रौतहट । रौतहटको बस्ती नै विनाश हुने गरी सूचना प्रकाशित गरेकोप्रति रेल विभागले क्षमा मागेको छ । विभागबाट आएको प्राविधिकसहितको टोलीले बस्ती क्षेत्र हेरेर फर्केपछि त्रुटि भएको भन्दै अधिग्रहणको सूचना प्रकाशित गरी क्षमा मागेको हो । चन्द्रपुर–८ का स्थानीयले बस्ती नै विनाश गरी मेची महाकाली विद्युतीय रेल मार्गको सबस्टेशन बनाउन लागेको भन्दै आन्दोलन शुरू गरेपछि रेल विभागले सूचना सच्याएको छ ।
विभागका इन्जिनीयर किरण कार्कीसहितको टोलीले स्थलगत निरीक्षणपछि जग्गा अधिग्रहण सम्बन्धी संशोधित सूचना निकालिएको हो । यसअघि विभागले गएको फागुन ७ गते जग्गा अधिग्रहणसम्बन्धी ३५ दिने सूचना प्रकाशित गरेपछि स्थानीय आन्दोलन शुरू गरेका थिए । मेची–महाकाली विद्युतीय रेलमार्गको बर्दिबास–निजगढ रेल खण्ड निर्माणका लागि रौतहटभित्र पर्ने जग्गा प्राप्ति गर्न अधिग्रहणका लागि बस्ती नै पूरा विनाश हुने गरी सूचना जारी गरिएको थियो ।
साबिकको सन्तपुरको ९ भनेर सूचना निकालिएपछि ३ ओटा पुराना बस्ती मासिने भन्दै स्थानीयले संघर्ष समिति गठन गरी आन्दोलन शुरू गरेका थिए । समितिका संयोजक दामोदर घिमिरेले बस्ती मासेर रेलवेको सबस्टेशन निर्माण गर्ने कुनै योजना नरहेको भन्दै विभागले क्षमा मागेर अर्को सूचना निकालेको बताए । प्राविधिक समस्या भनेर संशोधित सूचना निकालिसकेको र पछिल्लो सूचनामा बस्ती क्षेत्र नपरेको उनले जानकारी दिए । सूचनामा बस्ती क्षेत्रका ६२ ओटा कित्ता हटाइएको छ । विभागले जिल्ला प्रशासन गौरमार्फत चैत २३ गते जग्गा अधिग्रहणको संशोधित सूचना प्रकाशित गरेको थियो । विद्युतीय रेलमार्ग बनाउन खेतीयोग्य जमीन परेको भन्दै गुजरा नगरपालिका अन्तर्गत ब्रह्मटोल, मैरा र कटानीका बासिन्दाले उचित मुआब्जाको माग गरेका छन् । रौतहटको चाँदी नदीदेखि रंगपुरको चोचासम्म ७ किलोमिटर जमीन पर्ने बताइएको छ ।