सुर्ती सेवन गर्नेलाई हड्डी भाँचिने समस्या (अस्टियोपोरोसिस) हुन्छ
Mar 22, 2019
 
अन्तरवार्ता
६० वर्ष नाघेपछि शरीरका हड्डी कमजोर हुँदै जान्छ । उमेर बढेपछि हड्डीका पुराना कोष मर्दै जाने र नयाँ कोष निर्माण कम हुने गर्छ । यसले गर्दा हातखुट्टा, मेरुदण्ड र जोर्नीहरू भाँचिने वा कमजोर हुने समस्या आउन थाल्छ । यस्तो हुनुलाई अस्टियोपोरोसिस भनिन्छ । नेशनल बाथरोग सेन्टर, रातोपुलमा कार्यरत डा. श्वेता नकर्मी रक्सी र चुरोट खानेलाई अस्टियोपोरोसिस हुने बताउँछिन् । डा. नकर्मीले बंगलादेशको बंगबन्धु शेख मुजिब मेडिकल युनिभर्सिटीबाट एमडी गरेकी छिन् । प्रस्तुत छ, हाल मेडिसिटी अस्पतालमा समेत कार्यरत डा. नकर्मीसँग आर्थिक अभियानका पूर्णभक्त दुवालले गरेको कुराकानीको सम्पादित अंश :अस्टियोपोरोसिस अर्थात् हड्डी मक्किने रोग के हो ?
मानिसको उमेर बढ्दै वा छिप्पिदै जाँदा हड्डी भित्रभित्रैबाट कमजोर हुँदै जान्छ । यसलाई नेपाली बोलीचालीको भाषामा हड्डी मक्किने रोग भनिन्छ । मेडिकल भाषामा यो रोगलाई अस्टियोपोरोसिस भनिन्छ । हड्डी मक्किँदै गएर पछि भाँचिने अवस्थासम्म पुग्छ । यो समस्या महिला र पुरुष दुवैमा देखिन्छ । तर तुलनात्मक रूपमा महिलामा केही बढी भएको पाइन्छ । उमेर बढ्दै गएपछि शरीरमा क्याल्सियमको कमी हुन्छ । वृद्धावस्थामा पोषण पनि नपुग्ने हुन्छ । त्यस्तै धूमपान र मद्यपानले हड्डी कमजोर हुन्छ ।
हड्डी कसरी कमजोर हुन्छ ?
हड्डी क्याल्सियम फोस्फोरस र अन्य मिनरल्सले बनेको हुन्छ । जसरी एउटा घरको पिलर सिमेन्ट, गिटी, बालुवा, छड मिलेर बनेको हुन्छ, त्यसैगरी हाम्रो हड्डी पनि क्याल्सियम, फोस्फोरस लगायत तत्त्वको सम्मिश्रणबाट बनेको हुन्छ ।
बढ्दो उमेरसँगै मानिसको हड्डीको विकासक्रम पनि बढ्दै जान्छ । पुरानो कोषहरू मर्दै जाने र नयाँ कोष निर्माण हुँदै जाने हड्डीको विकासक्रमको सामान्य प्रक्रिया हो । तर एउटा निश्चित उमेर पार गरिसकेपछि वा रोगको कारण हड्डीको नयाँ कोष निर्माण हुने वा बढ्ने दरमा कमी हुन्छ । तर पुरानो हड्डी मर्ने क्रम भने जारी रहन्छ ।
नयाँ कोष बन्ने क्रम रोकिँदै जाने र पुराना कोष मर्दै जाँदा हड्डी कमजोर हुन थाल्छ । त्यसपछि हड्डी पातलो हुँदै जान्छ र भाँचिने डर हुन्छ । सामान्य ठेस लाग्दा वा दुर्घटनाले पनि हड्डी भाँचिने गर्छ । थोरै चोटपटक लाग्दैमा पनि हड्डी भाँचिने सम्भावना बढी हुन्छ ।
कुन उमेरका मानिसलाई यो समस्या बढी हुन्छ ?
