ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५० वर्ष पुगेपछि थाहै नपाइकन प्रोस्टेट क्यान्सर हुन सक्छ

Apr 12, 2019  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
नेपालमा ७० प्रतिशत प्रोस्टेटका विरामी क्यान्सर भएपछि मात्र उपचार गर्न पुग्छन् । पिसाव र प्रजनन् अंगमा समस्या आउने वित्तिकै चिकित्सकसँग परामर्श गर्नुपर्छ । समयमा नै उपचार गरेमा यसलाई निराकरण गर्न सकिन्छ । यसैं सम्वन्धमा आर्थिक अभियानका काशीराम बजगाइले नेपालका पहिलो यूरो–अनकोजिस्ट तथा यूरोलोजी सम्बन्धी विशेषज्ञ डा.रबिन जोशीसँग प्रोस्टेट (पुरुष ग्रन्थी) क्यान्सरको विषयमा कुराकानी गरेका छन् । प्रोस्टेट क्यान्सर भनेको कस्तो प्रकृतिको क्यान्सर हो ? प्रोस्टेट पुरुष प्रजनन प्रणालीको महत्त्वपूर्ण अंग हो । यो पिसाबथैलीको मुनि हुन्छ, जसबाट मुत्रनली निस्किएको हुन्छ । यसले वीर्यको परिमाण र गुणस्तर वृद्धि गर्छ र उत्तेजित बनाउन मद्दत गर्छ । यसको काम वीर्यलाई पोषण दिनु हो । यही अंगमा हुने क्यान्सर नै प्रोस्टेट क्यान्सर हो । यसका लक्षणहरू केके हुन् ? प्रोस्टेट क्यान्सर हुँदा पिसाब फेर्न गाह्रो हुने, राती दुई पटकभन्दा बढी पिसाव हुने, पिसाब राम्रोसँग ननिख्रिने, पिसाबबाट रगत आउने, उत्तेजनामा कमी आउने, यौन सम्पर्क गर्न मन नलाग्ने, राति पिसाब लाग्ने, ढाड दुख्ने लगायत लक्षण देखा पर्छन् । यस्ता समस्याहरू प्रोस्टेट क्यान्सर हुँदा मात्र देखा पर्छन् अथवा अन्य अवस्थामा पनि देखिन्छन् ? यो बिरामीको शरीरमा बिस्तारै थाहै नपाइकनै विकसित हुने रोग हो । प्रारम्भिक चरणमा प्रोस्टेट क्यान्सरका केही लक्षण देखा नपर्न सक्छन् । प्रोस्टेट क्यान्सर, प्रोस्टाटिटिस्ट (पुरुष ग्रन्थीमा वृद्धि), बीपीएच (पुरुष ग्रन्थीमा अतिवृद्धि) लगायत समस्याको लक्षण एकै प्रकारको हुन्छ । त्यसैले पनि प्रोस्टेट क्यान्सर नै हो भन्ने कुरा परीक्षण नगरी थाहा हुँदैन । सामान्यतया प्रोस्टेट १० देखि १५ ग्रामसम्मको हुन्छ र ४० वर्षपछि यसको आकार बढ्न थाल्छ । नेपालमा अधिकांश सामान्य प्रोस्टेटको समस्या भनेर चेकजाँच गर्न आएकाहरूमा प्रोस्टेट क्यान्सर भेटिने गरेको छ । प्रोस्टेटको समस्या भएकाहरूमा क्यान्सर भेटिन सक्ने भएकाले अनिवार्य परीक्षण गर्न आवश्यक छ । नेपालमा करीब ७० प्रतिशत पुरुष प्रोस्टेट क्यान्सर फैलिसकेको अवस्थामा आउने गरेका छन् । प्रोस्टेट क्यान्सर किन हुन्छ ? विशेषतः प्रोस्टेट क्यान्सर वंशाणुगत हुन्छ । यदि बाबुलाई प्रोस्टेट क्यान्सर छ भने छोरामा यस प्रकृतिको क्यान्सर हुने सम्भावना बढी हुन्छ । गलत खानपिनले गर्दा पनि यस प्रकारको क्यान्सर हुन सक्छ । औषधि प्रयोग गरिएका खानेकुरा, रातो मासु तथा चिल्लो पदार्थ बढी खाने, पानी कम खाने, सागपात र हरियो फलफूल कम खाने, सामान्यतया मदिरा, चुरोट, पान, सुर्तीजन्य पदार्थ सेवन गर्ने आदि कारणले प्रोस्टेट क्यान्सर हुन सक्छ । प्रोस्टेट क्यान्सरबाट