ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दीर्घ दम खोकी (सीओपीडी)बाट बच्न धूलोधूँवाबाट टाढा रहनुपर्छ

Mar 15, 2019  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
सीओपीडी (क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज) नेपालमा दीर्घ दम खोकीको रोग भनेर चिनिन्छ । वास्तवमा यो रोग श्वासनलीमा हुने अवरोध हो । संसारभरको तथ्यांक हेर्दा सीओपीडी ज्यान लिने प्रमुख रोगमध्ये छैटौं नम्बरमा पर्दछ । तर विश्व स्वास्थ्य संगठनले अहिलेको अवस्थामा व्यापक सुधार गर्न सकिएन भने सन् २०२० सम्ममा यो ज्यान लिने प्रमुख रोगहरूको तेस्रो नम्बरमा आउन सक्ने चेतावनी दिएको छ । अहिले विश्वमा वार्षिक करीब ३० लाख मानिसको ज्यान सीओपीडीबाट जाने गरेको तथ्यांक छ । नेपालको यसको यकिन तथ्यांक छैन । तर त्रिवि शिक्षण अस्पतालको तथ्यांकलाई आधार मान्ने हो भने आकस्मिक कक्षबाट भर्ना हुने बिरामीमध्ये ४० प्रतिशत बिरामी सीओपीडीकै हुने गर्दछन् । यसै कारण नेपालमा सीओपीडी पुनःस्थापना केन्द्रको आवश्यकता रहेको डा. नीरज बम बताउँछन् । प्रस्तुत छ, भक्तपुरमा सीओपीडी पुनःस्थापना केन्द्र स्थापनामा समेत लागिपरेका डा. बमसँग आर्थिक अभियानका प्रमुख संवाददाता पूर्णभक्त दुवालले गरेको कुराकानीको सम्पादित अंश : सीओपीडी कस्ता व्यक्तिलाई हुने सम्भावना हुन्छ ? खासगरी यो रोग ३५–४० वर्षमाथिको उमेरमा हुने गर्दछ । नेपालमा शहरी प्रदूषण अत्यधिक रहेका कारण ३५ वर्षको उमेरदेखि नै यो समस्या देखिन थालेको छ । चुरोटको सेवन गर्ने गरेका व्यक्तिमा र लामो समयदेखि घरभित्र धूँवा निस्कने गरी दाउरा र गुइँठा बालेर चुल्होचौकोमा खटिनेहरूमा यो रोग देखिएका छन् । बढी धूँवामा बसेका त्यस्ता व्यक्तिलाई यो रोग बढी देखिने गरेको छ । यसमध्ये पनि उपचारमा आउने बिरामीमध्ये ८० प्रतिशतलाई सीओपीडी देखिनुको कारण धूमपान नै रहेको छ । स्पष्टसँग भन्नुपर्दा लामो समयदेखि चुरोट सेवन गर्ने पुरुष–महिला, घरभित्र दाउरा तथा गुइँठा बालेर खाना पकाउने गृहिणी र कोइला तथा सिमेन्ट कारकाखानामा काम गर्ने अर्थात् धूलोमा काम कामदारमा यो रोग बढी देखिएको छ । त्यसबाहेक सानैदेखि निमोनिया तथा छातीको संक्रमण भइरहने व्यक्ति, व्यक्तिमा पनि यो समस्या बढी देखिने गर्दछ । प्रदूषित वातावरणमा ओहोर–दोहोर गर्नेलाई पनि यो समस्या देखिएको छ । सीओपीडी कसरी हुन्छ त ? फोक्सोमा दुईओटा ठूला श्वासनली गएका हुन्छन् । फोक्सोमा पुगिसकेपछि तिनीहरू ससाना नलीमा विभक्त भएका हुन्छन् । हामीले श्वास फेर्दा श्वाससँगै जाने धूलोधूँवाका कण स–साना नलीका भित्तामा टाँसिन्छन् । यो बढ्दै गएपछि ससाना नलीका भित्तामा क्रोनिक इन्फ्लामेशन हुन्छ । श्वासनलीका भित्ता सुन्निएर नली साँघुरिन थाल्छ । जुन