ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकलाई लाइसेन्स दिनुपूर्व ब्रोकरले शाखा बढाउन पाउनुपर्छ

May 2, 2019  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान

पूँजीबजारमा हाल ५० ब्रोकर कम्पनीले धितोपत्रको काम गर्दै आएका छन् । अहिले बैंकलाई पनि ब्रोकर लाइसेन्स दिएर पूँजीबजार पहुँच बढाउने तयारी सरकारदेखि पूँजीबजार नियामकसम्मको छ । यो अवस्थामा बैंकलाई ब्रोकर लाइसेन्स दिनुअघि ब्रोकरहरूलाई शाखा बढाउन दिनुपर्ने माग ब्रोकरहरूको छ । प्रस्तुत छ, ब्रोकरहरूको यही माग र साझा समस्याको विषयमा स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष भरत रानाभाटसँग आर्थिक अभियानकी प्रजिता बुढाथोकीले गरेको कुराकानीको सार:

बजार बढेसँगै ब्रोकरको व्यवसाय चम्केको हो ? बजार बढेसँगै यसका स्टेक होल्डरहरू लगानीकर्ता, ब्रोकर, नेपाल स्टक एक्सचेन्ज र सरकार जति पनि छन्, ती सबैलाई फाइदा हुन्छ । जब बजार बढ्छ, कारोबार पनि बढ्ने गर्छ । कारोबार बढेपछि पक्कै पनि ब्रोकरहरूको आम्दानी बढ्छ । ब्रोकरहरूको आम्दानीको एउटा मात्र स्रोत शेयर कारोबार हो । अहिले कारोबार बढेको अवस्थामा अवश्य पनि ब्रोकरहरूको व्यवसाय केही हदसम्म चम्किएको छ ।

धितोपत्र किनबेचमा वैशाखदेखि प्यान अनिवार्य गरिएको छ ? यसको कार्यान्वयनको अवस्था कस्तो छ ? धितोपत्रको दोस्रो बजारका संस्थागत लगानीकर्ताले पहिलादेखि नै प्यानको प्रयोग गर्दै आएका थिए । ठूला लगानीकर्ता धेरैसँग पहिले नै प्यान थियो । जोसँग प्यान छैन, उनीहरूले लिन त्यति गाह्रो कुरा भएन । अहिले हामीले जोसँग प्यान छ, उनीहरूको प्रयोगमा ल्याएका छौं । जोसँग छैन, उनीहरूलाई लिएर आउन भनिरहेका छौं । अहिले ५ लाखभन्दा बढी कारोबार गर्नेलाई प्यान ल्याउन भनिरहेका छौं ।

प्यान कार्यान्वयनपूर्व यसले बजारमा नकारात्मक असर गर्छ भन्ने खालको लगानीकर्ताको गुनासो पनि थियो । तर प्रभाव सकारात्मक देखियो नि ? बजारमा केही नयाँ कुरा आउँदै छ भन्दा त्यसले नकारात्मक असर नै गर्छ कि भन्ने मानसिकता हामीमा छ । यो त्यसकै उपज हो जस्तो लाग्छ । तर अवस्था उल्टो भइदियो । सिस्टममा जाँदै गर्दा निश्चित अवधिसम्म त्यसको नकारात्मक प्रभाव देखिएला कि भन्ने हो । तर सिस्टममा गइसकेपछि दीर्घकालमा त्यसको असर सकारात्मक नै हुन्छ । प्यान कार्यान्वयनमा आउनु भनेको एउटा लगानीकर्ताका लागि त राम्रो कुरा हो । भोलिका दिनमा त्यो लगानीकर्तालाई कर चुक्ता लिन पनि सहज हुन्छ । यही कुरालाई ध्यानमा राखेर लगानीकर्ताले प्यान कार्यान्वयनलाई सकारात्मक रूपमा लिएको देखिन्छ ।

अहिले पूँजीबजारमा सुधार आउनुको कारण के होला जस्तो लाग्छ ? पूँजीबजारमा पनि सिजन र अफसिजन भन्ने गरिएको छ । त्यस्तै तेस्रो त्रैमासिक वित्तीय विवरण आइसकेपछि आगामी दिनमा त्यो कम्पनीले कति लाभांश दिन सक्छ भनेर लगानीकर्ताले विश्लेषण गर्ने गर्छन्, अर्को कारण यो पनि हुन सक्छ । लाभांशका लागि लामो समय कुर्नु परेन । अर्को कुरा बजेट आउने समय हो । जब बजार धेरै डाउन ट्रेन्डमा गयो, त्यसपछि सरकारले नै बजारलाई माथि उठाउन केही नीतिगत कुरा अघि सारेको छ । तीमध्ये कतिपय कुरा बजेटबाटै सम्बोधन गर्नुपर्ने छन् । ती विषय सम्बोधन हुनेमा लगानीकर्ता विश्वस्त भएका हुन सक्छन् । त्यस्तै तेस्रो त्रैमास समाप्तिपछि चौथो त्रैमासमा सरकारले गर्ने खर्चहरू अन्य त्रैमासमा भन्दा बढी हुन्छ । त्यसले गर्दा बजारमा देखिएको तरलता अभाव सहज हुने हिसाबले त्यसको असर बजारमा देखिएको हुन सक्छ ।

पूर्ण अनलाइन कारोबार प्रणाली कार्यान्वयनको अवस्था के छ ? नयाँ सिस्टम लागू हुँदा शुरूका दिनमा केही समस्या थिए । तर पछिल्ला दिनमा अनलाइनमार्फत कारोबार गर्न खासै समस्या देखिएको छैन । शुरूका दिनमा नयाँ सिस्टमलाई स्वीकार्न सबै जनालाई अप्ठ्यारो नै भएको हो । अनलाइन कारोबार प्रणालीको कार्यान्वयन हुँदै जादा बजारलाई राम्रै भएको छ । हामीले पनि अनलाइन लागू भएपछि बजारमा राम्रो प्रभाव पर्ने सोचेका पनि थियौं । अहिले बजार केही बढ्न थालेपछि लगानीकर्ता पनि अनलाइन लगइनका लागि बढी आकर्षित भएका छन् । अहिले लगानीकर्ताहरू आफैले अनलाइनमार्फत राम्रो कारोबार पनि गरिरहेका छन् ।

अनलाइन लगइन लिन लगानीकर्ताहरू आकर्षित भएका छन् भन्नुभयो । तर लगानीकर्ताले ब्रोकरबाट लगइन लिन समस्या भएको गुनासो पनि गरेका छन् । यसमा साँच्चै समस्या छ ? लगानीकर्ताको सोच भनेको मैले माग्नेबित्तिकै युजर नेम र पासवर्ड पाउनुपर्छ भन्ने छ । तर सिस्टमले त्यो लेभलको सर्भिस दिन सकेको छैन । किन सकेको छैन भने पहिले एउटा लगानीकर्ताले जति पनि खाता खोल्न पाउँथे र धेरै ठाउँबाट कारोबार पनि गरिरहेका थिए । तर उसको युनिक क्लाइन्ट कोड जेनेरेट भएको थिएन, जसले गर्दा लगानीकर्ताको सम्पूर्ण जानकारी मेरोमा र अर्कोकोमा फरक पनि पर्न सक्थ्यो । अहिले त्यो ट्र्याकिङ हुन्छ । अर्को डिम्याट खाता पनि इन्ट्रिगेट गर्नुपर्‍यो । यसका लागि एक/दुई दिन त लाग्छ । हामी ब्रोकरहरूलाई जति धेरै युजर नेम र पासवर्ड दिन सक्छौं, त्यति नै धेरै फाइदा हुन्छ । त्यो हिसाबले ब्रोकरहरूले लगइन नदिने भन्ने कुरै हुँदैन ।