कसरी बच्न सकिन्छ ? प्रोस्टेट क्यान्सरबाट बच्न स्वस्थकर खानेकुरा खानुपर्छ । कम क्यालोरी र बोसो, ताजा हरियो सागपात, सिमी आदि खाने गर्नुपर्छ । त्यस्तै, धूमपान, मदिराजन्य पदार्थको सेवन लगायत क्रियाकलाप गर्नुहुँदैन । कुन उमेरका पुरुषमा यस्तो क्यान्सर हुने सम्भावना बढी हुन्छ ? ५० वर्षभन्दा बढी उमेरका पुरुषमा यो क्यान्सर हुन सक्छ । ४० वर्षभन्दा मुनिका पुरुषमा सम्भावना एकदमै कम हुन्छ । मैले गरेको अपरेशनमध्ये सबैभन्दा कम ५० वर्षको पुरुषमा प्रोस्टेट क्यान्सर भेटिएको छ । पश्चिमी मुलुकका पुरुषमा यस प्रकारको क्यान्सर अझ बढी मात्रामा भेटिने गरेको छ । यस क्यान्सरको परीक्षण कसरी हुन्छ ? प्रोस्टेटमा समस्या आएपछि क्यान्सरको पनि परीक्षण गर्नुपर्छ । शुरूमा हामी गुदद्वारबाट औंला छिराएर टेस्ट गर्छौं । यदि प्रोस्टेट कडा र त्यसमा डल्लाडल्ली छ भने अल्ट्रासाउन्ड भिडियो एक्सरे गरिन्छ । त्यसमा पनि क्यान्सरको शंका देखिए पीएसए टेस्ट हुन्छ । हाल नेपालमा धेरैजसो अस्पतालमा पीएसए टेस्टलाई स्क्रिनिङ टेस्टको रूपमा राख्ने गरिएको छ । यदि पीएसए उच्च छ भने एमआरआई टेस्ट गरिन्छ र त्यहाँबाट क्यान्सर भए–नभएको पत्ता लाग्छ । एमआरआईपछि हामी प्रोस्टेट बायोप्सी गर्छौं । त्यसपछि ट्रान्सरेक्टल अल्ट्रासाउन्ड गाइडेड प्रोस्टेट बायोप्सीद्वारा गुदद्वारबाट अल्ट्रासाउन्ड छिराएर क्यान्सर भएको ठाउँको अनुमान लगाइन्छ र शंका लागेको मांशपेशी निकालेर परीक्षण गरिन्छ । प्रोस्टेट क्यान्सर पत्ता लागेपछिको उपचार पद्धति के हुन्छ ? प्रोस्टेट क्यान्सर पत्ता लागिसकेपछि क्यान्सर प्रोस्टेटमा मात्र सीमित छ अथवा हड्डीमा फैलिएको छ, चेक गरिन्छ । प्रोस्टेटमा मात्र सीमित छ र बिरामी ६५ वर्षसम्मको छ भने प्रोस्टेटको अपरेशन गरेर निकाल्न सकिन्छ । ६५ वर्षभन्दा माथिको छ भने रेडिएशन उपचार गरिन्छ । रेडिएशन भन्नाले मेशिनबाट सेकाउने काम हो । यदि क्यान्सर हड्डीमा फैलिसकेको छ भने प्रोस्टेटको अपरेशन गरिरहनुपर्दैन । हड्डीमा फैलिसकेपछि कम्प्लिट एन्ड्रोजन ब्लकेड (हर्मोनल थेरापी) गरिन्छ । यस थेरापीद्वारा टेस्टोटेरोन हर्मोनलाई ब्लक गर्ने काम हुन्छ । यसपछि बिरामीले प्रत्येक ३ महीनामा नियमित चेकअपमा बस्नुपर्छ । प्रोस्टेट क्यान्सर बिस्तारै बढ्ने ट्युमर हो, जसका कारण हर्मोनल थेरापीले पनि दीर्घजीविकाका लागि राम्रो भूमिका खेल्न सक्छ । यो क्यान्सर कति खतरनाक हुन सक्छ ? समयमा जाँच गरिएन र फैलिसकेको अवस्थामा मात्र यसको जाँच गरियो भने पनि यसको उपचार सम्भव छ । तर, समयमा जाँच गरेर उपचार गरे यसको राम्रो उपचार हुन सक्छ । समयमा प्रोस्टेट क्यान्सरको उपचार भएमा स्वस्थ व्यक्तिसरह लामो समय बाँच्न सकिन्छ । प्रोस्टेट क्यान्सर हुँदा शरीरका अन्य अंगमा पनि असर पुर्‍याउँछ ? प्रोस्टेट क्यान्सर प्रोस्टेटबाट मेरुदण्ड तथा अन्य अंगमा फैलियो भने यो खतरनाक हुन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)