एनबीएफ १ जस्तै एनबीएफ २ बाट पनि राम्रो प्रतिफल आउँछ
Apr 15, 2019
 
अन्तरवार्ता
क्यापिटल मार्केटको वरिष्ठ व्यवस्थापकीय तहमा ६ वर्षको अनुभव र ‘बीडीओ इन्टरनेशनल’ लगायत अन्तरराष्ट्रिय कम्पनीहरूमा वित्तीय तथा लेखापरीक्षण क्षेत्रमा ८ वर्षभन्दा बढी समय काम गरिसकेका सबिर बादे श्रेष्ठ अहिले नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत छन् । उनले यस कम्पनीको नेतृत्व लिएको १ वर्ष पूरा भएको छ । यसबीचमा कम्पनीले ल्याएका कार्यक्रम र हासिल गरेका उपलब्धिका बारेमा श्रेष्ठसँग आर्थिक अभियान दैनिकका लागि संवाददाता सुप्रिम तिवारीले गरेको कुराकानी :नबिल इन्भेष्टमेन्ट बैंकिङले के कस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ?
यस कम्पनीले ४/५ वर्षदेखि पोर्टफोलियो व्यवस्थापन गर्दै आइरहेको छ । त्यसका साथै म्युचुअल फन्डहरू सञ्चालनमा रहेका छन् । त्यस बाहेक हामीले अरू कम्पनीहरूले जारी गरेका आईपीओहरू (प्राथमिक साधारण निष्कासन) को निष्कासन तथा विक्री व्यवस्थापन गर्छौं । जस्तै, हिमालयन ऊर्जा (कम्पनी) को हालै गर्यौं र अब चाँडै माउन्टेन इनर्जी (कम्पनी) को आईपीओ पनि आउँदै छ । नेपाल बंगलादेश बैंकको डिबेन्चरको विक्री व्यवस्थापनका लागि पनि हाम्रो प्रस्ताव स्वीकृत भएको छ । हामी काठमाडौं बाहिर पनि डिम्याट खाता सुविधा विस्तार गर्ने प्रक्रियामा छौं । अझै धेरै ठाउँहरूमा मर्चेन्ट बैंकहरू प्रभावकारी रूपमा पुग्न नसकेको अवस्थालाई बुझेर अहिले हामीले नबिल बैंकका शाखाहरूमा मर्चेन्ट बैंकका प्रतिनिधिहरू राख्न थालिसकेका छौं । यसले गर्दा स्थानीय स्तरमा नै लगानीकर्ताहरूले सुविधा लिन सक्ने वातावरण बनिरहेको छ ।
साथै, स्थापित संस्थाहरूलाई परामर्श सेवा, मूल्यांकन सेवा, वित्तीय आधार बलियो बनाउन परामर्श र स्टार्टअप (नयाँ व्यावसायिक योजना) हरूलाई लगानीकर्ता वा लगानी खोजिदिन सघाउने जस्ता कार्य गर्न थालेका छौं । व्यापारलाई पैसा जुटाइदिने मात्र नभई व्यवसायको मूल्य अभिवृद्धि गरिदिने, विज्ञहरू ल्याइदिने र यसको ब्रिजिङ (संयोजन) गराइदिन्छौं । यस्ता कार्यहरूका लागि हामी क्याटलिस्ट (उत्पे्ररक) र विश्लेषण गरिदिने संस्थाको रूपमा रह्यौं भने हामीलाई पनि नेपालको अर्थतन्त्रमा केही सहयोग गरेको महसुस हुनेछ ।
म्युचुअल फन्डसँग सम्बन्धित नबिल इन्भेष्टमेन्टका के कस्ता योजनाहरू सञ्चालनमा छन् ?
हाल बजारमा नबिल इक्विटी फन्ड चलिरहेको छ । नेपालकै तेस्रो म्युचुअल फन्ड स्किम ‘नबिल ब्यालेन्स फन्ड १’ को सफलतापछि वैशाख ५ गतेदेखि नबिल ब्यालेन्स फन्ड २ सञ्चालन हुँदै छ ।
अहिलेको पूँजी बजार बियरिस ट्रेन्डमा छ । यस्तोमा नयाँ स्किम कत्तिको सफल होला भन्ने आशंका पनि हुन सक्छ । तर, नबिल ब्यालेन्स फन्ड १ बजारमा आउँदा पनि बजार डाउन ट्रेन्डमा थियो । पछि बजार सुधारिँदै गर्दा यस फन्डले पनि राम्रो प्रतिफल ल्यायो । एनबीएफ १ ले प्रतिवर्ष ३५ प्रतिशत रिटर्न दियो । एनबीएफ २ नबिल इन्भेष्टमेन्ट बैंकिङको तेस्रो स्किम हो । यसले पनि राम्रो प्रतिफल दिने अपेक्षा गरेका छौं ।
स्टार्टअपलाई लगानी खोजिदिने र व्यवसायको मूल्य अभिवृद्धिलाई लक्षित गरी संयोजन गरिदिनेतर्फ के कस्ता कामहरू भएका छन् ?
