शहरीकरण, जीवनशैलीमा परिवर्तनसँगै मधुमेह, उच्च रक्तचाप, पत्थरी आदि समस्याले हाल मुलुकमा दीर्घकालीन रूपमा मिर्गौला फेल हुने समस्या बढ्दो छ । हालसम्म यो रोगलाई समाप्त गर्ने कुनै औषधि उपलब्ध छैन । तर समयमै सतर्कता अपनाए यो रोगबाट बच्न र यस्ता रोगीलाई डायलासिस वा मिर्गौला प्रत्यारोपणसम्मको स्थितिबाट जोगाउन सकिन्छ ।मिर्गौला फेलको प्रारम्भिक अवस्थामै रोग पहिचान गरी औषधि र आहार विहारमा नियन्त्रण गरे प्रत्यारोपण वा डायलासिस नै गर्नुपर्ने अवस्था टार्न सकिन्छ । यस्तो स्थितिमा चिकित्सकहरूले मिर्गौलाको बाँकी रहेको कार्यक्षमता कायम राख्दै थप बिग्रिनबाट जोगाउ“छन् । उचित उपचारका माध्यमले डायलासिस वा मिर्गौला प्रत्यारोपणको स्थिति सकभर आउन दिइँदैन । प्रस्तुत छ, यिनै सेरोफेरोमा रहेर मिर्गौला रोग विशेषज्ञ डा. उपेन्द्र जोशीसँग आर्थिक अभियानका प्रमुख संवाददाता पूर्णभक्त दुवालले गरेको कुराकानीको सम्पादित अंश :मिर्गौलाको काम के हो ?
प्रत्येक मिनेट मिर्गौलामा १ लिटरदेखि १२ सय मिलिलिटर (१ लिटर २ सय मिलिलिटरसम्म)सम्म रगत पुग्ने गर्छ । मिर्गौलाको आकारको अनुपातमा यो मात्रा निकै बढी हो । मिर्गौलाले हाम्रो रगतबाट विषाक्त पदार्थ एवं अनावश्यक पानी बाहिर निकाल्छ र शरीरलाई सफा राख्छ । मिर्गौलाले शरीरमा रक्तचाप नियन्त्रण, सोडियम र पोटासियमको मात्रामा नियन्त्रणसँगै रगतको अम्लीयता नियन्त्रणमा महत्त्वपूर्ण भूमिका राख्छ । यसले रातो रक्तकोष बनाउन सघाउँछ र शरीरमा क्याल्सियमको मात्रा सही राखेर हाड बलियो बनाउँछ । मिर्गौलाले एक दिनमा १७ सय लिटर रगत फिल्टर गर्छ । यसले कम्तीमा २ लिटर पिसाब बनाउँछ । मानव शरीरमा जम्मा हुने दूषित पदार्थ छानेर बाहिर निकाल्नु मिर्गौलाको मुख्य काम हो । यसबाहेक यसले हर्मोन पैदा गर्छ । रगत बन्न आवश्यक हर्मोन पनि यसले बनाउँछ । शरीरमा रक्तचाप तथा तापक्रम नियन्त्रण गर्ने काम मिर्गौला र फोक्सोले गर्छन् । हामीले खाएको खानाबाट आवश्यक तत्त्व लिने र अनावश्यक कुरा फाल्ने काम मिर्गौलाको हो ।
मिर्गौलामा कस्तो रोग लाग्न सक्छ ?
मिर्गौलामा लाग्ने रोगका विभिन्न वर्ग छन् । एउटा अनुवांशिक नै हुन्छ । जस्तै– पोलिसिस्ट किड्नी डिजिज् । यो रोग लागेका मानिसको किड्नीमा जन्मैदेखि पानी भरिएका फोका हुन्छन् । यो रोग लागेका मानिसको परिवारका अरू सदस्य पनि यो रोगबाट ग्रस्त हुन्छन् । यो भएमा बारम्बार पिसाब लाग्ने र संक्रमण भएर मिर्गौलामा असर गर्छ । एक्युट किड्नी इन्जुरीका कारण पनि मिर्गौलामा समस्या हुने गर्छ । यो मधुमेह, उच्च रक्तचाप, पेनकिलर र एन्टिबायोटिकहरूले गर्दा लाग्ने रोग हो । त्यस्तै कसैकसैको जन्मजात नै पिसाबको नली साँघुरो हुन्छ । यसले पनि मिर्गौलामा समस्या निम्तिने गर्छ ।
मिर्गौलामा लाग्ने रोग कत्तिको आम स्वास्थ्य समस्या हो ?