अस्टियोपोरोसिस मुख्यतः महिलामा महीनावारी रोकिइसकेपछि बढी देखिन्छ । महीनावारी रोकिएपछि स्ट्रोजिन नामक हर्मोनको कमी हुन्छ । त्यही भएर पुरुषको तुलनामा महिलामा यो समस्या बढी देखापर्दछ ।
सामान्यतया महिलामा ६० वर्षपछि र पुरुषमा ७० वर्षपछि अस्टियोपोरोसिस हुने सम्भावना बढी हुन्छ । उमेर बढ्दै जाँदा पुरानो हड्डी मर्दै जाने र नयाँ बन्ने क्रममा कमी हुने कारण नै बुढेसकालमा हड्डी मक्किने समस्या देखापर्ने गरेको हो ।
त्यसबाहेक हर्मोनमा आउने परिवर्तन अर्को कारण हुन सक्छ । महिलामा मात्रै होइन, पुरुषमा पनि हर्मोनको कमी हुन सक्छ । यसले पनि अस्टियोपोरोसिस निम्त्याउन सक्छ । त्यसबाहेक अत्यधिक रक्सी सेवन र शरीरको तौल अत्यधिक कमी भएका कारण बारम्बार बिरामी भइरहने व्यक्तिमा पनि हर्मोन कम हुन्छ र अस्टियोपोरोसिसले च्याप्न सक्छ ।
यस्तै हाम्रो हड्डीका लागि चाहिने क्याल्सियम र भिटामिन डीको कमी भयो पनि यस्तो समस्या आउन सक्छ । राम्रो खाना खाइएन र घाममा राम्रोसँग बसिएन भने पनि यो समस्या देखिने सम्भावना अत्यधिक हुन्छ ।
शारीरिक निष्क्रियता पनि यसमा अर्को कारण हो । कामकाज नगर्ने, आलस्यमा जीवन व्यतीत गर्नेहरूमा पनि यो समस्या देखा पर्न सक्छ ।
विभिन्न खालका बाथ रोगमा पनि यो समस्या देखापर्छ वा थपिने सम्भावना बढ्छ । त्यस्तै हर्मोनल समस्या र पेटको आन्द्राको समस्या भएकोहरूमा पनि यो समस्या देखापर्न सक्छ । जब आन्द्राले क्याल्सियम तथा मिनरल्स सोस्न गर्न सक्दैन, तबसम्म यो समस्या देखा परिरहन्छ ।
कुनै कुनैमा औषधिको कारण पनि यस्तो समस्या देखा पर्न सक्छ । मुख्यतया स्टोरोइट नामको औषधि, जो धेरै रोगको उपचारमा प्रयोग हुन्छ, त्यसको अति प्रयोगले यस्तो गडबढी निम्त्याउन सक्छ ।
अस्टियोपोरोसिसको संक्रमण कतिलाई भएको छ ?
नेपालमा यसको खासै अध्ययन भएको छैन । तर विश्वको कुरा गर्ने हो भने करीब २० करोड मानिसलाई यो समस्याले सताएको अध्ययनहरूले देखाएका छन् ।
निरन्तर बिरामी भएर ओछ्यानमा परेकालाई यो रोग लाग्ने हुन्छ । खासगरी यो व्यायाम नपुगेर हुन्छ । तौल कम भएर पनि यो रोग लाग्छ । क्याल्सियम, भिटामिन डीको कमी र विभिन्न हर्मोनको कम भएर यो रोग लाग्छ ।
यसको लक्षण के हो ?
अस्टियोपोरोसिस आफैको कुनै लक्षण हुँदैन । हड्डी कमजोर बनाउँछ र भाँचिन्छ । कतिपयमा हड्डी भाँचिइसकेपछि मात्रै लक्षण आउन पनि सक्छ । नआउन पनि सक्छ । प्रायःजसो यस्तो केश अन्य रोगको निदान गर्दा भेटिने गर्छ । अन्य रोगका लागि एक्सरे गर्दा मेरुदण्डमा अस्टियोपोरोसिसको समस्या देखिन्छ, अर्थात् मेरुदण्डको हड्डी भाँचिएको थाहा हुन्छ । त्यसबाहेक ‘हिप’ र हातको फ्याक्चर पनि बढी मात्रामा हुने गर्दछ ।
सामान्यतया पाका उमेरका व्यक्तिमा भारी सामान उठाउँदा पनि मेरुदण्ड भाँचिन सक्छ । तर यो समस्या मेरुदण्ड भाँचिइसक्दा समेत संकेत नहुन सक्छ । कसै कसैलाई मात्रै दुख्न सक्छ ।
अस्टियोपोरोसिस भएकै हो भनेर कसरी निदान गरिन्छ ?
