो घाउ नबनाईकन दूरबिनको सहायताले धेरै अपरेशन सम्भव हुन्छ । एमचिएच (पेडियाट्रिक सर्जरी) पेडियाट्रिक सर्जरी को ३ वर्ष लामो तालीम अवधिभित्र केवल ससाना बालबालिकाको मात्र शल्यक्रियासम्बन्धी पठनपाठन गर्दा र जानकारी लिँदा त्यसै सम्बन्धी विस्तृत र गहन अध्ययन गर्नुपर्ने हुँदा एक तालीमप्राप्त बाल शल्यचिकित्सकले मात्र यिनका समस्याको बारेमा पूर्ण शिक्षा, राम्रो अध्ययन र अनुभव बटुलेको हुन्छ । यसर्थ बालबालिकाका शल्य चिकित्सासम्बन्धी समस्याका निम्ति एक बाल शल्य चिकित्सकसँगै परामर्श लिनु उपयुक्त हुन्छ । खासमा ल्याप्रोस्कोपी सर्जरी उपचार के हो ? ल्याप्रोस्कोपी सर्जरीलाई मिनिमल एक्सेस सर्जरी पनि भनिन्छ । यो की होल सर्जरी अर्थात् ससाना प्वाल पारेर गरिने शल्यक्रिया हो । यो पद्धतिमा ठूलो चिरफार नगरीकन ससाना प्वाल पारेर शल्यक्रिया गरिन्छ । यसरी यसले ठूलो घाउ पारेर गरिने पनि परम्परागत शल्यक्रिया जतिकै परिणाम दिन्छ । खासगरी ल्याप्रोस्कोपी सर्जरीमा सानासाना ओटा प्वाल पारिन्छ । एउटामा दूरबिन राखेर मोनिटरमा हेरिन्छ भने अर्को प्वालहरूबाट उपचार गरिन्छ । ल्याप्रोस्कोपी सर्जरीका फाइदा केके छन् त ? यो पद्धतिबाट उपचार गर्दा घाउ सानो हुन्छ । शरीरलाई पीडा र दुखाइ पनि कम हुन्छ । दुखाइ कम हुने भएपछि अस्पतालमा लामो समय व्यतीत पनि गर्नु नपर्ने भयो । ठूला घाउ गर्दा ठूलै समस्या हुन्छ भने साना घाउमा सानै समस्या हुन्छ । संक्रमण र साइड इफेक्ट पनि कमै हुने भएपछि अस्पालबाट चाँडै डिस्चार्ज पनि हुने भयो । यसले गर्दा बालबालिका चाँडै खेल्न कुद्न सक्ने हुन्छन् र स्कूलमा पनि धेरै दिन अनुपस्थित हुन नपर्ने हुन्छ । साना घाउका कारण शरीरमा घाउका दाग पनि खासै नदेखिने हुन्छ । ठूलो घाउ गरेर पेटमा सर्जरी गर्दा हर्निया हुने सम्भावना पनि उत्तिकै हुन्छ । तर, ल्याप्रोस्कोपी सर्जरीमा त्यो समस्या टर्छ । घाउ कम हुने भएकाले पाक्ने समस्या हुँदैन र औषधि पनि कमै मात्र प्रयोग गरे पुग्ने हुन्छ । ल्याप्रोस्कोपी सर्जरी कसरी गरिन्छ त ? यो सर्जरी गर्दा सानो सानो प्वालबाट वर्किङ पोर्ट बनाइन्छ । त्यो प्वालमा छिराउने औजार पनि सानै हुन्छ । यो उपचार पद्धतिको प्रयोग गर्दा १ वर्षभन्दा कम उमेरको बच्चालाई ३ मिलिमिटरको घाउ मात्र पारिन्छ भने १ वर्ष माथिको उपचार गर्नुपर्दा ५ मिलिमिटर बराबरको प्वाल पारिन्छ । यस्तो सानो प्वालबाट सर्जरी गर्ने क्षमता पढेको र अनुभव भएकाले मात्र गर्न सक्छ । यो उपचार पद्धतिमा कार्वनडाइअक्साइड हावाको उचित प्रयोग पनि गर्नुपर्ने हुन्छ । शुरूमा सानो प्वाल बनाएर हावा पेटमा छिराइन्छ । हावा पेटमा छिराउन सुइबाट वा नाइटोमुनि