श्वास जाने बाटो हो, त्यो झन् झन् साँघुरो हुँदै जान्छ । साँघुरो भएपछि श्वास फेर्न गाह्रो हुँदै जान्छ । श्वासनलीमा बारम्बार संक्रमण भएपछि श्वासनलीमा समस्या हुन्छ । त्यही बेला उत्पादन हुने विभिन्न खालका हर्मोनले थप जटिलता ल्याउन थाल्दछ । श्वासनली साँघुरो भएपछि श्वासप्रश्वासमा समस्या हुन्छ र छातीमा घ्यार्घ्यार् आउन थाल्छ । फोक्सोमा भएका स–साना श्वासनली धूलोबाट टालिन्छ, जसले सीओपीडी हुन्छ । यो रोग प्रदूषण र धूलोधूँवाका अतिरिक्त वंशाणुगत कारण पनि हुने गर्छ । गर्भावस्थामा धूमपान गरेमा आमा र शिशुलाई यो रोग लाग्ने जोखिम हुन्छ । बच्चाको फोक्सोको विकास राम्रोसँग नभएमा पनि यो रोग लाग्छ । सीओपीडीका लक्षण के के हुन् ? विशेषगरी ३५–४० को उमेरपछि खोकी लाग्न शुरू हुन्छ । धेरै दिन अर्थात् धेरै हप्तासम्म खोकी लागिरहन्छ । छाती गह्रौं हुन्छ । उकालोमा श्वास फेर्न गाह्रो हुन्छ । पछि गएर समथरमा समेत श्वास फेर्न गाह्रो हुन्छ । त्यसपछि विस्तारै छातीमा घ्यार्घ्यार् हुन्छ । श्वास फुल्न थाल्छ । राति सुत्दा श्वास फेर्न समेत अप्ठ्यारो हुन्छ । खोक्दा पहेलो खकार आउँछ । भ¥याङको दुई–चार खुड्किलो चढ्दा पनि समस्या हुन्छ । ज्वरो आउने र जीउ पोल्ने हुन्छ । यसले अन्य कुन कुन समस्या ल्याउ“छ ? सीओपीडीले अन्य अंगमा पनि असर गर्छ । रोगले बढी च्याप्यो भने डिप्रेशनमा जाने खतरा हुन्छ । मांसपेशी सुकेर जान्छ । हाडजोर्नी दुख्छ । त्यस्तै मुटुको दाँया भाग सुन्निने हुन्छ । पेटमा ग्यास्ट्रिक र अल्सर पनि हुन्छ । रगतमा हेमोग्लोबिनको मात्रा बढ्दै जान्छ । सीओपीडीले फोक्सोलाई असर गर्छ नै, साथमा यसरी अन्य अंगमा पनि असर गरिरहेको हुन्छ । सीओपीडीबाट कसरी जोगिने त ? धूमपान अर्थात् चुरोट सेवन गर्दै नगर्ने, धूवाँधूलोमा नबस्ने । दाउरा–गुइँठा बाल्ने घरमा धूँवा जाने भेन्टिलेशन बनाउने र धूँवारहित चुल्हो निर्माण गर्ने । बाहिर धूलोमा हिँड्दा क्लिनिकल मास्कको प्रयोग गर्ने । घर वरिपरि रूख–बिरुवा रोप्ने, हरियाली कायम गर्ने । सरकारलाई धूँवा निस्कने र प्रदूषण गर्ने उद्योग बस्तीभन्दा पर राख्न लगाउन पहल गर्नुपर्छ । चैत–वैशाखमा आगो लगाउने प्रवृत्ति रोक्नुपर्छ । डम्पिङ साइटको उचित व्यवस्थापन गर्नुपर्छ । लगातार खोकी लाग्यो, छाती घ्यार्घ्यार् भयो, श्वास फुलेजस्तो भयो भने तत्काल चिकित्सकको परामर्शमा उपचार थाल्ने । सीओपीडीको उपचार कसरी गरिन्छ ? सीओपीडीलाई नियन्त्रण मात्र गर्न सकिन्छ । सीओपीडी भएका बिरामीका लागि नेपालमा स्तरीय उपचार सेवा छ । सबै खालका प्रविधि र औषधि नेपालमा आइसकेका छन् । निको नहुने तर नियन्त्रण गर्न सकिने भएकोले सीओपीडी भएकालाई ब्रोन्को डाइल्याटल टाइपको औषधि दिने गरिन्छ । यसले जीवन बाँच्न सजिलो बनाइदिन्छ । शुरूमा अस्पतालमा रगत परीक्षण गरिन्छ । त्यसपछि एक्सरे र स्पाइरोमेट्रो माध्यमबाट रोगको निदान गरिन्छ । कहिलेकाहीँ छातीको सीटी स्क्यान गर्नुपर्ने हुन्छ । यसमा खानेभन्दा पनि तान्ने औषधि बढी हुन्छन् । जस्तै– क्याप्सुल र मिटरडोज इन्ह्यालर लिन सकिन्छ । यो तान्ने थेरापी हो । कडा खालको दम भए अक्सिजन थेरापी गर्नुपर्छ । यस्तो बेला सीओपीडीका बिरामीका लागि घरमै अक्सिजनको व्यवस्था गर्नुपर्छ । सीओपीडीको समयमै उपचार हुन सकेन भने अक्सिजन लगाउनुपर्ने अवस्था आउँछ । अक्सिजन चाहिने अवस्था भनेको फोक्सो कमजोर हुने अवस्था हो । यस्तो बेला हरेक दिन १५–१६ घण्टा अक्सिजन लगाउनुपर्ने हुन्छ । सीओपीडीका बिरामीको परिवारले पल्स अक्सिमिटर घरमै राख्दा धेरै राम्रो हुन्छ । यो अक्सिमिटरले स्याचुरेशन ९० भन्दा माथि देखायो भने अक्सिजन लगाउनु पर्दैन । बिरामीलाई संक्रमण भएको भए फ्रोफाइलाइटिक एन्टिबायोटिक पनि चलाउनुपर्ने हुन्छ । यसैगरी इन्फ्लुएन्जा र निमोनियाको सुई पनि लगाउनुपर्छ । निमोनियाको सुई जीवनमा एकपटक लगाए हुन्छ । तर इन्फ्लुएन्जाको सुई वर्षमा एकपटक लगाउनुपर्छ । त्यस्तै सीओपीडीका बिरामीलाई पल्मोनरी रिहावलेटेशन थेरापी पनि गर्नुपर्ने हुन्छ, जसले छातीको व्यायाम हुन्छ । सीओपीडीका बिरामीले प्रोटिनयुक्त खाना खानुपर्छ । ब्रोंकिएल आज्मा र सीओपीडीबीच के फरक छ ? ब्रोंकिएल आज्मा अर्थात् दम खोकी र सीओपीडीका लक्षण उस्तै देखिन्छन् । तर केही फरक हुन्छ । १. ब्रोंकिएल आज्मा हुनुको कारक तत्त्व धूलोधूँवा तथा चिसोको एलर्जी प्रमुख हो भने सीओपीडीमा धूमपान प्रमुख कारक हो । २. ब्रोंकिएल आज्मा सानै उमेरदेखिका मानिसमा देखिन थाल्छ भने सीओपीडी प्राय ३५–४० वर्षमाथिका मानिसमा शुरू हुन्छ । ३. ब्रोंकिएल आज्माबाट प्रायः महिला प्रभावित भएको पाइन्छ । साथै वंशाणुगत रूपमा देखिन्छ भने सीओपीडी प्रायः धूमपान गर्ने पुरुषमा बढी मात्रामा देखिन्छ । ४. ब्रोंकिएल आज्माको दम खोकीको मात्रा मौसम अनुसार परिवर्तन हुने गर्दछ । प्रायः चिसो मौसममा मानिस बढी प्रभावित हुन्छन् । कहिलेकाँही वा कुनै निश्चित मौसममा यसको लक्षण नै हराउन पनि सक्छ । तर सीओपीडीका बिरामीमा प्रायः सबै मौसममा खोकी र स्याँ स्याँ आउने गर्छ । नेपालमा बढ्दो वायु प्रदूषणले दमका बिरामी दिनानुदिन बढ्दै गएका छन् । हिजोआज अस्पतालमा सानै उमेरका बालबालिका पनि लामो समयसम्मको रुघा, खोकी, श्वासप्रश्वासमा कठिनाइ जस्ता समस्या लिएर आउने गरेका छन् । यस्तो हुनुको कारण ब्रोंकिएल आज्मा हो । ब्रोंकिएल आज्माको समयमै निदान, रोकथाम र उपचार भएन भने यसले छातीमा निमोनिया, क्षयरोग जस्ता संक्रमण गराउन र बिरामीको ज्यान समेत लिन सक्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)