मिर्गौला पहिले नेपालमा मिर्गौलाको रोगबारे आम मानिसलाई थाहा थिएन । अहिले धेरैलाई यसबारे थाहा छ । तथ्यांकका आधारमा यो आम स्वास्थ्य समस्याकै रूपमा देखापरेको छ । सरकारी तथ्यांकअनुसार नेपालमा हरेक महीना २५ सय जनाको मिर्गौला बिग्रन्छ । यो अझ बढी नै होला भन्ने हाम्रो अनुमान छ । विश्वको तथ्यांक हेर्ने हो भने १० प्रतिशत मानिसमा मिर्गौलाको कुनै न कुनै खालको समस्या छ । नेपालमा मात्र प्रतिमहीना २५ सय देखि ३ हजार मानिसको मिर्गौला खराब हुन्छ । यो सिजनल हुन्छ, अर्थात् गर्मीमा बढी देखिन्छ । यतिबेला हामी पानी कम पिउँछौं । तर पसिना बढी निस्कन्छ ।
मिर्गौला रोगका लक्षण के कस्ता छन् ?
खासगरी विश्वव्यापी रूपमा ९० प्रतिशत मिर्गौला रोगीहरू मधुमेह र उच्चरक्तचापसँग सम्बन्धित छन् । बाँकी १० प्रतिशत मिर्गौलाबाट प्रोटिन चुहिने, पत्थरी हुने, जनेटिक डिजिज जस्ता कारणले हुन्छ ।
बिहान बढी अनुहार सुन्निनु, आँखाको चारैतर्फ र खुट्टा सुन्निनु, भोक कम लाग्नु, वाकवाकी लाग्नु, कमजोरी अनुभव हुनु, छिट्टै थाक्नु, शरीरमा रगतको कमी हुनु, कम उमेरमा उच्च रक्तचाप हुनु, कम्मरको तल्लो भाग दुख्नु, पिसाब धमिलो वा रातो हुनु राति पिसाब लागेको लाग्यै हुनु मिर्गौला रोगका लक्षण हुन् ।
सिस्टिक किड्नी डिजिज भनेको के हो ?
मिर्गौलामा पानीका ससाना फोकाहरू हुनु सिस्टिक किड्नी डिजिज हो । पानीको फोका विस्तारै बढेर आउँछ । यो दुई किसिमको हुन्छ । एक्वाइडसिस्ट उमेर बढ्दै गएपछि यत्तिकै देखिन्छ । यसलाई एडीपीकेडी अर्थात् एडल्ट पोलिस्टिक किड्नी डिजिज भनिन्छ । ४०–५० वर्षको भएपछि यो देखिन थाल्छ । अर्को वंशाणुगत कारणले गर्दा हुन्छ । यो आमाबुबाबाट छोराछोरीमा सर्ने गर्छ । यो खासगरी ३० वर्षको उमेरमा देखिन थाल्छ । यसलाई अटोसोमन डोमिनेन्ट पोलिस्टिक किड्नी डिजिज भनिन्छ । एडीपीकेडी किन हुन्छ भनेर अहिलेसम्म पत्ता लागेको छैन । यो विस्तारै मात्र बढ्ने हुन्छ । यसलाई शल्यक्रिया गरिहाल्नुपर्छ भने छैन । यदि धेरै नै ठूलो भयो । दुखाइ धेरै नै बढ्यो, संक्रमण भएर मिर्गौला नै बिग्रिने अवस्था आयो र पिसाब नलीलाई थिच्न थाल्यो भने शल्यक्रिया गरेर सिस्ट फाल्नुपर्छ ।
सिस्टको अन्य उपचार विधि के हो ?
सिस्ट विस्तारै मात्र बढ्ने हुन्छ । सिस्टले गर्दा अन्य अंगलाई असर नगरेसम्म शल्यक्रिया गर्नु पर्दैन । शल्यक्रिया गरे पनि पछि फेरि पलाएर आउँछ । यसलाई रोक्न मोटोपना हुन दिनु हुँदैन । मधुमेह हुनबाट बच्नुपर्छ । रक्तचाप नियन्त्रण गर्नुपर्छ ।
मिर्गौलामा रोग लागेको कसरी पत्ता लगाउन सकिन्छ ?
जसमा मधुमेह छ, उच्च रक्तचाप छ, उसले सचेतता अपनाउनै पर्यो । किनकि उनीहरूलाई मिर्गौलाको रोग लाग्ने सम्भावना बढी हुन्छ । अन्य लक्षणको कुरा गर्दा, एउटा पिसाब कम हुन्छ । (कम्तीमा साढे २ लिटर पिसाब हुनुपर्छ ।) पिसाबको रङ फेरिन्छ । पिसाबमा फिँज देखिन्छ । जीउ सुन्निन्छ । श्वास फेर्न गाह्रो हुन्छ । रक्तचाप बढ्छ । खानामा रुचि घट्दै जान्छ, खानै मन नलाग्ने पनि हुन्छ । अनि बान्ता हुन्छ । एक्युट किड्नी इन्जुरीका लक्षण हुन् यी ।
क्रोनिक किड्नी इन्जुरी भएमा पिसाबमा प्रोटिन देखा पर्छ । फिँज आउँछ । दिनमा भन्दा रातमा बढी पिसाब लाग्छ । शरीरमा पानी जम्मा हुन्छ । मिर्गौला र मुटुमा पनि पानी जम्छ । शरीरमा रगत कम हुँदै जान्छ । अल्छी लाग्छ । छालामा दाग देखा पर्छन् । विस्तारै हड्डी कमजोर हुन्छ । यस्ता लक्षण देखिएमा शंका गर्नुपर्छ ।
मिर्गौला बिग्रिन लाग्यो भनेर कसरी थाहा पाउने ?