लगानीकर्ताले अनलाइन कारोबार प्रणालीलाई अलमल्याउन ब्रोकरहरू नै लागेको आरोप पनि लगाएका छन् । यसमा के भन्नुहुन्छ ? यो आरोप नबुझेर लगाएको हुन सक्छ । अहिले ६ हजारभन्दा बढी लगानीकर्ताहरूले अनलाइन लगइन लिएको अवस्था छ, जसले कारोबार बढ्ने अवस्था सृजना भएको छ । अनलाइन कारोबार हुँदा सबैभन्दा बढी फाइदा ब्रोकरलाई हो । अनलाइन हामीले नै प्रयोग गरिरहेका छौं । समस्या पनि हामीले नै पत्ता लगाइरहेका छौं । सम्बन्धित निकायलाई अनलाइनको यहाँचाँहि समस्या छ भन्दा यो आरोप आएको हुन सक्ला । तर ब्रोकरहरू भने अनलाइन कारोबारको सफलताका लागि लागिपरेका छन् ।

युजर नेम र पासवर्ड लिइसकेका लगानीकर्ताले सहज रूपमा अनलाइनमार्फत कारोबार गर्न सकेको अवस्था छ ? अनलाइनमार्फत कारोबार गर्न त्यति धेरै गाह्रो छैन । दोस्रो बजारमा कारोबार गर्न थालिसकेका लगानीकर्ताहरू कम्प्युटर चलाउन नजान्ने कम नै हुनुहुन्छ । अर्को कुरा, धेरैजसो लगानीकर्ताले मेरो शेयरको एप प्रयोग गरिहेकाले अनलाइन सिस्टम चलाउन सहज भएको छ ।

बैंकहरूलाई ब्रोकर लाइसेन्स दिनुहु“दैन भन्ने ब्रोकरहरूको तर्क छ । सबै ब्रोकरहरूको भनाइ यही हो ? यसलाई हामीले दुई हिसाबमा हेर्नुपर्छ होला । हामीले मात्र होइन, बजारका विशेषज्ञहरूले समेत बैंकलाई ब्रोकर लाइसेन्स दिनुहुँदैन भनिरहेका छन् । हामीले के मात्र भनेको हो भने बैंकलाई दिने नै हो भने पनि उनीहरूलाई दिनुभन्दा पहिला ब्रोकरहरूलाई शाखा विस्तार गर्न दिनुपर्छ । अनलाइन कारोबार शुरू भइसक्यो, बैंकलाई ब्रोकर लाइसेन्सका लागि समय लाग्ला । यो समयमा ब्रोकरलाई शाखा विस्तार गर्न दिनुपर्छ भन्ने हाम्रो माग हो । ब्रोकरले बैंकलाई ब्रोकर लाइसेन्स नदिनुस् भनेर हुने पनि होइन नि त । अहिलेको अवस्थामा नियामक निकायले भइरहेका ब्रोकर कम्पनीको अवस्था के छ, नयाँ ब्रोकरहरू थपिँदा बजारमा टिक्न सक्ने अवस्था छ/छैन भन्ने कुरा पनि हेर्नुपर्छ ।

मार्जिन कर्जा दिने बाटो खुले पनि अझै यसको कार्यान्वयन भएको छैन । के भइरहेको छ ? मार्जिन कारोबारका लागि पनि केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । पहिला नेपाल धितोपत्र बोर्डको स्वीकृतिको कुरा थियो । अहिले नेपाल स्टक एक्सचेन्जको सिफारिशमा नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि पुनः नेप्सेले स्वीकृति दिनुपर्छ । अहिले नेप्सेमा निवेदन दिएका कम्पनीहरूमध्ये केहीको सिफारिश राष्ट्र बैंकमा पुगेको जानकारी छ । कतिपय कम्पनीलाई राष्ट्र बैंकले स्वीकृतिसमेत दिइसकेको छ । सम्भवतः जति पनि कम्पनीले राष्ट्र बैंकबाट स्वीकृति पाएका छन्, ती कम्पनीको प्रक्रिया अघि बढाएर नेप्सेले छिट्टै स्वीकृति दिन्छ जस्तो लाग्छ ।