यस्तो समस्या चिन्न बीएमडी (बोन मिनरल डेन्सिटी) परीक्षण गर्नुपर्छ । यसले हाम्रो हड्डीमा मिनरल्सको मात्रा कति छ भनेर पत्ता लाग्न सक्छ । त्यसले कति समयसम्म हड्डी बलियो रहन सक्छ भनेर पनि थाहा पाउन सकिन्छ । यो गर्न डीएक्सस्क्यान मेशिन चाहिन्छ । त्यो नेपालमा निकै थोरै अर्थात् दुई–तीन ठाउँमा मात्र उपलब्ध छ ।
बीएमडी परीक्षण अन्य सबै परीक्षण गरी आवश्यक परेमा मात्रै गराउने हो । प्रायः ६० कटेका महिला र ७० वर्ष उमेर कटेका पुरुषमा यो रोगको लक्षण देखियो भने चिकित्सकले बीएमडी गराउन सल्लाह दिन सक्छन् । त्यसबाहेक बाथरोगसँग सम्बन्धित अन्य धेरै समस्यामा पनि यसको जाँच गर्न सकिन्छ ।
बीएमडी गरिसकेपछि रिपोर्टको आधारमा थप औषधि चलाउन पाउने/नपाउने भन्न सकिन्छ । त्यस्तै हड्डी भाँचिन सक्ने वा नसक्ने भन्नेबारे पनि अनुमान गर्न सकिन्छ ।
यो रोग लागेपछि खान हुने र नहुने खानेकुरा के के छन् ?
अस्टियोपोरोसिसबाट बच्न खानपानमा ध्यान पुर्याउनुपर्छ । क्याल्सिय र भिटामिन डी बढी भएको खाना खानुपर्छ । दूध र दूधबाट बनेका खानामा यस्ता तŒव बढी मात्रामा पाइन्छ । ड्राई फूडहरू (आल्मन्ड लगायत)मा पनि यो बढी पाइन्छ । त्यस्तै दही, चीज, हरिया सागसब्जी तथा फलफूल (ब्रो काउली, तोफु, गेडागुडी, सुन्तला, बदाम लगायत) खानु लाभदायक हुन्छ ।
भिटामिन डी पनि लिनु राम्रो हुन्छ । भिटामिन डी मुख्यरूपमा सूर्यको प्रकाशबाटै प्राप्त गर्न सकिन्छ । यसका लागि बिहान ११ बजेदेखि २ बजेसम्मको घाममा खुला हातखुट्टा घाममा पर्नेगरी करीब १५ मिनेट जति बस्नुपर्छ ।
घाममा बस्दा कुनै पनि किसिमको क्रिम लोसन वा अन्य कपडा बेरेर बस्नु भन्दा खुलारूपमै बस्दा फाइदा हुन्छ । भिटामिन डी छालामा बन्ने भएकाले त्यसलाई असर नपर्ने गरी सीधै छालामा किरण पारिनुपर्छ । त्यसबाहेक भिटामिन डी पाइने खानेकुराहरू सालमोन, माछा, च्याउ जस्ता खाद्यपदार्थ सेवन गर्नुपर्छ ।
अस्टियोपोरोसिसका बिरामीले रक्सी सकेसम्म नखाने र चुरोट खानै हुँदैन । एरोबिक लगायत एक्ससाइज गर्नुपर्छ । किनभने शारीरिक अभ्यासले हड्डी र मांशपेशीलाई लाभ पुर्याउँछ । आलस्यमा जीवन बिताउनु हुँदैन । शारीरिक रूपमा सक्रिय हुनुपर्छ । बिहान–बेलुका हिँडडुल गर्नुपर्छ । बाथ, हेमाटोलोलीजस्ता रोगले पनि हड्डी खिइन्छ । रोगी नै भए पनि क्यालियम लिनुपर्छ ।
यसबाहेक अन्य केमा ध्यान दिनुपर्छ ?
अस्टियोपोरोसिस भएको व्यक्तिले हिँड्दा–चल्दा विशेष ध्यान पुर्याउनुपर्छ । किनभने हड्डी अत्यन्त कमजोर हुन्छ । सामान्य ठेस लाग्दैमा पनि भाँचिन सक्छ । त्यस्तै खानपानमा पनि ध्यान दिनुपर्छ र शारीरिक अभ्यास सक्रिय बनाउनुपर्छ । धूमपान तथा मद्यपान गर्दै नगर्नु अति उत्तम हुनेछ ।