प्वाल पारेर पठाइन्छ । नाइटोमुनि प्वाल पारेर हावा पठाउँदा कम जोखिम हुने गर्छ । हावा पेटमा छिरेपछि पेट फुलेर आउँछ । पेट फुुलेपछि आन्द्रा तलै बस्छ । एउटा पोर्टमा दूरबिन घुसाएर भित्रको अवस्थिति मोनिटरमा हेरिन्छ । पेटमा ल्याप्रोस्कोपी गर्दा शुरूमा नाइटोनेर पोर्ट बनाइन्छ । शुरूको नाइटोको पोर्टलाई अम्बिलिकल पोर्ट भनिन्छ । त्यसपछि अपरेशन गर्नुपर्ने आधारमा वर्किङ पोर्ट बनाइन्छ । वर्किङ पोर्टबाट औजार घुसाइन्छ । मिनिमल एक्सेस सर्जरी पद्धतिबाट केके उपचार गर्न सकिन्छ ? यो पद्धतिबाट साना ठूला सबैलाई उपचार गर्न सकिन्छ । तर, मैले ग्रान्डीमा बालबालिकालाई मात्र गर्दै आएको छु । यो पद्धतिबाट एपेन्डिक्साइटिस निम्ति ल्याप्रोस्कोपी अपेन्डेक्टामी गरिन्छ । पित्तथैली निकाल्न ल्याप्रोस्कोपी कोलिसिस्टेक्टमी, अण्डकोष ठीक ठाउँमा सार्न ल्याप्रोस्कोपी अर्कियोपेक्सी गरिन्छ । पेटभित्रको अवस्था थाहा पाउने डायग्नोस्टिक ल्याप्रोस्कोपी गरिन्छ । फियो निकाल्न ल्याप्रोस्कोपी स्प्लेनेक्टेमी, काम नलाग्ने किड्नीको अंश निकाल्न नेफ्रेक्टोमी गरिन्छ । खानाको नली र पेटमा समस्या हुँदा फन्डोप्लाइकेशन र कार्डियोमायोटोमी गरिन्छ । हर्नियाको अपरेशन गर्न पनि ल्याप्रोस्कोपी प्रविधिबाट हुने गर्छ । छातीभित्र पनि स्कोप छिराएर थोरास्कोपी गर्न सकिन्छ । यसबाट फोक्सोको बायोप्सी गर्ने र फोक्सोको ट्युमर निकाल्न सकिन्छ । अनुहारको ट्युमर निकाल्नुप¥यो भने टाउकोबाट सानो प्वाल पारेर स्टेल्ट अपरेशन पनि गर्न सकिन्छ । ग्रान्डीमा हुने मिनिमल एक्सेस सर्जरी केके छन् त ? डाइग्नोस्टिक ल्याप्रोस्कोपी, ल्याप्रोस्कोपी अपेन्डक्टमी, ल्याप्रोस्कोपी कोलेस्टेक्टमी, ल्याप्रोस्कोपी अर्कियोपेक्सी, ल्याप्रोस्कोपी नेफ्रेक्टोमी, ल्याप्रोस्कोपी स्प्लेनेक्टोमी सफलतापूर्वक भइरहेका छन् । खासगरी यी सर्जरी बालबालिकालाई भइरहेको छ । बालबालिकाको सर्जरी गर्दा हुने चुनौती केकस्ता छन् ? ससाना बालबालिकालाई अपरेशन गर्नु आफैमा चुनौतीपूर्ण छ । मायालाग्दो कलिलो उमेरमा अपरेशन गर्दा आमाबाबुको सेन्टिमेन्ट बढी जोडिएको हुन्छ । साना मान्छेको अपरेशन गर्दा झन् जटिल हुन्छ । अंगहरू पनि कलिलै हुन्छ । साना ठाउँमा कम स्पेसमा होशियारीपूर्वक गर्नुपर्ने भएकाले यो अति नै चुनौतीपूर्ण छ । ल्याप्रोस्कोपी सर्जरी महँगो पनि होला नि ? यो खासै महँगो उपचार पद्धति होइन । ठूला घाउ पारेर गरिने परम्परागत उपचार पद्धतिभन्दा थोरै मात्र खर्च बढी आउँछ । परम्परागतमा घाउ लामो समयसम्म हुने हुन्छ जसले गर्दा धेरै समयसम्म फलोअप र उपचार खर्च हुने गर्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)