मार्जिन कर्जाका लागि कति ब्रोकर कम्पनी योग्य होलान् ? हालसम्म २० ओटाको हाराहारी कम्पनीले नेप्सेमा निवेदन दिएका होलान् । ५० ब्रोकर कम्पनीमध्ये हाललाई ५० प्रतिशतजति योग्य छौं । नयाँ आर्थिक वर्ष आउँदै छ हालसम्म पूँजी नपुर्‍याएकाले पनि पुर्‍याउलान् । मार्जिन कारोबार स्वैच्छिक भएकाले पूँजी पुगेकाले पनि इच्छाअनुसार गर्ने भए । तर पनि धेरै ब्रोकरहरू यो कारोबारका लागि इच्छुक छन् ।

ब्रोकरहरूलाई पनि स्टक डिलरको काम गर्ने वातावरण बनाउने नेप्सेको योजना छ । यसमा ब्रोकरहरूको धारणा के छ ? हामीले धेरै पहिलादेखि नै ब्रोकरले पनि स्टक डिलरको काम गर्न पाउनुपर्छ भन्ने माग गर्दै आएका हौं । वास्तवमा यो हामीहरूकै मागबमोजिम नै हुन लागेको हो जस्तो लाग्छ । यसले बजारमा हलचल ल्याउन सहयोग गर्छ । ब्रोकरहरू यही क्षेत्रमा काम गर्छन्, उनीहरू यो क्षेत्रमा बढी जानकार पनि हुन्छन् । त्यसैले जसलाई थाहा छ, त्यसलाई काम गर्ने अवसर थप गर्ने हो । अर्को कुरा, अन्तरराष्ट्रिय अभ्यास हेर्ने हो भने पनि कतिपय देशमा त ओभरल मार्केटको भोल्युममध्ये ६० प्रतिशतभन्दा बढी ब्रोकरले नै कारोबार गर्ने गर्छन् । त्यस हिसाबमा हामीले पहिलेदेखि नै माग गरेका थियौं । यसमा नेप्से र सेबोन पनि सकरात्मक छन् ।

स्टक डिलरका लागि पनि पू“जीवृद्धिको कुरा हुन्छ होला नि ? हामीले सुविधाहरू थप गर्न माग गरिरहँदा यही पूँजीमा सबै काम गर्न दिनुस् भन्न मिल्दैन । हामीले सुविधा दिनुस्, तर पूँजीको कुरामा हामी खुला छौं भनेका छौं । स्टक डिलरका लागि १० करोड पूँजीको कुरा आएको छ । यसमा जसले पु¥याउँछ, उसले गर्छ । तर निर्णय गर्दा धेरैले काम गर्न सक्ने व्यवस्था गरिदिए राम्रो हुने थियो ।

ब्रोकरहरूको साझा समस्या के के छन् ? समाधानका लागि सम्बद्ध पक्षले के पहल गर्न आवश्यक छ ? हाम्रा समस्या त धेरै छन् । हामीले गरेका धेरै माग पूरा भएका छैनन् । भर्खर मार्जिन लेन्डिङ, स्टक डिलरका कुराहरू आइरहेका छन् । हामी बिहानदेखि बेलुकासम्म यही बजारलाई हेरिरहेका हुन्छौं । जति पनि लगानीकर्ता आउनुहुन्छ, सबैभन्दा पहिला ठोक्किने भनेको ब्रोकरहरूसँग नै हो । हाम्रो देशमा बजारको बारेमा जानकारी दिने बाहिर जस्तो ट्रेनिङ सेन्टरहरू पनि छैनन् । त्यस्ता लगानीकर्तालाई हामीले सल्लाह दिनुपर्ने हुन्छ । तर हामी कानूनी रूपमा सल्लाह दिन सक्दैनौं ।

त्यो हिसाबले हामीले एड्भाइजरी सर्भिस र पोर्टफोलियोको कुरा उठाइरहेका हौं । अर्को कुरा, अनलाइन आइसकेपछि ब्रोकरहरूलाई सहज शाखा विस्तार गर्ने वातावरण बनाइदिनुप¥यो । यसले ब्रोकरहरूलाई मात्र होइन, समग्र बजारलाई नै फाइदा हुने थियो । जसरी हामी अन्तरराष्ट्रिय स्तरको पूँजीबजार निर्माणको परिकल्पना गरिरहेका छौं, त्यही रूपमा निर्णयहरु भइदिए राम्रो हुने थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)