डा. ध्रुव गैरेले बंगलादेशबाट एमबीबीएस र राष्ट्रिय चिकित्सा अध्ययन प्रतिष्ठान वीर अस्पतालबाट, एमडी इन्टरनल मेडिसिन गरेका छन् । उनले शहीद गंगालाल राष्ट्रिय मुटुरोग अस्पतालमा २ वर्ष रेजिडेन्ट चिकित्सकको रूपमा काम गरेका छन् । त्रिवि राष्ट्रिय चिकित्सा अध्ययन प्रतिष्ठान, वीर अस्पतालमा विगत १२ वर्षदेखि जनरल मेडिसिन विभागमा कार्यरत डा. गैरेसँग जनरल मेडिसिन विभागमा कस्ता रोग लागेका बिरामी आउँछन् र त्यस्ता रोगको निदान के कसरी गरिन्छ भन्ने विषयमा आर्थिक अभियानले गरेको कुराकानी :जनरल मेडिसिन विषय के हो ?
चिकित्सा क्षेत्रका दुईओटा शाखा छन् : सर्जरी र मेडिसिन । सर्जरी गर्न नपर्ने बिरामीको रोग पत्ता लगाउने र उपचार गर्ने काम मेडिसिन विभागले गर्छ । यो बृहत् विषय हो । यो विषयमा ज्ञान हुन पूरै शरीरको बारेमा ज्ञान भएको हुनुपर्छ । कुनै पनि निदान नभएको रोगको चेकजाँच गर्ने र उपचार गर्ने काम मेडिसिनले गर्छ । आवश्यक परे सम्बन्धित विभागमा रिफर पनि गर्छ ।
गर्मी मौसममा कस्ता प्रकारका रोगले आक्रमण गर्छ ?
गर्मी मौसममा सरुवा रोगले बढी आक्रमण गर्छ । प्रदूषित पानी, खानेकुरा र प्रदूषित हावाबाट रोगहरू सर्ने गर्छन् । मौसम परिवर्तनसँगै हावाहुरी चल्छ । यसले आँखाको एलर्जी हुने सम्भावना बढ्छ । त्यस्तै, रुघा, खोकी, छाती दुख्ने, छातीको संक्रमण पनि हुन सक्छ । यो मौसममा विशेषगरी पानी, खानेकुरासँग सम्बन्धित रोगहरू जस्तै झाडाबान्ता, टाइफाइड, जन्डिस, कोलेरा, मलेरियाजस्ता रोगले आक्रमण गर्छ ।
यस्ता रोगबाट बच्न के गर्न सकिन्छ ?
यस्ता रोगबाट बच्न हामीले मौसम अनुसार परिवर्तन हुन जान्नुपर्छ । जाडोमा जाडोबाट बच्छौं भने गर्मीमा प्रदूषणबाट बच्नुपर्छ । हावाहुरी चल्ने मौसम भएको हुनाले मास्क लगाएर हिड्नुपर्छ । जहाँ पायो त्यहीँको खाना खानु हुँदैन । विशेषगरी, सडकमा नछोपीकन विक्री गर्न राखिएका, झिँगा भन्किएका खाना खानु हुँदैन । दिसापिसाबको सही व्यवस्थापन गर्नुपर्छ । खाना पकाउनुअघि र खाना खानुअघि राम्ररी साबुनपानीले हात धुनुपर्छ ।
काठमाडौं उपत्यकाको प्रदूषणबारे केही बताइदिनुहोस् न ?
