ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धितो मूल्यांकन सम्बन्धमा आवश्यक कानून यथाशीघ्र बनाउनुपर्छ

May 3, 2019  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
३० वर्षअघि नेपालका बैंकहरूले धितोको मूल्यांकन नै नगरी कर्जा प्रवाह गर्थे, जसले गर्दा बैंकिङ क्षेत्रमा विभिन्न समस्या देखिए । त्यसपछि नेपालमा पनि धितोको मूल्यांकन गरेर कर्जा प्रवाह गर्ने प्रवृत्तिको विकास भयो । अहिले इन्जिनीयरहरूले धितो मूल्यांकन गरेर उचित मूल्य तोक्ने गरेका छन् । र, सोही मूल्यको आधारमा बैंकहरूले ऋणीलाई कर्जा प्रवाह गर्ने गरेका छन् । तर, यस सम्बन्धमा आवश्यक कानून नहुँदा विभिन्न समस्या उत्पन्न हुने गरेका छन् । प्रस्तुत छ, नेपाल भ्यालुअर्स एशोसिएशनको साधारणसभाको पूर्वसन्ध्यामा एशोसिएशनका अध्यक्ष ई. ऋषि कोइरालासँग आर्थिक अभियानका मिलन विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश : नेपाल भ्यालुअर्स एशोसिएशन संगठन किन आवश्यक देखियो, र यसका उद्देश्य केके छन् ? अझै पनि कर्जाका लागि बैंकमा धितोमा राख्ने सम्पत्तिको मूल्यांकन गर्ने सम्बन्धमा कानून छैन । जसले गर्दा हामीलाई व्यावहारिक तथा कानूनी समस्या आइरहेका छन् । यस्ता विषयलाई दृष्टिगत गर्दै हामीले यस संगठनको २०६८ सालमा स्थापना गरेका हौं । कानूनविना नै काम गर्दा कस्तो समस्या आइरहेको छ ? अहिले मूल्यांकनकर्तालाई कारबाही गर्ने सम्बन्धमा मात्र कानून छ । तर, मूल्यांकन कसरी गर्ने भन्ने विषयमा कानून छैन । ऋण असुल नभएको अवस्थामा बैंकहरूले विभिन्न बहानामा मूल्यांकनकर्तालाई नै दुःख दिने गरेका छन् । ऋणीले कर्जा चुक्ता गरेन भनेर हामीलाई चिठी आउँछ । साथै, कालोसूचीको धम्की दिएर मूल्यांकनकर्ताबाट ऋण असुल गरेको घटना पनि छ । यस्तै, बैंकले कागजपत्र नक्कली हो कि सक्कली भनेर मूल्यांकनकर्तालाई हेर्न दिन्छन् । त्यो हाम्रो काम होइन । हाम्रो विशुद्ध रूपमा प्राविधिक काम हो । कागजपत्र नक्कली हो कि सक्कली भनेर हामीले छुट्याउनुपर्ने भए बैंकमा हुने कानून विभागले के काम गर्ने ? साथै, बैंक आफैले मूल्यांकन गर्न दिएको कागज नक्कली भयो भनेर हामीलाई दुःख दिने गरेका छन् । यसरी आवश्यक कानून नहुँदा हामीलाई व्यावहारिक समस्या आइरहेको छ । यस विषयमा नेपाल राष्ट्र बैंकबाट कस्तो प्रतिक्रिया आएको छ ? संगठनले कानून निर्माणका लागि भनेर राष्ट्र बैंकलाई निर्देशिकाको मस्यौदा नै दिइसकेको छ । तर, कार्यान्वयनमा आएको देखिएन । यद्यपि, यस विषयमा गभर्नर डा. चिरञ्जीवी नेपाल सकारात्मक हुनुहुन्छ । अहिले राष्ट्र बैंकले कानून निर्माणका लागि शीघ्ररूपमा समिति निर्माण गर्ने आश्वासन दिएको छ । यसपछि मूल्यांकनकर्ता, बैंक र राष्ट्र बैंकबीच छलफल गरेर कानून बनाउने काम हुन्छ । स्थापनादेखि अहिलेसम्म आउँदा संगठनले कस्ता गतिविधि गर्‍यो ? बैंकले ऋण असुल नभएर मूल्यांकनकर्तालाई दुःख दिने गरेको छ भने त्यसमा पनि पैरवी गर्दै आएका छौं । साथै, संगठन विस्तारमा उपलब्धि भएको छ । संगठन स्थापना गर्दा हामी जम्मा सात जना मूल्यांकनकर्ता थियौं । यसको आवश्यता महसूस गर्दै गएपछि अहिले हाम्रा संगठनमा ३ सय ५१ कन्सल्टेन्सीले सदस्यता लिएका छन् । मूल्यांकनकर्ता र बैंकहरूबीच दुविधा छ भन्ने पनि छ, अहिलेको अवस्था कस्तो छ ? बैंकहरूसँग यावत् विषयमा दुविधा छ । ऋण असुल नभएमा मूल्यांकनकर्ताले नै ऋण चुक्ता गर्नुपर्ने जस्ता सम्झौता गरेर हामीलाई दुःख दिने गरेका थिए । पछि नेपाल बैंकर्स एशोसिएशनसँग सम्झौता गरेपछि अहिले केही सुधार आएको छ । तर, यो समस्याको पूर्णरूपमा समाधान भएको छैन । उक्त सम्झौता हाल २० बैंकले लागू गरेका छन् । साथै, ४ बैंक पनि लागू गर्ने तयारीमा छन् । यदि सबै वाणिज्य बैंकले उक्त सम्झौता लागू गरे यस्तो समस्या आउने थिएन । धितोको मूल्यांकन पराम्परागत रूपमा नै भइरहेको छ, के मूल्यांकनमा अन्तरराष्ट्रिय प्रणाली आवश्यक नभएको हो ? धितोको मूल्यांकन पराम्परागत रूपमा भइरहेको भन्ने सत्य नै हो । तर, अब हामी अन्तरराष्ट्रिय अभ्यासमा जानै पर्छ । सम्बन्धित स्थानका मानिसको भनाइका आधारमा सम्पत्तिको मूल्यांकन गरेर हुँदैन । अहिले अन्तरराष्ट्रिय स्तरका बैंकहरू नेपाल आउने तयारीमा छन् । त्यो अवस्थामा यो प्रकारको धितो मूल्यांकनले काम गर्दैन । अब हामी अन्तरराष्ट्रिय अभ्यासअनुसार धितो मूल्यांकन गर्ने तयारीमा छौं । फरक छ । धितो मूल्यांकनका लागि जनशक्तिको अवस्था कस्तो छ ? अहिलेकै बजारअनुसार भन्ने हो भने दक्ष जनशक्तिको अभाव छैन । तर, भोलि ठूलाठूला परियोजनाको मूल्यांकन गर्ने अवस्था आयो भने नेपालमा त्यसको मूल्यांकन गर्न सक्ने क्षमता भएका व्यक्ति छैनन् । ऊर्जाजस्ता ठूला परियोजनाको मूल्यांकन गर्नुपर्ने अवस्था आयो भने छिमेकी मुलुकका मूल्यांकनकर्ता लिनुपर्ने हुन सक्छ । यस विषयमा पनि हामीले सोच्नुपर्ने बेला आएको छ । धितोको मूल्यांकन केके आधारमा गर्ने भनेर कुनै मापदण्ड छैन, यस अवस्थामा तपाईंहरूलाई काम गर्न कत्तिको सहज भएको छ ? अहिले हामीले सररकारी र बजार मूल्यको आधारमा जग्गाको मूल्याकंन गरेका छौं । तर, यस सम्बन्धमा स्पष्ट व्यवस्था नहुँदा विभिन्न समस्या आएका छन् । आफ्नै विवेकले मूल्यांकन गरिरहेको अवस्था छ । बैंकले एउटा मूल्यांकर्ताले गरेको मूल्यांकन चित्त नबुझेर अर्काे लिने गरेका छन् । त्यस अवस्थामा एउटै सम्पत्तिको दुई वा सोभन्दा बढी मूल्यांकनकर्ताले मूल्यांकन गर्दा ठूलो फरक आउने गरेको छ । यस विषयमा पनि नियमन गर्नुपर्ने देखिन्छ । धितो मूल्यांकनमा बैंकबाट कत्तिको सहयोग पाउनुभएको छ ? आवश्यक मात्रामा सहयोग भएको देखिँदैन । हामीले त धितोमा राख्ने सम्पत्तिको मूल्यांकनमात्र गर्ने हो । त्यसमा केही मूल्यांकनकर्ताले नियतवश ठगी गर्छन् भने कारबाही गर्न सक्छन् । तर, ऋण असुल भएन भनेर, अरू कसैले जग्गा अतिक्रमण ग¥यो भने हामीलाई दुःख दिन आवश्यक छैन । हामीले त काम गरेबापत केही कमिशन खानेमात्र हो, हामीलाई ऋण चुक्ता गर भनेर पत्राचार गर्नु एकदम अव्यावहारिक हो । साथै, केही मूल्यांकनकर्ताले काम नपाएर बैंक शर्त मान्न बाध्य छन् । तर, बैंकहरूले उनीहरूको बाध्यताको फाइदा उठाउनु हुँदैन । मूल्यांकनकर्ताका त्यस्ता बाध्यतामा बैंकहरूले विभिन्न अव्यावहारिक विषयमा फाइदा उठाएका छन् । यसको समाधानका लागि राज्यले पनि सहयोग गर्न आवश्यक छ । मूल्यांकनकर्ताको दायरा कस्तो छ ? नेपालमा यसको दायरा अत्यन्त संकुचित छ । नेपालमा मूल्यांकनकर्तालाई बैंकको धितो मूल्यांकन गर्ने भनेर मात्र चिनिन्छ । हाल यसको दायरा पनि यतिमा नै सीमित छ । तर, यसको दायरा यति मात्र होइन । विदेशमा ठूलाठूला सम्पत्तिको मूल्यांकनकर्ताबाट नै मूल्यांकन गरेर कर निर्धारण गरिन्छ । साथै, दाजुभाइबीच अंशबण्डा गर्दा पनि मूल्यांकनकर्ताले नै मूल्यांकन गर्छ । तर, नेपालमा यस्तो प्रवृत्तिको विकास भएको छैन । साथै, अदालती विषयमा पनि मूल्यांकन हुन आवश्यक छ । जुन सम्पत्तिको बजार मूल्य कम छ, त्यसको सरकारी मूल्य बढी बनाएर ठग्ने काम भएको छ । यस विषयमा पनि सरकारले ध्यान दिन आवश्यक छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)