अहिलेसम्म ३ ओटा सम्झौता भइसकेका छन् । तर, दर्ता प्रक्रिया पूरा नभइसकेकाले नाम खुलाउन मिल्दैन । पाइपलाइनमा यस्ता २० ओटा कम्पनीहरू छन् । यी पाइपलाइनमा आइसकेका कम्पनीहरूलाई यस प्रक्रियामा बढाउँदै लैजाने योजनामा छौं । यस्ता नयाँ व्यावसायिक योजनाहरूलाई कम्पनीका रूपमा स्थापित गराउन सघाउने हाम्रो लक्ष्य छ ।
धितोपत्र खरीद प्रक्रियामा भएको प्राविधिक विकासले मर्चेन्ट बैंकरहरूलार्ई कत्तिको सहज बनाएको छ ?
विभिन्न क्षेत्रहरूमा स्वचालित कार्य शुरू भइसकेका छन् । यसमा डिम्याट सुविधाले निकै सहज गराएको छ । नगद लाभांश र शेयरहरू स्वचालितरूपमा खातामा जम्मा हुने गरेको छ । पहिला जस्तो लाइन बस्नुपर्ने, साथै चेक र सर्टिफिकेटको झन्झट छैन । हामीले पनि पहिलेदेखि नै नियामक निकायहरूमा यस्तो प्रविधि ल्याउनुपर्ने भन्दै आएका थियौं । अहिलेसम्मको उपलब्धिको कुरा गर्दा यस्ता प्रविधिहरू सुविधाको हिसाबले रामै्र छन् । कतिपय कारोबार अनलाइनका माध्यमबाट खरीदविक्री भएका छन्, पोर्टफोलियो व्यवस्थापनका लागि भने अझै केही सुधार गर्न बाँकी छ ।
यसमा चुनौतीहरू के देख्नुभएको छ ?
जोखिमको हिसाबले सजक हुनु जरुरी छ । स्वचालित भयो भन्दैमा सबै एकैपटकमा हुन्छ भन्ने हँुदैन । नयाँ र सानो तहका कर्मचारीहरूलाई कार्य क्षमता विकास गराउनु आवश्यक छ । कार्य गतिशील बनाउन उनीहरूलाई नयाँ प्रविधि र विकासबारे जागरुक, जोखिमबारे ज्ञान, सञ्चालन मोड्युल (निर्देशिका) र यसका फाइदा बेफाइदाका बारेमा तालीम दिनुपर्छ ।
अहिले हितग्राही खातालाई व्यवस्थित गरी कारोबार भइरहेको अवस्थामा नबिल इभेष्टमेन्ट बैंकिङमा भौतिक शेयरको अवस्था के छ ?
धेरैले डिम्याट गरिसकेका छन् । आईपीओ मात्र किन्ने, तर भविष्यका लागि राखिरहने, दोस्रो बजारमा प्रायः कहिले पनि कारोबार नगर्नेहरू र प्रविधिलाई नपत्याउनेहरूले चाँही फिजिकल सर्टिफिकेट (भौतिक प्रमाणपत्र) नै पनि बोकिरहेका छन् । तर, यसले सर्टिफिकेट हराउने, च्यातिने डर नहुने भएकाले धेरैले डिम्याट नै सजिलो भएको महसुस गरिसकेका छन् । डिम्याट नगरेकाहरूले पैसा आवश्यक परेको खण्डमा शेयर विक्री गर्नुपरेमा धेरै प्रक्रिया चाल्नुपर्ने हुँदा हामीले पनि पटकपटक शेयर डिम्याट गराउन आह्वान गरिरहेका छौं । यसमा कतिपयले डिम्याट र मेरो शेयर नवीकरण नगरिराखेका छन् । तर, अब यसको भुक्तानी प्रक्रिया सहज बनाउनका लागि विभिन्न बैंकसँगको सहकार्यमा अनलाइनका माध्यमबाट गर्न मिल्ने व्यवस्था गर्न लागेका छौं । यो व्यवस्था वैशाखको शुरुआतदेखि नै लागू गर्नेछौं । यस बाहेक सेवाग्राहीले बैंकको खातामा शैक्षिक शुल्क तिरेको जस्तै गरी नबिल बैंकका शाखाहरूबाटै पनि भुक्तानी फारम भरी डिम्याट र मेरो शेयर नवीकरणको काम सजिलै गर्न मिल्ने व्यवस्था ल्याउन लागेका छौं ।
धितोपत्रको निष्कासन तथा व्यवस्थापनमा मर्चेन्ट बैंकहरूलाई काम गर्न सहजताका लागि थप के कस्ता व्यवस्था हुनु जरुरी छ ?
हाल निष्कासन कार्यमा धेरै सुधारहरू भइरहेका छन् । नियमहरू समय अनुसार संशोधन पनि भएका छन् र कति नचाहिने हटाइएका पनि छन् । कम्पनीको आम्दानीमध्ये इस्यू म्यानेजमेन्टबाट आउनुपर्ने अधिकतम सीमा २ प्रतिशत भनेर तोकिएको छ तर न्यूनतम सीमा भने रू. १ लाख भनिएको छ । यसको अधिकतम सीमा प्रतिशतमा तोकेपछि न्यूनतम सीमा पनि प्रतिशतमा नै भइदिए सहज हुने थियो । हालको व्यवस्थाले गर्दा नयाँ कम्पनीहरूले न्यूनतम सीमा अनुसारको शुल्क प्रस्ताव गरी कोटेसन दिन सक्ने सम्भावना बढी रहन्छ । र, त्यो बिजनेस अनुभव नभएका कम्पनीहरूले हासिल गर्न सक्ने र इस्यु म्यानेजमेन्टमा जोखिम आउन सक्ने देखिन्छ । यसतर्फ नियामक निकायको ध्यान जानुपर्ने देखिन्छ ।