मिर्गौलाको लक्षण धेरैलाई देखिँदैन । अन्तिम समयमा मात्र यसले लक्षण देखाउने भएकाले हरेक स्वस्थ व्यक्तिले वर्षको एकपटक स्वास्थ्य परीक्षण गर्नुपर्छ । मधुमेह र रक्तचापका बिरामीले कम्तीमा ६ महीनामा एकचोटि मिर्गौला परीक्षण गर्नुपर्छ ।
खासगरी ४० कटेका मानिसमा केही न केही रोग लाग्न सक्छ । उच्च जोखिममा रहेका मधुमेह, युरिक एसिड, उच्च रक्तचाप तथा शरीरको कुनै अंगमा ढुंगा भएको व्यक्तिले परीक्षण गरिरहन अनिवार्य छ । स्वस्थ मानिसले पनि वर्षमा एकपटक मिर्गौलाको परीक्षण गराउनैपर्छ ।
प्रोटिन किन चुहिन्छ ?
मधुमेहकै कारण पनि प्रोटिन चुहिन सक्छ । क्लोरोलेफराटिस्ट, एसएलई, घाँटीको संक्रमणले पनि प्रोटिन चुहिने रोग लाग्छ । समयमै पत्ता लाग्यो भने डायलासिसको चरणमा जानुपर्दैन ।
मिर्गौला रोगको परीक्षण कहाँ गर्ने ?
जिल्ला अस्पतालमा पनि युरिया क्रेटिन, पिसाब, अल्ट्रासाउन्ड जाँच्ने सुविधा दिएको छ । अहिले मधुमेह जाँच गराउने सुविधा सजिलै उपलब्ध छ । हरेक मेडिकल कलेजमा मिर्गौला परीक्षण तथा उपचार सुविधा पाइन्छ । स्वास्थ्य संस्थामा गई पिसाब र रगत जाँचका साथै अल्ट्रासाउन्ड गर्नुपर्छ । अरू रोग वा लक्षणअनुसार अन्य परीक्षण पनि आवश्यक पर्न सक्छ ।
मिर्गौलाको रोगीले खानेकुरा बार्नुपर्छ कि पर्दैन ?
प्रत्येकले प्रशस्त झोल पदार्थ खानुपर्छ । एक दिनमा साढे २ लिटर झोल पदार्थ खानैपर्छ । पेनकिलर जथाभावी खानु हुँदैन । नून र पोटासियम बढी भएको खाना खानु हुँदैन । गोलभेँडा, केरा, मौसम, सुन्तला र आलु ठिक्क मात्रामा खानुपर्छ । मधुमेह, रक्तचाप र तनाव कम गर्नुपर्छ । मोटोपन नियन्त्रण गर्ने अनि शारीरिक व्यायाम गर्नुपर्छ । अर्को कुरा– धूमपान र मद्यपान त सबै रोगका लागि जोखिमपूर्ण नै हुन्छन् । मिर्गौला स्वस्थ राख्न गेडागुडी र घिउ पनि कम खानुपर्छ । च्याउ, मासु जस्ता प्रोटिन बढी हुने खाना कम गर्नुपर्छ ।
मिर्गौला रोगको उपचारका लागि पाइने सरकारी सुविधा के छ ?
राष्ट्रिय स्वास्थ्य उपचार केन्द्रले हरेक ३ महीनामा एकपटक मिर्गौलासम्बन्धी उपचार निःशुल्क गरेको छ । परीक्षण त सस्तै हुन्छ, तर डायलासिस नै गर्नुपर्यो भने महँगो पर्छ । डायलासिस भनेको मिर्गौलाको जीवन लम्ब्याउने मात्र हो । डायलासिस अहिले निःशुल्क गरिएको छ । डायलासिस सेवाले सामान्यतया ३ देखि ५ वर्ष आयु बढाउन सकिन्छ । मिर्गौला प्रत्यारोपणका लागि शल्यक्रिया गर्न सरकारले साढे ४ लाख रुपैयाँ सहयोग गर्छ । सरकारले यसरी सहयोगसँगै रोग रोकथामका लागि पनि काम गर्नुपर्छ । वर्षमा एकचोटि पिसाब र रगत जँचाउनुपर्छ भने सन्देश गाउँगाउँमा पुर्याउनुपर्छ ।