सुर्खेत । सुर्खेतको ऐतिहासिक क्षेत्र काँक्रेविहारको पुनर्निर्माणमा ढिलाइ भएको छ । तोकिएको समयमा काम सम्पन्न नभएपछि म्याद थप्दा समेत पुनर्निर्माणले गति लिन नसकेको हो ।
पुरातत्त्व विभागले काँक्रेविहार पुनर्निर्माणका लागि ३ वर्षभित्र काम सक्नेगरी २०७२ सालमा काठमाडौंको सिद्धबाबा कन्स्ट्रक्शन प्रालिलाई पौने १० करोडमा ठेक्का दिएको थियो । पुनर्निर्माणमा थपिएको सम्झौता समयावधि सकिनै लाग्दा समेत ठेकेदार, स्थानीय जनप्रतिनिधिसँगै प्रदेश सरकारले चासो दिएको छैन ।
काँक्रेविहारमा दैनिक सरदर २ सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । तर पिउने पानी, शौचालय जस्ता पूर्वाधार नहुँदा उनीहरू मर्कामा परेका छन् । उक्त समस्या समाधानका लागि स्थानीय जनप्रतिनिधिले समेत ध्यान नदिएको लाटीकोइलीका नर्बु गुरुङको गुनासो छ ।
काँक्रेविहार पुनर्निर्माणमा भएको ढिलाइप्रति सरोकारवालाले बेवास्ता गरेपछि स्थानीय स्तरबाट ठेकेदार कम्पनीलाई खबरदारी गर्न थालिएको गुरुङले बताए । पुनर्निर्माणको काममा ढिलाइ हुँदा पर्यटकलाई समेत असर गरेको शिवनगर टोल विकास संस्थाका अध्यक्ष राजु केसीले बताए । ‘पिउने पानी, शौचालय जस्ता अत्यावश्यक पूर्वाधार स्थानीय जनप्रतिनिधिले आफ्नै पहलमा तयार पार्न सक्छन्,’ स्थानीय समाजसेवी मदनबहादुर खड्काले भने, ‘यस विषयमा उनीहरू जिम्मेवार बन्नुपर्छ ।’
यता, वीरेन्द्रनगर नगरपालिकाका–९ का वडाध्यक्ष सुरेश मानन्धरले ठेकेदार कम्पनीले काँक्रेविहार पुनर्निर्माणका महत्त्वपूर्ण काम पूरा गरिसकेकाले बताए । जेठ मसान्तभित्र सम्पन्न हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । काँक्रेविहारलाई सरकारी स्तरबाटै विशेष योजनाअनुरूप पुनर्निर्माण गर्न लागिएकाले योजनाबद्ध विकासका काम भइरहेको जिकीर उनले गरे । ‘वीरेन्द्रनगर नगरपालिकाले काँक्रेविहारमा पिउने पानी र शौचालयका लागि १६ लाख विनियोजन गरिसकेकाले छिट्टै निर्माण शुरू हुनेछ,’ उनले भने ।
विसं १३२५ मा सिन्जा साम्राज्यका राजा अशोक चल्लले बनाएको काँक्रेविहारको पुनर्निर्माण २०७२ सालमा थालिएको हो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि करीब साढे ३ किलोमिटर दक्षिणतर्फ रहेको काँक्रेविहार १८९० सालको भूकम्पले भत्किएपछि भग्नावशेषको रूपमा रहेको थियो ।