उपत्यकाको पानी प्रदूषित छ । जारको पानी पनि शुद्ध होला भनेर विश्वास गर्न सक्ने अवस्था छैन । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले वितरण गर्ने धाराको पानी पनि पिउन योग्य छैन । पानीमा ढल मिसिने गरेको छ । त्यसैले अहिले नै पानीबाट लाग्ने रोग बढ्न थालेको छ । धेरैजसो मानिसले पानी सीधै पिउने गरेका छन् । शहरमा प्रयोग गरिने तरकारी पनि प्रदूषित हुने गरेको छ । होटेलमा सलादहरू पखालिएको देखिँदैन । होटेलमा खाँदा धेरै मानिस बिरामी हुनुको मुख्य कारण सरसफाइ र पानी हो । काठमाडौं उपत्यका रोगको केन्द्र बनेको छ । त्यसैले बेलाबखत काठमाडौंमा सरुवा रोगको महामारी फैलिने गरेको छ ।
तरकारीमा प्रयोग हुने विषादी र किटाणुबारे बताइदिनुहोस् न ?
तरकारी दूषित हुने तीनओटा कारण छन् । सरकारले विषादी मिसिएको छैन भने पनि विषादी मिसिएको छ । किसानले पनि विषादी छिट्नेबित्तिकै बजारमा ल्याइहाल्छन् । विषादी छरेपछि २१ दिनसम्म खानु हुँदैन भन्ने मापदण्ड छ । तर, किसानले त्यति धेरै दिनसम्म पर्खंदा तरकारी बूढो भएर जाने भएकाले चाँडै बजारमा लाने गरेका छन् । अर्को विषय भनेको धेरै समयसम्म तरकारी राखेपछि कीराले आक्रमण गर्छ । त्यसलाई पनि फोहोर पानीमा लगेर पखाल्ने र स्टोर गर्ने ठाउँ पनि सफा नरहेको हुँदा विषादी र कीटाणुले पनि रोगहरू निम्त्याउँछन् ।
यसबाट बच्ने उपायहरू छन् ?
विषादीबाट बच्न तरकारीको १ झिल्ली फालेर पकाउने गर्नुपर्छ । पखाल्न मिल्ने वस्तुलाई काट्नुभन्दा अगाडि पखाल्नुपर्छ । पखाल्दा बग्ने पानीमा पखाल्नुपर्छ । चोपेर निकाल्ने होइन । तरकारी तथा फलफूलको बोक्रा तास्न मिल्ने भए तासेर फाल्नुपर्छ । त्यसबाट पनि धेरै विषादी हटाउन सकिन्छ । तरकारी उमालेर पानी फालेर पकाए पनि केही हदमा तरकारी शुद्ध हुन्छ ।
तासेको तरकारी तथा फलफूलभित्र विषादी रहँदैन ?
भित्र रहेको विषादीले त्यति धेरै असर गर्दैन । विषादी विशेष गरेर बाहिर रहेको हुन्छ । तरकारी तथा फलफूलमा कीरा बाहिर बस्ने भएकाले विषादी बनाउँदा बाहिरी सतहमा काम गर्ने किसिमको बनाइएको हुन्छ ।
अर्को विषादी भनेको इन्जेक्सन विषादी हो । किसान तथा व्यापारीले काँक्रा, परवर, खरबुजामा सुई नै लगाइदिने र केरामा फर्मालिन हालेर गुम्स्याई पकाउने गर्छन् । त्यसबाट बच्ने अरू उपाय सरकारले चाहेमा मात्र सम्भव छ । त्यसका लागि सरकारले कडा कानून बनाई कारबाही गर्न सक्छ ।
तरकारीको विषादीले मानिसमा कस्तो असर गर्छ ?
तरकारीको विषादीले लामो समयसम्म असर गर्छ । शुरूमै खानेबित्तिकै घ्यारघ्यार हुने, रिँगटा लाग्ने, दम बढ्ने, आँखा कमजोर हुने, पछि नशाको रोग निस्कन थाल्छ । हात झमझम गर्ने जस्ता रोग देखिन थाल्छन् । त्यस्तै, पेट फुल्ने, अपच हुने, डाइरिया हुने जस्ता समस्या निम्तिन्छन् ।
दीर्घकालीन रूपमा भने त्यसले नशा झमझम गर्ने, हातगोडा पोलेजस्तो हुने, हातगोडा लुलो भएजस्तो हुने, प्यारालाइसिस जस्तो हुने र नशासम्बन्धी विभिन्न रोग लाग्ने गर्छ ।
दूषित पानीबाट बच्न केकस्ता उपाय अपनाउन सकिन्छ ?
पानीलाई फिल्टर गर्दा ७० देखि ८० प्रतिशतसम्म कीटाणु नष्ट हुन्छ । पानी नउमाली सबै कीटाणु मर्दैन । फिल्टरले धमिलोपना र ठूलोठूलो ब्याक्टेरिया हटाउँछ भने उमाल्दा सबै कीटाणु मर्छन् । अहिले बजारमा केमिकल पीयूष हालेको पाइन्छ, तर त्यसले राम्रो काम गर्दैन । पानी तताउँदा लाग्ने खर्चभन्दा उपचार खर्च धेरै हुने भएकाले उमालेको पानी पिउनु नै उत्तम उपाय हो ।
मुहानको पानीमा कीटाणु हुँदैन ?
मुहानको पानी अन्य पानीको तुलनामा सुरक्षित त हुन्छ, तर जजिआडिया भन्ने कीटाणु हुन सक्छ । त्यो पानीमा मिसिरहेको हुन्छ । कहीँ न कहीँबाट त्यो आएकाले त्यसमा शुद्धता नहुन सक्छ । त्यसले जन्डिस नगराउला, तर झाडाबान्ता गराउन सक्छ ।
मानिसमा कसरी रोग लाग्ने गर्छ ?
मानिसमा हावा, पानी र आनीबानीबाट रोग लाग्ने गर्छ । पानीमा हुने कीटाणुबाट चाँडै देखिने रोग लाग्छ । हावाबाट दम र श्वासप्रस्वास सम्बन्धी रोग लाग्छ । यसले फोक्सो र घाँटीको क्यान्सरसमेत निम्त्याउने खतरा हुन्छ । यसबाट बच्न मास्क लगाएर हिंड्नुपर्छ ।
प्रदूषित पानीबाट पनि रोग लाग्छ । जहाँ पायो त्यहीँ खाने र जंकफूड खानाले मोटोपना, सुगर, प्रेसर, क्यान्सर पनि हुने गरेको छ । पानी हावा र आनीबानी सुधार्यौं भने धेरै रोग लाग्न पाउँदैन । चुरोट, रक्सी, सुर्तीबाट पनि धेरै रोग लाग्ने भएकाले सेवन गर्नुहुँदैन । यस्ता वस्तुको सेवन नगर्दा ७० प्रतिशत बिरामी हुनबाट बच्न सकिन्छ ।
सरुवा रोगबाट बच्न के गर्न सकिन्छ ?
दूषित खाने कुरा नखाने, धेरै बेर पकाएर राखेको खानेकुरा नखाने, झिँगा बसेको खाने कुरा नखाने, भाँडो सफा पानीले धुने गर्दा सरुवा रोग लाग्ने सम्भावना धेरै घट्छ । धेरैपटक पकाएको वा बासी खाना नखाने, त्यसमा प्वाइजन निस्कने गर्छ । मौसमअनुसार तरकारी तथा फलफूल खाने गर्नुपर्छ । प्रशस्त मात्रामा शुद्ध पानी पनि पिउनुपर्छ ।
जेनेटिक रोग के हो र यसलाई कम गर्न के गर्नुपर्छ ?
आमाबाबु वा वंशाणुगत रूपमा सन्तानलाई सर्ने रोगलाई जेनेटिक रोग भनिन्छ । बाबुमा रोगी जिन कडा छ र आमामा त्यो रोगको जिन छैन भने सन्तानमा सबै सम्भावना कम हुन्छ । सरे पनि असर कम देखाउँछ । त्यसैगरी, आमाको रोग बाबुको स्वस्थ जिनले नष्ट गर्न सक्छ । मूलतः जेनेटिक शुद्धताका लागि साँघुरो घेराभित्र विवाह गर्नु हुँदैन । एउटै ठाउँ, एउटै थर, जातभित्र विवाह गरेमा त्यो जात वा थरमा हुने जेनेटिक रोग सन्तानमा सर्ने सम्भावना बढ्छ । भूगोल र जात फरक गरी विवाह गरेमा जेनेटिक शुद्धता आउने गर्छ ।
जेनेटिक रोग कति प्रतिशत सन्तानमा सर्ने सम्भावना हुन्छ ?
३० देखि ४० प्रतिशत बाबुआमाको रोग सन्तानमा सर्न सक्छ । त्यसलाई १०–१५ प्रतिशतमा झार्न सकिन्छ र बच्चाहरूमा कति प्रतिशत रोग सरेको छ भनेर भ्रूण अवस्थामा नै थाहा पाउन सकिन्छ ।
जिनअनुसार नै मानिसको मस्तिष्क विकास भएको हुन्छ ?
मानिसको मस्तिष्क विकास ४ तत्त्वले हुन्छ । पहिलो, पेटमा बच्चा हुँदा कसरी हुर्कियो भन्ने । जस्तै, आमालाई धेरै रोग लाग्यो, धेरै औषधि खानुपर्यो, आराम प्रशस्त पुगेन र पोषिलो खाना खान पाइनन् भने बच्चाको मस्तिष्क राम्रो विकास हुँदैन । दोस्रो, बच्चा जन्मिँदा धेरै बेरसम्म आमालाई व्यथा लाग्यो, बच्चाको टाउको च्यापियो, बच्चा जन्मिने बित्तिकै रोएन वा नीलोकालो भयो भने, बच्चाको मस्तिष्क विकासमा असर पर्छ । तेस्रो, जन्मिएपछि ४–५ वर्षको उमेरसम्म बच्चा कसरी हुर्कियो भन्ने कुरा हुन्छ । धेरै बिरामी भइरहेमा, राम्रोसँग खाना नखाएमा, आमाको दूध २ वर्षसम्म नखुवाएमा, पोषिलो सन्तुलित खाना नखुवाएको बच्चाको मस्तिष्क कम विकास हुन्छ । चौथो, स्कूलिङ राम्रो भएन भने, खुला दिमागमा पढ्न नपाएमा एक्साइड ब्रेन डेभलपमेन्ट कम हुन्छ । सामान्यतया सफल बाबुआमाको छोराछोरी सफल नै भएको देखिन्छ ।
रोगबारे विकसित मुलुकमा कस्तो अभ्यास रहेको छ ?
विकसित मुलुकमा जनताको स्वास्थ्यको जिम्मा सरकारले लिएको हुन्छ । जसका लागि सरकारले प्रत्येक घरमा पिउन योग्य पानी पठाउँछ । हावा र वातावरण स्वस्थ हुन्छ । खानपिनमा पनि सफासुग्घर अपनाइएको हुन्छ । धनी र गरीबले खाने खाना एउटै प्रकारको हुन्छ । सबै खाद्यवस्तु सरकारले शुद्धता जाँचेर पठाउने गर्छ । सरकारको नियन्त्रणमा स्वास्थ्य हुन्छ । शारीरिक व्यायामलाई प्राथमिकता दिइन्छ । प्रत्येक नागरिकको फेमिली फिजिसियनबाट वर्षैपिच्छे स्वास्थ्य जाँच गरी आवश्यक परामर्श र रोकथामको उपाय अपनाइएको हुन्छ । जेनेटिक डिजीज कम गर्ने हरसम्भव उपाय अपनाइएको हुन्छ । सरकारी स्वास्थ्य नीति, अस्पताल, डाक्टर, नर्स, औषधि प्रशस्त मात्रामा र गुणस्तरीय हुन्छन् । त्यसैले विकसित मुुलुकमा मानिसको आयु धेरै हुन्छ । सरकारले चाहेमा र माथिका उपाय अपनाएमा स्वास्थ्यको ६० प्रतिशत बजेट कम गर्न सकिन्छ । तर, सरकार लागिरहेको देखिंदैन ।